टिकटकबाट पैसा कमाउने ध्याउन्न : गिफ्ट माग्छन् नाम चलेका कलाकार

टिकटक लाइभले जन्मायो 'भिखारी सेलिब्रेटी'

के सेलिब्रेटीको ट्याग भिरेको समाजमा सुपरिचित व्यक्तिले टिकटक लाइभमा गिफ्ट माग्नु उचित हो त ? उनीहरूले मलाई यो गिफ्ट देउ भनेर मरिहत्ते गर्न सुहाउँछ त?

टिकटकबाट पैसा कमाउने ध्याउन्न : गिफ्ट माग्छन् नाम चलेका कलाकार

काठमाडौं। कलाकार जयकिशन बस्नेत हरेक रात टिकटक लाइभमा देखिन्छन्। उनको लाइभमा फलोअर्स पनि सयौं हुन्छन्। भ्यूअर्ससँग जयकिशन अनुरोध गर्छन् – ‘प्लिज मलाई चस्मा लगाईदिनुस्’।

यत्तिमा उनी रोकिँदैनन्। उनी माग्दै जान्छन्, ‘मलाइ कार दिनुस्, मेरो स्क्रिनमा रकेट उडाइदिनुस्।’

जयकिशनले मागेको चस्मा, कार र जेट विमान टिकटकमा पाइने क्वाइन हो। गिफ्ट अनुसार क्वाइनको मूल्य फरक फरक पर्छ। गुलाब र टिकटकको लोगो गिफ्ट पाउँदा एक क्वाइन पाइन्छ। चस्माको १९९ क्वाईन, मोटरसाइकलको २९८८, कारको ७०० र रकेटको २० हजार क्वाईन पाइन्छ। यस्ता अरू पनि गिफ्ट हुन्छन्, धेरै-धेरै क्वाइनका।

त्यसरी पाइने क्वाइनलाई डलरमा रूपान्तरण गर्न मिल्छ। त्यसैले पैसा पाउनकै लागि उनले आफ्नो लाइभका भ्यूअर्ससँग गिफ्टका लागि अनुरोध गरेका हुन्।

उनी घण्टौँसम्म टिकटक लाइमा यसरी नै बिताउँछन्। कमेन्ट सेसनतिर हेर्दा प्रशस्तै यस्ता कमेन्ट देखिन्छन्- ‘तपाईंलाई लाज लाग्दैन लाइभ आएर भिख माग्न ?’

तर उनले ती कमेन्टलाई पूर्ण रूपले बेवास्ता गरिरहेका हुन्छन्।

चल्तीकी कलाकार वर्षा राउत पनि केही समयअघि टिकटक लाइभमा खुबै आउँथिन्। एकपटक कुकुरलाई साथ लिएर उनले भनिन्, ‘गाइज मेरो पप्पीलाई चश्मा लगाइदिनुस् त प्लिज।’

यसरी टिकटकमा लाइभ आएर ‘भिख मागेको’ भन्दै खिल्ली उडाइएपछि उनी लाइभमा देखिन छाडेकी छिन्।

यस्तै कलाकार तथा मोडल सुष्मा कार्की पनि टिकटकमा लाइभमा आएर गिफ्ट मागिरहेको हुन्छिन्।

हाँस्य टेलिसिरियल ‘सक्कीगोनी’का चर्चित पात्र ‘काकु’ अर्थात्, दीपक आचार्य, ‘सीते बा’ अर्थात् मधुसूदन पाठक समेत लाइभमा देखिन्छन्। हाँस्य कलाकार राजाराम पौडेलदेखि ‘बान्द्रे’ नामले परिचित सुरज चापागाईँ पनि सधैंझै लाइभमा आउँछन्। उनीहरूले गिफ्ट सिधै मागेको देखिँदैन। तर, अपेक्षा भने राखेको देखिन्छ।

यही भिडमा छन् कलाकार करिस्मा ढकाल र अञ्जली अधिकारी पनि। उनीहरू समेत आफ्ना भ्यूअर्ससँग गिफ्ट माग्न पछि पर्दैन।

टिकटकबाटै मोडलिङमा आएकी श्रेया सिटौला पनि सधैँजसो टिकटक लाइभमा देखिइरहेकी हुन्छिन्। आफ्ना भ्युअर्सलाई फकाइफकाई गिफ्ट माग्न माहिर छिन् उनी।

यता लोक गायिका चन्दा अर्याल र गायिका मधु क्षेत्री पनि हरेक राती लाइभमा गिफ्टको अनुनय गरिरहेका हुन्छन्।

युट्युब रियालिटी सो भनेर चलाइएको ‘द ब्लाइन्ड डेट’ की सहभागी समेत रहेकी कलाकार शिलु पोखरेल पनि टिकटक लाइभमा गिफ्ट माग्नेमध्ये अग्रपंक्तिमा पर्छिन्। ‘मेरा मुटुका धड्कनहरू मलाई गिफ्ट फाल्नुहोस्’ भन्ने त उनको थेगो नै छ।

हालै टिकटकबाट उदाएका पुण्य गौतमसमेत पैसाकै लागि दिनरात लाइभमा देखिन्छन्। सामाजिक अभियन्ता बताउने गौतमले टिकटकमा लाइभ गरेर दुई महीनामै २० लाखभन्दा बढी कमाई गरेको बताउँछन्। गिफ्ट माग्न अनेक हर्कत गर्छन् उनी।

केही महिनाअघि टिकटक लाइभबाट गिफ्ट झार्न कै लागि चटक गर्दा कलाकार दुर्गेश थापा र मोडल गरिमा शर्मा विवादमा आएका थिए। गेम खेल्ने क्रममा आफूहरू पूर्वप्रेमी प्रेमिका भएको भन्दै अभिनय गरे। एकले अर्कोको कुरा काट्न थाले पछि त्यही कुराकानीबाट एउटा क्लिप काटेर सामाजिक सञ्जालमा भाइरल भयो। लाइभ भ्यूअर्स बढाउन र गिफ्ट पाउनै लागि चटक देखाएको भन्दै आलोचना भयो।

उनी मात्र होइन कञ्चनपुरका अंशुवर्मा नामका एक युवाले पनि टिकटकबाटै महिनामा लाखौँ कमाउने दाबी गर्दै आएका छन्। टिकटक एप्स खोल्दा उनको लाइभ अपवाद बाहेक सधैँ देखिन्छन्। उनको उनले पेसा नै टिकटक लाइभ बनाएका छन्। काभ्रेकी मन्दिरा पनि टिकटकको लाइभ बटममा गएर स्क्रोल गर्दा प्रायजसो  भेटिइरहन्छिन्।

भिडिओ बनाएर सार्वजनिक गर्ने सामाजिक सञ्जाल टिकटकमा अचेल यसैगरी सामान्य मानिसदेखि नाम चलेका कलाकारहरू गिफ्ट भन्द पैसा माग्ने गरेको देखिन्छ। यसबाट उनीहरूले लाखौँ कमाउने गरेका बताउँदै आएका छन्।
पछिल्लो समय टिकटकबाट करोड कमाए भन्दै केही युजरहरू मिडियामा आएपछि कलाकारहरू समेत कसले बढी कमाउने भन्ने होड चलेको छ। अधिकांशले सिर्जनात्मक प्रस्तुतिभन्दा अन्टसन्ट बोल्ने र तल्लो स्तरका शब्द बोल्दै भ्यूअर्स अडाउने गरिरहेका भेटिन्छन्।

अशोभनीय कर्म

आर्थिक उपार्जनकै लागि टिकटकमा आएर यसरी अनेकौं हर्कत गर्दै गिफ्ट माग्ने समाजप्रति उत्तरदायी नभएको बताउँछन् समाजशास्त्री मधुसूदन सुवेदी।

“सामाजिक सञ्जाल चलाउने भन्ने विषय व्यक्तिगत हो। कसरी चलाउने के के गर्ने उनीहरूको स्वतन्त्रताको विषय हो। तर त्यसमा सस्तो रूपमा प्रस्तुत हुने, गिफ्टको लागि मरिहत्ते गर्दा समाजमा कस्तो सन्देश जान्छ? आफूलाई पछिसम्म समाजले कुन रूपले बुझ्छ, आफूप्रति समाजको दृष्टिकोण के होला भन्ने हेक्का राख्नुपर्छ,” समाजशास्त्री सुवेदी भन्छन्, “तर अहिले नाम चलेका कलाकारहरूले समेत टिकटक लाइभमा सामाजिक पाटोलाई ख्याल गरेका पाइँदैनन्। व्यक्तिगत स्वतन्त्रको नाममा आफूलाई गिराउने काम गरिरहेका छन्।”

समाजशास्त्री सुवेदी भन्छन्, “पैसा कमाउने भोकले धेरैले अनेक हरकत गर्नु राम्रो होइन। कलाकारलाई राष्ट्रको गहना मानिन्छ। यसको कामलाई पछ्याउने जमात धेरै हुन्छ। तीनै कलाकारले गुणस्तरहीन, अश्लील पोस्ट गर्ने र लाइभमा अस्वाभाविक गतिविधि गर्दा समाजले गलत सिक्छ। यसरी आफ्नो स्वाभिमानको अपमान गर्ने कलाकारलाई पनि समाजले राम्रो मान्दैनन्।”

सामान्य मानिससमेत सामाजिक सञ्जालमा लोकप्रिय भएको देखेर कलाकारहरूले पनि सोही पथ पछ्याउन थालेका समाजशास्त्री मीना उप्रेतीको विश्लेषण छ। कलाकारले आफ्नो सामाजिक दायित्व बिर्सेको उनको तर्क छ।

“समाजमा सकारात्मक कुराको विकास गर्ने रोलमोडको भूमिकामा रहेका कलाकारहरू नै यस्ता सस्ता कुरामा रमाइरहेका छन्”,उप्रेती भन्छिन्, “यो किन भने उनीहरू हिजो सेलिब्रटी भएका अवस्थामा उनीहरूलाई धेरैले चिन्थे। उनीहरूलाई लाग्छ, हिजो मेरो क्रेज थियो। आज मलाई चिन्ने मानिस कम छन् भन्ने चिन्तामा लागेर भ्यूअर्स कमाउन सस्तो प्रचारमा लागेका पनि हुन सक्छन्।”


Comment

4 thoughts on “टिकटकबाट पैसा कमाउने ध्याउन्न : गिफ्ट माग्छन् नाम चलेका कलाकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved