किर्ते गरेर हत्याइएको थियो चौधरीले अपार्टमेन्ट बनाइरहेको बखुन्डोलको बहुमूल्य जग्गा
भाडाको जग्गा मालिकलाई थाहै नदिइ समिटको नाममा
नक्सा पास समेत नगरी अवैध रूपमा बनाउँदै गरेको समिट अर्पाटमेन्टको अग्रिम बिक्री समेत भइसकेको छ। भीआइपीको आवास क्षेत्रको रूपमा परिचति बल्खुडोलको बहुमूल्य जग्गा, पहिला सञ्चालित होटल समिटले व्यक्तिबाट किर्ते गरेर कसरी हत्याएको थियो, त्यसको नालीबेली।
काठमाडौं। अपार्टमेन्ट बनाउँदै गर्दा दर्जन भन्दा बढी घरमा क्षति गराएको मुलुककै ठूलो व्यावसायिक घराना चौधरी ग्रुपले सहकार्य गरेको परियोजना बनाउन अरुकै जग्गा हडपिएको खुलेको छ।
१ अर्ब ८० करोड डलर सम्पत्तिसहित विश्व अर्बपति सूचीमा रहेका व्यापारी तथा सांसद विनोद चौधरीले केही साझेदारसँग मिलेर ललितपुरको बखुण्डोलमा अपार्टमेन्ट बनाइरहेका छन् । उक्त अपार्टमेन्ट कब्जा गरिएको जग्गामा बनाउन लागिएको खुलेको हो।
जुन परियोजना बनाउन कुनै पनि निकायको स्वीकृति लिइएको समेत छैन । अवैध रूपमा अपार्टमेन्ट बनाउँदै गर्दा आसपासका घरमा ठुलो क्षति भएको छ। स्थानीयको चर्को विरोधका बीच जोरजबरजस्ती अपार्टमेन्ट बनाउन जग खनिरहँदा वरपरका एक दर्जन भन्दा बढी घरमा क्षति भएको छ।
कोरोना महामारीपछि बन्द भएको ललितपुरको बखुण्डोलस्थित समिट होटल भएको ठाउँमा पाँचतारे लक्जरी अपार्टमेन्टसहितको नयाँ होटल बनाउन लागिएको छ । नेपाली कांग्रेसका सांसद तथा विवादित व्यापारी विनोद चौधरीको सीजी ग्रुप र एनई तथा समिट समूहसमेतको लगानीमा सञ्चालकले पुरानो होटल भत्काएर अवैध रूपमा भव्य नयाँ होटल र अपार्टमेन्ट निर्माणको तयारी गरेका हुन्।
नक्सा पाससमेत नगरी बनाउँदै गरेको अर्पाटमेन्टको अग्रिम बिक्रीसमेत भइसकेको छ। भीआईपीको आवास क्षेत्रको रूपमा परिचित बखुण्डोलको सो बहुमूल्य जग्गा पहिला सञ्चालित होटल समिटले एक व्यक्तिबाट किर्ते गरेर हत्याएको पाइएको छ।
नेपाल भ्युजलाई प्राप्त प्रमाणअनुसार समिटको परियोजना बन्दै गरेको ललितपुर वार्ड नम्बर १ को कित्ता नम्बर ५८६ को २४ आना जग्गा इन्द्रध्वज विष्टको रहेकोमा कीर्ते हस्ताक्षर गरी समिटले आफ्नो नाममा ल्याएको खुलेको छ।
क्यान्सरपीडित इन्द्रध्वज विष्टको निधन भइसकेको छ। सो जग्गाको विवादमा १४ वर्षदेखि इन्द्रध्वजको परिवारले कानुनी लडाइँ लड्दै आएको छ।
इन्द्रध्वजले १८ चैत २०५६ मा सनराइज सेभिङ्ग एन्ड लोन कोअपरेटिभबाट १६ लाख रुपैयाँ ऋण लिएका थिए, यहीँबाट सुरु हुन्छ जग्गा हत्याउने षड्यन्त्र। इन्द्रध्वजको परिवारले सनराइज सेभिङ्ग एन्ड लोन कोअपरेटिभबाट लचिलो कर्जा शीर्षकअन्तर्गत १ वर्ष अवधिका लागि ऋण लिए। जसको लागि उनले बल्खुडोलको अहिले समिटको परियोजना बन्दै गरेको ठाउँको २४ आना जग्गा धितो राखेका थिए।
त्यसको डेढ वर्षअघि १५ कात्तिक २०५५ मै उनले अहिले समिटले हडपेको ५८६ नम्बर कित्ताको २४ आनासहित ५५८ कित्ताको १० आना जग्गा समिटलाई भाडामा दिएका थिए। त्योसहित ५८७ कित्ताको ५ आना र ५९० र ५९२ कित्ताको २ आना जग्गा समिट होटलको भागिनी संस्था समिट ट्रेकिङलाई लिजमा दिइएको थियो।
०५६ मा जग्गा धितो राखेर इन्द्रध्वजले सनराइजबाट ऋण लिई सोही वर्ष अमेरिका गए । उनी श्रीमती अनु, छोरा ऋगध्वज र छोरी ऋचासहित सपरिवार अमेरिका गएपछि यता सहकारीको ऋण जग्गा लिजमा लिएको समिटसँग किस्ता तिरिदिने सम्झौता भयो। जुन सहकारी स्वयंसँग समेत गरी त्रिपक्षीय सम्झौता भयो।
यहीँनेर समिटले सो बहुमूल्य जग्गा हत्याउनको लागि षड्यन्त्र गर्यो। ऋणबापतको किस्ता तिर्नको लागि इन्द्रध्वजले समिटलाई जिम्मा दिएका थिए। जग्गाभाडाबापट आफूलाई आउने पैसा सहकारीको किस्ता तिर्ने सहकारीसँग त्रिपक्षीय सम्झौतामा उल्लेख गरियो।
यहीँनेर समिटले बेइमानी गरी एकातर्फ अमेरिकामा रहेका इन्द्रध्वजको परिवारलाई किस्ता तिरिरहेको जानकारी गरायो। यता सनराइजलाई भने किस्ता तिरेन। किनकि, उसलाई भाडामा लिइएको जग्गा हत्याउनु थियो। किस्ता नतिरेपछि सहकारीले जग्गा लिलाम बिक्री गर्छ, लिलाम बिक्रीपछि सहकारीसँग मिलेर आफूले खरिद गर्ने षड्यन्त्रमूलक योजना समिटले बनाएको थियो।
इन्द्रध्वजले लिएको ऋणको किस्ता नआएपछि सनराइज सहकारीले १४ भदौ २०५९ मा कान्तिपुर दैनिक पत्रिकामा ऋणीलाई किस्ता बुझाउन ताकेता गरी सूचना निकाल्यो। २४ असोजमा सहकारीले लिलामीका लागि प्रक्रिया सुरु गर्यो। जसबारे अमेरिकामा रहेको आफ्नो परिवार पूर्ण बेखबर रहेको इन्द्रध्वजकी श्रीमती अनु बताउँछिन्।
‘‘हामीलाई केही खबर गरिएन, ऋण नतिरेको पनि जानकारी गराइएन। लिलामीबारे पनि जानकारी गराइएन। समिट र सहकारीको मिलेमतोमा जग्गा लिलामी प्रक्रिया अघि बढाएछन्,’’ उनले भनिन्, ‘‘यसबारे मेरा ससुराका दुई छोरामध्ये कान्छा सोमध्वजको परिवारलाई पनि केही जानकारी दिइएन।’’ झुटा कागजपत्र बनाइ इन्द्रध्वजको कीर्ते हस्ताक्षर गरी जग्गा लिलामी गरिएको दाबी उनको छ।
हुन पनि भइदियो के भने, उक्त जग्गा समिटले नै लिलामीमा २४ लाख रुपैयाँ तिरेर खरिद गर्यो। तर, उक्त लिलामी प्रक्रिया भने ललितपुरमा भएन, काठमाडौंमा भयो। काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा सूचना टाँस गरी जग्गा लिलामी प्रक्रिया अघि बढाइयो।
यसरी काठमाडौं ८ मा सूचना टाँसका लागि समिटले इन्द्रध्वज सिफलस्थित बुद्धकुमारी लामाको घरमा ३ वर्षदेखि डेरामा बस्दै आएको कीर्ते कागज बनायो। जबकि, त्यसबेला इन्द्रध्वजको परिवार अमेरिकामा थियो। जग्गा लिलामी प्रक्रिया अघि बढाउन इन्द्रध्वजको कीर्ते हस्ताक्षर गरियो।
इन्द्रध्वजको परिवार काठमाडौंको सिफलमा भाडामा बसेको भनी किर्ते कागज बनाइयो। जहाँ गरिएको हस्ताक्षर कीर्ते भएको बताउँदै उनका छोरा ऋगध्वज भन्छन्, ‘‘बुवाको हस्ताक्षर नै कीर्ते गरिएको छ, बुवासहित हामी अमेरिकामा थियौँ। यता तीन वर्षदेखि सिफलमा भाडामा बसेको भनी नक्कली कागज बनाइएको छ।’’
यति मात्रै होइन, सनराइजले त्यतिबेला नाबालक रहेका इन्द्रध्वजका छोरा ऋग्ध्वजको नाममा मेल गरेको छ। ४ मार्च २००२ मा सनराइजले लेखेको मेल एड्रेस छ– डब्लूआरआईजीएचओज एट हटमेल डटकम। तर, यो आफ्नो मेल एड्रेस नभएको दाबी ऋगध्वजको छ। उनी भन्छन्, ‘‘एक त त्यहाँ उल्लेख गरिएको मेल मेरो होइन। अर्काे कुरा, मेरै भए पनि म नाबालक थिएँ। बुबाको नामको जग्गामा म नाबालक छोरालाई मेल पठाएर जग्गा लिलामी प्रक्रिया कसरी अघि बढ्छ?’’
यसरी १८ माघ २०५९मा सनराइजले इन्द्रध्वजको परिवारको अनुपस्थितिबिनै जग्गा लिलामी प्रक्रिया अघि बढायो। लिलामीबारे इन्द्रध्वजलाई मात्रै होइन, इन्द्रध्वजका भाइ सोमध्वजलाई पनि जानकारी दिइएन।
जबकि, यस्तो जग्गा बैंक एवं सहकारी संस्थाले बिक्री वा अन्य केही गर्नुपर्ने भएमा अन्य अंशियारको अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ। रमाइलो त के भने, सहकारीले उक्त जग्गा लिलामी त्यही संस्थालाई गर्यो, जुन संस्थाबाट इन्द्रध्वजले लिएको ऋण चुक्ता गराउने जिम्मा सम्झौता सहकारीसँगै भएको थियो।
इन्द्रध्वजले उक्त जग्गा समिट होटलको भागिनी संस्था समिट ट्रेकिङलाई भाडामा लगाएका थिए। भाडाबाट प्राप्त हुने मासिक रकम ३० हजार रुपैयाँबाट उक्त ऋणको किस्ता सोही संस्थाले तिर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो। सो सम्झौता अहिले सबै पक्षसँग छ।
जुन सम्झौता भएको सहकारी आफैँले पनि स्वीकारेको छ। तर, ऋण नतिरेको भन्दै सहकारीले सोही संस्था अर्थात् समिटलाई नै जग्गा लिलामी गरेको हो। यसरी लिलामी गर्दा समिट र सहकारीबीच मिलेमतो भएको स्पष्ट देखिन्छ।
सहकारीले लिलामीका लागि मुचुल्का खडा गर्दा कुनै स्थानीय नगरपालिकाका प्रतिनिधि त्यहाँ थिएनन्। किनभने लिलामी प्रक्रिया जग्गा भएको ललितपुर महानगरपालिकामा नभई अर्कै महानगरपालिका काठमाडौंमा भएको थियो। लिलामीमा जग्गाधनीको कुनै आफन्तको समेत उपस्थिति नगराइएको दाबी परिवारको छ।
आफ्नो जग्गा लिलामी भएकोबारे जानकारी नै नभएको इन्द्रध्वजपत्नी अनुको भनाइ छ । क्यान्सरपीडित इन्द्रध्वजको अमेरिका बसाइकै क्रममा निधन भयो।
पतिको निधनपछि अनु छोरा ऋगध्वज र छोरी ऋचासहित नेपाल फर्किइन्। तब मात्र आफ्नो जग्गा लिलामी भएको जानकारी पाएको अनु बताउँछिन्। नेपाल फर्किएपछि उनको परिवारले आफ्नो जग्गा खाली गर्न भन्दै समिट होटलसहित ललितपुर महानगरपालिका (त्यसबेला उप) र प्रहरी समेतलाई बोधार्थ गरी निवेदन गरेको छ। तर, किर्ते भए पनि प्रक्रिया पूरा गरेरै हत्याइएको जग्गा समिटले छाडेन।
आफ्नो जग्गा लुटिएपछि अनुको परिवार २०६६ सालदेखि कानुनी लडाइँ लडिरहेको छ। तर, आफूहरूले न्याय नपाएको बताउँदै अनु भन्छिन्, ‘‘सास रहेसम्म लड्छु, आशा छ एक दिन न्याय मिल्नेछ।’’
अहिले चलनचल्तीको मूल्यमा सो ठाउँको जग्गा प्रतिआना ८० लाख रुपैयाँ पर्छ। समिटले हत्याएको सबै जग्गा (२४ आनाको) मूल्य करिब २० करोड हाराहारी हुन्छ ।
अब त बरु कै पैसा खर्च गरि गुण्डा हरू को सहयाेग लिनु राम्रो होला जस्तो लाई त्यस्तै अपनाउनु पर्छ भन्ने धर्म मा पनि लेखिएकाे छ कानुनी उपचार शायद गराहो हाेला अनि कांग्रेस मा यस्तै यस्तै किन हुन्छन् हो अर्को कुरा
oho..kada karbahi gariyos..chadnu hunna
अब त बरु कै पैसा खर्च गरि गुण्डा हरू को सहयाेग लिनु राम्रो होला जस्तो लाई त्यस्तै अपनाउनु पर्छ भन्ने धर्म मा पनि लेखिएकाे छ कानुनी उपचार शायद गराहो हाेला अनि कांग्रेस मा यस्तै यस्तै किन हुन्छन् हो अर्को कुरा
kada vanda kada kannoni karbahi garnu parxa…jail sajaye dekhi chyati purti sab sajaye hunu parxa