प्यान्डोरा पेपर्सको खुलासा

अवैध धनलाई वैध बनाउने कृत्यमा मुछिए चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसनसहित १६ व्यवसायी

आईसीआईजेको सहयोगमा खोज पत्रकारिता केन्द्रले गरेको खुलासामा नेपालका चौधरी समूह, गोल्छा अर्गनाइजेसन लगायतका व्यावसायिक घराना अवैध सम्पत्ति विदेश लगेर वैदेशिक लगानीका नाममा ल्याई वैध बनाउने कृत्यमा सहभागी भएको पाइएको छ।

नेपालभ्युज

अवैध धनलाई वैध बनाउने कृत्यमा मुछिए चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसनसहित  १६ व्यवसायी

विभिन्न तरिकाले नेपालमा आर्जन गरेको सम्पत्ति गैर–कानूनी ढंगले विदेशमा लगानी गरी वैदेशिक लगानीको नाममा पुनः भित्र्याउने धन्धामा ठूला व्यापारिक घराना संलग्न भएको खुलासा भएको छ।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘इन्टरनेशल कन्सोर्टियम अफ् इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा भएको खुलासामा नेपालका व्यापारीक घराना पनि मुछिन पुगेका छन्।

आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा भएको उक्त खुलासालाई ‘प्यान्डोरा पेपर्स’ नाम दिइएको छ।

उक्त संयन्त्रमा ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’ पनि संलग्न छ।

विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पुर्‍याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भन्ने खुलासा यो खोजले गरेको छ।

अवैध आर्जनलाई वैध बनाउन विदेशी (अफशोर) खातामा रकम जम्मा गर्ने र शेल कम्पनीमार्फत कारोबार गरिएको खोजले देखाएको छ। अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरी स्वदेश भित्र्याउने उद्धेश्यले त्यसरी विदेशी बैंकमा धन पुर्‍याउने गरिएको छ।

आईसीआईजेले गरेको खुलासामा ९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफशोर खाता र शेल कम्पनी मार्फत् अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेको पाइएको छ।

नेपालका आरोपित

आईसीआईजेले आफूलाई उपलब्ध गराएको कागजातको आधारमा खोपके नेपालले  प्यान्डोरा पेपर्सले खुलासा गरेको अफशोर खाता र शेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको खुलासा गरेको छ।

तीमध्ये दुईवटा ठूला घराना पनि जोडिएका छन्। ती हुन्– चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन।

प्रतिनिधिसभा सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको खोपकेले प्रकाशन गरेको छ। ती कम्पनीहरू विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा छन्।

यस्तै अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि छ। गोल्छा अर्गनाइजेशन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमै कम्पनी छ।

त्यसैगरी खोपके नेपालकै यसअघिको खुलासा नेपालिक्समा उल्लेख भएका नेपाली नागरिकहरू अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ।

यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायीहरू– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ।

गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइन्न। आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ।

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन्। ऐन विपरीत काम गरेमा ‘बिगो बमोजिम जरिवाना, ६ महीना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ।

किन गलत ?

यसरी गैरकानूनी तवरले विदेशमा सम्पत्ति लुकाएर स्वदेशमा अर्कै बाटोबाट लगानीका नाममा भित्र्याउने अभ्यास किन गलत छ त ?

यसबारे आईसीआईजेका निर्देशक जेरार्ड रायलले प्रष्ट्याएका छन्। प्यान्डोरा पेपर्स सार्वजनिक हुनुअघि अष्टे«लियाको एबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिंदै रायलले ‘अफशोर कारोबारले सम्बन्धित देशमा असमानता र गरीबी बढाउनेदेखि कर बापत आउनुपर्ने रकम मुलुकले गुमाइरहेको’ बताएका छन्। उनको भनाइमा यस्तो कारोबारबाट व्यापारी, नेता, सरकारी अधिकारी र अपराधीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन्।

“आम मानिसले अफशोर दुनियाँ विरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ। जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तन्छन्। मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन”, अन्तर्वार्तामा रायलले भनेका छन्।

स्वदेशमा गैरकानूनी आम्दानी गर्ने, त्यसलाई चोरबाटोबाट विदेश लैजाने र पुनः लगानीका नाममा भित्र्याउने प्रक्रिया अवैध धनलाई वैध बनाउने एउटा चक्र हो। यो चक्रले असमानता बढाउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा अवरोध गर्ने, तस्करी र गैरकानूनी गतिविधि बढाउँछ। यो छायाँ अर्थतन्त्रले अन्ततोगत्वा विश्व अर्थव्यवस्थालाई नै कमजोर बनाएर सीमित व्यक्तिलाई समृद्ध बनाउँछ।

सहभागी मिडिया र पत्रकार

प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे) को नेतृत्वमा ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोज हो। यो खोजमा १४० भन्दा बढी सञ्चारमाध्यम र सञ्चार संस्थाहरू सहभागी थिए।

केलाइएका रेकर्ड

प्यान्डोरा पेपर्स विश्वका १४ वटा बिचौलिया कम्पनी (ल फर्म) तथा सेवा प्रदायकले राखेका रेकर्ड गोप्य स्रोतबाट प्राप्त भएपछि गरिएको खुलासा हो। यसका लागि १ करोड १९ लाख भन्दा बढी दस्तावेज केलाइएको थियो।

यी विभिन्न दस्तावेजको डिजिटल परिमाण २.९४ टेराबाइट्स छ। सेवा प्रदायकले रेकर्डमा राखेका अधिकांश कागजात सन् १९९६ देखि २०२० सम्मका हुन्। तर, कतिपय रेकर्डहरू सन् १९७० का पनि छन्। यो लिक्समा सन् १९७१ देखि २०१८ सम्म खोलिएका कम्पनीहरूको विवरण छ।

आईसीआईजेले विश्वका विभिन्न सञ्चारमाध्यमसँग मिलेर सन् २०१३ देखि सन् २०२१ सम्म गरेका खुलासामध्ये प्यान्डोरा पेपर्स सबैभन्दा ठूलो खुलासा हो।

नेपालमा खोज

नेपालमा यो खुलासाका लागि  खोज पत्रकारिता केन्द्रको नेतृत्वमा पत्रकार, मेन्टर, सम्पादक र फ्याक्ट चेकर सहित पाँच वटा संस्था र फ्रिलान्सर गरी १४ जनाको  सहभागिता थियो। खोजका लागि विदेशका ६ जना पत्रकारको समेत सहयोगमा झण्डै एक वर्ष लगाएर नेपाल र विदेशका विभिन्न नागरिककोे अफशोर लगानी र कारोबारबारे अनुसन्धान गरिएको खोपकेले जनाएको छ।

केन्द्रका अनुसार नेपालमा मात्रै झण्डै ५० जना व्यक्तिसँग यस विषयमा सोधखोज, अनौपचारिक कुराकानी तथा अन्तर्वार्ता गरिएको थियो।

प्यान्डोरा पेपर्स खुलासाका क्रममा नेपाल जोडिएका इमेल, वर्ड फाइल, पीडीएफ फाइल र तस्वीर लगायत विभिन्न कागजपत्रका झण्डै तीन हजार दस्तावेज केलाइएको खोपकेले उल्लेख गरेको छ।

खोपके नेपालले गरेको खुलासाको विस्तृत विवरण पढ्न यो लिंकमा जानुहोस्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved