विनोद चौधरीले अर्काको जग्गा हत्याएर अपार्टमेन्ट बनाउँदा भासियो वरपरका घर, दर्जन परिवारको बिल्लीबाठ

न नक्सा पास, न माटो परीक्षण, स्थानीयलाई पेलेर जमिन खन्दा दर्जन घरमा क्षति, ६ तले घरधनी सडकमा

सीजी ग्रूपलगायतको समिटले सम्बन्धित निकायबाट अनुमति नलिई जथाभावी जमिन खन्दा तीनवटा घर पूरै भत्किएका छन्, दर्जन बढी घर चर्किएको छ। नभत्किएका घरभित्र पनि धाँजा फाटेकाले बस्न नमिल्ने भएको छ। जमिन भासिने क्रम जारी रहेकाले स्थानीय त्रासमा छन्। स्थानीयको विरोधका बीच शक्तिको चरम दुरुपयोग गरी अवैध काम गर्दा निम्तिएको विनाशको नालीबेली।

विनोद चौधरीले अर्काको जग्गा हत्याएर अपार्टमेन्ट बनाउँदा भासियो वरपरका घर, दर्जन परिवारको बिल्लीबाठ

काठमाडौं। १ अर्ब ८० करोड डलर सम्पत्तिसहित विश्व अर्बपति सूचीमा सूचीकृत व्यापारी तथा सांसद विनोद चौधरीले ललितपुरको बखुण्डोलमा एक व्यक्तिको २४ आना जग्गा हत्याएर अपार्टमेन्ट बनाउँदै गर्दा भयानक क्षति भएको छ। स्थानीयको चर्काे विरोधका बीच जोरजबरजस्ती अपार्टमेन्ट बनाउन जग खनिरहँदा वरपरका एक दर्जन बढी घरमा क्षति भएको हो।

विनोद चौधरीको सीजी ग्रुपको अगुवाइमा एनई र समिट समूहसहित केही व्यापारीहरूको लगानीमा पुरानो बखुण्डोलमा रहेको समिट होटल भत्काएर भव्य नयाँ होटेल र अपार्टमेन्ट निर्माणको थालिएको हो।

नेपाल भ्युजलाई प्राप्त प्रमाणअनुसार स्थानीय इन्द्रध्वज विष्टको नाममा रहेको कित्ता नम्बर ५८६ को २४ आना जग्गा कीर्ते हस्ताक्षर गरी समिटले आफ्नो नाममा ल्याएको थियो। २४ आना जग्गाका धनी २०६६ सालदेखि कानुनी लडाइँ लडिरहेका छन्। सत्ता र शक्तिको आडमा समिटले मुद्दा लम्ब्याइरहेको छ।

अवैध धनलाई वैध बनाउने कृत्यमा मुछिए चौधरी ग्रुपसहित १६ व्यवसायी

कब्जा गरेको जग्गासहित अरू आफूले किने जग्गा समिटले होटेल चलाएको थियो। सबै गरी करिब आठ/दश रोपनी क्षेत्रफलमा होटेल र अपार्टमेन्ट निर्माण थालिएको थियो।

सो स्थान ललितपुर महानगरपालिका वडा नम्बर १ र २ नम्बरमा पर्छ। समिटले अपार्टमेन्ट बनाउन तीन वर्षअघि नै तयारी गरेको थियो। तर, २ नम्बर वडाका स्थानीयले विरोध गरेपछि समिटले काम गर्न पाएन। आवास क्षेत्र वरपर ठूलो घर बनाउँदा समस्या हुनसक्ने भन्दै स्थानीयले अवरोध गरेका थिए।

भौगोलिक हिसाबले समेत सो स्थान कमजोर क्षेत्र रहेको भन्दै ठूला भवन नबनाउन विज्ञहरूले भन्दै आएका थिए। सोही अनुसार स्थानीयले ससाना घरहरू मात्रै बनाएर बस्दै आएका थिए।

वरपर बाक्लो बस्ती रहेको आवास क्षेत्रमा अपार्टमेन्ट जस्तो ठूलो भवन बनाउने तयारी भएपछि स्थानीयले नबनाउन भन्दै विरोध जनाएका थिए। एकातिर कमजोर माटो रहेको जमिन र अर्कोतिर बाक्लो बस्ती रहेकाले अपार्टमेन्ट बनाउन नहुने स्थानीयको जोड थियो।

सरकारी सम्पत्तिमा सीजीको गिद्दे नजर : हाउजिङ जाने बाटो बनाउन यसरी हडपियो सार्वजनिक जग्गा

जग्गा रहेको पश्चिमतर्फबाट समिटले जग खन्न डोजर लैजाँदा स्थानीय (वडा नम्बर २ वासी)ले विरोध गरेका थिए। स्थानीयको विरोधले केही समय काम रोकेको समिटले एक वर्षयता पूर्वतर्फ (वडा नम्बर २ तर्फबाट) पेलेरै काम गर्न थालेको हो। एक वर्षको अवधिमा यसले ३० फिटभन्दा बढी जमिन खनेपछि अहिले जमिन भासिएको हो।

जमिनभासिदा सँगै सीमा जोडिएका २ घर पूर्ण क्षति भएको छ। एकवटा घर काम नलाग्ने गरी ढल्किएको छ। वरपरका केही आठ दश घरमा क्षति पुगेको छ। ती घरहरूभित्र चर्किएका छन्। २ वटा होटलमा समेत क्षति पुगेको छ। जमिन भसिएर अरू घरमा समेत क्षति हुने क्रम जारी छ। आफूहरूसँग अनुमति नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको र अहिले भासिएर आफ्नो घर भत्किएपछि स्थानीयबासिन्दा आक्रोशित छन्।

घर भत्किएपछि स्थानीयको बिचल्ली, ६ तले घरको मालिक सडकमा

शनिबार बिहान २ बजे सुतिरहेको बेलामा घर भत्किएपछि स्थानीय त्रासमा मात्र छैनन्, भत्किएका पीडितहरूको बिचल्ली छ। सडकसमेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावमा छन्। उनीहरूले आफूहरूको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले पीडाको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।

घर भत्किएकी पीडित रचना शाह भन्छिन्, ‘‘घरमै सामान पुरिएको छ। के खाने, कहाँ बस्ने केही टुङ्गो छैन। जीवनभरको कमाइले बनाएको घर भकित्यो। अब कहाँ जाने केही टुङ्गो छैन।’’

सहकारीको जग्गामा सीजीको राज, ललितपुरको मुटुमा १४ रोपनी जग्गा हडप्न अनेक दाउ

रचना शाह र रञ्जन विष्टको तीन तलाको घर भत्किएको हो। सँगै रहेको रिकध्वज विष्टको ६ तले घर भत्किएको छ। भर्खरै घर बनाएर सकिन लागेको घर हो। नयाँ घरमा सर्ने तयारी भइरहँदा भासिएपछि रिक विष्टको परिवार सडकमा आएको छ।

उनी भन्छन्, ‘‘जीवनभरको कमाइले बनाएको घर भत्किएको छ। घर पूरै नभत्किएकाहरूको पनि भित्री भाग चर्किएको छ। क्षति बढ्दै छ। मापदण्ड पूरा नगरी अवैधरूपमा हाउजिङ बनाउन थालिएकै कारण यस्तो क्षति भयो। सम्बन्धित पक्षले तत्काल क्षतिपूर्ति दिनुपर्छ।’’

यस्तै, स्थानीय सुवास पाण्डेको पनि घर भत्किएको छ। नक्सापास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरूको घरसमेत भासिन पुगेको आशुतोष अर्याल बताउँछन्। उनको घर बाहिरबाट हेर्दा नभत्किएपछि भित्र चिराचिरा परेको छ। बस्न मिल्ने अवस्थामा छैन।

गैर कानुनी ढङ्गले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबारविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्नुपर्ने उनको माग छ। आशुतोष भन्छन्, ‘‘यो जानाजान गरिएको अपराध हो। यसैले क्षतिपूर्तिले मात्र पुग्दैन। परियोजना बनाउने पक्षलाई कारबाहीसमेत हुनुपर्छ।’’

सरकारी जग्गा हडपेको प्रकरणमा ‘चौधरी ग्रुप’लाई उन्मुक्ति दिन अख्तियारको प्रपञ्च

ललितपुर क्षेत्र नम्बर–३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन्।

शनिबार बिहान सो भासिएको घरहरूको निरीक्षण गरेपछि उनले उनले भनिन्, ‘‘स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ। अवैध रूपमा यसरी अपार्टमेन्ट बनाउनेमाथि कडा कारबाही गर्नुपर्छ।’’

नक्सा पास र माटो परीक्षणबिनै जग खन्न सुरु

समिटले कतिसम्म लापरवाही गर्‍यो भने महानगरबाट नक्सा पास तथा भवन निर्माणको सामान्य प्रक्रियासमेत पूरा नगरी भवन निर्माण प्रक्रिया थालेको हो। उसले एक वर्षअघिबाट सो क्षेत्रमा डोजरले खनेर माटो झिक्न थालेको थियो। केही क्षेत्रमा जगसमेत हाल्न थालिसकेको छ। यतिसम्म कि, उसले वातावरण प्रभाव मूल्याकंन तथा माटो परीक्षणलगायतका कुनै काम गरिरहेको हो।

एलिट वर्ग र विदेशी पर्यटकलाई लक्षित गरी काठमाडौंको रैथाने नेवारी आर्किटेक्चर डिजाइनमा आधुनिक डिजाइन फ्युजन गरी होटेल बनाउन थालिएको थियो। १६० युनिटको लक्जरी अपार्टमेन्ट बनाउने समिटको तयारी थियो। जसको ‘पर्मिट लेटर’ नगर विकास समितिको कार्यालय ललितपुरबाट जारी भएकै छैन।

लेटर इस्यु भएपछि भएपछि मात्रै नक्सा पासको बाटो खुला हुने प्रावधान छ। सहरी विकास मन्त्रालयमा भवनको नक्सा पेस गरेपछि बल्ल अपार्टमेन्ट पास हुन्छ। त्यसपछि नक्सा पासको प्रक्रिया सुरु हुन्छ।

तर, नक्सा पास नहुँदै समिटले १६० युनिटको परियोजना निर्माणको काम अघि बढायो। उसले काम थालेको एक वर्ष बितिसक्दासमेत यो प्रक्रिया पूरा गर्न आवश्यक ठानेन। यति मात्रै होइन, समिटले आवास निर्माणका लागि नक्सा पास समेत नगरी बुकिङ खुला गरेर ७० प्रतिशत अपार्टमेन्ट बिक्रीसमेत गरिसकेका छन्।

साझाका ३७ वटा बिजुली बस पार्किङमा थन्किए, चार्जिङ स्टेसन बनाउने जग्गा चौधरी ग्रुपको कब्जामा

यसअघिकै विज्ञहरूले सो क्षेत्रको माटो कमजोर रहेको बताइसकेको थिए। माटो परीक्षण गर्दा फेल हुने देखेर समिटले पेलेरै काम अघि बढाएको स्थानीय बताउँछन्।

कुनै प्रक्रिया पूरा नगरेको समिटले अपार्टमेन्ट बनाउन थालेलगतै अग्रिम बिक्रीसमेत सुरु गरिसकेको छ। ७० प्रतिशत ग्राहकबाट पैसा समेत लिइसकेको एक कर्मचारी बताउँछन्।

महानगर भन्छ- नक्सा पासबिना ठूलो खाल्डो खन्नसमेत मिल्दैन

सहरी विकास मन्त्रालयमा भवनको नक्सा पेस गरेपछि बल्ल अपार्टमेन्ट पास हुन्छ, त्यसपछि नक्सा पासको प्रक्रिया सुरु हुन्छ। नगरपालिकाले नक्सा पास गरेपछि भवन निर्माणको काम अघि बढाउन मिल्छ। त्यसअगाडि ३ मिटरभन्दा ठूलो खाल्डोसमेत खन्न नमिल्ने ललितपुर नगरपालिकाका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जन बताउँछन्।

उनले भने, ‘‘पर्मिट लेटर इस्यु भइसकेको छैन। हामीले रोक्का पूर्जी पठाएका छौँ। काम सुरु भएको छैन भन्ने जानकारी प्राप्त भएको छ, अनुमति नदिई काम गर्नै मिल्दैन। नगरपालिकाबाट भूमिगत र भूमिमाथि गरी दुई चरणमा नक्सा पास भएपछि त्यसअनुसार मात्रै काम अघि बढाउन पाइने इन्जिनियर महर्जनले बताए।

नक्सा पास नभइकन ७० प्रतिशत अपार्टमेन्ट बिक्री

नक्सा पास नभइकनै काम थालेको समिटले अपार्टमेन्टहरू बिक्री भने गरिसकेको छ। ५ देखि ६ अर्ब लगानी लाग्ने अनुमान गरिएको उक्त परियोजनाका लागि कम्पनीले बैंकबाट ३ अर्ब ऋण लिएको छ। बाँकी पैसा भने अग्रिम बिक्रीबाट असुलेको छ।

एकातर्फ बैंक ऋण र अर्कोतर्फ अग्रिम बुकिङ गरी सञ्चालकले दोहोरो रकम संकलन गरिरहेका छन्। कम्पनीले उक्त बिक्री खुला गरेकोबारे नगर विकास प्राधिकरण ललितपुरको बैठकमा समेत कुरो उठेको थियो।

काठमाडौं विकास उपत्यका प्राधिकरणको स्वीकृतिबिना यसरी अपार्टमेन्टको बुकिङ खुला गर्न नपाइने नियम छ। अघिल्लो वर्ष माघमा प्राधिकरणले प्लानिङ पर्मिट लिएर नक्सा पास गराएर मात्रै काम अघि बढाउन निर्देशन जारी गरेको थियो। त्यसपछि मात्रै प्राधिकरणको स्वीकृतिमा बुकिङ खुला गर्न सूचित गरिएको छ।

मन्त्री बन्न अर्बपति चौधरीको दौडधुप : सिंहदरबारबाट राज्यस्रोत दोहन गर्ने योजना !

प्राधिकरणका एक अधिकारी भन्छन्, ‘‘समिट होटलका लागि प्लानिङ प्रोसेस अघि बढे पनि इस्यु नभइकनै कम्पनीले अपार्टमेन्ट बेच्न सुरु गरेको पाइएको छ। अर्काे कुरा नक्सा पास बिनै निर्माण कार्यसमेत कम्पनीले अघि बढाएको छ। त्यो गैर कानुनी हो।’’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले समिटले अपार्टमेन्ट बनाउन थालेको र क्षतिको विषयमा विस्तृत रूपमा बुझिरहेको दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

‘इन्द्रध्वज विष्टको नाममा रहेको कित्ता नम्बर ५८६ को २४ आना जग्गा कीर्ते हस्ताक्षर गरी समिटले कसरी हत्यायो’ भन्ने नालीबेली आइतबार प्रकाशन गर्नेछौँ।

विवादित समिट अपार्टमेन्टको जग खन्दा वरपरका दर्जनौं घरहरू भासिए (फोटोहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved