ओलीको अगाडि वामदेवको आत्मालोचना- मबाट कमजोरी भयो, पार्टीमा फर्काउनुस्  

नेपालभ्युज

ओलीको अगाडि वामदेवको आत्मालोचना- मबाट कमजोरी भयो, पार्टीमा फर्काउनुस्  

काठमाडौं । नेकपा एकता महाअभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) मा फर्किन आतुर रहेको बताएका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि एमाले छाडेका गौतमले पुन: एमालेमा फर्किन चाहेको बताए ।

सोमबार ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको अगाडि भने, “विगतमा मबाट कमजोरी भयो, अहिले पार्टीमा फर्किनका लागि आतुर छु । चाँडै फर्काउनुस् ।”

अगाडि उनले भने, “अघि केपी ओली आउनुभयो यहाँ, मैले ढिला भयो नि भनेँ कमरेड भनेँ । उहाँले के सोच्नुभयो थाहा छैन । पार्टी फुटेपछि उहाँले बोलाउनुभएको थियो । तर, गइनँ र पछि मात्रै गएँ । त्यसबेला मैले हामी फेरि फर्कन्छौँ, मलाई के जिम्मा दिनुहुन्छ, अरुलाई के जिम्मा दिनुहुन्छ भनेर भनेँ । उहाँले तपाईंहरूको बारेमा हाई लेभल कमिटीले निर्णय लिन्छ भन्नुभएको थियो । हाई लेभल कमिटीले कहिले निर्णय गर्छ, मैले पर्खिरहेको छु, झन्डै ७/८ महिना भइसक्यो ।”

उनले आफूले पार्टीले दिएको जिम्मेवारी पूरा गर्नसक्ने बताए । आफू ७५ वर्षको भएको उल्लेख गर्दै उनले भने, “मान्छेबाट गल्ती हुन्छ । तर, रिलाइजेसन हुनु सबैभन्दा ठूलो हो । र, मलाई अहिले भएको छ ।”

नेकपा फुटेपछि विभाजनको दोष आफूले नबोक्न दुवैतिर नलागेको उनले बताए । “केपीतिर लाग्दा प्रचण्डको आलोचना गर्नुपर्ने अनि प्रचण्डतिर लाग्दा केपीको आलोचना गर्नुपर्ने अवस्था हुन्थ्यो । मैले त्यो चाहिनँ र कहीँ लागिनँ । मिलाउनुपर्छ भनेर भनेँ तर, कसैले साथ दिएनन्, एक्लै के गर्ने र,” उनले भने ।

गौतमले २०७८ भदौ १८ गते एमाले परित्याग गरेका थिए । त्यसबेला उनी पार्टी उपाध्यक्ष थिए । त्यसबेला पार्टी अध्यक्ष ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण आफू बाहिरिएको वक्तव्य निकालेका थिए ।

तर, ३१ महिनापछि उनले पुन: एमालेमा फर्किन आतुर रहेको प्रतिक्रिया दिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved