स्थलगत रिपोर्ट

चितवन-३ मा त्रिपक्षीय प्रतिस्पर्धा : मतदाता भन्छन्, ‘मत बदलियो भने अवस्था बदलिन्छ’

चितवन प्रायः निर्वाचनताका चर्चामा रहने जिल्ला हो । यसपटक पनि चितवन चर्चामै छ, मूलतः दुई कारणले । पहिलो, पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्र छोड्नु र दोस्रो, कांग्रेस नेता दिनेश कोइरालाको बागी उम्मेदवारी । मतदाताले के सोचिरहेका छन् त ? हेरौं स्थलगत रिपोर्ट

चितवन-३ मा त्रिपक्षीय प्रतिस्पर्धा : मतदाता भन्छन्, ‘मत बदलियो भने अवस्था बदलिन्छ’

चितवन । चितवन प्रायः निर्वाचनताका चर्चामा रहने जिल्ला हो । यसअघिका निर्वाचनहरू होऊन् वा आसन्न निर्वाचन । यसपटक पनि चितवन चर्चामै छ, मूलतः दुई कारणले ।

पहिलो, पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्र छोड्नु र दोस्रो, सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले बागी उम्मेदवारी दर्ता गराउनु । समग्रमा यी दुई ‘सिनारियो’ ले चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ को चुनावलाई रमाइलो बनाउँदैछ ।

अर्को रोचक पक्ष त के छ भने, यहाँको ठूलो दल नेकपा (एमाले) उम्मेदवारविहीन छ । उसले कांग्रेसबाट बागी उम्मेदवार दर्ता गराएका दिनेश कोइरालालाई समर्थन गर्ने भन्दै एमाले नेता रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता गरे । उनले नेपालभ्यूजसँग भनेका छन्, ‘१ र २ मा जित्छौँ, ३ मा दिनेश कोइरालालाई जिताउँछौँ ।’

उसो त उम्मेदवारको आ–आफ्नै दाबी हुने नै भयो । सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी) का साझा उम्मेदवार डा. भोजराज अधिकारीको दाबी छ, ‘यसपटक प्रष्टै छ, बाजी म मार्छु । स्थानीय तहको मतगणितले पनि उनलाई नै बल पुर्‍याउँछ ।

माडी स्थित बसन्तपुरको घरदैलोमा भेटिएका अधिकारी जोड दिएर भन्छन्, ‘यसपटक त जित्ने हो, जनताको जीवनस्तर सुधार्ने हो । जनताको भावना र आवश्यक्ताअनुसार काम गर्नु अब सबै जनप्रतिनिधिहरूको कर्तव्य हुन्छ ।’

एमालेको समर्थन पाएका बागी उम्मेदवार दिनेश कोइराला पनि आफूले कुनै पनि हालतमा नहार्ने बताउँछन् । अब राष्ट्रिय राजनीति केही गिरोहको हातमा छाड्न नसकिने बताउँदै उनी भन्छन्, ‘शान्तिपूर्ण तथा रचनात्मक क्रान्तिलाई समर्थन गर्न सबै राजनीतिक दललाई अपिल गरिरहेका छौँ । मलाई माओवादी केन्द्रबाहेकका दलहरूले समर्थन गर्छन् जस्तो लाग्छ चुनावको दिनसम्ममा । यसपटक चितवन ३ बाट जित निकाल्छु । बाँकी कुरा जितेपछि गरौँ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यस क्षेत्रमा विक्रम पाण्डेलाई उम्मेदवार बनाएको छ । यहाँका स्थायी बासिन्दा पाण्डेसँग राम्रै मत छ भनिन्छ । हुन पनि उनले २०७४ सालको चुनावमा प्रचण्डसँग हार्दा ३८ हजार भन्दा बढी मत ल्याएका थिए । त्यसबेला प्रचण्डले ४८ हजार भन्दा बढी मत ल्याएका थिए । माडीमै रहेका उनले नेपालभ्यूजसँग भने, ‘हार्ने त कुरै भएन । यसपटक पनि नजिते मैले कहिले जित्ने र ?’

तर, उम्मेदवारका आ–आफ्नै धारणा र दाबी भएपनि आममतदाता भने पहिलेभन्दा फेरिएका छन् । उनीहरू अधिकांशको भनाइ छ— ‘अब नयाँलाई रोज्छौँ ।’
अब उनीहरू मत परिवर्तन गरेर आफ्नो अवस्था परिवर्तन गर्न चाहन्छन् । चितवन ३ अन्तर्गत गर्ने भरतपुर महानगरपालिका ८ का मतदाता बद्रीराज वन्त भन्छन्, ‘हामीले त एमाले, कांग्रेस र माओवादी केन्द्रलाई त मत नै नदिने भनेका छौँ, नजिकमा भएकासँग त्यो सल्लाहसमेत गरेका छौँ ।’

उनी एमसीसी र एसपीपीको सन्दर्भ निकाल्दै भन्छन्, ‘नेपालका यी ठूला दलहरू भ्रष्ट निस्के, देशघाती निस्के । अब यसलाई सहेर बस्ने स्थिति छैन । अब मत परिवर्तन गरेर आफ्नो अवस्था बदल्ने मनसाय छ हाम्रो त !’

भरतपुर महानगरपालिका ८ मै भेटिएका अरुण वन्तको विचार पनि बद्रीराज वन्तको भन्दा खास फरक छैन । उनी भन्छन्, ‘हामी सधैँ दल, दल, दलमात्रै भन्यौँ । यसैले बिगा¥यो । अबचाहिँ दलको विकल्प खोज्ने हो कि भन्ने छ । हामीलाई लागेको छ । अबका जनताले परिवर्तन खोजेका छन्, तर पुराना दल र नेताले जनताले खोजेको परिवर्तन गर्नै सक्दैनन् । यसपछि अब जनता आफ्नो निर्णायक मत परिवर्तन गर्न रुचाउँछन् जस्तो लाग्छ ।’

सधैँ दल, दल भनेर मात्रै नहुने जनताले थाहा पाएको उल्लेख गर्दै उनी भन्छन्, ‘अब तमाम समस्याहरूको समाधान गर्ने उम्मेदवारलाई मात्रै तयार छन् जनता । र प्रतिबद्धताअनुसार काम नगर्ने जनतालाई झुन्ड्याउन तयार छन् । यसलाई हरेक नेताले हेक्का राख्नुपर्छ ।’

भरतपुर महानगरपालिका १४ निवासी सन्तोष लामिछाने हरेक नागरिकको दुःखको साथी बन्ने उम्मेदवारलाई जिताउने बताउँछन् । ‘यो एउटा गाउँ हो । यहाँ अधिकांश किसान नै छन् । अब यी किसानका सारथि बन्ने उम्मेदवारलाई हामी जिताउँछौँ ।’

अब पुराना नेताहरू ‘टेस्टेड’ भइसकेको र अब युवाहरूको आवश्यक्ता रहेको औंल्याउँदै उनले भने, ‘अब नयाँलाई ल्याउने हो । पुरानाहरूले गर्दैनन् भन्ने थाहा भइसक्यो । नयाँले पनि गर्छन् कि गर्दैनन् । तर, गर्छन् भन्ने विश्वासका साथ जिताउने काम अब गर्नुपर्छ ।’

भरतपुर महानगरपालिका २६ की लक्ष्मी थापानगर आफूहरूले काम गर्ने नेता खोजेको सुनाउँछन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको उदाहरण दिँदै उनले भनिन्, ‘अब हामीलाई पनि त्यस्तै नेता चाहियो । केही गरौँ भन्ने नेता चाहियो ।’

अब युवाले मात्रै देशको विकासमा टेवा पु¥याउन सक्ने उल्लेख गर्दै उनी भन्छिन्, ‘पाका नेताहरू धेरै छन् तर, काम लाग्ने कोही छैनन् । अब जनताहरू युवा आइदेऊन् भन्ने चाहन्छन् ।’

यही क्षेत्रमा पर्ने माडी नगरपालिका १ का मतदाता मानबहादुर मगर पुराना नेताहरू भ्रष्ट मात्रै रहेको बताउँछन्, उनी आफ्नो विलौना सुनाउँछन्— ‘हामीले चाहेजस्तो मुलुक कहिल्यै बनेन ।’ ७४ वर्ष उमेर बताउने मगर थप्छन्, ‘अब योपटक युवाहरूलाई छान्ने हाम्रो मन छ । त्यसपछि पनि मुलुक बनेन भने त अब के गर्नु र खोइ ?’

पुराना नेताहरूले भ्रष्टचारमात्रै गरेको उनको भनाइ छ । ‘नयाँले पनि त्यही बाटो खेद्छ कि भन्ने डर छ । अब नयाँ नेता आउनुपर्‍यो । यही हो अहिलेको हाम्रो चाहना ।’
माडी ३ की धनश्वरी परियार भन्छिन्, ‘राम्रोलाई छान्ने हामी त !’ ६८ वर्षीया उनी थप्छिन्, ‘हामीलाई नहेर्नेलाई किन भोट दिने ?’

उनलाई उम्मेदवारहरूको नाम थाहा छैन, तर राम्रोलाई छान्ने धोको भने छ । ‘सोध्छु र राम्रोलाई दिन्छु मेरो एक भोट ।’ अनौपचारिकरूपमै उनी बोल्छिन्— ‘एक भोट पनि धेरै ठूलो रहेछ नि बाबू !’

माडी ३ कै मतदाता दिलकुमारी महतो आफूहरूले पालैपाले सबै दलका नेतालाई जिताए पनि आफूले केही नपाएको दुखेसो सुनाउँछिन् । ‘नेताहरूलाई पालैपाले जितायो, पठायो आफूलाई चाहिँ केही छैन । अब त आफूलाई नहेर्ने जनतालाई भोट नहाल्ने ।’

चुनाव जितेर गएपछि फर्केर नेताहरू नआउने बताउँदै उनी थप्छन्, ‘हामीलाई कसैले हेरेनन् । जितेपछि फर्केर आउँदैनन् । जितेर गएपछि सबै आ–आफ्नो काममा, हामी जनतालाई केही न केही । हामीलाई केही पनि आउँदैन । भाडामा बसेका छौँ, अर्कैको घरमा । भोट दियो, उनीहरूले चुनावअगाडि जे भनेका हुन्छन्, त्यो कहिल्यै पु¥याउँदैनन् ।’

माडी नगरपालिका ५ की मतदाता उमा दाहाल जनताले चाहेजस्तो कोही पनि नेता नभेटाएको बताउँछिन् । ‘अहिले जनताले अलिक सक्रियलाई नै भोट दिन चाहेका छन् । अब जनताले आफूले भनेको मान्ने, आफ्नो समस्याको समाधान गर्ने नेता खोज्छन् । तर त्यो भेटाउँदैनन्,’ उनले भनिन् ।

माडीमै भेटिएका रामजी राउत जनताको समस्याल हल गर्ने नेता चाहिएको तर, पाउन गाह्रो भएको बताउँछन् । ‘उम्मेदवारहरू आइरहनुभएको छ । सबै गर्छौँ भन्छन्, गर्नेचाहिँ कहिले हो ? सकेसम्म राम्रो नेता आओस् भन्ने लाग्छ । गुण राम्रो भएको, विकास गर्ने, जनतालाई हेर्ने चाहियो ।’

आफूहरूको प्रमुख समस्या तटबन्धको रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘मान्छे राम्रो रोज्नुपर्‍यो । हामी त्यही सोचमा छौँ ।’

यस निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिका ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ नं वडा र पूरै माडी नगरपालिका पर्छ । गत निर्वाचनअनुसार यहाँ सत्ता गठबन्धनसम्बद्ध दलहरूसँग ४५ हजार भन्दा बढी मत छ भने नेकपा (एमाले) सँग झन्डै ३० हजार वरिपरि मत देखिन्छ ।

एमालेको यो मत गठबन्धनको भन्दा झन्डै १५ हजारले कम हो । तर, एमालेले बागी उम्मेदवार दिनेश कोइरालालाई सघाउने निर्णय गरिसकेको छ ।
माछा चुनाव चिह्न लिएर उठेका कोइराला युवा भएकाले पनि उत्साहित देखिन्छन् ।

भरतपुर महानगरपालिका २८ का मतदाता कपिल अधिकारी भन्छन्, ‘हामीले मात्रै होइन, अब समग्र देशले युवा नेतृत्व पाउनुपर्छ । हामी पनि युवा चुन्ने मूडमा छौँ, यत्तिकै यो निर्णय गरेका होइनौँ हामीले । सोचविचारी नै गरेका हौँ । अब युवाबाट मात्रै देश विकासको यात्रा सुरू गर्न सकिन्छ ।’

चितवन ३ मा उठेकामध्ये युवालाई आफ्नो मत रहेको भन्द्र उनी थप्छन्, ‘अवस्था फेर्नलाई मत फेर्न आवश्यक छ ।’

यहाँबाट कसले बाजी मार्छ, त्यसका लागि मंसिर ४ नै कुरौँ । तर, यहाँको त्रिपक्षीय चुनावी भिडन्त भने निकै रोचक बन्नेवाला छ ।

तस्वीर : सुनिल महर्जन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved