कर्णालीमा ठुला नेताकै जिल्लामा गठबन्धन बिग्रियो, तीनै दलका उम्मेदवारले गरे आधिकारिकताको दाबी

नेपालीका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमुख्यमन्त्री तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर शाही र कर्णालीका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्लामै सत्ता गठबन्धनमा गडबड् देखिएको छ।

कर्णालीमा ठुला नेताकै जिल्लामा गठबन्धन बिग्रियो, तीनै दलका उम्मेदवारले गरे आधिकारिकताको दाबी

सुर्खेत । कर्णालीका ठुला नेताको गृह जिल्लामै सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार को हो ? भन्ने प्रश्न खडा भएको छ । नेपालीका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमुख्यमन्त्री तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर शाही र कर्णालीका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्लामै सत्ता गठबन्धनमा गडबड् देखिएको हो ।

खड्काको गृह जिल्ला सुर्खेत, महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालीकोट र जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारले आफू नै आधिकारिक भन्दै प्रचार-प्रसार गरिरहेका छन् ।

सुर्खेत क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच विवाद देखिएको छ । सुर्खेत २(क) मा कांग्रेसका कालीप्रसाद शाक्य र एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायको उम्मेदवारी परेको छ । २ (ख)मा माओवादीका विन्दमान विष्ट र एकीकृत समाजवादीका मोहन बडुवाल उम्मेदवार छन् । यी सबैले आफू नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको भन्दै प्रचार गरिरहेका छन् ।

सुर्खेत २(ख) एकीकृत समाजवादीका उम्मेदवार मोहन बडुवालले गठबन्धन दलबीच सहमति प्रयास भइरहेको भन्दै सहमति नभए मित्रवत प्रतिस्पर्धा हुने बताए । ‘यो हामीले गरेर मात्र हुने बिषय हैन् । केन्द्रमा छलफल भइरहेको बिषय हो ।’ उनले भने,‘सहमति नभए मित्रवत प्रतिस्पर्धा हुन्छ ।’

एउटा निर्वाचन क्षेत्र रहेको कालीकोटको प्रदेश सभा ‘ख’ मा पनि यस्तै विवाद देखिएको छ । यहाँ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका हिक्मतबहादुर बिष्ट र एकीकृत समाजवादीका बिश्वराज बमको उम्मेदवारी परेको छ ।
कानुनी र नैतिक तथा अन्य कुनै आधारमा आफुले उम्मेदवारी फिर्ता लिन नमिल्ने बमले बताए । ‘मिट प्याक गर्ने कुरा नै आउँदैन् । गठबन्धन दलबीच सहमति नभए मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’ उनले भने,‘हामीले एक चरणको प्रचार–प्रचार गरिसकेका छौं। १८ गते जिल्ला समितिको बैठकपछि कार्यक्रम तिव्र पार्ने तयारी छ ।’

मुख्यमन्त्री शाहीको गृहजिल्ला हुम्लाको प्रदेशसभा ‘क’ मा पनि आधिकारिक उम्मेदवार को हो ? भन्ने प्रश्न उठे्को छ । यहाँ माओवादी केन्द्रका रनसिंह परियार र एकीकृत समाजवादीका हस्तबहादुर शाही उम्मेदवार छन् । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यद्यपी उनी आफु नै गठबन्धनको आधिकारिक उम्मेदवार भन्दै प्रचारमा हिडिरहेका छन् ।

पूर्वमुख्यमन्त्री शाहीले केन्द्रको सहमति अनुसार कालीकोटमा प्रतिनीधिसभा र प्रदेशसभामा भागबण्डा मिलाईसकेको दाबी गर्छन् । त्यही आधारमा एकीकृत समाजवादीका उम्मेदवार फिर्ता लिने विश्वास व्यक्त गरे । ‘कालीकोटको प्रतिनिधिसभामा माओवादी केन्द्र र प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमध्ये एउटामा माओवादी केन्द्र र अर्को कांग्रेसको भागमा परेको छ ।’ उनले भने, ‘त्यही आधारमा गठबन्धन विपरित काम हुँदैन् ।’

मुख्यमन्त्री समेत रहेका कांग्रेस नेता जीवनबहादुर शाहीले समस्याका विषयमा छलफल भइरहेको बताए । केही दिनमै समाधान हुने विश्वास व्यक्त गर्दै उनले सहमति नभए स्वस्थ प्रतिस्पर्धा हुने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved