महानगरले साना व्यापारीबाट चर्को कर असुली ठूलालाई मिनाहा गरेको छ : हरिकृष्ण व्यञ्जनकार (भिडिओ)

मैले ठूलो सपना देखेको छैन। खानेपानी र फोहोरको समस्या समाधान हुन्छ। सबै सडकहरू पीच हुनेछन्। पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण भएर पनि छाँयामा परेको ललितपूरको प्रचारप्रसार गर्नेर्छौं।

महानगरले साना व्यापारीबाट चर्को कर असुली ठूलालाई मिनाहा गरेको छ : हरिकृष्ण व्यञ्जनकार (भिडिओ)

ललितपुर महानगरपालिकाको मेयर पदका लागि एमाले उम्मेद्वार हुन्– हरिकृष्ण व्यञ्जनकार। २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको प्रमुख पदमा झिनो मतान्तरले पराजित भएका थिए उनी। पुनः सोही पदमा पुरानै प्रतिस्पर्धीसँग भिड्दैछन्। उनीसँग मनीषा अवस्थीले गरेको कुराकानी।

तपाईंको उम्मेदवारी किन?

– यो नगर बनाउनका लागि मेरो उम्मेदवारी हो। हामी यो नगरलाई समृद्ध सांस्कृतिक महानगर बनाउन चाहन्छौँ। त्यसैका लागि मैले उम्मेदवारी दिएको हुँ।

तपाईंले गरेका प्रतिबद्धता पुरा हुने आधार चाहिँ के हुन् ?

– हामीले लामा–लामा पूरा नहुने कुरा गरेका छैनौं। हामीले सक्ने कुरा मात्रै गरेका छौँ। फोहोर देऊ मोहोर लैजाउ भनेका छौँ नहुने कुरा के छ र ? खानेपानीको व्यवस्था गर्छौं। पर्यटन उद्योग फस्टाउन काम गर्छौं भनेका छौँ। यी नहुने कुरा होइनन्। हामीले जे भनेका छौँ त्यो गर्छौं गर्न नसक्ने काम भनेका छैनौं।

सबैभन्दा महत्त्वपूर्ण कुरा बजेट हो। यसको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

– बजेट व्यवस्थापनका लागि समस्या त होला। म यही व्यवस्थापन गर्न आएको हुँ तर अहिले ललितपुर महानगरसँग जे जति बजेट छ, त्यसमा पनि काम धेरै गर्न सकिन्छ। यसबाहेक महत्त्वपूर्ण कुरा अहिले महानगरले साना व्यापारीहरूबाट चर्को कर असुलेर ठूला व्यापारीहरूको कर मिनाहा गरेको छ। हामी आम्दानी अनुसारको कर लिएर आम्दानी बढाउँछौँ।

तपाईंलाई जनताले विश्वास गर्ने आधार के हो ?

– नेतृत्व कस्तो छ भन्नेमा भर पर्छ। अहिलेको नेतृत्वको पनि आफ्नै कार्यकर्ता पनि सन्तुष्ट छैनन् नि। हामी पार्टीगत रूपमा विभाजित हुँदैनौं। सबैको मन जितेर काम गर्छौं।

कोभिड महामारीको बेला निकै गम्भीर दीर्घकालीन समस्या व्यहोरेको शिक्षा क्षेत्रलाई उकास्ने तपाईंका योजना के छन् ?

– शिक्षालाई अहिलेजस्तो हुन दिँदैनौं। मैले जीवनको धेरै समय शिक्षा क्षेत्रमा बिताएको छु। ०४० को दशकमा म विद्यालयको प्रध्यानाध्यापक भएर काम गरे। अहिले पनि म क्याम्पसको अध्यक्ष छु। सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने वातावरण बनाउन मैले ठूलो भूमिका खेलेको छु। शिक्षा सहज सुलभ र सरकारी स्तरको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ।

उपत्यकाको सबैभन्दा पेचिलो विषय फोहोर व्यवस्थापनका लागि तपाईंका योजना के छन् ?

– यो कुरा मैले भन्दै आएको छु, फेरि पनि भन्छु। अहिले ललितपुर महानगरपालिकाले ओखरपौवामा फोहोर फाल्नका लागि वर्षको १५ देखि २० करोड रुपैयाँ खर्च गर्दै आएको छ। जबकि एउटा चार करोडको मेसिन आएको छ। त्यो मेसिनले फोहोरबाट ग्याँस, बिजुली र मल निकाल्छ। त्यसका लागि दुई रोपनी जग्गा भए हुन्छ। ललितपुर महानगरको जग्गा बालकुमारीमा चार रोपनी जग्गा यत्तिकै छ। हामी त महानगरबासीबाट फोहोर किन्छौँ। फोहोरको व्यवस्थापन त हामी गर्छौं।

निर्वाचनको लागि खर्चको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

– हाम्रो पार्टी भनेको कार्यकर्ताहरूबाट चलेको हो। कार्यकर्ताहरूले स्वतस्फूर्त रूपमा खर्च गर्छन्। जे चाहियो उनिहरूले गर्छन्। केही आवश्यक खर्च सहयोगीहरूले पनि गर्छन्। वास्तवमा हामी अरु पूँजीवादी पार्टीहरूले जस्तो अनावश्यक खर्च पनि गर्दैनौं।

भनेपछि तपाई मेयर पदको उम्मेदवारी दिइरहँदा व्यक्तिगत खर्च नै गर्नुभएको छैन ?

– मेरो व्यक्तिगत के खर्च हुनु ? हिँड्नका लागि एउटा गाडी छँदैछ। घरदैलोमा जाँदा कार्यकर्ताले आफै खाजा खुवाउँछन्। निर्वाचन आचारसंहिताभित्र रहेर केही खर्च हुन्छ।

मेयर हुनुभयो भने तपाईं कार्यकालमा महानगरको कस्तो परिकल्पना गर्नुहुन्छ ?

– मैले ठूलो सपना देखेको छैन। खानेपानी र फोहोरको समस्या समाधान हुन्छ। अहिले भएका सबै सडकहरूमा पीच हुनेछ। पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण भएर पनि छाँयामा परेको ललितपूरको प्रचारप्रसार गर्नेर्छौं। सबैभन्दा लामो रथजात्रा यही हुन्छ। तान्त्रिक नाच हुन्छ। खड्ग जात्रा, घोडेजात्रा हुन्छ। यो सबेको प्रचारप्रसार गरी समृद्ध सांस्कृतिक महानगर बनाउँछौँ।

पहिलो कार्यकालमा शुरु गरेका काम पूरा गर्न पुनः उम्मेदवारी दिएको हुँ : चिरीबाबु महर्जन (भिडिओ)

अन्त्यमा, उम्मेदवार चुनावी प्रचारप्रसारमै हिँड्दा पनि जनताको कुरा नसुन्ने आफ्ना कुरा मात्रै जबरजस्त सुनाउने प्रवृत्ति देखिन्छ नि !

– हामीले त जनताका कुरा सुनिरहेका छौँ। जनताका कुरा नसुनेर कसको कुरा सुन्ने त ? जनताले पानी खुवाउनुपर्‍यो भनिरहेका छन्। हामीले मसँग इच्छाशक्ति छ काम गर्र्छुं भनिरहेका छौँ। म पहिलेदेखि ललितपूरका जनताका लागि काम गरेको मान्छे हुँ। यहाँका धेरै मानिसले पहिला गरेको सहयोग नै सम्झिरहेका छन्। अहिले घरदैलोमा हिँड्दा भन्ने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved