पहिलो कार्यकालमा शुरु गरेका काम पूरा गर्न पुनः उम्मेदवारी दिएको हुँ : चिरीबाबु महर्जन (भिडिओ)

अझ पनि हामीसँग गर्नुपर्ने काम थुप्रो बाँकी रहेको छ। प्रोजेक्ट ब्याङ्कमा गर्नुपर्ने डीपीआर गरेका प्रोजेक्टहरु थुप्रो छन्। अन्तर्राष्ट्रिय डोनर एजेन्सीहरुसँग सहकार्य गरेर अगाडि बढाएका प्रोजेक्टहरु पनि सकिइसकेका छैनन्।

नेपालभ्युज

२०७४ सालको स्थानीय निर्वाचनबाट ललितपुर महानगरपालिकामा निर्वाचित चिरीबाबु महर्जनले पुनः प्रमुख पदमा उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महर्जनसँग नेपालभ्यूजका लागि सुबास सुवेदीभागिरथी पण्डितले गरेको कुराकानी।

ललितपुर महानगरपालिकाको मेयरका रुपमा एक कार्यकाल पूरा गरेर पनि फेरि किन उम्मेदवारी दिनुभएको ?
– एकपटक मैले पाँच वर्षसम्म ललितपुर महानगरपालिकाको मेयर भएर काम गरेँ। २०७४ साल भन्दा अगाडि लगभग १८ वर्षसम्म निर्वाचन भएको थिएन। त्यसबेला गर्नुपर्ने थुपैे्र कामहरु, प्रोजेक्टहरु बाँकी थिए। गएको पाँच वर्षको दौरानमा हामीले धेरै प्रोजेक्ट गर्‍यौं। तर पनि गर्नुपर्ने प्रोजेक्टहरु अझै बाँकी रह्यो। गएको चुनावमा हामी जितेर गइसकेको अवस्थामा धेरै कुरा अपवादको रुपमा रहेका थिए। त्यो भनेको, स्थानीय सरकार सञ्चालन ऐन नै धेरैपछि आइपुग्यो। दोस्रो कुरा, १८ वर्ष कर्मचारीतन्त्रले शासन चलाइरहेकाले त्यसको ह्याङ्गओभर कर्मचारीमा बाँकी नै थियो।

तेस्रो कुरा, हामी आइसकेपछि कुनै पनि कुरा जेरो लेभलबाट शुरु गर्नपर्‍यो। त्यसैले हामी अलि पछाडि पर्‍यौँ। काम गर्दै जाँदा कोभिडले शिकार बनायो। त्यो अवधिमा पनि हामीले गर्न मिल्ने, गर्न सक्ने काम थुप्रै गर्‍यौँ। कोभिडको सन्दर्भमा ललितपुर महानगरले नगरेको भनेको काम केही पनि छैन। त्यो बेला के गर्ने भन्ने कुरा विश्वका महारथी मुलुकलाई पनि थाहा थिएन। हामीले पनि ‘लर्निङ बाई अवधारणा’बाट तत् तत् क्षणमा निर्णय गरेर काम गर्‍यौँ। अझ पनि हामीसँग गर्नुपर्ने काम थुप्रो बाँकी रहेको छ। प्रोजेक्ट ब्याङ्कमा गर्नुपर्ने डीपीआर गरेका प्रोजेक्टहरु थुप्रो छन्। अन्तर्राष्ट्रिय डोनर एजेन्सीहरुसँग सहकार्य गरेर अगाडि बढाएका प्रोजेक्टहरु पनि सकिइसकेका छैनन्। योजनामा रहेका यी प्रोजेक्टहरु मेरै कार्यकालमा शुरु गरेका हुनाले आफ्नो अर्को कार्यकालमा टुंग्याउन पायो भने राम्रो हुन्छ भन्ने मेरो ठहर हो। तसर्थ मैले दोस्रो पटकको लागि उम्मेदवारी दिएको छु।

तपाईंका प्रतिबद्धता पूरा गर्ने आधारहरु के-के हुन्?
– मेरो प्रतिबद्धता पूरा गर्ने आधारहरु धेरै छन्। सबैभन्दा पहिला त मेरा विगत पाँच वर्षको कार्य अनुभव नै आउँछ। मेरो अनुभव निष्कलंक छ। कसैले मलाई कुनै पनि आरोप लगाउन सकेको छैन। आर्थिक रुपमा पनि कसैको आरोप छैन। जे-जति प्रोजेक्टहरु हामीले शुरु गर्‍यौं, विशेषज्ञहरुसँग सल्लाहमा अगाडि बढायौं। त्यो भन्दा पनि महत्त्वपुर्ण कुरा अहिलेसम्म महानगरपालिकामा जति पनि नगरबासीहरु छन्, उहाँहरु प्रति मैले व्यक्त गरेको प्रतिबद्धता पूरा नगरेको भनेको कमै होला। तसर्थ उहाँहरुले मलाई धेरै माया गर्नुहुन्छ। अबको कार्यकालमा पनि प्रतिबद्धताहरु पूरा गर्छु भन्ने मेरो ठहर हो।

तपाईको प्रतिबद्धता पूरा गर्न बजेट कसरी पुर्‍याउनुहुन्छ, योजना के छ?
– अहिले स्थानिय पालिकाहरुमा बजेटमा त्यति गाह्रो पर्छ जस्तो लाग्दैन किनभने स्थानीय पालिकाहरुको आम्दानीको स्रोत जुटाउने बलियो तरिका छ। स्थानीय कर संकलनमा ललितपुर माहानगरबासीले राम्रोसँग कर तिरिरहनुभएको छ। त्यसपछि हामीलाई संघिय सरकारको अनुदान र सहायता, प्रदेश सरकारको सहायता छ। त्यसमाथी पनि अन्तर्राष्ट्रिय दातृ निकायहरु, जस्तै विश्व बैंक, एसियाली विकास बैंक, युरोपियन युनियन जस्ताहरुसँग पनि हाम्रो राम्रो कार्यगत एकता छ। यी र यस्तै संघ संस्थाहरुबाट हामीले रकमको व्यवस्था गरेर मैले जति पनि प्रतिबद्धताहरु व्यक्त गरेको छु त्यो पूरा गर्न अप्ठेरो पर्दैन भन्ने लाग्छ।

कोभिडले सबै क्षेत्रलाई असर गर्‍यो, जसमध्ये अर्थतन्त्र मुख्य रह्यो। कोभिडले पारेको असरको सामना कसरी गर्नुहुन्छ?
– कोभिडले विश्व अर्थतन्त्रलाई नै आक्रान्त पारेको छ। नेपालजस्तो मुलुक र ललितपुर महानगरपालिकालाई पनि यसले आर्थिक रुपमा प्रभाव पार्नु स्वाभाविक नै हो। यो सन्दर्भमा नगरबासीहरुलाई नगरपालिकाले आर्थिक रुपमा सहयोग गरिरहेका छौं। यस नगरपालिकामा हस्तकलाकर्मीहरु धेरै छन्। कोभिडले उहाँहरुलाई निकै थला पारेको थियो। त्यसैले उहाँहरुको हिजोको कामलाई फिर्ता ल्याउनको लागि पहल गरिरहेको छौं। ललितपुर नगारपालिकाले आयमुलक प्रशिक्षण पनि दिन्छौं। सो प्रशिक्षणमा राम्रो गर्ने र काम गर्ने इच्छा व्यक्त गरेको अवस्थामा उहाँहरुको सीप व्यवस्थापनको काम पनि गर्न गइरहेका छौ। यसले गर्दा उहाँहरुको आर्थिक वृद्धिसँगै नगरको अर्थ नीतिमा पनि टेवा पुर्‍याउँछ।

कोभिडले शिक्षामा पनि धेरै असर पुर्‍याएको छ। समृद्धिको एउटा आधार शिक्षाको क्षेत्र उकास्नको लागि आगामी दिनमा के-कस्ता योजना बनाउनुभएको छ?
– ललितपुर महानगरपालिकालाई मुलुककै शिक्षाको केन्द्र भनिन्छ। यहाँ नामुद-नामुद सामुदायिक विधालयहरु छन्, झन् संस्थागत विद्यालयको त कुरै नगरौं। जब-जब मुलुकको राष्ट्रिय स्तरको परीक्षाको नतिजा निस्कन्छ, तब राम्रो नतिजा ललितपुर कै यी संस्थागत विधालयहरुकै पोल्टामा पर्छ। तसर्थ यहाँको शिक्षाको स्तर एकदमै राम्रो छ र यसलाई हामीले अहिलेसम्म कायमै गरिराखेका छौं।

कोभिडको कारणले कतिपय मजबुत बनाउनुपर्ने पक्षहरु छन्। त्यता पनि हाम्रो ध्यान आकृष्ट भइरहेको छ। अहिले ललितपुर महानगरपालिकाभित्र शिक्षा ऐन नभएको अवस्थामा शिक्षा कार्यविधि बनाएर त्यस अन्तर्गत शिक्षक दरबन्दी गरिसकेका छौं। यसपछि गुणस्तरिय शिक्षाको लागि पनि धेरै प्रावधानहरु राखेका छौँ। जसमा विद्यालय ब्यबस्थापन ऐन अन्तर्गतको व्यवस्था सबै विद्यालयमा भइसकेको छ। त्यसैगरी शिक्षक अभिभावकहरुसँग सम्बन्धित अन्य कामहरु पनि महानगरपालिकाले रुची लिएर अगाडि बढिरहेको छ। नेपाल सरकारले महानगरपालिकाभित्र रहेका इसीडीका शिक्षकहरुको तलबवृद्धि गर्ने कुरा ल्यायो। त्यसमा पनि हामीले ओके गरिसकेका छौं।

स्वास्थ्य सेवालाई बलियो बनाउन कुनै योजना बनाउनु भएको छ?
– स्वास्थ्य सेवालाई बलियो बनाउनको निमिक्त स्वास्थ्य बीमाको कार्ययोजना तर्जुमा गर्न गइरहेका छौं। ललितपुर महानगरपालिकामा आफँैले सञ्चालन गरेको अस्पताल त छैन। तर पनि पाटन अस्पतालसँग सहकार्य गरेर हामीले कार्य अघि बढाइरहेका छौं। कोभिडको समयमा पाटन अस्पतालमा अक्सिजन नभएर धेरै मानिस प्रताडित भएका थिए। तसर्थ त्यहाँ हामीले अक्सिजन प्लाण्ट स्थापना गर्दियौँ। अब प्रत्येक बेड-बेडमा अक्सिजनको सप्लाई हुन्छ। स्वास्थ्य क्षेत्रका कुनै पनि सम्बन्धित निकायसँग सहकार्य गर्न हामी पछि पर्दैनौँ जसले गर्दा सम्पूर्ण नगरबासीलाई स्वास्थ्य क्षेत्रमा उल्लेखनी सहयोग पुग्नेछ।

ललितपुरमा धेरै सांस्कृतिक सम्पदाहरु छन्। यी सांस्कृतिक सम्पदा र अन्य विकास निर्माणको बारेमा के-के योजना छन्?
– महानगरपालिका क्षेत्रमा हामीले धेरै ने सम्पदाहरु पुनः निर्माण गरिसकेका छौँ। कुनै-कुनै सम्पदा भने अलि ढिला गगरी शुरु भयो, त्यसको काम अहिले भइराखेको छ। जस्तै पाटन दरबारको देगु तलेजु, खोकनाको रुद्रायणी मन्दिर, बुंगमतीको रातो मच्छिन्द्रनाथको शिखर शैलीको मन्दिर र बालकुमारीको बालकुमारी मन्दिर अहिले बनिरहेको छ। त्यस्तै पाटन दरबारको नरसिंह मन्दिर पनि बनिरहेको छ। हाल बनिरहका यी मन्दिर आउँदो कार्यकालमा सबै बनिसक्छ। सम्पदा संरक्षणमा थप गर्नुपर्ने भनेको नियमित मर्मत सम्भार बाहेक भौतिक रुपमा बनाउनुपर्ने केही होला जस्तो मलाई लाग्दैन।

यो निर्वाचनका लागि खर्च व्यवस्थापन कसरी गरिरहनुभएको छ?
– निर्वाचनमा मेरो खर्च खासै हुँदैन किनभने म जनताले ज्यादै माया गरेको मान्छे। त्यसकारण निर्वाचनमा म खर्च गर्नुपर्नेगरी तडकभडक पनि गर्दिनँ, गरेको पनि छैन। निर्वाचन आयोगले तोकेअनुसार महानगरको मेयरले खर्च गर्न पाउने जुन सीमा छ, त्यही सीमाभित्र नै म पनि छु।

यो निर्वाचनमा तपाईं विजयी हुनुभयो भने पाँच वर्षपछि ललितपुर महानगरपालिका कस्तो हुन्छ?
– ललितपुर नगरपालिकालाई दुई किसिमले हेर्नुपर्छ। हिजोको उपमहानगरपालिका र अर्को महानगर तथा महागनर बन्नका लागि उपमहानगरमा गाँसिन आएका हिजोको गाउँपालिकाहरु। हिजोको गाउँपालिकाहरुमा पुर्वाधारहरु सबै भइसकेको छैन। हाल हाम्रो प्राथमिकता भनेको बजेट र नीति बनाउँदा पनि हिजोका गाउँपालिकाहरुलाई छिटोभन्दा छिटो विकास हुने गरी बजेटको विनियोजन गर्ने र नितिहरु बनाउनेमा हो। गएको मेरो कार्यकालमा पनि यसैलाई आधार मानेर विकास निर्माणको कामहरु गर्दै आएका थियौँ। र अब पनि यो कुरालाई अझ बढी निरन्तरता दिनुपर्छ जसले गर्दा अबको पाँच बर्षपछि हिजोको गाउँपालिकाहरुको विकास र हिजोको उपमहानगरपालिकाको विकास तुलनात्मक किसिमले बराबर हुन त अझ गाह्रो पर्छ। तर मेरो आकांक्षा हिजोको गाउँपालिकाहरुको बिकासलाई हिजोको उपमहानगरपालिको स्तरमा ल्याउने हो।

स्थानीय सरकार भनेको सेवा दिने संस्था हो। तपाईंको एक कार्यकालको अनुभव पनि छ। अब तपाईले दिने सेवा र सुविधालाई सहज र सुलभ बनाउने योजना केही बनाउनुभएको छ?
– स्थानीय सरकार भनेको नै सेवा प्रवाह गर्ने हो। यसमा हामीले सुशासनलाई केन्द्रविन्दु बनाएर सेवा सुविधा दिइराखेका छौं। यसमा पनि हिजोको समयमा प्रयास गरेर पनि पूरा गर्न नसकेको धेरै कुरा छन्। जस्तै, अनलाइन पेमेन्ट सिस्टम केही हदसम्म शुरु भयो। त्यस्तै इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम, त्यो पनि हजार वर्ग फिटसम्मको नक्सा पास गर्न मात्र शुरु भयो तर यो भन्दा बढीको सकेको छैन। यी र यस्तै सेवाहरु अनलाइनबाट अथवा वडाबाट नै व्यवस्थापन गर्ने योजना छ। नगरबासीहरुलाई अहिलेका सञ्चारमाध्यमको प्रयोग गरेर घरमा नै बसेर सेवा लिनको लागि आवश्यक पूर्वाधार केही हदसम्म विकास गरिसकेका छौ। अब त्यसलाई निरन्तरता दिएर विस्तार गर्छौं।

अन्त्यमा भोटर्सहरुलाई के भन्न चाहनुहुन्छ?
– म हिजै भनेको कुरालाई दोहोर्‍याउन चाहन्छु। हिजो मैले भनेको थिएँ, मैले गरेका कामले तपाईंहरुको शिर झुक्न दिन्नँ। उहाँहरुको शिर झुकेको कुरा सुन्नमा आएको पनि छैन। अबको कार्यकालमा पनि हिजो भन्दा पनि परिष्कृत, अझ राम्रोसँग काम गरेर भोटर्सको शिर ठाडो राख्न प्रयत्नशील रहने छु। पाँच वर्षपछि मूल्यांकन गरेर हेर्दा हो रहेछ भन्ने पार्नेछु भन्ने मेरो प्रतिबद्धता हो।

महानगरले साना व्यापारीबाट चर्को कर असुली ठूलालाई मिनाहा गरेको छ : हरिकृष्ण व्यञ्जनकार (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved