प्रचण्डको जोडबलमा गैरसांसदलाई मन्त्री, पार्टीभित्र असन्तुष्टि

प्रचण्डको जोडबलमा गैरसांसदलाई मन्त्री, पार्टीभित्र असन्तुष्टि

सुर्खेत। कर्णाली प्रदेश सरकारमा गैरसांसदलाई मन्त्री बनाउन लागेपछि  नेकपा (माओवादीकेन्द्र) भित्र नै असन्तुष्टि देखिएको छ।

नेकपा (माओवादी केन्द्र) स्रोतका अनुसार मुख्यमन्त्री जीवनबहादुर शाहीले माओवादीका दुई, एकीकृत समाजवादीबाट एक र कांग्रेसबाट एक गरी चार जनलाई मन्त्री बनाउन लागेका हुन्।

माओवादीका तर्फबाट प्रदेशसभा सदस्य नरहेका छिरिङ डुङडोल लामा (कार्चेन लामा) को नाम सिफारिश भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आदेशमा गैरसांसद् कार्चेन लामालाई मन्त्री बनाउन लागेको भन्दै असन्तुष्टि  पाेखिन थालेको हो ।

माओवादीका कर्णालीका सांसद ठम्बरबहादुर विष्टले गैरसांसदलाई मन्त्री बनाउन लागेको भन्दै कडा टिप्पणी गरेका छन्। ‘यसैले ६ महिनामा जति दिन मन्त्रीका रूपमा बस्ने छ, उसलाई स्वयं जेल घरमा बसेजस्तो अनुभूति हुने कुरा निश्चित छ। अर्को कुरा त्यस्ता जिल्लाबाट कार्यकर्तालाई टिपेर मन्त्री बनाउँदा जिल्लाको पार्टी बन्छ भन्ने भ्रम छ भने त्यो ‘गोरु ब्याएर दुध खाने’ भने जस्तै हो।’ उनले फेसबुकमा लेखेका छन्।

गैरसांसद्लाई मन्त्री बनाउँदै मुख्यमन्त्री शाही

लामाबाहेक प्रदेशसभा सदस्यहरू माओवादीकै जाजरकोटका गणेशप्रसाद सिंह, एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका सुर्खेतका यज्ञबहादुर बुढा क्षत्री र दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाउन लागिएको छ।

किन लामालाई मन्त्री बनाउन बाध्य भए ‘प्रचण्ड’ ?

गैरसांसद रहेका लामालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जोडबलमा मन्त्री बनाउन लागिएको स्रोतले बताएको छ। लामा समुदायका पुराना माओवादीका नेता छिमी लामा एमाले प्रवेश गरेपछि हिमाली क्षेत्रमा रहेका लामा समुदायमा माओवादीको पकड कमजोर हुने आकलन गरेर लामालाई मन्त्री बनाउन लागेका हुन्।

हुम्लाबाट स्वतन्त्र सांसद जितेका छक्कबहादुर लामालगायत टोलीले प्रचण्डलाई भेटेर लामालाई मन्त्री नबनाए विकल्प खोज्ने बताएपछि प्रचण्डको दबाबमा लामालाई मन्त्री बनाउन राजी भएका छन्। लामा समुदायलाई पार्टीमा स्थान दिएर अड्याउन प्रचण्डको निर्देशनमा लामालाई मन्त्री बनाउन लागिएको माओवादीकेन्द्र सम्बद्ध स्रोतले जनाएकाे ५ ।

लामालाई फौजदारी अभियोग

लामालाई झण्डै ३० वर्षअघि फौजदारी अभियोग लागेको पाइएको छ। चीनको ताक्लाकोटस्थित खोचेर गुम्बामा मुर्ति चोरी गरेको आरोपमा लामासहित छिरिङ्ग पाल्दन लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा हुम्ला जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

अदालतका न्यायाधीश नीलकण्ठ उपाध्यायले २५ मंसीर २०५१ मा फैसला सुनाउँदै दुवै आरोपीलाई दुई-दुई वर्ष कैद र पाँच-पाँच हजार रुपैयाँ जरिवाना हुने आदेश दिइएको थियो।

को हुन् कार्चेन लामा ?

हुम्लाका पुराना माओवादीका नेता हुन्– कार्चेन लामा। २०४६ सालबाट मोटो मशालको राजनीतिक यात्रा शुरु गरेका हुम्लाको छिरिङ डुङडोल लामा (कार्चेन लामा) संयुक्त जनमोर्चामा सक्रिय रहेका लामा ०५४ साल साविक बरगाउँ गाउँ विकास समितिमा संयुक्त जनमोर्चाबाट अध्यक्ष उम्मेदवार रहे । उनले पदमबहादुर लामालाई अध्यक्ष बनाएर आफूले पदसमेत त्याग गरेका हुन्।

२०५४ सालदेखि माओवादीमा भूमिगत भएर काम गरेका लामा हिमाली जनसांस्कृतिक परिवार अध्यक्षदेखि माओवादीको सैन्य कमाण्डर भएका थिए। २०५९-०६० तिर हुम्ला जिल्लाका जनसरकार प्रमुख भएका लामा हिमाली भोटे राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved