बेइजिङ डायरी

बेइजिङस्थित मैत्रेय बुद्धको नेपाल साइनो

बेइजिङस्थित मैत्रेय बुद्धको नेपाल साइनो

चीनमा नेपालको भावना बोक्ने थुप्रै कुराहरु छन्। चीनको स्वायत्त प्रदेश तिब्बतभन्दा टाढा रहेको बेइजिङमा समेत नेपालको प्रतिनिधित्व गर्ने केही सम्पदाहरु नेपाल र चीनबीचको मैत्री तथा सांस्कृतिक सम्बन्धको साक्षीका रुपमा रहेका छन्।

नेपाली कला र संस्कृति चिनाउने बेइजिङको सबैभन्दा ठूलो सम्पदा अरनिकोले बनाएको श्वेत चैत्य हो। नेपालका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले गर्ने चीन भ्रमणका क्रममा श्वेत चैत्यको पनि अवलोकन हुने गरेको छ।

श्वेतचैत्यलाई महान् नेपाली कलाकार अरनिकोले सिर्जना गरेको भनेर चिनियाँ सरकारी दस्ताबेजहरुमा खुलस्त रुपमै व्याख्या गरिएको छ। तर, अन्य केही त्यस्ता सम्पदाहरुको नेपाल साइनो खुलाउन चीनले कन्जुस्याइँ गरेको देखिन्छ।

यहाँ चर्चा गर्न खोजिएको सम्पदा बेइजिङको केन्द्र भागमा रहेको लामा मन्दिरको ‘मैत्रेय बुद्ध’ मूर्तिको बारेमा हो।

सन् २०१६ मे १८ तारिखका दिन चीन भ्रमणमा आएका नेपाली पत्रकारहरु हरिबहादुर थापा, गोकर्ण अर्याल, विजय पौडेल लगायतको टोलीसँग बेइजिङमा भेट भयो। त्यो दिन उनीहरुको बेइजिङको ‘लामा टेम्पल’ भ्रमण गर्ने कार्ययोजना रहेछ।

उहाँहरुलाई चीन भ्रमणमा बोलाएको आतिथ्य संस्थाले म कार्यरत चिनियाँ अन्तर्राष्ट्रिय रेडियोलाई लामा टेम्पल भ्रमणको जानकारी दिएपछि नेपाली पत्रकारहरुसँग अन्तर्वार्ता लिनका लागि म त्यहाँ पुगेको थिएँ।

त्यसभन्दा अगाडि तीनपटकभन्दा बढी सो क्षेत्रको भ्रमण गरिसकेको थिएँ। आफू बसेको ठाउँबाट भूमिगत मेट्रोरेल ‘सबवे’ चढेर ४५ मिनेटमा पुगिने सो क्षेत्र मेरा लागि बेइजिङमा रहेका विशेष स्थान मध्ये एक हो।

सबैभन्दा बढी पुग्ने ठाउँ अरनिकोले बनाएको श्वेत चैत्य हो। श्वेत चैत्यमा नेपालीलाई प्रवेश शुल्क नलाग्ने हुनाले जतिपटक गएपनि भयो तर लामा टेम्पलमा भने २५ चिनियाँ युआन (नेपाली रुपैयाँ ४७५ बराबर) तिर्नुपर्ने भएकाले वर्षको एक अथवा दुईपटक मात्र जाने गरेको छु।

बेइजिङको केन्द्र भागमा रहेको लामा मन्दिर चिनियाँ शैलीको भव्य सम्पदा हो। यसको निर्माण छिङ वंशको शासनकालमा सन् १६९४ मा सुरु भएको थियो। चीनका तिब्बती बौद्ध धर्मावलम्बी र मंगोलियन बौद्ध धर्मावलम्बीहरुका लामाहरुको प्रशासनिक केन्द्र पनि हो यो मन्दिर।

चीनमा सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टी सत्तामा आएपछि यो मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको थियो। सांस्कृतिक क्रान्तिताका अनियन्त्रित भीडले यो सम्पदा भत्काउन खोजेका थिए । तर, तत्कालीन प्रधानमन्त्री चाउ एनलाईले यसलाई राष्ट्रिय संरक्षण सूचिमा राखिएको आदेश जारी गरेपछि जोगिएको थियो। सन् १९८१ मा यो मन्दिरलाई सर्वसाधारणका लागि खुला गरियो। अहिले यो बेइजिङको उत्कृष्ट पर्यटकीय स्थलमध्ये एक बनेको छ।

चिनियाँ शैलीमा दरबार अथवा बौद्ध मन्दिर निर्माण गर्दा एकपछि अर्को गर्दै भवनहरु निर्माण हुने गर्छन्। मुख्य प्रवेशद्वारबाट भित्र गएपछि ठूलो आँगन र त्यस वरिपरी भवनहरु हुन्छन्। त्यसपछि दोस्रो तहमा प्रवेश गर्नका लागि आँगन छिचोलेर अर्को प्रवेशद्वारा पार गर्नुगर्छ। यसैगरी तीन अथवा चार तह पार गर्नुपर्छ। हरेक तहका आफ्नै विशेषता र महत्व हुन्छन्। दरबार संग्रहालयका भवनहरु तथा गृष्मप्रासाद भवन पनि यही शैलीमा निर्माण भएका छन्। ती दरबारकै निर्माण शैली पछ्याएको छ लामा मन्दिरले पनि। लामा मन्दिरभित्र तीन तहहरु रहेका छन्।

लामा मन्दिरको मुख्य प्रवेशद्वार दक्षिणतिर रहेको छ। मन्दिरको सबैभन्दा उत्तरी कुनामा सबैभन्दा अग्लो भवन छ। अनि यही भवनभित्र रहेको विशाल मैत्रेय मुद्धले मलाई बारम्बार लामा मन्दिरमा तानेर पुर्‍याउँछ।

जमिनमुनि ८ मिटर र जमिनमाथि १८ मिटर उचाइको यो मैत्रेय बुद्ध सेतो चन्दनको एउटै काठबाट बनेको हो। मूर्तिको व्यास पनि ८ मिटरको रहेको छ। व्यास र उचाइ यति विशाल रहेको मूर्ति एउटै काठबाट बनेको भनेर पत्याउन मुस्किल पर्छ। सन् १९९३ मा यो मूर्तिलाई एउटै काठबाट बनेको संसारकै सबैभन्दा ठूलो मूर्ति भनेर गिनिजबुकले प्रमाणित गरेको छ।

 

मैत्रेय बुद्ध मूर्तिलाई दस हजार खुशीको प्रतीक पनि भनिन्छ र मूर्ति रहेको हललाई सीमारहित खुशीको हल मानिन्छ। लामा मन्दिरमा बौद्ध धर्मावलम्बीहरु पूजाआजा गर्न, दान गर्न, धूप बाल्न, बुद्ध दर्शन गर्न धाउँछन्। अन्य पर्यटकहरु चाहिँ मुख्य गरी यही मैत्रेय बुद्ध हेर्न पुग्छन्।

सन् २००४ मा पहिलोपटक म यो मन्दिरमा पुगेको थिएँ। त्यतिबेलाको झझल्काका रुपमा पर्यटकको घुइँचो लाग्‍ने एउटा स्थानका रुपमा मात्र मेरो मानसपटलमा सम्झना छ। यो मन्दिरमा बारम्बार पुर्‍याउने काम चाहिँ सन् २०१५ मा बेइजिङस्थित नेपाली दूताबासमा आयोजित एउटा कार्यक्रमले गरेको हो।

दूतावासका तत्कालीन काउन्सिलर (हाल नयाँदिल्लीस्थित नेपाली दूताबासका मिनिसष्टर) रामप्रसाद सुवेदीले लामा मन्दिरमा रहेको मैत्रेय बुद्ध नेपालबाट ल्याइएको हो भनेर एक कार्यक्रममा बताए। त्यसको भोलिपल्टै लामा मन्दिरमा पुगेर मैत्रेय बुद्धका बारेमा केही जानकारी लिएँ। तर कतै पनि नेपालको नाम उल्लेख गरेको पाइँन।

नेपाली पत्रकारहरुसँग मन्दिरभित्र अवलोकन गरिरहेका बेला एकजना स्थानीय पर्यटक गाइड त्यसको व्याख्या गरिरहेकी थिइन्। उनले उक्त मूर्ति तिब्बतमा बनेको र सातौँ दलाइ लामाले छिआनलोङ वादशाहलाई उपहार दिएको उल्लेख गरिन्। तिब्बतबाट बेइजिङ पुर्‍याउन सन् १७४८ देखि १७५० सम्म अर्थात् तीन वर्ष लागेको पनि भनिन्।

पर्यटक गाइडको कुराले मलाई खस-खस भयो। मैले उनलाई तुरुन्तै सोधेँ ‘यो त नेपालबाट  ल्याइएको हैन र?’

मेरो प्रश्नले उनी केहीबेर अकमकिइन् र त्यहाँको सूचना पार्टी पढ्न थालिन्। मोबाइल झिकेर चिनियाँ सर्च इन्जिन ‘पाइतु’मा पनि खोजिन्। अनि भनिन् ‘नेपाल भनेर त उल्लेख गरेको छैन तर कपिलवस्तु भनिएको छ।’

मैले उनलाई भनेँ ‘कपिलवस्तु नेपालमा पर्छ। नेपालले चीनलाई उपहार दिएको यो विशाल सम्पदाको व्याख्या गर्दा किन इतिहास बङ्ग्याउनु? सबै सत्यतथ्यको जानकारी दिनुपर्ने हैन र?’

उनी अक्क न बक्क भइन्। अलिक असहझ महसुस गर्दै भनिन् ‘यस बारेमा मलाई केही थाहा छैन। मलाई माफ गर्नुहोस्।’

पर्यटक गाइडसँगको कुराकानीले नेपाली पत्रकार साथीहरुमा पनि चासो बढेर गयो। उनीहरु मैत्रेय बुद्धको फोटो खिच्न थाले। त्यहाँ फोटो खिच्न अनुमति नभए पनि मोबाइल फोनबाट केही फोटो खिच्न भ्याए साथीहरुले। मैले पनि केही फोटो खिचेँ तर १८ मिटर अग्लो मूर्तिको फोटो मूर्तिको फेदबाट लिँदा न एङ्गल मिलो न पूरा कदलाई स्पष्ट रुपमा उतार्न नै संभव भयो। तैपनि काम चलाउ फोटो लिने काम चाहिँ भयो।

उक्त मैत्रेय बुद्धको मूर्ति सातौँ दलाई लामाले बेइजिङका सम्राट छिआनलोङलाई उपहार दिएको कुरा सत्य हो। तर तिब्बत चाहिँ कसरी आयो भनेर कतै उल्लेख छैन। तिब्बतबाट बेइजिङ ल्याउन तीन वर्ष लागेको कुराले पनि मूर्तिको विशाल रुप र तत्कालीन कठिन यातायातलाई सहजै अनुमान गर्न सकिन्छ। अब प्रश्न उठ्छ कपिलवस्तुबाट त्यो मूर्ति तिब्बत कसरी आइपुग्यो?

कपिलवस्तुबाट उक्त मूर्ति बनाएर तिब्बत ल्याइएको थियो अथवा काठको मुढो? कपिलबस्तुबाट तिब्बत लगिएको विशाल काठको मुढोलाई उपहारका रुपमा दलाई लामाले चिनियाँ बादशाहलाई टक्र्याउनु कत्तिको संभव थियो कुन्‍नि!

व्यवहारतः काठको मुढोभन्दा त्यसबाट निर्मित मूर्ति नै नेपालबाट तिब्बत हुँदै चीन ल्याइएको हुन सक्छ। किनभने त्यो समयमा नेपालमा काष्ठकला र मूर्तिकला व्यापक फस्टाएको थियो। तिब्बतमा काठको मूर्ति बनाउने परम्परा थिएन र अहिले पनि छैन।

फेरि चन्दनको ठूलो रुख काटेर नेपालका शासकले तिब्बतलाई उपहार दिए भन्दा त्यति प्रचलनको कुरा पनि भएन। मुढो बोक्नुभन्दा त मूर्ति बोक्न नै सहज हुन्छ। मूर्ति बनाउँदा काटकुट र ताछतुछ गर्दा तौल धेरै कम हुन्छ। ढुवानी सुरक्षामा भने मुढालाई भन्दा मूर्तिलाई बढ्ता ध्यान दिनुपर्छ।

उल्लिखित सन्देहहरु किन व्यक्त गरिएका हुन् भने यो मूर्तिका बारेमा नेपालमा कतैपनि उल्लेख छैन। मूर्तिको शैली तिब्बती, चिनियाँ अथवा नेपाली कस्तो छ भन्ने कुराको व्याख्या त यसका अध्येताहरुले गर्लान्।

यो मूर्ति तिब्बतबाट बेइजिङ आइपुगेको २ सय ७३ वर्ष अगाडि मात्र हो। यस हिसाबले नेपालबाट ल्हासा आएको बढीमा ३ सय वर्ष हुनुपर्छ। तीन सय वर्षको इतिहास पनि हामीसँग नहुनु दुःखद मान्नुपर्छ।

मूर्ति कपिलबस्तुमै बनाएर ल्हासा ल्याइएको हुनसक्छ। नेपाल सरकारले चीनसँग अनुरोध गरेर यसको विस्तृत विवरण लामा मन्दिरको सूचनापाटीमा राख्न लगाउने हो भने यसले नेपालको राम्रो पर्यटन प्रवर्द्धन हुन सक्छ। नेपाली काष्ठकला र मूर्तिकलाको इतिहासमा नयाँ पाना थपिन सक्छ। दुई देशबीचको सांस्कृतिक सम्बन्धमा एउटा इँटा थपिनेछ।

लामा मन्दिर एउटा सांस्कृतिक सम्पदा मात्र होइन। यो चिनियाँ र मंगोलियन बौद्धधर्मावलम्बीहरुको प्रशासनिक केन्द्र पनि हो। चीनका सबै भिक्षुहरुको अनुगमन र संरक्षण यहीँबाट हुन्छ। नयाँ पुस्ताका चिनियाँ भिक्षु र बौद्ध धर्मावलम्बीहरुले पूज्ने मैत्रेय बुद्धको मूर्ति नेपालबाट आएको थाहा पाउँदा एकपटक नेपाल र लुम्बिनीसँगै कपिलबस्तु पुग्ने उनीहरुमा अभिलाषा जाग्छ।

लामा मन्दिर छिङ राजवंशको समयमा सन् १६९४ मा निर्माण सुरु भएर १७०२ मा निर्माण सम्पन्न भएको हो। सुरुमा यो तत्कालीन बादशाह खाङसीका चौथो राजकुमार यिनछेनको बसोबास थियो। सन् १७३५ मा मृत्यु भएका बादशाह योङचङको लाशलाई कफिनमा राखेर २ वर्षसम्म यहीँ राखिएको थियो। योङचङपछि शासनमा आएका छिआनलोङले यसको निलो टायलको छानोलाई सुनौलो टायलमा परिवर्तन गरिदिए र सन् १७४५ मा यो मन्दिरलाई बौद्धधर्मको केन्द्रको रुपमा स्थापित गरे।

उनै छिआनलोङलाई उपहारका रुपमा तिब्बतका सातौँ दलाई लामाले मैत्रेय बुद्धको काठको मूर्ति उपहार दिएका हुन्। त्यसपछि यो मन्दिरमा चीनभित्रका तिब्बती र मंगोलियन बौद्ध धर्मावलम्बीहरुको प्रशासनिक केन्द्रका रुपमा रहन थाल्यो।

लामा मन्दिरमा मैत्रेय बुद्ध मूर्तिका बारेमा केही उल्लेख नभए पनि केही चिनियाँ अनलाइन र वेभसाइटमा भने यसका बारे अल्प जानकारी पाइन्छ।

चीनको तिब्बत स्वायत्त प्रदेश सरकारको अधिनमा रहेको चाइना टिबेट अनलाइनमा प्रकाशित एउटा समाचारमा मैत्रेय बुद्ध नेपालबाट तीन सय वर्ष पहिले ल्याइएको उल्लेख गरेको छ। चाइना डिस्कोभरी वेभसाइटले भने छिआनलोङ बादशाहले पबित्र मानिएको सेतो चन्दनको काठमा उक्त मैत्रेय बुद्धको मूर्ति कुँद्न लगाएको उल्लेख गरेको छ। मैत्रेय बुद्ध बनाउँला बादशाहले ८० हजार चाँदीका सिक्का खर्च गरेका थिए जुन अहिलेको मूल्यमा लगभग २० लाख अमेरिकी डलर बराबर रहेको लेखेको छ।

सन् २००८ मा चीनको धार्मिक मामिला प्रशासनले यसलाई चीनका उच्च दस बौद्ध सांस्कृतिक आकर्षणमा राखेको छ।

चीनका लागि निकै महत्वपूर्ण स्थानमा रहेको र पर्यटकीय स्थलमा ख्याति कमाएको लामा मन्दिरको मैत्रेय बुद्धको नाइटो नेपालसँग गाँसिएको छ। तिब्बतमा कतै पनि सेतो चन्दनको रुख पाइँदैन। यो नेपालको कपिलबस्तुबाटै ल्याइएको हो। अब पुष्टि हुन बाँकी छ रुखको मुढो मात्र ल्याइयो कि मूर्ति बनाएर ल्याइयो भन्ने कुरा!

 

2 thoughts on “बेइजिङस्थित मैत्रेय बुद्धको नेपाल साइनो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved