सन्दर्भ-लेनिनजयन्ती

के ‘लेनिनवाद’ को सान्दर्भिकता अझै बाँकी छ ?

२०४६ पछि माओवादीले एमालेको जबजलाई दक्षिणपन्थी तथा संशोधनवादी विचार भन्दै शास्त्रीय साम्यवादको प्रतिरक्षा गर्न खोजेको थियो । अन्तत: त्यो समूह पनि करिब १० वर्षको सशस्त्र विद्रोहपछि संसद्‌वादमै फर्कियो । प्रचण्डपन्थीहरूले जे-जे कारण देखाएर एमालेलाई संशोधनवादी, गद्दार र दक्षिणपन्थी अवसरवादीको आरोप लगाएका थिए, आज माओवादीको प्रचण्ड समूह तिनै काममा एमालेभन्दा बाह्र कदम अगाडि देखिएको छ ।

के ‘लेनिनवाद’ को सान्दर्भिकता अझै बाँकी छ ?

काठमाडौं । अप्रिल २२ लेनिनको जन्मजयन्ती । हिजो जनवरी २१ लेनिनको स्मृति दिवस । लेनिन ऊर्फ ब्लादिमिर इल्युच उल्यानोभ, रुसी कम्युनिष्ट नेता । बोल्शेभिक क्रान्तिकारी; जसले संसारको पहिलो सर्वहारा राज्य स्थापना गर्ने क्रान्तिको नेतृत्व गरेका थिए । त्यो विश्व राजनीतिको इतिहासमा ‘अक्टोबर क्रान्ति’ का नामले परिचित छ ।

रुसमा कम्युनिष्ट शासन स्थापना गर्नु मात्र हैन, त्यसभन्दा अघि बढेर रुसी साम्राज्य, युरेसिया र बाल्कन क्षेत्रको महासङ्घ ‘सोभियत सङ्घ’ स्थापना गर्नु, विश्व कम्युनिष्टहरूको सङ्गठन ‘कोमिन्टन’ गठन गर्नुसमेत उनका ठूला काम थिए ।

नेपालमा अझै केही कम्युनिष्ट समूह तथा वामपन्थी बुद्धिजीवीले लेनिनको जन्म र स्मृति दिवस मनाउने गर्दछन् । यसपटक पनि त्यस्ता केही कार्यक्रम आयोजना गरिएका समाचार आएका छन् ।

अप्रिल २२ लेनिनको जन्म भएकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पनि हो । विश्वका कम्युनिष्ट नेताहरूको जन्म दिनसँग जुधाएर पार्टी स्थापना गर्न नेपालका कम्युनिष्टमा विशेष मोह थियो । २०३५ सालमा नेकपा (माले) पुनर्गठन गर्दा माओ च तोङको जन्मदिन डिसेम्बर २६ छानिएको थियो । भलै कि त्यो पार्टी नै पछि ‘माओवादी’ रहेन ।  माओ विचारधारा परित्याग गरेर जनताको बहुदलीय जनवादी एमाले बन्न पुग्यो ।

कम्युनिष्ट राजनीतिको इतिहासमा यस्ता विडम्बना, असङ्गति र विरोधाभासको लामो शृङ्खला छ । विश्व कम्युनिष्ट आन्दोलनमा पनि र नेपालको कम्युनिष्ट आन्दोलनमा पनि ।

नेपालमा सबै कम्युनिष्ट समूहले पार्टी कार्यक्रम तथा समारोहमा अझै पनि ‘पाँच प्राधिकार’ कार्ल मार्क्स, फ्रेडरिख एंगेल्स, ब्लादिमिर लेनिन, जोसेफ स्टालिन र माओ च तोङको फोटो राख्दछन् । फोटो मात्र राख्दैनन्, फोटो सामु उभिएर उच्च सम्मान र श्रद्धाका साथ माल्यार्पण र लालसलाम पनि गर्दछन् ।

प्रचण्ड नेतृत्वको समूहको पार्टी नाममै ‘माओवादी’ छ । एमालेको नाममै ‘मार्क्सवादी-लेनिनवादी’ छ । पार्टीको मार्गदर्शक सिद्धान्तमा मार्क्सवाद-लेनिनवाद-माओवाद लेखिनु त सामान्य प्रचलन भयो । सायद ती सबै समूहको दस्तावेजमा छ ।

नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठले पार्टी स्थापनाका लागि अप्रिल २२ किन रोजे ? त्यसको रोचक कथा छ । लेनिनका दाजु अलेक्सेन्द्र रुसको पुरानो राजतन्त्र विरोधी ‘नरोद्या पार्टी’ को सदस्य थिए । त्यसबापत् उनलाई जारशाहीले मृत्युदण्डको सजाय दिएको थियो ।

ठीक त्यसैगरी पुष्पलाल श्रेष्ठ शहीद गंगालाल श्रेष्ठका भाइ थिए । गंगालाल श्रेष्ठ प्रजा परिषद्का सदस्य थिए । उनलाई राणाशासनले मृत्युदण्ड दिएको थियो । पुष्पलालले लेनिन र आफ्नो नियतिमा समानता देखे सायद ।

पुष्पलाल पनि प्रारम्भमा प्रजा परिषद्को समर्थक थिए । त्यसपछि उनी नेपाली कांग्रेसमा लागे । जब कम्युनिष्ट विचार र लेनिनको जीवनीले प्रभावित गर्‍यो, कांग्रेस केन्द्रीय कार्यालयको सचिवबाट राजीनामा गरेर कम्युनिष्ट पार्टी स्थापनामा जुटे ।

सन् १९१७ मा लेनिनले स्थापना गरेको संसारको पहिलो सर्वहारा राज्य, विश्व साम्यवादीहरूको आदर्श राज्य, सोभियत सङ्घको सत्ता ७४ वर्षपछि सन् १९९१ मा पतन भयो । लेनिनवादी सत्ता रुसमा मात्र ढलेन, त्यसको प्रभावमा बनेका मध्य तथा पूर्वी युरोपका दर्जनौं कम्युनिष्ट शासन सन् १९८९-१९९१ को तीनवर्षे लहरमा ढले, जसलाई ‘लोकतन्त्रको विश्वव्यापी तेस्रो लहर’ भनिन्छ ।

नेपालमा यही लहरमा २०४६ सालको जनान्दोलन भएको थियो । उता कम्युनिष्ट शासन भटाभट ढल्दै थिए, यता कम्युनिष्ट समूहहरूको समेत सहभागितामा निर्दलीय पञ्चायतविरुद्ध लोकतान्त्रिक आन्दोलन हुँदै थियो ।

युरोपका अधिकांश देशमा आज कम्युनिष्ट पार्टीहरू छैनन् । भए पनि असाध्यै कमजोर छन् । विश्वभरि कुनै समय ४८ देशमा कायम भएको कम्युनिष्ट सत्ता चीन, उत्तर कोरिया, भियतनाम, क्युवा र लाओस गरेर ५ देशमा सीमित भएको छ । भेनेजुयलालगायतका केही दक्षिण अमेरिकी देशमा वामपन्थी पार्टीले चुनावमार्फत सरकार बनाएका छन् ।

सम्भवत: यी देशपछि कम्युनिष्ट पार्टी सबैभन्दा बलियो भएको समकालीन विश्वमा नेपालमा नै हो । यहाँ अहिले पनि सरकारको नेतृत्व कम्युनिष्ट नेता प्रचण्डले गरिरहेका छन् भने प्रतिपक्षमा एमाले छ, जो आफूलाई कम्युनिष्ट नै भन्दछ । सत्तापक्ष पनि कम्युनिष्ट, वैधानिक प्रतिपक्ष पनि कम्युनिष्ट, वैद्य-विप्लव-आहुतिजस्ता शास्त्रीय साम्यवादको कुरा गर्ने विद्रोही समूह पनि कम्युनिष्ट भएको बडो विचित्रको राजनीतिक अवस्था छ नेपालमा । यस्तो परिदृश्य विश्व राजनीतिमा बिरलै भेटाएला ।

यत्तिका धेरै कम्युनिष्ट भएको देशमा लेनिनको स्मृति तथा जन्म दिवस मनाइनु कुनै अस्वाभाविक भने हैन । तर, यी पार्टीहरू आफैँमा कति ‘लेनिनवादी’ हुन् ? समकालीन विश्व राजनीतिक र नेपालमै पनि ‘लेनिनवाद’ कति सान्दर्भिक छ ? यो भने महत्त्वपूर्ण प्रश्न हो ।

देशको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमाले, जसले आफूलाई पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीजस्ता नेताहरूको उत्तराधिकार दल मान्दछ । त्यसको औपचारिक सिद्धान्त अहिले ‘जनताको बहुदलीय जनवाद’ हो । छोटकारीमा ‘जबज’ भनिने यो सिद्धान्त र ‘लेनिनवाद’ ठीकविपरीत हुन् । जबज पश्चिमी युरोपेली कम्युनिष्ट समूहहरूले सन् १९७० को दशकमा विकास गरेको ‘युरो कम्युनिज्म’ को विचारसँग मिल्छ ।

लेनिनवादको अर्थ हुन्छ— बहुदलीय लोकतन्त्रको अन्त्य, सर्वहारा राज्य र सोभियत प्रणालीको स्थापना । जबजको अर्थ हुन्छ— बहुदलीय संसदीय लोकतन्त्र मानेर हिँड्ने कम्युनिष्ट पार्टी । ठीक उल्टो कुरा ।

यही अन्तर्विरोधको कारण एमालेभित्र पार्टीको नाम फेर्ने र लेनिनको फोटो राख्ने प्रचलन हटाउने प्रयास भएको थियो । तर, पार्टी पङ्क्तिको ठूलो हिस्सा तयार नभएको कारणले एमाले सफल भएन । एमालेभित्र घनश्याम भुसाललगायतका रोजा लक्जमवर्गवादीको एक हिस्सा छ, जो मसिनो स्वरमा डराइ-डराइकन पार्टीको नाम र मार्गदर्शक सिद्धान्तबाट ‘लेनिनवाद’ हटाउनपर्ने पैरवी गर्दथ्यो ।

नामले कम्युनिष्ट र मार्गदर्शक सिद्धान्तमा लेनिनवाद भए पनि एमालेहरू त्यसलाई आफ्नो ऐतिहासिक बाध्यता वा ब्राण्ड मात्र ठान्दछन् । एमाले लोकतान्त्रिक कम्युनिष्ट पार्टी हो, ब्राण्डमा कम्युनिष्ट भए पनि विचार र अभ्यासले ‘सामाजिक जनवादी’ पार्टी हो भन्ने उक्त पार्टीका नेताहरूको भनाइ हुन्छ ।

यही मान्यतामा आधारित भएर झलनाथ खनाल पार्टी अध्यक्ष भएका बेला उनले ‘सोसलिष्ट इन्टरनेसनल’ को सदस्यता लिने इच्छा व्यक्त गरेका थिए । तर, नाममा कम्युनिष्ट रहुन्जेलसम्म सदस्यता दिन नमिल्ने भन्दै ‘इन्टरनेसनल’ ले अस्वीकार गरेको थियो । सोसलिष्ट इन्टरनेसनलले लेनिनवादी पार्टीहरूलाई सदस्यता दिँदैन । यो प्रजातान्त्रिक समाजवादी पार्टीहरूको विश्व सङ्गठन हो । नेपालबाट यसको सदस्य नेपाली कांग्रेस छ ।

माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाललगायत एमालेका केही मुख्य नेताहरू अहिले एमालेभन्दा बाहिर छन् । अध्यक्ष केपी शर्मा ओलीसँगको मतभेदको कारणले भिन्नै ‘एकीकृत समाजवादी’ नामको पार्टी चलाएर बसेका छन् । तर, सबैले ‘माइन्ड मेकअप’ गरेका छन् कि यो समूहको भिन्नै राजनीतिक भविष्य छैन, ढिलोचाँडो एमालेमै गएर मिल्नेछ ।

२०४६ पछि माओवादीले एमालेको जबजलाई दक्षिणपन्थी तथा संशोधनवादी विचार भन्दै शास्त्रीय साम्यवादको प्रतिरक्षा गर्न खोजेको थियो । अन्तत: त्यो समूह पनि करिब १० वर्षको सशस्त्र विद्रोहपछि संसद्‌वादमै फर्कियो । प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादजस्ता चरम वामपन्थी विचार त्यसले परित्याग गरिसकेको छ । अब पार्टीको नामबाट ‘माओवाद’ समेत हटाउने बहस चलिरहेको छ ।

प्रचण्डपन्थीहरूले जे-जे कारण देखाएर एमालेलाई संशोधनवादी, गद्दार र दक्षिणपन्थी अवसरवादीको आरोप लगाएका थिए, आज माओवादीको प्रचण्ड समूह तिनै काममा एमालेभन्दा बाह्र कदम अगाडि देखिएको छ । र, मोहन वैद्यजस्ता शास्त्रीय मार्क्सवादी तथा कम्युनिष्ट नेता प्रचण्डसँग त्यही पुरानो गनगन, असन्तुष्टि र निरासा व्यक्त गर्दै बाहिरिएका छन् ।

नेपालमा मोहनविक्रम सिंह, मोहन वैद्य तथा नारायणमान बिजुक्छेजस्ता केही कम्युनिष्ट नेता अझै छन् जो साँच्चै ‘लेनिनवाद’ मा विश्वास गर्दछन् । तर, तिनीहरूको विचार, दल र आन्दोलन फैलिनुको साटो झन्‌‌झन् खुम्चिँदैछ । मूलधारको राजनीतिबाट लगभग ती किनारीकृत छन् । देशको नयाँ पुस्तामा यी पुराना कम्युनिष्ट नेताप्रति कुनै रुचि, चासो वा आकर्षण देखिँदैन ।

बहुदलीय लोकतन्त्र र बहुलवादी खुल्ला समाजमा विश्वास गर्ने देशमा ‘लेनिनवाद’ को वैचारिक तथा राजनीतिक प्रासङ्गिकता हुँदैन । किनकि लेनिनवादको दार्शनिक सिद्धान्त, वैचारिक आधार, राजनीतिक प्रणाली, राज्य व्यवस्था र अर्थतन्त्रसम्बन्धी सोच नै फरक हो ।

लेनिनवादले बहुदलीय लोकतान्त्रिक व्यवस्थाको अन्त्यगरी एकदलीय सोभियत प्रणाली स्थापित गर्न चाहन्छ । सोभियत प्रणालीलाई त्यसले सर्वहारा राज्यको आदर्श प्रणाली मान्छ । त्यसैगरी लेनिनवादले अर्थतन्त्रमा निजी स्वामित्व, बजार र मुनाफाको अन्त्य गरी उत्पादनका साधनको राष्ट्रियकरण र राज्यअर्थतन्त्रको निर्माण गर्न चाहन्छ ।

लेनिनको अन्तरपार्टी लोकतन्त्रसम्बन्धी सिद्धान्तलाई ‘जनवादी केन्द्रीयता’ भनिन्छ । जसको अभ्यासले अन्ततः केन्द्रीयता बलियो हुने र जनवाद कमजोर हुने जोखिम देखिन्छ । लेनिनवादी राज्यहरूमा विचार, सङ्गठन र प्रेसको स्वतन्त्रता हुँदैन । आवधिक निर्वाचन हुँदैन कतै भए पनि दलीय आधारमा हुँदैन । लेनिनवादी राज्यमा पार्टी र राज्य भनेको एउटै हो । यो एक पार्टी राज्यमा विश्वास गर्ने सिद्धान्त हो ।

त्यसोभए बहुलवाद र बहुदलीय लोकतन्त्रमा विश्वास गर्ने नेपालजस्तो देशका लागि लेनिनवादकोे उपयोगिता, सान्दर्भिकता वा प्रासङ्गिकता खै कहाँ र के बाँकी छ ? एक त लेनिनवाद आफ्नै देश रुस, आफ्नै सङ्घ सोभियत सङ्घ र आफ्नै महादेश युरोपमा धराशायी भइसकेको छ । अर्को कुरा, नेपालजस्ता नवोदित लोकतान्त्रिक राज्यका लागि लेनिनवादका सोच र आदर्शहरूले तादत्म्यता राख्दैनन् ।

फेरि पनि कम्युनिष्ट समूह र वामपन्थी बुद्धिजीवीहरू लेनिनको जन्म दिन, स्मृति दिवस र लेनिनवादमाथिको विमर्शमा किन रुचि राख्दछन् ? बुझिनसक्नु छ । सम्भवत: त्यो स्कुलिङ, विरासत र नियतिले सृजना गरेको एक विरोधाभास, एक विडम्बना हो ।

विश्व राजनीतिको इतिहासप्रति रुचि हुनु अस्वाभाविक हैन । विश्वका वैचारिक भावधाराप्रतिको जिज्ञासा र ज्ञानको लालसा पनि स्वाभाविक हो । तर, लेनिनवाद यद्यपि सान्दर्भिक छ भन्ने अर्थमा त्यसको पैरवीको प्रयास एक प्रकारले लोकतन्त्रविरोधी काम हो । किनकि लेनिनवादी सोच बलियो भएको समाजमा लोकतन्त्र बलियो हुँदैन, कमजोर हुन्छ । कुनै न कुनै प्रकारको अधिनायकवाद जन्मिने जोखिम रहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved