दिपाशा आत्महत्या प्रकरण : फेसबूकमा बेइज्जत गर्ने धम्की आएपछि भिडिओ कलमै विष सेवन

मिटरब्याजको पासोले तनावमा हुँदा सम्बन्ध टुटेपछि थप विक्षिप्त

कला क्षेत्रकी उम्दा प्रतिभा दिपाशा मिटरब्याजले किलकिलो अँठ्याएर छटपटाइरहिन् । साथीसङ्गीसँग सहयोगको याचना गरिन् । ऋण ‘दिन दुई गुणा–रात चार गुणा’ का दरले बढ्दै गयो । पैसा नदिए फेसबूकमा लेखेर बेइज्जत गर्ने धम्की आयो । मिटरब्याजको गलपासोले थिचिएकी दिपाशाले मुक्त हुन विषको सहारा लिइन् । अहिले उनले संसार छाडेपछि भने शोक सन्तप्त साथीहरू श्रद्धाञ्जली लेखिरहेका छन् । तर, सास छँदा भने सहयोग गर्न कसैले वास्ता गरेन ।

दिपाशा आत्महत्या प्रकरण : फेसबूकमा बेइज्जत गर्ने धम्की आएपछि भिडिओ कलमै विष सेवन

काठमाडौं । मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गर्नुको कारण आर्थिक कारोबार र धम्की रहेको निकटस्थहरूले खुलासा गरेका छन् । पार्लर व्यवसाय र अरू आर्थिक कारोबार मिलाउन नसकेपछि उनी निराशा र तनावमा थिइन् ।

उनी ज्यान फाल्ने अवस्थामा पुग्न भने केही व्यक्तिले दिएको निरन्तरको धम्कीले दुरुत्साहन गरेको हुनसक्ने निकटस्थहरूले अनुमान गरेका छन् । धम्की आर्थिक कारोबारसँग नै सम्बन्धित थियो ।

उनी सुन्धारास्थित काठमाडौं मलको तेस्रो तल्लामा करिब तीन वर्षयता ब्यूटीपार्लर चलाउँदै आएकी थिइन् । उनले बुधबार राति पार्लरको म्यानेजर उमेश लम्साललाई भिडिओ कल गरेर विष पिएकी हुन् ।

त्यो दिन उनले म्यानेजर उमेशलाई फोन गरिन् । ‘संकटमा रहेको व्यवसाय बचाउन र अरू कारोबार मिलाउन केही व्यक्तिसँग सापटी लिएको’ कुरा सुनाइन् ।

‘विविध तनाव झेल्न नसकेर आफू सदाको लागि धर्ती छाड्न लागेको’ अप्रिय निर्णय सुनाइन् । दिपाशाले बाँकी ऋण पार्लर बेचेर तिरिदिन उमेशलाई आग्रह गरिन् ।

पार्लरका म्यानेजर उमेश भन्छन्, “म्यामले भिडिओ कल गर्नुभयो । पसल बेचेर ऋण तिरिदिनु भन्नुभयो । अचानक विष खानुभयो । हामीले सम्झाउँदा-सम्झाउँदै त्यसो गर्नुभयो । अरू बेलामा हामीलाई सम्झाउने उहाँले त्यो निर्णय लिनुहुन्छ भन्ने कल्पनासमेत थिएन ।”

विष पिएपछि छटपटाएको देखेर दिपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्‍याए । भोलिपल्ट अस्पतालमा उनको निधन भयो ।

विष सेवनपछि नर्भिक अस्पताल थापाथलीमा दिपाशा

मिटर ब्याजको पासो- बेइज्जत गरिदिने धम्की

आर्थिक संकटको गर्जो टार्न दिपाशाले मिटरब्याजबाट ऋण लिन बाध्य भएकी काठमाडौं मलकै केही व्यापारीहरू बताउँछन् । तर, तिर्न सकिनन् । समयमै तिर्न नसकेपछि पैसा दिएकाहरूले सामाजिक सञ्जाल फेसबूक, टिकटकमा लेखेर बेइज्जत गरिदिने धम्की दिँदै आएका थिए ।

दिपाशा निकटका व्यक्तिहरूकाअनुसार उनले पैसा तिर्न केही समय मागिरहेकी थिइन् । तर, सावाँभन्दा धेरै गुण पैसा तिरिसक्दा पनि मिटरब्याजीको हिसाब चुक्ता भएन । अन्ततः उनी हारिन् ।

कानूनतः मिटरब्याजमा पैसा लगाउनु अवैध हो । तर, दिपाशाले साथीहरूको सहयोग नपाएपछि मिटरब्याजबाट ऋण लिन बाध्य भएकी थिइन् ।

कोरोना र आर्थिक मन्दीको असर

काठमाडौं मलको तेस्रो तलामा दिपाशाको ग्लो नामको पार्लर छ । पार्लर खोलेको २ महिनामै दोस्रो लकडाउन भयो । व्यापार सोचेजस्तो भएन । धेरैजसो उनका साथी सर्कलकै मानिसहरू आउँथे ।

चिनेकै मान्छे भएकाले उनले धेरै सहुलियतमा सेवा दिन्थिन् । भाडा महिनाको १ लाख २१ हजार थियो । बिजुलीको बिल १५ हजारसम्म उठ्थ्यो । १०-१२ जना स्टाफ थिए । सबैगरी मासिक खर्च कम्तीमा चारलाख रुपैयाँभन्दा बढी थियो।

नाफा नकमाएपनि खर्च धान्न चारलाख रुपैयाँ कमाउनैपर्थ्यो । भाडा समयमै नतिरेमा घरभेटीले बत्ती काट्ने गर्थे ।

दिपाशाले काठमाडौं मल सञ्चालक संस्थालाई पाँच महिनाको भाडा तिर्न बाँकी थियो । भाडाको ताकेता आइरहेको थियो । काठमाडौं मलले कात्तिक २५ भित्र सम्पूर्ण बक्यौता बुझाउन भन्दै पत्रसमेत दिएको थियो । त्यो पत्र दिपाशालाई मात्र नभई सबै व्यापारीलाई दिएको छ ।

‘मृत्यु मात्र रहेछ जसले आजसम्म कसैलाई धोका दिएको छैन’ लेखेकी दिपासाले पिइन् विष

दिपाशाको हकमा मासिक भाडा १ लाख २१ हजार र बिजुलीको बत्तीको बिलसहित पाँच महिनाको झन्डै सात लाख जति बुझाउन बाँकी छ । पार्लरसहित उनको अरू कारोबार मिलाउन उनले मिटरब्याजमा समेत पैसा लिएकी साथीहरू बताउँछन् ।

केही समयअघि दिपाशाले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ ।

त्यो तिर्न उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरूसँग आर्थिक सहयोगसमेत मागिरहेकी थिइन् । उनलाई नजिकबाट चिन्ने एक कोरियोग्राफर भन्छन्, “तिजअघि उनले आफूलाई ठूलो संकट परेको बताइन् । हामीले दुई लाख रुपैयाँ जुटाएर दिएका थियौँ ।”

विष सेवनको असरले भोलिपल्ट अस्पतालमा अस्ताएकी दिपाशा

काठमाडौं मलमै १८ वटा पार्लर, खर्च धान्नै मुस्किल

काठमाडौंको मुटु मानिने सुन्धारामा धेरै मानिसको भीडभाड हुन्थ्यो । मुख्य व्यापारिक क्षेत्र त्यहाँ केही वर्षअघि मानिसहरूको खचाखच भीड लाग्थ्यो । कोरोना महामारीपछि त्यहाँको भीड ह्वात्तै घटेको छ ।

त्यो मलमा पार्लर मात्रै १८ वटा छ । तर, ग्राहकको चाप पहिले जस्तो छैन । चल्न नसकेर चौथो तल्लामा रहेको एउटा पार्लर केही समयअघि मात्रै बन्द भयो ।

अझै त्यहाँ १७ वटा पार्लर चलिरहेका छन् । त्यसमध्ये २ वटा धेरै राम्रो चलिरहेको छ । सातआठ वटा ठीकै चलिरहेको छ। केही पार्लरहरूमा भने खर्च धान्न मुस्किल छ ।

भिडिओ-

दिपाशाको पार्लर ठिकै चलेको थियो । तर, पछिल्लो समय खासै चल्न सकेन । उनको बाहिरी अरू व्यवहार पनि मिलाउन सकस परेकोले तनाव झेल्न नसक्दा आत्महत्या रोजेको हुनसक्ने काठमाडौं मलकै अरू पार्लर व्यावसायीहरू बताउँछन् ।

दिपाशालाई नजिकबाट चिन्ने पार्लर सञ्चालकहरू भन्छन्, “खर्च मात्रै धान्न दैनिक २५, ३० हजारको व्यापार हुनैपर्छ । अहिले व्यापार छैन । व्यापार नभएपछि स्टाफ खर्च र भाडा तिर्न मुस्किल हुन्छ । घरबाट ल्याएर हाल्नुपर्छ । पछिल्लो समय खर्च धान्न सकस भयो । कला क्षेत्रबाट कमाएको पैसा पार्लरमै खनाउँदै गइन् । उनी आफू चल्न पनि खर्च चाहिन्थ्यो । यसबाहेक अरू बाहिरी व्यवहारमा पनि समस्या थियो कि भन्ने लाग्छ।”

काठमाडौं मलको तेस्रो तल्लामा रहेको दिपाशाको पार्लर

पछिल्लो महिना दिनयता दिपाशा तनावमा थिइन् । उनी लगातार पार्लरबाहिर भर्‍याङमा फोनमा डिस्कर्स गरेर बसेको देखेको वरिपरिका व्यापारीहरू बताउँछन् ।

उनको परिवारको आर्थिक अवस्था सामान्य छ। उनकी आमा दुबईमा वैदेशिक रोजगारीमा थिइन् । घर परिवार सबै सानैदेखि दिपाशाले नै हेर्दैआएकी थिइन् ।

काठमाडौं मल भन्छ- भाडा तिर्न दबाब थिएन

काठमाडौं मल सञ्चयकोषको भवन हो । दिवासपना जेभी नामको कम्पनीले जिम्मा लिएर चलाउँदै आएको छ । मल सञ्चालक दिवासपना जेभीले पनि आफूले सञ्चयकोषलाई भाडा तिर्नुपर्ने भन्दै व्यापारीसँग बक्यौता उठाउन दबाबयुक्त ताकेता गरिरहेको छ।

तर, दिपाशालाई भने कुनै दबाब नदिएको दिवासपना जेभीका सञ्चालक विष्णुहरी ढकाल बताउँछन् । उनी भन्छन्, ‘‘दिपाशाजीको भाडा नियमित आइरहेको थिएन । उहाँको व्यापारलगायतलाई मध्यनजर गर्दै हामीले पहिलादेखि सहुलियत दिँदै आइरहेका थियौँ । पूरा भाडा नभए पनि उहाँले जति सक्नुहुथ्यो त्यति मात्र दिनुहुन्थ्यो । हामीले यति नै चाहिन्छ भनेर कहिल्यै दबाब दिएनौँ । उहाँको अब पाँच महिनाको भाडा बाँकी छ ।’’

तिहारपछि क्यानडा जाने तयारीमा थिइन् दिपाशा

उनको पार्लर र अरू कारोबारमा समस्या आएपछि तिहारपछि पार्लर बेच्ने निर्णयमा पुगिसकेकी थिइन् । देश छाडेर क्यानडा पलायन हुने तयारीमा थिइन् । उनी हालै मात्र क्यानडा गएर आएकी थिइन् ।

त्यसो त दिपाशा म्युजिक भिडिओमा यत्तिकै सक्रिय नै थिइन् । देश तथा विदेशका स्टेज शोमा पनि उनको डिमान्ड थियो ।

स्रोतका अनुसार केही महिनाअघि उनको ब्रेकअप पनि भएको थियो । त्यसपछि उनी विक्षिप्त हुन थालेकी थिइन् । त्यही कारण दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरू गर्दै आएकी थिइन् ।

पार्लरको काम दिपाशाले वरिष्ठ ब्यूटीसियन सुष्मा महराको फेसियल हाउसबाट सिकेकी थिइन् ।  त्यही ठाउँ काठमाडौं मलमै । २०७० तिर उनी सिक्न गएकी थिइन् । त्यति बेला उनी कला क्षेत्रमा भर्खरै लागेकी थिइन् ।

डान्सर एवं अभिनेत्री दिपाशा बीसीको निधन

आठदश महिना काम सिकेपछि उनले त्यही काम गर्न थालिन् । उनले त्यहाँ २ वर्ष काम गरिन् । त्यसपछि म्युजिक फिल्डमा व्यस्त बनिन् ।

काम गर्न छाडिन् । सानैदेखि केही गरौँ भन्ने सोच भएकी दिपाशाले फेरि त्यही फेसियल हाउसकै तल्लो तलामा आफ्नै ग्लो नामको पार्लर खोलेकी हुन् ।

दिपाशाले आफ्नो आइडल वरिष्ठ ब्यूटीसियन सुष्मा महरालाई मान्दै आएकी थिइन् । कला क्षेत्रमा जम्ने र सँगै सफल ब्यूटीसियन बन्ने उनको लक्ष्य थियो ।

आत्महत्या गर्नु केही दिनअघि दिपाशाले लेखेको निराशायुक्त फेसबुक पोस्ट

सुर्खेतदेखि काठमाडौंसम्मको यात्रा

दिपाशा सुर्खेतमा जन्मिएकी थिइन्। सानैदेखि नृत्यमा रुचि थियो । त्यहीकारण स्कूलमा थुप्रै कार्यक्रममा नृत्य गरेकी थिइन् । स्कूल पढ्दा नै उनले सुर्खेतकै स्थानीय नृत्य समूह बागिनामा भर्ना भएर नृत्य सिकिन् ।

२०६८ सालमा उनले गोपीकृष्ण टीभी फिल्मीको ‘को बन्छ कलाकार’ नामको रियालिटी शोमा सुर्खेतबाटै अडिसन दिइन् ।

अडिसनपछि उनलाई गोपीकृष्ण फिल्म्सले प्रतियोगिताको अन्य चरणका लागि काठमाडौं बोलायो । त्यसपछि सफल कलाकार बन्ने चाहनाले उनी काठमाडौं आएकी थिइन् ।

त्यसपछि उनले ‘दुलही रानी’ फिल्म खेलिन् । ‘यही त होला माया भनेको’ बोलको लोकगीतमा अभिनय गरिन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । धेरै गीतमा आफ्नो नृत्य र अभिनय कौशल देखाइन् । केही फिल्म पनि खेलिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved