आलेख

विदेसिने युवाको ताँती रोक्ने एक मात्रै उपाय-मर्यादित रोजगारी

जब हामीले उपयुक्त अवसर सिर्जना गर्ने छौं, मान्छेको बाहिरिने ताँती कमजोर हुनेछ । धेरै युवा देशमै बस्न थाल्नेछन् । देश छोडेका पनि धेरै फर्किनेछन् । तर, त्यसो हुन हामीले हाम्रो अर्थतन्त्रलाई औद्योगिकीकरणको बाटोमा हिँडाउनै पर्छ । हामीले कम्बोडिया र बंगलादेशजस्ता देशसँग प्रतिस्पर्धा गर्नुपर्दछ ।

विदेसिने युवाको ताँती रोक्ने एक मात्रै उपाय-मर्यादित रोजगारी

सम्मानीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, प्यानलिस्ट मित्रहरू, अन्य आदरणीय व्यक्तित्व, महिला तथा सज्जनवृन्द ।

नेपालको आर्थिक समृद्धिका सन्दर्भ र चुनौतीबारे सँगसँगै बसेर छलफल गर्न सकिने यो उपयुक्त कार्यक्रम आयोजना गरेवापत नेपाल भ्युजलाई हार्दिक धन्यवाद दिँदै म आफ्ना विषय राख्न चाहन्छु ।

आर्थिक समृद्धिको विषयअन्तर्गत छलफल गर्न सकिने थुप्रै सवाल र चुनौती छन् । यसलाई व्यक्त गर्ने एउटा सबैभन्दा सजिलो उपाय हो– जब जनता समृद्ध हुन्छन्, राष्ट्र समृद्ध देखिन्छ । जनता त्यतिखेर समृद्ध बन्छन्, जब उनीहरूसँग उचित आम्दानी हुन्छ र त्यसले आरामदायी जीवन बिताउन अनुमति दिन्छ । हामीमध्ये धेरैले त्यस्तो आम्दानी गर्ने भनेको तलबी रोजगारबाट हो । दीगो तलब तथा ज्याला भएको रोजगार, जसले राम्रो मासिक आम्दानी दिन्छ, हामीमध्ये धेरैको चाहना यही हो ।

आज म नेपालले सामना गरिरहेको मुख्य विकास चुनौतीको चर्चा गर्न चाहन्छु, त्यो मेरो विचारमा राम्रो भुक्तानी प्राप्त हुने रोजगारीका अवसरको अभाव हो । नेपालमा राम्रो आय हुने रोजगार पर्याप्त छैनन् । आज मैले छलफलका लागि यो सवाललाई जोड दिनुको कारण रोजगार, राम्रो रोजगार, मर्यादित रोजगार देशका लागि धेरै महत्त्वपूर्ण हुने ठानेर नै हो ।

औसत मानिसले त्यतिखेर मात्र समृद्धिको अनुभूति गर्न सक्नेछन, जब उनीहरूसँग राम्रो र मर्यादित रोजगारमा पहुँच हुन्छ । नेपालले रोजगार सिर्जनामा विभिन्न चुनौतीको सामना गर्न परेको छ । यसका केही ठोस समाधान पनि उपलब्ध छन् ।

नेपालमा रोजगारीका लागि देश छोड्ने प्रवृत्ति निकै बलियो छ । श्रमशक्ति सर्वेक्षण २०७४-२०७५ अनुसार नेपालको औसत मासिक ज्याला १६९ डलर अर्थात् १७,८०० रुपैयाँ मात्र छ । अब एकपटक हामी ती ठाउँको तथ्यांक हेरौं, जहाँ नेपाली रोजगार अवसरको खोजीमा जान्छन् । मलेसियामा यो नेपालको भन्दा १० गुणाभन्दा बढी १४८५ डलर छ । नेपालको भन्दा कतारमा २० गुणा र अमेरिकामा ४० गुणा बढी छ ।

के अब हामीले युवा श्रमशक्तिलाई देश छोड्न चाहेको आरोप लगाउन मिल्छ ? निःसन्देह, हामी त्यस्तो आरोप लगाउन सक्दैनौं । किनकि, हाम्रो देशमा युवा श्रम शक्तिका लागि वित्तीय उत्प्रेरणा स्पष्ट हुन सकेन ।

मानव जातिले स्वाभाविक रूपमा राम्रो जीवनको खोजी गर्छ । राम्रो भोलि चाहन्छ । सन्तानका लागि राम्रो भविष्य खोज्छ । मर्यादित जीवनस्तर खोज्छ । मान्छेले हजारौं वर्षदेखि त्यसका लागि घर छोडेका, देश छोडेका छन् । यो कुनै नयाँ कुरा हैन, नेपालमा मात्र हुने अनौठो कुरा पनि हैन ।

तर, कसैले मलाई सोध्यो कि समीर, के तिमी पछिल्लो प्रवृत्तिबाट भयभित छौं ? भन्ने छु– हो, म भयभित छु । किनकि, यो प्रवृत्तिभित्र केही कुरा निकै दुःखदायी देखिन्छन् । शारीरिक सबलता भएका युवा, दक्ष पुरुष तथा महिलाको आमपलायन कहिल्यै राम्रो कुराको संकेत हुन सक्दैन ।

नेपाली नीति निर्माताहरूले रोजगारी सिर्जनाबारे कुरा त गर्छन् तर, रोजगारी सिर्जना गर्ने चाहना र रोजगारी कसरी सिर्जना गर्नुपर्छ भन्ने बारेमा आधारभूत संरचनागत असंगति छन् । रोजगार कसरी सिर्जना गर्नुपर्छ भन्ने बारेमा केही बेरपछि चर्चा गरौंला, पहिले म नेपाली श्रम बजारका मुख्य सूचकांक प्रस्तुत गर्न चाहन्छु ।

यो प्रश्न अहिले निकै गम्भीर छ– देशमै बस्ने कि बाहिर जाने ?

प्लस टु वा स्नातकपछि नेपाली युवासँग दुई विकल्प हुन्छन् । पढाइ जारी राख्ने वा श्रम बजारमा प्रवेश गर्ने गरेर कुनै रोजगारी गर्ने । रोजगारीका लागि देशमै बस्ने कि विदेश जाने ? पढाइ जारी राख्ने हो भने पनि देशभित्र पढ्ने कि पढ्न विदेश जाने, दुई विकल्पमध्ये एक छनोट गर्नुपर्ने हुन्छ ।

यी विकल्पबीच कसैलाई देशभित्रै बस्ने कसरी बनाउँछ ? राम्रो गुणस्तर शिक्षामा पहुँचले उच्चस्तरको रोजगारीको सम्भावनालाई बढाउँछ । यसले मान्छेलाई देशमै बस्ने बनाउँछ । अर्को सम्मानजनक आय हुने रोजगारीको अवसर हो । यी कुरा भए मान्छे नेपालमै अडिन सक्दछन् ।

आजको मेरो मुख्य विषय शिक्षा हैन, तर यो प्रश्न गरौं–नेपालका कति विश्वविद्यालय र कलेज विश्वस्तरमा श्रेणीकृत छन् ? विश्व बजारमा बिक्न योग्य शिक्षा कतिले दिन्छन् ? धेरै थोरैले मात्र यो काम गर्छन् । त्यो पनि धेरैजसो चिकित्साशास्त्र र इन्जिनियरिङमा । ती क्षेत्रमा पनि अहिले गुणस्तर खस्कँदो छ ।

नेपालमा २ करोड ७ लाख श्रमयोग्य जनसंख्या छ । त्यसमध्ये ७९ लाख मात्र श्रम बजारमा आबद्ध छ । बाँकी श्रम शक्तिभन्दा बाहिर बसेको छ । ती मान्छे के गर्दै होलान् ? केही नेपालमै पढ्दैछन् । केही विदेशमा पढ्दैन । केही विदेशमा काम गर्दैछन् । कोही बाहिर जाने भिसा पर्खेर घरमा त्यतिकै बसेका छन् । कारण जे होस्, श्रम शक्तिभन्दा बाहिर हुनेको अनुपात निकै ठूलो छ ।

आर्थिक वर्ष २०७९-०८० मा सात लाख ७५ हजारले बाह्य रोजगारका लागि देश छोडेका छन् । त्यसैगरी, १ लाख १० हजार पढ्न विदेश गएका छन् । यी दुवैलाई जोड्ने हो भने १६–४० वर्ष उमेर समूहको करिब ७ प्रतिशत हुन्छ ।

हाम्रो श्रम बजारले उपयुक्त रोजगारीको अवसर प्रदान नै गर्न सक्दैन । यहाँ केही सीमित राम्रा जागिर छन् । ती बैंकिङ, चिकित्सा क्षेत्र, सूचना–प्रविधि र वित्तीय क्षेत्रमा छन् । तर, ती रोजगार पाउन राम्रो शिक्षा आवश्यक पर्छ । उच्च दक्षता चाहिन्छ ।

यदि, हामीले भर्खरैको आईईएसई परीक्षाफल हेर्‍यौं भने आधा विद्यार्थी अनुत्तीर्ण भएका छन् । यसको सीधा अर्थ हो, यहाँ धेरै ठूलो जनसंख्या अनुपातका लागि बैंकिङ, चिकित्सा क्षेत्र, सूचना–प्रविधि र वित्तजस्ता उच्च दक्ष रोजगारमा पहुँच नै छैन ।

नेपालमा जनसंख्या रोजगार अनुपात ३४.२ प्रतिशत मात्र छ । यसको अर्थ हो– काम गर्न योग्य शारीरिक सबलता भएका एकतिहाइले मात्र काम गरिरहेका छन् । कम्बोडिया, भारत, इन्डोनेसिया, फिलिपिन्स र थाइल्यान्डजस्ता अन्य मुलुकसँग तुलना गर्दा हाम्रो श्रम सहभागिता निकै कम हो ।

औसत देशमा श्रमशक्ति सहभागिता दर ५५ देखि ६० प्रतिशतसम्म हुन्छ । हाम्रो बेरोजगारी दर करिब ११.४ प्रतिशत छ, त्यो त्यति धेरै त हैन, तर मधेस प्रदेशमा बेरोजगारी दर २० प्रतिशतभन्दा पनि माथि छ ।

अर्को महत्त्वपूर्ण सूचक अनौपचारिक रोजगारीको अंश हो, जो ८४.६ प्रतिशत छ । अर्थात् रोजगार गर्ने १० जनामध्ये ८ जनाको रोजगारी अनौपचारिक क्षेत्रमा छ । अनौपचारिक रोजगारी मर्यादित रोजगारी हैन । यस्ता रोजगारमा नियमित तलब भुक्तानी गरिँदैन । बिरामी बिदा दिइँदैन । सुत्केरी तथा मातृत्व अवधिको बिदा दिने प्रचलन हुँदैन ।

यदि, कुनै नेपाली देशभित्रै बस्ने निर्णयमा पुग्यो भने तीमध्ये धेरैले अनौपचारिक रोजगार र मासिक १७, ८०० तलब पाउँछन् । यस्तो आय स्थितिमा मर्यादित जीवनस्तर हासिल गर्न सम्भव छ ? परिवारलाई माथि उठाउँन सकिन्छ ?

नेपालमा औसत ज्याला किन यति कम छ त ? यसको प्रस्ट कारण हो, निराशाजनक श्रम उत्पादकत्व । औद्योगिक क्षेत्रमा नेपालको श्रम उत्पादकत्व ११९६ डलर बराबर छ । जबकि, बंगलादेशमा ४ गुणा र भारतमा नेपालको भन्दा ६ गुणा बढी छ । यदि, श्रमिक उत्पादनशील भएनन् भने तीनले उच्च ज्याला दर प्राप्त गर्न सक्दैनन् । अब फेरि प्रश्न उठेछ, श्रम उत्पादककत्व किन कम छ त ? यसका धेरै कारण हुन सक्दछन् ।

पहिलो कारण– उद्योग धन्दाले उत्पादन प्रक्रियामा तिनलाई आधुनिक यान्त्रिकीसँग जोड्न सकेका छैनन् । दोस्रो– श्रमिक आफैँ दक्ष हुन सकेका छैनन् । तेस्रो उत्पादकहरूले आन्तरिक तथा बाह्य बजारमा राम्रोसँग बिक्ने वस्तु उत्पादन गर्न सकिरहेका छैनन् ।

श्रम उत्पादकत्व तालिकालाई नियाल्ने हो भने सबैभन्दा उच्च उत्पादकत्व व्यवसाय र वित्तीय क्षेत्रमा देखिन्छ । तर, यी रोजगारीका लागि कम्तीमा स्नातक तथा स्नातकोत्तरको डिग्री चाहिन्छ ।

रोजगारी सिर्जना कसरी गर्न सकिन्छ त ? अर्थतन्त्रमा रोजगारी सिर्जनाको रेखाचित्र निकै सरल छ । जब वस्तु तथा सेवाको माग बढी हुन्छ, श्रमको माग पनि बढी हुन्छ । एक क्षण यसरी सोचौं कि, प्रत्येक नेपाली परिवारले सौर्य ऊर्जाले चल्ने राइस कुकर प्रयोग गर्ने निर्णय गरे । त्यस्तो बेला नेपालमा बेच्नका लागि राइसकुकर उत्पादक कम्पनीले थप कुकर उत्पादन गर्नुपर्ने हुन्छ । त्यस्तो बेला राइसकुकर उत्पादक तथा सौर्य ऊर्जा सामग्री उत्पादक कम्पनीमा श्रम माग बढ्छ । थप उत्पादन गर्न थप कामदार चाहिन्छ ।

कसैले भन्ला कि, समीर नेपालमा त राइसकुकर उत्पादन नै हुँदैन । हो, ठीक कुरा हो । ती हामी भारत, चीन वा अन्यत्र कतैबाट आयात गर्छौं । आयात गर्दा पनि केही रोजगारीको सिर्जना त हुन्छ तर त्यो धेरै महत्त्वपूर्ण हैन । आयातले लगभग रोजगारी सिर्जना गर्दैन भने हुन्छ । अब हामीले अर्को उपाय गर्न सक्दछौं । कुकर तथा सौर्य ऊर्जा सामग्री उत्पादक कम्पनीलाई नेपालभित्रै बोलाएर एसेम्बल गर्न लगाउँन सक्दछौं । त्यसले रोजगारी सिर्जना गर्दछ ।

नेपालमा रोजगार सिर्जना चक्रले राम्रो काम नै गरेको छैन । नेपालमा एकदमै थोरै वस्तु मात्र उत्पादन हुन्छन् । रोजगारी सिर्जनाका लागि यो स्थिति बदल्नुपर्छ ।

सेवाबाट पनि रोजगारी सिर्जना गर्न सक्छौं । काठमाडौं र नेपालका अन्य शहरी क्षेत्रमा रेस्टुराँ खोलिएका छन् । तिनलाई कमदार चाहिन्छ । यसले पनि श्रमको माग त बढाउँछ, तर उत्पादकत्व र ज्याला निकै न्यून छ । यस्ता रोजगारीमा यान्त्रिकीको प्रभाव न्यून हुन्छ । मोमो वा चिया सेवाको उत्पादकत्व खासै धेरै हुँदैन ।

अर्कोतिर औद्योगिक उत्पादन क्षेत्रको रोजगार फरक प्रकारको हुन्छ । राम्रो र उच्च प्रविधिको प्रयोग गरेर राम्रा र सस्ता राइस कुकर उत्पादन गर्न सकिन्छ । आधुनिक प्रविधि र यान्त्रिकीले एक दिनमै विगतको भन्दा धेरै गुणा बढी उत्पादन गर्न सक्षम बनाउँछ ।

आधुनिक अटो उद्योगलाई हेरौं । कार उत्पादकले उत्ति नै श्रम संख्याद्वारा धेरै बढी संख्यामा कार उत्पादन गर्न सक्दछन् । तसर्थ, तिनीहरूको उत्पादकत्व हरेक वर्ष बढ्दै जान्छ । कार उत्पादकसँग ठूला अनुसन्धान तथा डिजाइन विभाग हुन्छन् ।

मलाई चेन्नेईको महिन्द्रा कम्पनीको अनुसन्धान तथा डिजाइन विभाग भ्रमण गरेको सम्झना छ । त्यो साँच्चै नै प्रभावित गर्ने खालको थियो । तिनले प्रत्येक वर्ष अझ राम्रा डिजाइनका कार र ट्रक बनाउँछन् ।

नेपालमा श्रम बजार कसरी बढाउन सकिन्छ ? मैले यहाँ पाँचवटा तरिका सूचीकृत गरेको छु, यी अझै धेरै हुन सक्दछन् । यी सबैलाई थाहा भएकै विचार हुन् ।

१. कृषिको वाणिज्यीकरण
२. औधोगिकीकरण
३. सूचना–प्रविधि र व्यावसायिक सेवा अभिवृद्धि
४. वैदेशिक लगानी
५. निर्यातमुखी औद्योगिकीकरण नीति ।

हाम्रा पञ्चवर्षीय योजना र वार्षिक बजेटले सधैं यी सवाललाई जोड दिएका हुन्छन् । तर, कार्यान्वयनको चरणमा हामी असफल हुन्छौं । हामी विचार ल्याउन माहिर छौं, तर कार्यान्वयन गर्न भयानक कमजोर ।

औद्योगिकीकरण किन जरुरी छ ? यसका केही महत्त्वपूर्ण कारण छन् । पहिलो, यसले धेरै मान्छेलाई रोजगार दिन सक्दछ । दोस्रो, यसले राम्रो भुक्तानी गर्छ । तेस्रो, प्रविधिको कारणले उत्पादकत्व सुधार हुने सम्भावना बढ्छ । चौथो, वस्तु तथा सेवाको ढुवानीका लागि पूर्वाधार निर्माण हुन्छ । मैले यसलाई ‘स्पिलओभर प्रभाव’ भन्ने गर्छु । देशको समृद्धिका लागि यी महत्त्वपूर्ण छन् ।

हामीलाई रोजगारी सिर्जना गर्न औद्योगिकीकरण र सेवाप्रेरित विकास दुवै चाहिन्छ । तर, यो काम केही प्रमुख क्षेत्र छनोट गरेर सुरु गर्नुपर्दछ । हामीले केही विजेतालाई छान्न र तिनलाई समर्थन गर्न सक्दछौं । तर, त्यस्तो छनोट निष्पक्ष र प्रतिस्पर्धात्मक हुनुपर्दछ ।

श्रम आपूर्तिको पक्षबाट पनि केही सीधा–सीधा हस्तक्षेप जरुरी हुन्छन् । पहिलो, प्राथमिक तथा माध्यमिक शिक्षाको गुणस्तर अहिलेको भन्दा राम्रो हुनुपर्दछ । दोस्रो, उच्च शिक्षाको गुणस्तर राम्रो हुनपर्दछ । हामी राम्रा विदेशी विश्वविद्यालयका सेटलाइट क्याम्पसलाई अनुमति दिन सक्छौं । यदि,श्रम बजारका चुनौती समाधान गर्न चाहन्छौं भने हामीले श्रम माग र श्रम आपूर्ति दुवै पक्षलाई जोड दिनुपर्दछ । यस्ता धेरै रणनीति प्रदेशस्तरमा भिन्न–भिन्न हुन सक्दछन् ।

देशभित्रै राम्रा आर्थिक अवसर सिर्जना गर्न ध्यान केन्द्रित गरौं । शिक्षाको गुणस्तर बढाऔं । जब युवाले नेपालमै राम्रो भविष्य देख्छन्, उनीलाई यही बस भन्नै पर्दैन । आफैं नेपालमा रहनेछन् ।

जब हामीले उपयुक्त अवसर सिर्जना गर्ने छौं, मान्छेको बाहिरिने ताँती कमजोर हुनेछ । धेरै युवा देशमै बस्न थाल्नेछन् । देश छोडेका पनि धेरै फर्किनेछन् । तर, त्यसो हुन हामीले हाम्रो अर्थतन्त्रलाई औद्योगिकीकरणको बाटोमा हिडाउँनै पर्छ । हामीले कम्बोडिया र बंगलादेशजस्ता देशसँग प्रतिस्पर्धा गर्नुपर्दछ ।

हामीले कृषि व्यवसायलाई बढावा दिनै पर्छ । सूचना–प्रविधिजस्ता सेवागत क्षेत्रलाई बढाउनै पर्छ । हामीले यो सुनिश्चित गर्नुपर्दछ कि, मान्छेले मर्यादित रोजगारीबाट उन्नत जीवनस्तर हासिल गर्न सक्दछन् ।

(नेपाल भ्युज कन्क्लेभमा प्रस्तुत विचार )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved