एसिया कप क्रिकेट : नवप्रवेशी नेपाल शीर्ष स्थानको पाकिस्तानसँग भिड्न तयार

यसकारण विश्वकप भन्दा रोमाञ्चक हुन्छ एसिया कप

यो प्रतियोगितामा नेपाल पहिलो पटक सहभागी हुँदैछ । सोमपाल कामी चोटमुक्त भएका छन् । गुल्सन झालाई प्रतियोगितामा चम्किन सक्ने खेलाडीका रुपमा हेरिएको छ । दिपेन्द्र सिंह ऐरी फर्ममा फर्कने अपेक्षा छ ।

नेपालभ्युज

एसिया कप क्रिकेट : नवप्रवेशी नेपाल शीर्ष स्थानको पाकिस्तानसँग भिड्न तयार

काठमाडौं। एसिया कप क्रिकेटको १६ औँ संस्करण भोलि बुधबार सुरु हुँदैछ । पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने यो प्रतियोगितामा नेपाल पहिलो पटक सहभागी हुँदैछ ।  नेपालले भोलि आयोजक पाकिस्तानको सामना गर्नेछ ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले पाकिस्तानसँग भिड्न आफूहरु तयार भएको बताएका छन् । सोमपाल कामी चोटमुक्त भएका छन् । करण केसीसँग मिलेर पेश बलिङको जिम्मा उनले उठाउनेछन् । गुल्सन झालाई प्रतियोगितामा चम्किन सक्ने खेलाडीका रुपमा हेरिएको छ । दिपेन्द्र सिंह ऐरी फर्ममा फर्कने अपेक्षा गरिएको छ ।

पाकिस्तानसँगको भिडन्त नेपालका लागि सहज भने हुनेछैन । उसका तिब्र गतिका तीन बलरले प्रतिघण्टा १५० किलोमिटर भन्दा बढीको स्पिडमा बल फाल्न सक्छन् । जुन नेपाली ब्याट्स्म्यानका लागि समस्या हुनसक्छ ।

पाकिस्तानलाई अलराउन्डरमा भने समस्या देखिएको छ । मोहम्मद वासिम फिट देखिएमा फहिम अशरफ वा मोहम्मद नवाजलाई बाहिर राख्नुपर्ने हुन सक्छ । यी मध्ये दुवैले खेल्न नपाउने सम्भावना पनि छ ।

विश्वकपभन्दा नौ वर्ष कान्छो हो, एसिया कप। क्षेत्रीय स्तरको यो प्रतियोगिता सन् १९८४ (यूएई) देखि सुरु भएको हो। विश्वकप भने पहिलो पटक सन् १९७५ मा इङ्गल्यान्डमा आयोजना भएको थियो। एक दिवसीय विश्वकपको १२ वटा संस्करण मात्र आयोजना भएको छ।

महादेश स्तरको प्रतियोगिता भए पनि यसले निकै ठूलो चर्चा बटुल्ने गरेको छ। एसिया कप सकिएको करिब एक महिनापछि आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको १३ औँ संस्करण सुरु हुनेछ। त्यो पनि छिमेकी देश भारतमै।

६ राष्ट्र सहभागी, नेपाल पहिलो पटक

यस पटक एसिया कपमा ६ राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र नेपाल छन्। समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन्।

भारत, पाकिस्तान र श्रीलङ्का एसिया कपका पूर्वविजेता हुन्। भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि जितेको छ। श्रीलङ्काले ६ र पाकिस्तानले दुई पटक जितेका छन्।

बङ्गलादेश र अफगानिस्तानले एसिया कपको उपाधि चुम्न सकेका छैनन्। नेपालले त पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको हो। एसिया कपको सबै संस्करणमा सहभागिता जनाउने एक मात्र राष्ट्र श्रीलङ्का हो।

श्रीलङ्काले १६ औँ पटक एसिया कप खेल्न लागेको हो। भारत, पाकिस्तान र बङ्गलादेशले भने हालसम्म १४–१४ पटक एसिया कप खेलेका छन्। हालसम्म हङकङले चार तथा अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) ले तीन–तीन पटक एसिया कप खेलेका छन्।

नेपाल घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपका लागि छनोट भएको हो।

एसिया कपको उद्घाटन खेलमा आयोजक पाकिस्तानसँग नवप्रवेशी नेपाल भिड्दैछ।  नेपालको राष्ट्रिय टोलीले कुनै पनि फर्म्याटमा पहिलो पटक पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पाकिस्तान अहिले एकदिवशीय विश्व वरीयतामा पहिलो नम्बरमा छ । एसिया कप सुरु हुनुभन्दा ठीकअघि पाकिस्तान वरीयताको पहिलो स्थानमा उक्लिएको हो ।

नेपाल भने १५औँ स्थानमा छ। नेपाल र पाकिस्तानबीचको खेल मुल्तान रङ्गशालामा दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। तीस हजार दर्शक क्षमताको मैदानमा यो खेल भइरहँदा तापक्रम भने नेपालका लागि अनुकुल हुनेछैन । किनकी मुल्तानमा अहिले निकै गर्मी छ । प्रतियोगिताका क्रममा ३८ डिग्री सेल्सियस तापक्रम हुने बताइएको छ ।

नेपालले भदौ १८ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ। भारत एक दिवसीय वरीयतामा तेस्रो स्थानमा छ। एसिया कप ३१ भदौसम्म चल्नेछ।

एसियामा क्रिकेटको क्रेज

विश्वकप एक महिनापछि सूरु हुँदैछ। तर, अहिले समर्थकमाझ विश्वकपभन्दा एसिया कपकै बढी चर्चा भइरहेको पाइन्छ।

यो प्रतियोगितामा दर्शकले आफूले समर्थन गरेका टिमको जित हारमा उत्साहित हुनु स्वाभाविक हो तर प्रत्यक्ष प्रसारण हेरिरहेका टेलिभिजन सेट फुट्नु समेत सामान्य घटना मानिन्छन्। कहिलेकाहीँ त समर्थक भौतिक रूपमै आपसमा भिड्न पुग्छन।

खेल भइरहेको रङ्गशालाका सिट तोडफोड र नाराबाजीका घटना समेत हुने गरेका छन्। भारत र पाकिस्तान क्रिकेटका चिर प्रतिद्धन्दी हुन् । यी दुई टिमको प्रतिस्पर्धा हुने भएकाले पनि एसिया कप रोमाञ्चक हुने गरेको छ ।

त्यसवाहेक अर्को कारण भने एसियाली क्षेत्रमा क्रिकेटको बढ्दो क्रेज र दबदबा पनि हो । किनकि क्रिकेट समर्थकको सबैभन्दा ठूलो जमात पनि एसियाली र त्यसमा पनि अझ दक्षिण एसियाली राष्ट्रमा छ । एसिया कपमा भिड्न लागेका ६ वटै राष्ट्र पनि दक्षिण एसियाकै हुन् ।

भारत र पाकिस्तानबीच लामो समययता तनावपूर्ण सम्बन्ध रहँदै आएको छ। यी दुई देश देश एक अर्कोलाई दुस्मन मान्छन्। धेरै जनसङ्ख्या भारतमा छ।

दुई देशका दर्शक राष्ट्रियतामा कट्टर छन्। हार जितलाई प्रतिष्ठाको विषय बनाउँछन् । त्यसैले पनि यी दुईदेश बीचको खेल हेर्न विश्वभरका क्रिकेट पारखी आतुर हुन्छन्। लाग्छ, यी दुई राष्ट्रबीच क्रिकेट मैदानमा खेल होइन, युद्ध भइरहेको छ।

यस पटक भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि श्रीलङ्कामा ४ खेल हुने भएको हो। पाकिस्तानसँग खेलेपछि नेपाली टोली श्रीलङ्का जानेछ।

खेल तालिका

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved