ठगीका अनेक धन्दा : पुरुषले महिला बनेर बिहे गर्नेदेखि कोरियाभन्दै विराटनगर पुर्‍याउनेसम्म

ठगिनेमा पढेलेखेका युवा धेरै, ठग्नेमा कम पढेकाको बाहुल्यता

ठगीका सबै तरिकालाई माथ खुवाउने घटना भइरहेका छन्। पुरुषले महिला बनेर बिहे गरेका घटनादेखि कोरिया पठाउने भन्दै विराटनगर पुर्‍याइएको घटना ताजै छ। नासालाई बत्ती बाल्ने ढुङ्गा बेच्ने देखि ‘रअ’ को एजेन्ट बनाउने भन्दै करोडौँ कुम्लाउनेहरू छन्। अनौठा ठगीका घटनामा केन्द्रित सामग्री।

नेपालभ्युज

ठगीका अनेक धन्दा : पुरुषले महिला बनेर बिहे गर्नेदेखि कोरियाभन्दै विराटनगर पुर्‍याउनेसम्म

काठमाडौं। अहिले चर्चामा रहेको विषय छ, ललिता निवास जग्गा हिनामिना प्रकरण। यस सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान टुङ्ग्याएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको छ। दुई सय ८६ जना प्रतिवादी छन्। जसमध्ये बिचौलियाले सोझा जनतालाई जग्गा बेचेका थिए। जग्गा किन्नेमध्ये केहीले फिर्ता गरिसकेका छन्। तर, उनीहरूले जग्गा किन्दाको पैसा गुमाए।

नक्कली भुटानी शरणार्थी प्रकरण पनि अझै सेलाइसकेको छैन। सयौँ जना नेपाली नागरिकबाट अबौँ रकम असुल्दै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाले विश्वभर नेपालको शीर झुकेको छ। ३२ जनाविरुद्ध मुद्दा चलिरहेको छ। १० लाखदेखि ५० लाखसम्म ठगिएका नागरिकले रकम फिर्ता पाउन सकेका छैनन्।

राजवंशी कोटामा जापान पठाउने भन्दै ठगी गर्ने गिरोह गत जेठमै पक्राउ परेको थियो। ६ जनाको गिरोहले ४० भन्दा बढीलाई ठगेको उजुरी थियो। उनीहरूले राजवंशी कोटामा जापान लैजाने भन्दै साढे दुई करोडभन्दा बढी रुपैयाँ ठगी गरेको खुलेको थियो।

क्यानडा लैजाने भन्दै करोडौँ ठगी गर्ने गिरोहका एक जना व्यक्ति केही साताअघि मात्रै पक्राउ परे। उनको ठग्ने कला र नालीबेली नेपाल भ्युजले केही साताअघि मात्रै सार्वजनिक गरेको थियो।

यतिमात्र होइन, कोरिया पठाउने भन्दै विराटनगर विमानस्थल पुर्‍याइएको घटना अझै ताजै छ। दलालले सर्वसाधारणबाट प्रतिव्यक्ति २५ हजार रुपैयाँ उठाएर काठमाडौं ल्याए। काठमाडौं ल्याएपछि आन्तरिक विमानस्थलको टर्मिनलबाट विराटनगरको विमान चढाए। काम गर्ने कम्पनीको मान्छे विमानस्थलमै लिन आउँछ भनेर विमान चढाएर पठाइदिए।

२ तले भवनमा नक्कली सरकारी कार्यालय, पक्राउ परे नक्कली उपसचिव र शाखा अधिकृत

यी त प्रतिनिधि घटना मात्र हुन्। जापान, सिंगापुर, हंङकङ, स्वीट्जरल्याण्ड, माल्टालगायतका देश पठाइदिन्छु भन्दै ठगी गर्नेहरू दैनिक पक्राउ परिरहेका छन्।

यी तथ्याङ्क हेर्दा लाग्छ गरिब नेपालीठगिने घटना सामान्य झैँ भइसकेको छ। वा भनौँ ठगी जस्तो जघन्य अपराध सामान्य जस्तै लाग्न थालिसकेको छ।

सजिलै प्रलोभनमा पर्ने र धेरै कमाउने आशामा फस्नेमा पढेलेखेका धेरै देखिन्छन् भने ठग्नेहरू धेरैजसो कम पढेका देखिन्छन्।

वैदेशिक रोजगारीका लागि अमेरिका, युरोपदेखि खाडी मुलुक जान प्रलोभनमा परेर फस्नेमा पढेलेखेका धेरै छन्। ठग्नेहरू कम पढेका रहेको प्रहरीले जनाएको छ।

०००

साउन पहिलो साता मात्रै नक्कली सरकारी कार्यालय नै खोलेर ठगी गरेको घटना नेपालभ्यूजले सार्वजनिक गरेको थियो। कृषि मन्त्रालय अन्तर्गतको ‘खाद्य सुरक्षा कार्यक्रम’को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा काठमाडौं प्रहरीले केहीलाई पक्राउ गरेको थियो। जहाँ नक्कली उपसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारी नियुक्त गरेर ठगी भइरहेको थियो।

काठमाडौं, पोखरा दाङलगायतका विभिन्न क्षेत्रमा गएर ‘छोएर वा हेरेर नै निको पार्ने’ भन्दै सीमान्त गुरु भनिने व्यक्तिले प्रतिव्यक्ति हजार उठाएर ठगी गरेपछि प्रहरीले रोकेको थियो। काठमाडौंको कार्यालय प्रशासनले बन्द गराएपछि विभिन्न जिल्ला गएका थिए। त्यहाँ पनि प्रतिबन्ध लगाइएपछि उनी गुमनाम छन्। त्यसपछि उनकै सिको गर्दै बौद्धमा प्रकाश भुजेल नामका एक व्यक्तिले यसै गरी ठगेको घटना सार्वजनिक भएको थियो।

केही दिनअघि मात्रै भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण गर्ग आएका थिए। कथा वाचक उनलाई पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ल्याइएको थियो। उनले मानिसमा भूत प्रेत हुने र आफ्नो आश्रम भारतमा उपचार गराउन आउन भन्दै भक्तजनलाई आग्रह गरेर गए। अब हिन्दूधर्मप्रति आस्था राख्ने कयाै भक्तजन धीरेन्द्रकृष्ण गर्गको भारतस्थित आश्रममा ‘कथित उपचार’ गराउन गएर ठग्ने खतरा छ।

पास्टरलाई ‘फ्लप’ खुवाउने ‘बागेश्वर बाबा’, जसले गर्दैछन् धर्मको खोल ओढेर हिन्दूको बदनाम (भिडिओ)

उदयपुरको बेलकामा बिहे गरेर ल्याएकी श्रीमती पुरुष भएको थाहा पाएपछि एक युवा प्रहरीमा गएका थिए, त्यो पनि ६ महिनापछि ।

पुरुषले महिला बनेर र महिलाले पुरुष बनेर ठगी गरेका कयौ घटना छन्। ‘हनीट्रयाप’ देखि सामाजिक सञ्जालबाट अनौठो तरिकाले लाखौँ ठगेका घटना सार्वजनिक भइरहेका छन्।

दिनहुँ ठगीका फरक–फरक घटना भइरहन्छन्। कतिपय ठगीका घटना त अनौठा पनि हुने गर्छन्। अलि अघि नासालाई बत्ती बल्ने ढुङ्गा (लाइट स्टोन) बेच्ने भन्दै साढे दुई करोड ठगी गरिएको घटना सार्वजनिक भएको थियो। अर्बौ रकम पर्ने युरेनियम बेच्ने भन्दै ठगी भएको उजुरी पनि प्रहरीमा आएको छ ।

भारतीय खुफिया संस्था रिसर्च एन्ड एनेलाइसिस ‘रअ’ को एजेन्ट बनाउने भन्दै ठगी गरिएको घटना पनि सार्वजनिक भइरहेका छन्। केही समयअघि ‘एक मुखे रुद्राक्ष’ भन्दै लाखौँ रकम लिएर नक्कली रुद्राक्ष किनाएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

नक्कली डाक्टर बिरामी चेकजाँच गरेर सर्वसाधारणको जनस्वास्थ्यमा खेलवाड गरिरहेका छन्। यसबारे सीआइबीले अप्रेसन चलाइरहेको छ।

‘अनलाइन सपिङका नाममा ठगी गर्न देखाउने एउटा, बिक्री अर्कै गर्ने’ घटना नभोग्ने कमै होलान्। कोठा खोज्दिनेदेखि जागिर खोज्दिने बहानामा त हजारौँ विद्यार्थी दिनप्रतिदिन ठगीमा परिरहेका छन्।

आफूसँग अमेरिका तथा बेलायतको ग्रिन कार्ड भएको र बिहे गरेर विदेश लैजाने भन्दै धेरै युवतीलाई ठगी गर्नेलाई पनि प्रहरीले पक्राउ गरेको थियाे।
एकै रातमा पैसा दोब्बर बनाइदिने प्रलोभन देखाउँदै एक समूहले सजिलै लाखौ रुपैयाँ ठगेको आरोपमा पनि केही मानिस समातिएका थिए। पछिल्लो समय दैनिक पत्रिकामै विज्ञापन छपाएर पनि ठगी हुन थालेको छ ।
ठगिने पीडित गल्लीगल्लीमा भेटिन्छन्। ठगीका कतिपय घटनामा सामान्य व्यक्तिदेखि उच्चतहका नेता तथा कर्मचारीसमेत संलग्न रहेको पाइन्छ।

यस्ता घटनामा संलग्न कतिपय सामान्य व्यक्ति कानुनको दायरामा सजिलै आउँछन्। तर उच्चस्तरीय नेता तथा कर्मचारीले ठगी गरेको भए गुपचुप पार्ने गरिएका कयौँ घटना छन्। अधिकांश पीडितले न्याय तथा क्षतिपूर्ति पाएका देखिँदैनन्।

वैदेशिक रोजगारीको बहानामा ठगी बढी

माथिका उदाहरण हेर्ने हो भने नेपालीहरू ठगिन कुनै समय नै लाग्दैन। नेपालको शिक्षा प्रणाली कमजोर रहेको र चेतनास्तरको कमीले धेरै ठगी भइरहेको विभिन्न तथ्यले देखाएको छ।

धेरैजसो घटना वैदेशिक रोजगारीका रहेको उजुरी प्रहरीमा परेको छ। विदेश जानेहरू ठगिनुमा बेरोजगारी समस्या रहेको समाजशास्त्री बताउँछन्।

‘‘यहाँ बेरोजगारीका कारण धेरै युवाले काम पाएका छैनन्। घर परिवार चलाउन पैसा छैन, विदेश जानुपर्ने बाध्यता छ। यसकारण उनीहरूलाई राम्रो काममा विदेश पठाइदिन्छु भन्दै प्रलोभनमा पार्ने र ठग्ने प्रवृत्ति बढेको देखिन्छ’’ समाजशास्त्री डा नारायण सत्याल भन्छन्।

नेपालमा पढाइमा एउटा तह पूरा गर्न ३ वर्ष लाग्छ भने विश्वविद्यालयले समयमा परीक्षा नगरिदिने अवस्था छ। यसैले एक लेभल पढ्न ३–४ वर्ष लगाइदिने जस्तो अवस्थाले युवामा निराशा छाएर विदेश मोह भएको कतिपयको निष्कर्ष छ।

उनीहरूको अन्त्यमा विकल्प उच्च तहको अध्ययनसँगै रोजगारी पाइने भएकाले त्यही ठगिने सम्भावना बढी रहेको विभिन्न तथ्याङकले देखाएको छ।

२२ वर्षे ‘नेपाली नटवरलाल’को अपराध यात्रा, ‘हीरा चोरी’देखि मानव तस्करीसम्म

वैदेशिक रोजगारी बाहेकमा ठगिनुमा मान्छेमा अपेक्षा बढ्नु, महत्वकाँक्षा बढ्नुले पनि काम गर्ने समाजशास्त्री बताउँछन्। जानकार भन्छन्,‘‘कसरी पैसा कमाउने भन्ने खोजीमा मान्छे हुन्छ। त्यसमध्ये जुन सजिलो बाटो हो भन्ने लाग्छ मान्छे त्यही बाटो पछ्याउन थाल्छ। मान्छेलाई धम्क्याउने, ठग्ने काम सजिलो भइसक्यो कतिपयमा त्यो कला हुन्छ। यसैले ठग्छन्।’’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की भन्छन् ‘‘पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगी गर्ने क्रम पनि बढेको छ। धेरै उजुरी र निवेदन वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरिएको छ। बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम ठगी गर्ने क्रम बढेको छ।’’

गत वर्षको माघदेखि यस वर्षको असारको मसान्तसम्म काठमाडौंमा मात्र ८ हजार ९२३ वटा मुद्दा दर्ता भएको एसएसपी कार्कीले बताए।

काठमाडौं प्रहरीमा पैसा नभएको एकाउन्टको चेक दिएको उजुरी पनि बढेको छ। एक नम्बरमा अभद्र व्यवहारसहित बैंकिङ कसुर मुद्दामा ५ हजार ९४० जना पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको छ। जुन गएको माघ यता ७ महिनाको अवधिमा हो।

टिकटकमा डेट-होटलमा भेट, प्रहरीमा बलात्कार र ठगीका उजुरीको चाङ

साइबर शाखा तिरबाट हेर्ने हो भने ३३२ वटा निवेदन प्राप्त भएको एसएसपी कार्कीले बताए। ५ करोड ४१ लाख भन्दा बढीको रकम तलमाथि भएको उनले बताए। एसएसपी कार्कीले भने, ‘‘सबैभन्दा धेरै समस्या अहिले एक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगी गर्नेको सङ्ख्या पनि ठूलो छ । बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम ठगी गर्ने क्रम बढेको छ ।’’

करोडौँ ठगी, न्याय पाउन असम्भव

वैदेशिक रोजगारमा ठगी गर्नेले पैसा लिएको प्रमाण राख्दैनन्, नगदै लिन्छन्। लिँदा ‘वैदेशिक रोजगारी प्रयोजन’ भन्दैनन् सापटी वा अरू कारोबार भनेर लिन्छन्। यसकारण अधिकांश पीडितले ठगिएको रकम फिर्ता पाउँदैनन्।

ठगीमा परेको प्रमाण भए पनि मेलमिलापको यस्तो ‘खेल’ मा कमजोर पीडित भन्दा बलशाली व्यवसायी नै माथि पर्छन्।

न्यायका निम्ति धाउँदाधाउँदा थाकेका, दिक्क भएका पीडितहरू विभागको रोहवरमा मेलमिलाप गर्न सहमत हुन्छन्। अन्तत:  उनीहरू वर्षौंपछि आफू ठगिएको भन्दा निकै कम रकम लिएर चित्त बुझाउन बाध्य हुन्छन्।

विभागको तलको तथ्याङ्कले पनि माथिको तथ्य पुष्टि गर्छ।

‘सीमान्त गुरु’को नाममा भाइरल अन्धविश्वास, अलौकिक उपचारको भ्रम फिँजाएर ठगी

वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७ ८० मा ४४ हजार ४६ उजुरी परेको थियो। जसमध्ये विभागले १७५१ फर्स्योट गरेको सूचना अधिकारी कविराज उप्रेती बताउँछन्।

उनले भने, ‘‘ अघिल्लो आर्थिक वर्षमा राहत तथा उद्धारको उजुरी १४२४ उजुरी परेको थियो। ७९८ वटा विभागले फर्स्यौट गरेको थियो। व्यक्तिगत उजुरी (दलालले ठगेको भन्दै) १३ सय १० उजुरी परेको थियो। अहिलेको आर्थिक वर्षमा साउनयता पनि उत्तिकै उजुरी आइरहेको छ।’’

वैदेशिक रोजगारीमा भएको ठगीबारेमा नेपाल प्रहरीलाई उजुरी १६ सय ४५ उजुरी आएको छ। सम्पूर्ण मुद्दा फर्स्यौटपछि ५५ करोड ६१ लाख बिगो जरिवाना भराएको वैदेशिक रोजगार विभागले जनाएको छ।

साधकको नाममा ‘ढोँगी बाबा’को बिगबिगी, करोडौँ ठगेका पीकेविरुद्ध यौनशोषणको समेत उजुरी

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका ७ जना डाक्टरलाई के हुन्छ कारबाही ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved