साधकको नाममा ‘ढोँगी बाबा’को बिगबिगी, करोडौँ ठगेका पीकेविरुद्ध यौनशोषणको समेत उजुरी

आफूलाई ‘शिव सुतक गौरीभक्त’ भनेर चिनाउँथे दोलखा घर भएका पुरुषोत्तम काफ्ले। तर, उनले धर्मगुरुको नाममा ठगी धन्दा चलाउने र यौन शोषण गर्ने गरेको उजुरी परेको छ।

नेपालभ्युज

साधकको नाममा ‘ढोँगी बाबा’को बिगबिगी, करोडौँ ठगेका पीकेविरुद्ध यौनशोषणको समेत उजुरी

काठमाडौं। महिना दिनअघि सामाजिक सञ्जालमा ‘सीमान्त गुरु’ भनिने भरत भट्टराईको निकै चर्चा थियो। उनको चर्चा बिरामीको आँखा हेरेर, स्पर्श गरेर जुनसुकै रोग ठिक पार्ने दाबी गर्थे।

उनी न एलोपैथिक चिकित्सक हुन् न त आयुर्वेदिक नै। तर, उनको चर्चापरिचर्चा यति विघ्न थियो कि उनी जहाँ जान्छन्, त्यहाँ त्यहाँ थामिइ नसक्ने ठूलो भिड उर्लिन्थ्यो।

अलौकिक शक्तिबाट जस्तोसुकै रोग ठिक पार्ने दाबी गर्ने उनी एक ढोँगी र ठग व्यक्ति पुष्टि भएपछि भीड घट्यो।

000

लगतै अर्का झाँक्री सञ्जालमा भाइरल देखिए्, उनी हुन् प्रकाश भूजेल। पछिल्लो समय टिकटकबाट भाइरल बन्दै ‘व्यवसाय’ चलाइरहेका झाँक्रीहरू प्रहरीको निगरानीमा पर्न थालेपछि भुजेल पनि फरार भए।

सोसल मिडियाको साहरामा चर्चामा आएका उनीकहाँ पनि आधुनिक चिकित्सा पद्धतिबाट पनि निको नभएका रोग सजिलै समाधान गर्ने प्रचारका कारण धाउनेको सङ्ख्या अत्यधिक छ। उपचारका नाममा ठगी गर्ने गरेको गुनासो र उजुरी पनि बढिरहेको छ।

000

अलिअघि महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जेल नै पुगेका थिए। दीक्षा दिने भन्दै महिलालाई म्यासेज गरी बोलाएको र बलात्कार गरेको प्रमाणसहित सार्वजनिक भएपछि उनी जेल पुगेका थिए।

साधकको नाममा ठगी गर्दैआएका अर्का ढोँगी बाबा फेरि हिरासतमा परेका छन्। उनीमाथि एक होइन धेरै किसिमका आरोप छन्। घटनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले अनुसन्धान गरेर मुद्दा दायरको प्रक्रियामा छ।

सीआईबीले दोलखा घर भएका पुरुषोत्तम काफ्ले उर्फ शिवसुत गौरी भक्त (पीके बाबा भनेर समेत चिनिने)लाई पक्राउ गरेको छ। उनलाई भारतबाट पक्राउ गरि नेपाल ल्याइएको हो। भारतीय प्रहरीको सहयोगमा उनी पक्राउ परेका हुन्।

धर्मगुरुको नाममा यौन शोषण

आफूलाई ‘शिव सुतक गौरीभक्त’ भनेर चिनाउँथे दोलखा घर भएका पुरुषोत्तम काफ्ले। तर, उनले धर्मगुरुको नाममा ठगी धन्दा चलाउने र यौन शोषण गर्ने गरेको उजुरी परेको छ।

पीडितहरूको उजुरीका आधारमा उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। थप पीडित महिला पनि सम्पर्कमा आउने क्रममा छन्।

उनीमाथि ठगी र यौन शोषणको मुद्दा चलाउने तयारी छ। उनले एउटै महिलासँग २ करोड रुपैयाँ र २१ तोला सुनसम्म ठगेको पाइएको र कैंयौ महिलालाई यौन शोषण गरेको अनुसन्धानबाट खुलेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए।

‘‘हाम्रो अभियान नेपाल’ र ‘ओम आश्रम नेपाल’ नामक संस्था खोली दर्जनौँ महिलाबाट पाँच करोडभन्दा बढी ठगी गरेको पाइएको छ। उनको आश्रम तथा संस्थामा ४ हजार महिला सदस्य रहेकाले ठगिनेहरूको सङ्ख्या र रकम अझै बढ्न सक्ने प्रहरीले जनाएको छ’’ उनले भने।

‘सीमान्त गुरु’को नाममा भाइरल अन्धविश्वास, अलौकिक उपचारको भ्रम फिँजाएर ठगी

कथित बाबा पीकेको चङ्गुलमा सोझा महिला

काठमाडौं महानरपालिका– ३२ कोटेश्वरकी लक्ष्मी (नाम परिवर्तन)ले २०६९ सालमा गौशालास्थित कथित बाबा पीकेको ओम आश्रमको सदस्यता लिएकी थिइन्।

पहिला ज्ञान बढाउन भन्दै पीकेले विभिन्न पुस्तक पढ्न लगाए। त्यसक्रममा आफूलाई ठगी गरेको ती महिलाको आरोप छ। श्रीमान् विदेशमा रहेका उनीसँग पीकेले विभिन्न बहानामा पैसा माग्थे।

बुढाले विदेशबाट पठाएको पैसा महिलाले पीकेलाई दिन्थिन्। पटक–पटक गरी २ करोड रुपैयाँ असुलिसकेपछि अन्ततः पीके फरार भए। यतिसम्मकी ती महिलाले कोटेश्वरको घर बैंकमा राखेर समेत पैसा दिएकी थिइन्। पीकेले २१ तोला सुन समेत लगेका थिए।

पीकेले ती महिलालाई मात्र ठगेनन्। अन्य धेरैलाई ठगेको पाइएको छ। धेरैसँग पैसा ठगेपछि उनी भारत भागे।

आफूलाई भगवान् शिवको अवतार बताउने उनले आफ्नो यौनाङ्गलाई शिबलिङ्ग भन्दै सुम्सुम्याइदिन लगाउने गरेको पीडित महिलाको आरोप छ।

बाबाले ती महिलालाई एकअर्कासँग भेटघाट र बोलचाल गर्न बन्देज लगाएका थिए। पीडित महिला भन्छन् ‘‘म शिव हुँ। मलाई पूजा गर भन्दै त्यो चिज (यौनाङ्ग) समाउन लगाएको थियो,’’ एक पीडितले भनिन्।

महिलालाई घरबाट विद्रोह गर्न आह्वान गरेर प्रवचन दिन्थे उनी। आफूकहाँ बोलाएर यौन शोषण गर्ने गरेको आरोप छ।

उनलाई रकम दिनेहरू भन्छन् ‘‘नारी आन्दोलन गर्नुपर्छ। नारी उत्थानका लागी कम्पनी खोल्न भनेर उनले रकम उठाएका थिए। धेरै महिलालाई यौन शोषण गरे। पछि करोडौँ रकम उठाएपछि फरार भए।’

प्रहरीको सम्पर्कमा आएका महिलासँग न्यूनतम २० हजारदेखि २ करोड रुपैयाँसम्म ठगी गरेको पाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved