अबुधावी । यूएईको अबुधावीमा ९ जना नेपाली अलपत्र परेका छन् । नेपालका एचएमटी ओभरसीज, कङ्गारु मेनपावर, एसपीएमओभरसीजलगायतका विभिन्न मेनपावर कम्पनीबाट यहाँ आएका नेपाली श्रमिकहरू अलपत्र परेका हुन् ।
उनीहरूलाई मेनपावरले ‘तामियाज इम्पावर’ कम्पनीमा काम गर्न ल्याएको हो । १२ सय दिराम (नेपाली रुपैयाँ करिब ४३ हजार ६ सय) र खान बस्ने सुविधासहित भन्दै एग्रिमेन्ट गरेर अबुधावी आएका नेपाली कामदारले आधाभन्दा कम पारिश्रमिक पाएपछि कम्पनी छाडेका हुन् । तर, कम्पनीले नेपाली दूतावास अबुधावीबाट मागपत्र प्रमाणीकरण गरेरै ती कामदार ल्याएको हो ।
मासिक १२ सय दिराम पारिश्रमिक पाउने भन्दै आफूहरूलाई ल्याए पनि आधा जति मात्रै पारिश्रमिक दिइएकाले कम्पनी छाड्न बाध्य भएको पीडितहरूको गुनासो छ ।
भनेअनुसार पारिश्रमिक पाउन पटकपटक कम्पनी र नेपालस्थित मेनपावरमा गुनासो गरे पनि सुनुवाइ नभएको उनीहरू बताउँछन् । उल्टै ‘तलब मागेमा जेल हाल्ने धम्की दिँदै यातना दिएपछि आफूहरू कम्पनी छाडेर हिँड्न बाध्य भएको’ पीडितहरू सुनाउँछन् ।
‘‘यहाँ आएपछि ६ सात महिना काम गरियो । तोकिए जति पैसा दिएन । भने जति पैसा माग्दा उल्टै हामीलाई धम्की दिन थाल्यो । अनि कम्पनी छाडेर हिँडेका हौँ’’ उनीहरू भन्छन् ।
बेपरवाह दूतावास
कम्पनीले भने कामदारहरू भागेको भन्दै आरोप लगाउँदै जिम्मेवारीबाट पन्छिएको छ । कम्पनी छाडेर हिँडेका कामदारहरू नेपाली दूतावासको गेट बाहिरै खुला आकाश मुनी बसेका छन् ।
आफ्ना देशका नागरिक आफ्नै दूतावास अगाडि खाडीको मरुभूमिमा अलपत्र परिरहँदा दूतावास बेपरवाह छ । कसरी उद्धार गर्ने भन्नेमा ध्यान नै नगएको अरू नेपालीहरू बताउँछन् ।
पीडितहरू अवुधावीको मुख्य बसपार्कको छेउमा, नेपाली दूतावासको गेट बाहिर चौरमा दिनरात कटाइरहेका छन् । दूतावासमा नेपाली राजदूत तेजबहादुर श्रेत्री, श्रम काउन्सिलर दिनबन्धु सुवेदी, श्रम सहचारी अबिद अन्सारी, डीसीएम विशाल भट्टराई त्यही बाटो भएर ओहोरदोहोर गर्छन् । तर, उद्धारमा पहल भएको छैन ।
‘‘दूतावासमा गुनासो गर्दा हामीलाई कम्पनी छाडेर किन भागेको भन्छन् ? उल्टो गाली गर्छन् । तर, कम्पनीबाट भाग्न बाध्य बनाइएको विषयमा केही गर्दैन् । मागपत्र प्रमाणीकरण गर्छन् तर त्यो अनुसार सेवा सुविधा कामदारले पाएको छ छैन हेर्दैनन् । यसमा कडाइ भएमा यस्ता समस्या हुँदैनथ्यो’’ पीडितहरू भन्छन् ।
दूतावासका अधिकारी तथा कर्मचारीहरू श्रमिकको उद्धारमाभन्दा पनि अन्य लाभ हुने क्षेत्रमै सबैजसो ध्यान दिँदै आएको आरोप छ ।
केही दिनअघि पार्कमा विभिन्न कारणले समस्यामा परेका ३३ जना कामदार थिए । नेपालीहरूले सहयोग जुटाएर २४ जनाको उद्धार गरेका छन् । ९ जना अझै अलपत्र छन् । उनीहरूको उद्धारमा अझ १० दिन जति कम्तीमा समय लाग्ने पत्रकार उमाकान्त पाण्डे बताउँछन् ।
त्यतिन्जेल दुई छाक खानाको व्यवस्था जेनतेन सहयोगी हातहरू खोजीमा नेपाली समुदायहरू छन् ।
पत्रकार पाण्डेले फेसबुकमा लेखेका छन्, ‘‘बस्ने बास नहुँदा खुल्ला पीडितहरू आकाशमुनि बस्नु परेको छ । अबुधावीमा कोही छ जसले एक साता देखि १० दिनलाई बास् दिलाउन सक्छ ? छ भने कृपया खबर पाउँ ! सबैको भलो होस् ।’’
अहिले पीडितहरूलाई आबुदाबीमा रहेका पत्रकार पाण्डे, अधिवक्ता प्रह्लाद पाठक, टिकटकर नवराज पाण्डे, सुनसरी इटहरीका योगराज थापालगायतले खाना खुवाइरहेका छन् ।
Facebook Comment
Comment