‘सीमान्त गुरु’को नाममा भाइरल अन्धविश्वास, अलौकिक उपचारको भ्रम फिँजाएर ठगी

आधुनिक समाजमा अन्धविश्वास कतिसम्म गहिरो छ भन्ने बुझ्न अस्पतालको कक्षबाट बिरामी खोसेर कथित गुरु सीमान्त केसीको शरणमा एम्बुलेन्समै पुर्‍याइएको यही उदाहरण काफी छ। कथित ‘अलौकिक गुरु’ बताउने उनले भ्रम फैलाएर बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिरहे पनि नियामक निकाय मौन देखिन्छन् ।

‘सीमान्त गुरु’को नाममा भाइरल अन्धविश्वास, अलौकिक उपचारको भ्रम फिँजाएर ठगी

काठमाडौं। सडकमा छाता ओढेका मानिसको भीड देखिन्छ। घरको माथि बार्दलीबाट टोपी लगाएका एकजनाले भीडलाई निर्देशन दिँदै भन्छन्, ‘‘हामी टोकन दिन्छौँ। साइडमा बस्नुस्। एक पटकमा १० जना आउनुस् । पैसा बुझाउँदै टोकन लिँदै गर्नुहोला।’’

अर्काे एकजना सहयोगी युवतीले हातमा रजिस्टर लिएकी हुन्छिन्। उनले पनि भीडलाई केही भनिरहेकी हुन्छिन्। सीमान्त गुरु नामको टिकटक एकाउन्टमा अपलोड गरेको भिडिओको दृश्य हो यो। भिडिओ लाखौँले हेरेका छन्। यो एकाउन्ट हालै खोलिएको हो।

अहिले सञ्जालमा भाइरल भएका ‘सीमान्त गुरु’ उर्फ सीमान्त केसीकहाँ उपचार गराउने भीड हो यो। त्यो पनि वैज्ञानिक विधि नभई ‘हेरेको वा छोएकै’ भरमा उपचार सेवा लिन आउनेहरू हुन्। दर्कने पानीको समेत बेवास्ता गर्दै सीमान्त केसी बसेको घर छेउमा मानिसको ताँती लागेको छ।

दुर्गम गाउँमा त चिकित्सा सेवा नपुग्दा झारफुकलगायत अन्धविश्वास हुनु स्वाभाविक हो। तर, सहरमा समेत झारफुक र हेरेको वा छोएको भरमा निको हुने भन्ने भ्रममा मानिसको भीड देख्दा जोकोहीलाई अनौठो लाग्छ। सोही एकाउन्टमा अर्काे आश्चार्यजनक भिडिओ छ। एम्बुलेन्समा बिरामी ल्याइएको भन्दै भिडिओमा लेखिएको छ। हातमा हरियो झोला झुन्डाएकी एक महिला दुई हात जोड्दै सीमान्त केसीसँग रुँदै टाँसिन्छन्। ‘अरूले नरुनु न नरुनु दिदी’ भन्दै सम्झाउँछन्।

यता सीमान्त केसी भने बाहिरैबाट एम्बुलेन्सभित्र सुतेका बिरामीको उपचार (उनकै भाषामा) थाल्छन्। बिरामीको शरीर टाउकोमा हात राख्छन्। दुखाइको पीडाले होला बिरामी रोइरहेको सुनिन्छ। केहीबेर झारफुक गर्छन्। एम्बुलेन्सको सिटमा बसेका २ युवाको टाउकोमा हातले छुँदै झारफुक गर्छन्। भिडिओमा भीडले सीमान्तलाई घेरिरहेको देखिन्छ।

हाम्रो आधुनिक समाजमा अन्धविश्वास कतिसम्म गहिरो छ भन्ने बुझ्न अस्पतालको कक्षबाट बिरामी खोसेर कथित गुरु सीमान्त केसीको शरणमा एम्बुलेन्समै पुर्‍याइएको यही उदाहरण काफी छ। जनस्वास्थ्य र सामाजिक चेतना दुवै क्षेत्रका लागि एउटा चर्को चुनौतीपूर्ण अन्धविश्वासयुक्त अर्काे भिडिओ पनि सामाजिक सञ्जालमा भाइरल छ। सीमान्त केसीकै आईडीमा अपलोड भएको यो भिडिओमा प्यारलाइसिस भएको बिरामीमाथिको अत्याचार देखाइएको छ। उपचारको बहानामा उनलाई जहाँ पायो त्यही हानिएको छ।

कुर्सीमा बसेकी प्यारलासिसकी बिरामीलाई झारफुक गरिरहेको देखिन्छ। सीमान्त केसीले बिरामीको टाउको, शरीर र खुट्टाका विभिन्न भागमा प्याटप्याट हान्दै छुन्छन्। ‘‘तपाईं ठीक हुनुहुन्छ, ठीक हुनुहुन्छ’’ अर्काे व्यक्तिले भ्रामक आश्वासन दिन्छन्।

सीमान्त केसी बिरामीसँग भन्छन्, ‘‘म ठीक पार्छु है त।’’ भ्रममा परेर आएकी निहत्था बिरामी ‘हुन्छ’ मात्रै भन्छिन् । ‘‘उपचारको लागि नेपाल र भारतका धेरै अस्पतालमा देखाउने क्रममा आज मेरो अफिस काठमाडौंमा प्यारालाइसिस रोगीको मनोबल बढाउँदै’’ भिडिओको क्याप्सनमा सीमान्त केसीले लेख्दै भ्रामक प्रचार गरेका छन्।

डरलाग्दो त, पछिल्लो समय विभिन्न भ्रम बेचेर ‘भाइरल’ भई अन्धविश्वासको खेती गरिरहेका उनको फसल राम्रै लागिरहेको छ। उनकै कारणले आफूलाई अस्ट्रेलियाको भिसा लागेको भन्दै युवतीहरूले लड्डु खुवाएको भिडिओ पनि भाइरल छ।

जानकारका अनुसार सीमान्त केसीले एक्टिङ गर्दै भिडिओ बनाउन लगाएका हुन्। तर, त्यो भिडिओ वास्तविक भन्दै लाखौँले हेरेका छन्। भ्रममा परेर उनको शरणमा आएका छन्। टिकटकलगायत सामाजिक सञ्जालबाट भ्रम फैलाइरहेका केसीको कैयौँ भिडिओ टिकटकमा ट्रेन्डिङमा छन्। भिडिओलाई साँच्चिकै ठान्नेहरू सीमान्त केसीकहाँ उपचार गराउन भन्दै लाइन लाग्न आइपुग्छन्।

केसी निकटका अनुसार केही वर्षअघि नाटकमा काम गरेका उनमा आम मानिसलाई कसरी भ्रममा राख्ने भन्ने कला राम्रोसँग थाहा छ। एक जना भन्छन्, ‘‘उनले स्किृष्टमा आधारित रहेर अरू मानिससँग भिडिओ बनाउँछन्। अरुलाई पोस्ट गर्न लगाउँछन्। आफूसँग अलौकिक रूपमा उपचार गराएपछि निको भएको भन्न लगाएर भिडिओ पोस्ट गरेपछि धेरैलाई साँच्चै भन्ने भ्रम परेको हो।’’

सीमान्त केसीकहाँ आउनेहरू भन्छन्, ‘‘टिकटक, फेसबुक र युट्युबतिर भिडिओ हेरेर अरूको निको भएको भन्ने सुनेर हामी पनि उपचार गर्न आएका हौँ।’’ उनीकहाँ पुग्ने स्तन वा पाठेघरमा समस्या भएका, रगत जाने, सेतो पानी बग्ने, मुटु/दमका रोगी, मेरुदण्ड भाँचिएकाहरु पनि हुन्छन् । विषेशगरी, महिला बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगी उपचार पाउने आशामा पुग्छन्।

सीमान्तले तारकेश्वर नगरपालिका–७ मनमैजुस्थित आशापुरी चोकमा एक घरमा कोठा भाडामा लिएका थिए। ‘अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिष प्राली’ सञ्चालन गरेर त्यहाँ  बसेका थिए। यहाँ हरेक दिन चार सयजति मान्छे जम्मा हुन्थे भने प्रतिव्यक्ति एक हजारका दरले असुली गर्थे । भिडभाड र होहल्ला भएको स्थानीयले गुनासो गरेपछि शुक्रबार प्रहरीले बन्द गराएको छ ।

त्यहाँ प्रहरीले बन्द गराए पनि केसीले अन्धविश्वास र भ्रम फैलाएर स्वास्थ्य उपचारका नाममा शुल्क उठाउँदै ठग्ने क्रम जारी राखेका छन्। उनलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रहरी नै सीमान्तको भ्रममा पर्दैआएका छन्। टिकटकमा भाइरल केही भिडिओमा प्रहरीको पोसाक लगाएका केही व्यक्तिलाई सीमान्तले झारफुक गरिरहेको पनि देखिन्छ।

‘भिडिओ च्याटबाटै अनुहार हेरेरै उपचार गरेको’ भन्दै सीमान्त केसी

काठमाडौंमा बन्द गराइएपछि देश दौडाहमा

काठमाडौंको कार्यालय प्रहरीले बन्द गराएपछि सीमान्त केसी दाङको तुलसीपुर गए। त्रिसिद्धेश्वरी मन्दिरमा पुगेका उनले ३ सय जनाभन्दा बढी भेला गरेर आइतबार बिहानैदेखि उपचारका नाममा भ्रम फैलाइरहेका थिए।

सबैसँग शुल्क असुलिसकेपछि प्रहरीले रोक लगायो । त्यसपछि उनी गोप्य रूपमा उपचार गराउने भन्दै बाँकेतिर लागेका छन्। केही वर्षअघि यस्तो उपचार पद्धतिमा विश्वास गर्नेमा अशिक्षा, न्यून चेतना, अनि स्वास्थ्य सेवाको प्रभावकारी पहुँच नभएकाहरू हुन्थे। अहिले जानेहरू कतिपय अस्पतालमा नियमित उपचार गराइरहेका पनि छन्।

सहरमा बस्ने कतिपय शिक्षित मानिससमेत भ्रममा पर्दै गएका देखिन्छन्। फलस्वरूप सीमान्त केसीले आधुनिक समाजमा व्याप्त अन्धविश्वासको फाइदा लुटिरहेका छन्।

केसी गत गत फागुन तेस्रो साता पोखरामा पक्राउ परेका थिए। पोखरा–१७ पावरहाउसको एक रिसोर्टमा ‘स्वास्थ्य शिविर’ भन्दै चलाइरहँदा भ्रम छरेको र ठगी गरेको आरोपमा पक्राउ परेका थिए। त्यो समयमा सर्वसाधारणसँग उठाएको १ लाख २३ हजार रुपैयाँ बरामद भएको थियो।

जनस्वास्थ्यमाथि खेलवाड, नियामक निकाय मौन

कथित ‘अलौकिक गुरु’ बताउने उनले चमत्कारको भ्रम फैलाएर बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिरहे पनि नियामक निकाय मौन देखिन्छन् । शिविरको नाममा सीमान्त केसी देशैभर बिरामीलाई भ्रम छर्दै हाकाहाकी हिँडिरहेका छन्।

पैसा असुलेर स्वास्थ्यमाथि खेलवाड गर्दा नियामक निकाय बेखबर जस्तै देखिन्छन्। समाजशास्त्री डिल्ली प्रसाईं पूर्वी सभ्यतामा परम्परागत कालदेखि झारफुक, जादुटुना चलाइआएको कुप्रथाले अहिलेको आधुनिक समाजमा पनि निरन्तरता पाइरहेको बताउँछन् ।

उनी भन्छन्, ‘‘उपचार गर्न गएमा आठदश हजार हजार रुपैयाँ लिएर नगइ हुँदैन। दैनिक ज्याला मजदुरी गर्नेहरू निको भइ पो हाल्छ कि भनेर सस्तोमा उपचार गर्न यस्तै यस्ता भ्रमको ढोका ढकढक्याउन बाध्य छन्।’’

उनको यस्तो उपचार विधिमा विश्वास गर्नेहरू भ्रममा परेर गएको मनोविद् गोपाल ढकालको तर्क छ। उनी भन्छन्, ‘‘यस्तो उपचार गराउन आकर्षित हुनेहरूमा प्रायः निम्न आय भएकाहरू र शिक्षाको अवसरबाट वञ्चितहरू बढी हुन्थे। अहिले सहरियाहरू पनि गएका छन्। उनीहरू तैपनि ठीक भइहाल्छ कि भन्ने लागेका गएका छन्। कतिपय सही–गलत छुट्टाउन नलागी भ्रम–जालोमा परेर गएका हुन्।’’

भिडिओ-

को हुन् केसी ? किन लुकाउँछन् सक्कली परिचय ?

आफूलाई अलौकिक गुरु सीमान्त केसी बताउने उनको वास्तविक नाम भरत भट्टराई हो । भरतका बुबा सामान्य धामी झाँक्रीको काम गर्थे । हाल उनी बुढ्यौलीका कारण सहजरूपमा हिँडडुल गर्न सक्दैनन्। मोरङको पथरी शनिश्चरे नगरपालिका–७ लामी टोलका भरत पहिला पसलमा काम गर्थे। त्यतिबेला नै पसलमा आउने सोझासीधा महिलालाई ठग्ने गरेको छिमेकीहरू बताउँछन्।

उनले सात वर्ष पत्रकारिता समेत गरेको उनका सहकर्मी बताउँछन्। २०६३ सालमा कुवेत गएका उनी तीन वर्षमै फर्केका दिए । छिमेकी गोपाल काफ्लेका अनुसार युरोप पठाइदिने भन्दै उनले स्थानीय दर्जनौँ युवाबाट पाँचदेखि १० लाख रुपैयाँसम्म असुलेका थिए । ठगिएका पदम जोगीले प्रहरीमा उजुरी दिएपछि सीमान्त केसी एक वर्षसम्म कारागार बसेका थिए।

रिहा भएपछि केसी (भट्टराई)ले काठमाडौंको गौशालामा पसल गरेको उनलाई चिन्नेहरू सुनाउँछन्। कोरोना कालमा कतै नदेखिएका उनी लामो समयपछि अचानक चमत्कारिक शैलीमा सार्वजनिक भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved