‘चतुर ठग’ सत्येन्द्र यादवको अनेक भेष, कहिले डाक्टर त कहिले मन्त्री बनेर ठगे करोडौँ 

साइत हेरेर निस्कन्थे ठगीमा

भेष बदलेर ठग्ने सत्यन्द्रको तौरतरिका रोचक छ। उनी बिहान शुभ मुहूर्त हेर्दै, विधिपूर्वक पूजापाठ गरेर ठगीमा निस्किन्थे। ठगी कार्य सफल भएर फर्किएपछि साँझ भगवानलाई धन्यवाद दिन्थे। एक ‘नामुद ठग’को’ अपराध यात्राबारे यो सामग्री।

‘चतुर ठग’ सत्येन्द्र यादवको अनेक भेष, कहिले डाक्टर त कहिले मन्त्री बनेर ठगे करोडौँ 

काठमाडौं। कालो वर्ण, मोटोघाटो खाइलाग्दो ज्यान। ढाका टोपी, रातो टाई र कोट पाइन्टमा सजिएर हिँड्छन्, उनी। झट्ट हेर्दा सरकारी कार्यालयका ठूलै हाकिम जस्तो देखिने उनले आफ्नो विभिन्न परिचय दिन्छन्।

कहिले ‘तनहुँका वीरेन्द्र प्रसाद अधिकारी हुँ’ भन्छन्। कहिले आफू ‘रौतहटका सत्येन्द्र यादव आधिकारी’ बताउँछन्। पेसा पनि बताउँछन्, मान्छेपिच्छे फरक-फरक।

आफ्नो स्वार्थ पुरा गर्न आफूलाई सरकारी कर्मचारीदेखि मन्त्रीसम्मको परिचय दिन पछि पर्दैनन्। विशेषगरी क्यानडा पठाइदिने भन्दै मोटो रकम असुल्दै हिँड्ने ती व्यक्ति हुन्, रौतहट राजदेवी नगरपालिका–७ स्थायी घर भएका ५६ वर्षीय सत्येन्द्र यादव।

उनी चानचुने ठग होइनन्। दर्जनाैँपटक पक्राउ परेका नमुद ठग हुन्। उनले आधा दर्जन पटक त जेलको चिसो हावा नै खाइसकेका छन्।

मुद्दा पनि अनेक, ठगीदेखि बलात्कारसम्मका। तैपनि ठगी नछाडेका उनी शुक्रबार फेरि पक्राउ परेका छन्, उही धन्दा गरेको आरोपमा।

क्यानडा र इजरायल पठाइदिनेभन्दै लाखौँ रकम ठगेको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सत्येन्द्रलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरेको हो।

सादा पोसाकका प्रहरी देखेपछि भाग्न लागेका उनलाई हथकडी लगाउन समेत प्रहरीले ठुलै पापड पेल्नुपर्‍याे। बलपूर्वक पक्राउ परेका सत्येन्द्र हिरासतमा छन्। सत्यन्द्रको ठगी यात्राबारे जानौं।

उनको ठगीको मुख्य बहाना ‘क्यानडा पाइदिने’ भन्ने हो। भेष बदलेर ठग्ने सत्येन्द्रको तौरतरिका रोचक छ। उनी ठगीमा साइत हेरेर निस्कन्छन्।

अरूकै नाम र नागरिकता प्रयोग गरेर ठग्दै आएका उनले आफ्नो नागरिकतामा यादवबाट कसरी अधिकारी बनाए त्यो पनी अझै अच्चमको छ।

साइत हेरेर निस्कन्छन् ठगीमा

सत्येन्द्र यादवको धन्दामा आफ्नै खालका नियम छन्। रोचक त के भने उनी बिहान शुभ मुहूर्त हेर्दै, विधिपूर्वक पूजापाठ गरेर ठगीमा निस्किन्थे। साँझ ठगी कार्यबाट सफल भएर फर्किएपछि भगवानलाई धन्यवाद दिन्थे।

‘उनले काम सफल’ भएपछि मन्दिरमा धन्यवादस्वरूप फलफूल लड्डु चढाउने गरेको समेत बताइन्छ। ठगिएका एक जना पीडित उनको आनीबानी सुनाउँदै भन्छन्, ‘‘कुन समयमा कुन ठाउँमा जाँदा उपयुक्त हुन्छ भन्ने साइत हेरेर उनी निस्कन्थे। साइत जुरेन भने घण्टौँसम्म घरमै सुतेर बस्थे। अनि  साइतको समय आउन लागेपछि निस्कन्थे।’’

२२ वर्षे ‘नेपाली नटवरलाल’को अपराध यात्रा, ‘हीरा चोरी’देखि मानव तस्करीसम्म

उनको ठगीको सिजन भने बाह्रैमास हुने गर्थ्यो। उनको बास एकै ठाउँमा हुँदैनथ्यो। वसुन्धराको एक घरलाई आफ्नै बताउँथे। उनले होटेलदेखि काठमाडौंका दर्जन स्थानमा कोठा तथा फ्ल्याट लिएका छन्।

सयौंजनालाई ठगिसकेकाले बचेर हिँड्न गाह्रो भएकाले त्यसो गरिएको हुनसक्ने अनुमान छ। चक्रपथको भाटभटेनी पछाडिदेखि ललितपुरको किस्ट कलेज पछाडिसम्म उनले कोठा र फ्ल्याट भाडामा लिएका छन्।

ठगी मुद्दामा पक्राउ परेका सत्येन्द्र यादव 

यस्तो छ सत्येन्द्रको ठग्ने तौरतरिका

सत्येन्द्रले बेरोजगार युवादेखि, व्यापारी र कर्मचारीसम्मलाई ठग्थे। उनीहरूको आवश्यकता अनुसारको आश्वासन दिन्थे। कस्ता मानिसलाई भेट्न गइँदैछ, त्यो अनुसारको भेष बदलेर हिँड्थे।

सोझा सीधा बेरोजगार युवायुवतीलाई आफू मन्त्री भन्थे। आवश्यकता अनुसार सुरक्षाकर्मी भन्दै भाडामा केही मानिस लिएर हिँड्थे।

अस्पताल परिसरमा भेटिने मानिसलाई आफू डाक्टर भन्दै चिनाउँथे। मानिसहरू भेटिने ठाउँअनुसार सचिव, राजदूत, सरकारी कर्मचारी भन्दै परिचय दिन्थे।

अस्पतालमा आएका बिरामी र आफन्तलाई ठग्ने सत्येन्द्रको अर्को अनौठो कला थियो। सेतो कोट लगाएर अस्पतालको गेटमा उभिन्थे। बिरामी र आफन्तसँग चिना परिचय गर्थे। उनले आफूलाई त्यहाँ भेटिएका बिरामीको सम्बन्धित रोगअनुसारकै विशेषज्ञ डाक्टर भन्दै चिनाउँथे।

गत चैत पहिलो साता पाटन अस्पतालमा उपचाररत गोरखाका ६२ वर्षिय उद्धवराजलाई उनले यसैगरी ५० लाख रुपैयाँ ठगे। ‘‘पाटन अस्पतालमा राम्रो उपचार छैन, डिस्चार्ज भएर घर जानुस् म घरमै उपचार गर्न आउँछु’’ सत्येन्द्रको भनाइ उद्धृत गर्दै बिरामीकी पत्नीले भनिन्।

बिरामीका आफन्तले सत्येन्द्रको जाली कुरा पत्याए। अन्ततः सत्येन्द्रलाई बिरामीका परिवारले बानेश्वरस्थित आफ्नै घरमा बोलाए। सत्यन्द्रले पनि बिरामीलाई केही सुई लगाइदिएको उद्धवकी पत्नीले बताइन्। यति मात्र नभई बिरामीका छोराछोरीलाई अमेरिका पठाइदिने भन्दै उनी ५० लाख लिएर फरार भए।

एक रोगका बिरामीलाई अर्काै रोगको औषधि भएको सुई लगाएपछि ती बिरामी गम्भीर अवस्थामा छन्। उनको स्वास्थ्य अवस्था झनै बिग्रिएको छ। बिरामीको परिवारलाई ठग्न नजिक हुने बहाना बनाउँदै सत्यन्द्रले बिरामीको ज्यानमा समेत गम्भीर खेलबाड गर्नसमेत पछि परेका छैनन्।
यस्तै, उनले हालै मात्र केही महिलाहरूलाई पाठेघरको क्यान्सरविरुद्धको सुई भन्दै अर्काै सुई लगाइएको प्रमाण फेला परेको  छ। क्यान्सरविरुद्धको सुई भनेर टिटानसको सुई लगाइदिएपछि महिलाहरू प्रहरीकहाँ पुगेका छन्।

यस्तै, बानेश्वरकै सावित्री जोशीलाई पनि सत्येन्द्रले २५ लाख ५० हजार ठगे। आफू नेपाल सरकारको सचिव रहेको बताएर उनले सरकारी कोटामा सावित्रीकी छोरीलाई क्यानडा पठाइदिने आश्वासन दिए।

सावित्रीकी छोरी नर्स हुन्। उनलाई क्यानडाकै ठूलो र राम्रो अस्पतालमा जागिर लगाइदिने भन्दै पैसा लगेको सावित्रीले बताइन्। प्रहरीमा उजुरीपछि दुईसाताअघि पनि सत्येन्द्र पक्राउ परेका थिए। त्यसबेला उनले पीडितलाई चेक काटेर दिएका थिए। तर, अझै साटिएको छैन।

सत्येन्द्रको मुख्य ठगी धन्दा ‘क्यानडा पठाउने भन्दै रकम असुल्नु’ हो। २०७५ चैतमा यही प्रकरणमा उनी पक्राउ परेर जेल बसेका थिए।

त्यो बेलामा १ करोड ४८ लाख ठगेका उनले अधिकांशलाई पैसा फिर्ता गरेका छैनन्। त्यतिबेला उनले आफूलाई गृह मन्त्रालयको सह–सचिव बताएर भूकम्प पीडितका लागी क्यानडा पठाउने भन्दै ठगेका थिए।

उनले आफैँ पैसा नलिने हुँदा ठगीको प्रमाण जुटाउन प्रहरीलाई समस्या हुनेगरेको छ। त्यसैले, उनी पक्राउ परे पनि छोटो समयमै छुट्दै आएका छन्। छुटेपछि फेरि ठगीमै सक्रिय हुन्छन्।

यसअघि उनी बलात्कार मुद्दामा समेत पक्राउ परिसकेको काठमाडौंं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले बताए। ठगी मुद्दामा कयौँपटक पक्राउ र जेल परिसकेका उनी पटक-पटक छुट्दै आएका छन्।

सत्येन्द्रले अहिले पनि क्यानडा र इजरायल पठाइदिने भन्दै २ दर्जनभन्दा बढी मानिस ठगेका छन्। सोही उजुरीको आधारमा उनी पक्राउ परेका हुन्।

टिकटकमा डेट-होटलमा भेट, प्रहरीमा बलात्कार र ठगीका उजुरीको चाङ

सत्येन्द्रले आफू सामान्य प्रशासन मन्त्रालयको सचिव हुँ भन्दै झापाकी माया बुढाथोकी, दोलखाकी फूलमाया जिरेल, ललितपुरका नवराज अधिकारी र स्वीकृति अधिकारीबाट लाखौँ असुलेका छन्। आकर्षक रोजगारीको लागि अमेरिका पठाइदिने आश्वासन दिँदै उनले रकम उठाएका थिए।

सोही उजुरीपछि सत्येन्द्र शुक्रबार पक्राउ परेका हुन्। उनीमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। एक अधिकारीले नेपाल भ्युजलाई भने, ‘‘ठग सत्येन्द्र हाम्रो नियमित पाहुना हुन्। उनीविरुद्ध धेरै उजुरी छन्। अहिले पक्राउ परेपछि उनीमाथि विभिन्न विषयमा अनुसन्धान भइरहेको छ।’’

यस्तै, सत्येन्द्रले आफू ‘राजदूत हुँ, इजरायल पठाइदिन्छु’ भन्दै ताप्लेजुङ र झापामा दुर्जनभन्दा बढी युवालाई ठगेका छन्। उनले पैसा असुल्न भने अरुलाई लगाएका थिए।

नक्कली कागज बनाएर एग्रिमेन्ट गर्न भने उनी आफैँ पुग्थे। उनको विश्वासमा परेर ठगिने सोझा सीधा युवाहरूमा ताप्लेजुङका दामोदर बुढाथोकी, सन्तोष पौडेल, मनिस बुढाथोकी, ईश्वर पौडेल र ओमबहादुर बुढाथोकी छन्।

सिन्धुपाल्चोकका डिल्ली गौतम, कैलालीका भीमबहादुर रेग्मी पनि उनै सत्येन्द्रबाट ठगिएका छन्। झापाका रामलाल कर्माकार, नवीन बस्नेतलगायतबाट पनि लखौं ठगिएको पाइएको छ।

अरुकै नाम र नागरिकता प्रयोग गरेर ठगी

सत्येन्द्रले अरूकै नामको सवारी चालक लाइसेन्स लिएर हिँड्ने गरेको पाइएको छ। यति मात्र होइन मोटरसाइकलसमेत कीर्ते गरेर अरूकै नाममा किनेका छन्।

प्रहरीले शुक्रबार पक्राउ गर्ने क्रममा उनले पाण्डे थरका एक युवाको लाइसेन्स बोकेको भेटिएको छ। मोटर साइकलको ब्लुबुकसमेत अरूकै नामको देखिएको छ।

उनले चढ्दै आएको बा. ७५ प २११४ को ‘टु‍-ट्वान्टी’ पल्सर, बा. ७६ प ४१ १९ को कालो स्कुटर र बा. ७० प ६५२५ को रातो स्कुटरसमेत अरूकै नामको रहेको पाइएको छ।

सत्येन्द्रले अरूको नागरिकता प्रयोग गरी कीर्ते गरेर मोटरसाइकल पास गरेको भन्दै उजुरीसमेत परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

बैंकिङ कसुर तथा ठगीमा पटक-पटक कारबाही भोगेकाले उनले बैंकिङ कारोबार गर्न पाउँदैनन्। यसैले अरूको नागरिकता प्रयोग गरेर बैंक खाता खोलेर कारोबार गर्दैआएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अरूको नाममा पैसा लिने गरेका उनले पछि मुद्दा मामिला परेमा आफू त्यो मान्छे नभएको दाबी गर्दै उम्कँदै आएका छन्। चारवटा मोबाइल बोक्ने उनले दर्जन बढी सिम कार्डसमेत विदेशमा रहेका एक युवाको नागरिकता प्रयोग गरी लिएको प्रहरीले पत्ता लगाएको छ। शुक्रबार पक्राउ पर्दा उनीबाट चारवटा मोबाइल बरामद भएको थियो भने आधा दर्जन बढी सीमकार्डसमेत फेला परेको छ।

सत्येन्द्रले धेरैजस्तो ठाउँमा तनहुँका वीरेन्द्र प्रसाद अधिकारीको नाममा ठगी गर्दै आएका छन्। ललितपुरको ग्वार्काेमा समेत उनले फ्ल्याट भाडामा लिएका छन्।

घरभेटीले नेपाल भ्युजसँग भने, ‘‘तनहुँको वीरेन्द्र प्रसाद अधिकारी हुँ भनेर भाडामा बसेका थिए। सत्येन्द्र यादव पो रहेछन्। पक्राउ परेपछि पो महाठग रहेछ भन्ने थाहा पाइयो।’’

भेष बदल्न माहिर

ठगी धन्दाका क्रममा उनी भेष बदल्नसमेत माहिर थिए। कहिले टोपी नलगाउने, कहिले कोट नलगाउने, कहिले कुर्ता लगाउने, अगाडि तालु खुइलिएका उनले हेयरस्टाइल पनि पटक-पटक परिवर्तन गर्थे।

हत्तपत्त कसैले नचिनुन् भन्नको लागि उनले महिना महिनामा हुलिया बदल्दैआएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।

‘सीमान्त गुरु’को नाममा भाइरल अन्धविश्वास, अलौकिक उपचारको भ्रम फिँजाएर ठगी

अरूले झट्ट नचिनोस् भन्नका लागि उनले दिउँसो घाम लागेको समयमा पनि रेनकोट ओढ्ने गरेका थिए। शुक्रबार पनि ललितपुरमा सोही अवस्थामा पक्राउ परे।

ठगी मुद्दामा पक्राउ परेका सत्येन्द्र यादव 

प्रमाण नराख्न अरूकै बैंक खाता प्रयोग

सत्येन्द्र बडो धैर्यवान् भएर ठगीको काम गर्थे। आफ्नो ‘शिकार’लाई रत्तिभर शंका हुन दिँदैनथे। कयौँ मानिस त अरूले ठगेको भन्दै सत्येन्द्रसँग हारगुहार गर्न पुग्थे।

नयाँ भेट भएका मानिसलाई ध्यानपूर्वक हेर्ने उनले मानिसको हैसियत अनुसार ठग्थे। धनसम्पत्ति तथा हैसियतको अनुमान लगाएर आफ्नो चुङ्गुलमा फसाउँथे। निकै होसियारीपूर्वक काम फत्ते गर्दै आएका सत्येन्द्रले अधिकांशसँग पैसा लिँदा अरूकै खाता प्रयोग गर्थे। र अरूकै एटीएम प्रयोग गरेर पैसा झिक्थे।

अस्पतालका सामान्य कर्मचारी थिए, डाक्टर भन्दै बिरामी हेर्थे

‘गृह मन्त्रालयको सह–सचिव हुँ’ भन्दै परिचयपत्र देखाउँदै हिँड्ने सत्येन्द्र वीर अस्पतालका निष्कासित कर्मचारी हुन्। वीरको एक्स-रे विभागमा सामान्य कर्मचारी थिए। एक्स–रे पेपरमा घोटाला गरेको खुलेपछि जिल्ला अदालत काठमाडौंले उनलाई ४ वर्ष कैद सजायको फैसला सुनाएको थियो।

सत्यन्द्रले कतिपय अवस्थामा आफूलाई पत्रकारसमेत बताएर धम्काउँदै हिँड्थे। २०७५ चैतमा पक्राउ पर्दा उनको साथबाट सूचना विभागबाट जारी भएको पत्रकार परिचय पत्र भेटिएको थियो।

‘समय सारथी साप्ताहिक पत्रिका’को नाममा जारी भएको प्रेस प्रतिनिधि प्रमाणपत्र उनले बोकेर हिँड्ने गरेका थिए। जानकारका अनुसार सत्येन्द्रले आफू डाक्टर हुँ भन्दै बिरामी हेर्ने र पैसासमेत असुल्ने गर्थे।

साधकको नाममा ‘ढोँगी बाबा’को बिगबिगी, करोडौँ ठगेका पीकेविरुद्ध यौनशोषणको समेत उजुरी

यादव कसरी भए अधिकारी ?

रौतहट राजदेवी नगरपालिका–७ स्थायी घर भएका ५६ वर्षीय सत्येन्द्रको थर यादव हो। तर, उनले सत्येन्द्र यादव अधिकारीको नाममा समेत नागरिकता तथा आइडी कार्ड बनाएका छन्।

उनले आफ्नो छोराछोरीको नागरिकता जिल्ला प्रशासन कार्यालय रौतहटबाट अधिकारीको नाममा निकालेका छन्। उनको नागरिकताको सम्बन्धमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार उनी पछिल्लोपटक जेल पर्दा कीर्ते गरी अर्को नागरिकता प्रयोग गरी छुटेका थिए। पहिला फैसला हुँदा जेलमा परेको व्यक्ति आफू नभई अर्कै व्यक्ति रहेको भन्दै उनी छुटेको स्रोतको दाबी छ।

पछिल्लो समयमा उनले सत्येन्द्र अधिकारी, सत्येन्द्र यादव अधिकारी, शैलेन्द्रप्रसाद यादवलगायतको नामको परिचयपत्र लिएर हिँड्ने गरेका छन्।

उनले अहिलेसम्म कति ठगी गरेका छन् भन्ने यकिन हुन सकेको छैन। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ। तर, उनको ठगी धन्दा करोडौंमा रहेको भने प्रष्ट छ।


Comment

One thought on “‘चतुर ठग’ सत्येन्द्र यादवको अनेक भेष, कहिले डाक्टर त कहिले मन्त्री बनेर ठगे करोडौँ 

  1. Nepal Sarkaar le ek byekti ek sim ( Number) Niti abilamba karyawayen garnu paryo. eutai byekti le dherai number ko sim liyera dherai lai thagi garna sajilo bhayeko xa vane anusandhan ma pani gahro vayeko xa. Tasartha sim line prakriya lai byewasthith banaunu paryo ra junsukai byekti le sim linu paryo vane pahile kai number dine byewastha milaunu paryo.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved