टिकटकमा डेट-होटलमा भेट, प्रहरीमा बलात्कार र ठगीका उजुरीको चाङ

टिकटकबाट जोडी बनेकाहरु अन्तरङ्ग कुरा गर्छन्। सम्बन्ध गाढा भएपछि कतिपयले पैसाको लेनदेन गर्छन्। कतिपय प्रेममा चुर्लुम्म डुब्छन्। पछि पैसा फस्यो र मायामा धोका भयो भन्दै टिकटकमै गुहार लगाउँछन् ।

नेपालभ्युज

टिकटकमा डेट-होटलमा भेट, प्रहरीमा बलात्कार र ठगीका उजुरीको चाङ

स्थानः टिकटक एप्स
समय: राति ११ बजे
लाइभमा जोडिनेको संख्याः औसत एक हजार
लाइभको विषय : लक्की ब्वाई (बीएफ, जीएफ खोज्ने ठाउँ)

‘लक्की ब्वाइ’ युजरबाट टिकटक लाइभका होस्ट हुन्, काठमाडौंका एक युवा। उनी लाइभमा आएको देख्नासाथ सहभागीले कमेन्ट लेख्न थालिहाल्छन्, जीएफ (गर्लफ्रेन्ड) चाहियो र बीएफ (ब्वाइफ्रेन्ड) चाहियो। केही भ्युअर्सहरू लाइभमा उनीसँग बोल्नको लागि ‘गेस्ट रिक्वेट’ गर्छन्।

लक्की ब्वाइसँग कुरा गर्न लाइभ जोडिएकाहरूले आफूले चाहेको जोडीको विशेषताबारे सुनाउँछन्। अधिकांश युवाहरू भन्छन्, ‘‘अठार बीस वर्ष उमेर पुगेकी, चिटिक्क परेकी…’’

लाइभमा केटा मात्र जोडिँदैनन्, महिला युजरहरू पनि जोडिन्छन्। उनीहरूले पनि उस्तै आफूलाई सुहाउने जोडी खोजिदिन होस्टलाई अनुरोध गर्छन्। उनीहरू भनिरहेका हुन्छन् ‘‘ह्यान्सम केटा होस्। घुम्न जान राम्रो बाइक होस्। अलिअलि खर्च गर्न सक्ने होस्…।’’

गेस्ट रिक्वेटमार्फत् आफ्नो लाइभमा जोडिएका दुवै जना केटा र केटीलाई होस्टले परिचय गराउँछन्। नाम, थर बसाइँदेखि सम्पूर्ण व्यक्तिगत विवरण सोध्छन्। दुवै जनालाई चिना परिचय गराएपछि एकअर्का रुचिको विषय सोध्छन्।

यसरी दुईबीच कुरा मिलेमा उनीहरूले फेसबुक आइडी साटासाट गर्छन्। म्यासेन्जरमा कुरा गर्ने भन्दै टिकटकबाट बिदा हुन्छन्। यसै गरी अर्को जोडीले पनि कुरा गर्छन्।

लाइभ हेर्न आएकाहरू पनि यतिमै चुप बस्दैनन्। उनीहरू लेखिरहेका हुन्छन् ‘‘जीएफ चाहियो चाहियो,  बीएफ चाहियो।’’ त्यहाँ ‘जीएफ चाहियो चाहियो’ लेख्नेहरू केटाहरूलाई ‘बीएफ चाहियो’ भन्दै लेख्ने केटीहरूले रिप्लाई दिइरहेको पनि भेटिन्छन्।

होस्टले पटकपटक दोहोर्‍याइराख्छन् ‘‘गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड चाहिएको भए लाइभमा जोडिनुस्। लाइभ शेयर गर्नुहोस्। धेरैमाझ यो पुर्‍याउनुस्। गिफ्ट फाल्नुस्।’’

अनौठो त यो छ कि, यो लाइभमा जोडिने अधिकांश वास्तविक एकाउन्टबाट आउँदैनन्। उनीहरू फर्जी नाम वा निक नेम भएका टिकटक युजर आईडीबाट जोडिएन आएका भेटिन्छन्।

‘बिग साउन्ड’ नाम गरेको युजर आइडी प्रायः राति लाइभमा देखिन्छ। उनले लाइभको हेडिङमै लेखेका हुन्छन् ‘जोडी खोज्ने ठाउँ’। ‘‘सिङ्गल केटाकेटीहरू जोडी खोज्नको लागि’’ भन्दै स्कृनमा लेख्ने गर्छन्।

आफ्नो टिकटक लाइभमा जोडिनेको सङ्ख्या बढिरहेका बेला होस्टले एकजना केटीलाई गेस्ट बनाउँछन् । अनि होस्ट र केटीबीच कुराकानी सुरु हुन्छ। होस्टले केटी र त्यहाँ जोडिएका केटाबीच गेस्टमा कुर्न लगाउँछन्।

होस्टले गेस्टमा जोडिएका युवतीलाई सोध्छन्, ‘‘बिहे गर्नका लागि केटा चाहिएको हो कि ब्वाइफ्रेन्ड मात्र हो ?’’ जवाफमा केटीले हाँस्दै भन्छिन्, ‘‘हेहे कहाँ अहिल्यै बिहे गर्नु। पहिले ब्वाइफ्रेन्ड बनाउने, मन मिल्यो, विचार मिल्यो भने पछि सोचौँला।’’

उनीहरूको यो संवाद अरू भ्यूअर्सले पनि चाख दिएर कुरा सुन्छन्। कमेन्ट बक्समा लेखिरहेका हुन्छन्। भ्यूअर्सले पनि आफूले चाहेअनुसारको साथीको बारेमा लेखिरहेका हुन्छन्।

अरू युवा र युवतीले पनि क्रमशः गेस्ट बन्छन्। कुरा गर्छन्। होस्टको टिकटक लाइभमा प्रत्येक मिनेट, मिनेटको अन्तरमा सहभागी हुनेहरूको सङ्ख्या बढिरहन्छ।

यत्तिकैमा लाइभ जोडिएकाहरू एक अर्कालाई फेसबुकमा फलो गर्छन्। अनि म्यासेन्जरमा कुरा गर्छन्। टिकटकका होस्टले कुरा मिल्यो भने अगाडि बढ्न र मिलेन भने फेरि लाइभमा आउन भन्छन्। त्यो जोडीको काम टुङ्गियो। अर्को जोडीले कुरा सुरु गरे।

यी त टिकटक लाइभका प्रतिनिधि घटना मात्रै हुन् । प्राय रातिको समयमा टिकटक लाइभ स्क्रोल गर्ने हो भने करिब तीन दर्जनभन्दा बढी लाइभ यसरी नै चलिरहेका हुन्छन्। जसमा हजारौँ युवायुवतीहरू रुचिका साथ जोडी खोजिरहेका हुन्।

टिकटकले जुराएको जोडी, छोटो समयमै धोका र ठगी

टिकटक लाइभबाट जोडी बन्छौँ भनेर आउने कतिपय एक अर्कासँग जोडिन्छन्।  अन्तरङ्ग कुरा गर्छन्। सम्बन्ध गाडा भएपछि कतिपयले पैसाको लेनदेन गर्छन्। कतिपय प्रेममा चुर्लुम्म डुब्छन्। पछि पैसा फस्यो र मायामा धोका भयो भन्दै टिकटकमै गुहार लगाउँछन् ।

जोडी खोज्ने भन्दै लाइभ चलाउने काँडाघारीका एक युवा भन्छन्, ‘‘हामीसँग साथी बनेर नजिकिएकाहरूको प्रेम धेरै टिक्दैन। छोटो समयमै धोक भयो भन्छन्। फेरि अर्को जोडी खोज्न भन्दै आउँछन्। कतिपयले पैसाको कारोबार गरेर ठगी भयो भन्दै गुनासो गरिरहन्छन्।’’

लाइभ चलाउने होस्टहरू भने आफू माध्यम मात्र बन्ने गरेको बताउँछन्। सम्बन्ध बढाउने–बढाउने जोडीकै हातमा हुने उनीहरूको भनाइ छ।

आपराधिक मनोवृत्तिका व्यक्तिलाई प्रोत्साहन

नेपालमा बढ्दै गरेको टिकटक ट्रेनले जोडी खोज्ने अभ्यास समेत सुरु भएको देखिन्छ। मुलत टिकटक आफ्नो विभिन्न कला प्रस्तुत गर्ने गराउने मनोरञ्जनको साधन हो। यसलाई आम्दानीको राम्रो श्रोत समेत बनाउँदै लगेका छन्।

तर, कतिपयले आम्दानीको राम्रो श्रोत हुने भन्दैमा गिफ्टको लोभमा जोडी खोज्ने भन्दै लाइभ चलाउँदा विकृति पनि उत्तिकै बढेका छन्। गिफ्ट, लाइक र फलोअर्स बटुल्ने नाममा भएका यस्ता गतिविधिले विकृति बढेको जानकारहरूको चिन्ता छ।

विश्वका अधिकांश मुलुकमा आफ्नो बजार विस्तार गर्न सफल टिकटक के वृद्ध, के बालबालिका, युवायुवती, किशोर किशोरी वा महिला पुरुष सबैले रुचाइएको सञ्जाल बनेको छ। तर, स्वतन्त्रताले सीमा नाग्दा नेपालमा जोडी जुराउने नाममा विकृति विसङ्गतिहरू बढ्न थालेको प्रहरीको रेकर्डमै छ।

साइबर ब्युरोका एक अधिकारी भन्छन् ‘‘टिकटकबाट नजिक बन्नेहरू पछि उजुरी दिन आउने गरेका छन्। राम्रोसँग नाम थर घर पहिचान नभई नजिकिएकाहरू ठगिएपछि आउँछन् उनीहरूलाई पत्ता लगाउन समेत समस्या छ। टिकटककै साथीको विश्वासमा परेर जहाँ बोलायो त्यही गएका कतिपय युवती तथा किशोरीहरू बलात्कृत भएका समेत सुनिएको छ।’’

यस्ता गतिविधिले समाजमा आपराधिक मनोवृत्तिका व्यक्तिलाई प्रोत्साहित त गरिरहेको छैनन् भन्ने प्रश्न उब्जाएको छ।  यसप्रति टिकटक युजर  आफैँ सचेत हुनु आवश्यक रहेको जानकारहरू बताउँछन्।

सम्बन्धित समाचार-

टिकटकबाट पैसा कमाउने ध्याउन्न : गिफ्ट माग्छन् नाम चलेका कलाकार

भाइरल ‘हेडमिस’, जो टिकटक लाइभमा अर्धनग्न हुन्छिन्, अश्लील भिडिओ बनाउँछिन्

टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

कलाकार भन्छन्, ‘कामको प्रचार गर्दा भिख मागेको आरोप लगाउने चाहिँ भिखारी’

झाँक्री टिकटक लाइभमा, आल‍े र किसान घरमै व्यस्त, खतिवडा लागे हेटौँडा

टिकटक लाइभमार्फत चिनजान भएकाबाट बलात्कृत, कांग्रेस नुवाकोटका नेता पाण्डे पक्राउ

टिकटकमार्फत जुवा, लाखौँ रकमसहित चार जना पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved