कलाकार भन्छन्, ‘कामको प्रचार गर्दा भिख मागेको आरोप लगाउने चाहिँ भिखारी’

हाँस्य टेलिसिरियल ‘सक्किगोनी’का चर्चित पात्रहरू ‘काकु’ भनिने दीपक आचार्य र ‘सिते बा’ नामले परिचित मधुसूदन पाठकले आफूहरू त्यो भीडमा नरहेको भन्दै प्रतिक्रिया दिएका छन्। कहिलेकाहीँ टिकटक लाइभमा देखिने उनीहरूले आफूले जबरजस्ती गिफ्ट नमागेको दाबी गरेका छन्।

नेपालभ्युज

कलाकार भन्छन्, ‘कामको प्रचार गर्दा भिख मागेको आरोप लगाउने चाहिँ भिखारी’
कलाकार दीपक आचार्य र मधुसूदन पाठक। फोटो : फेसबुकबाट

काठमाडौं। भिडिओ शेयरिङ एप्स सामाजिक सञ्जाल टिकटकमा नाम चलेकै कलाकारले गिफ्ट मागेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरेपछि केही कलाकारहरूले प्रतिवाद गरेका छन्। पछिल्लो समय टिकटकबाट करोड कमाए भन्दै केही प्रयोगकर्ताहरू मिडियामा आएपछि चल्तीकै कलाकारहरू समेत कसले बढी कमाउने भन्ने होडमा छन्। तर ती कलाकारसँगै आफ्नो नाम पनि मुछिएको भदै केही कलाकारहरूले खण्डन गरेका छन्।

डलरमा कन्भर्ट गरेर लिन मिल्ने गिफ्ट धेरैले टिकटकमा माग्ने गरेको देखिन्छ। यसमा सामान्य मानिसदेखि केही कलाकारहरू समेत छन्। यसबाट उनीहरूले लाखौँ कमाउने गरेका बताउँदै आएका छन्। अझ अधिकांशले सिर्जनात्मक प्रस्तुतिभन्दा अन्टसन्ट बोल्ने र तल्लो स्तरका शब्द बोल्दै भ्यूअर्स अडाउने र गिफ्ट फाल्न प्रेरित गरिरहेका भेटिन्छन्।

यही विषयमा नेपालभ्यूजमा समाचार प्रकाशन भएपछि चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’का चर्चित पात्रहरू ‘काकु’ भनिने दीपक आचार्य र ‘सिते बा’ नामले परिचित मधुसूदन पाठकले आफूहरू त्यो भीडमा नरहेको भन्दै प्रतिक्रिया दिएका छन्। कहिलेकाहीँ टिकटक लाइभमा देखिने उनीहरूले आफूले जबरजस्ती गिफ्ट नमागेको दाबी गरेका छन्।

कलाकार आचार्यले आफूले गरेका काम प्रचार गर्न मात्रै कहिलेकाहीँ टिकटक लाइभ गर्ने गरेको बताएका छन्। यदि जबरजस्ती गिफ्ट मागेको पुष्टि भएमा आफ्नो एकाउन्टमा जम्मा भएको सबै गिफ्हरु दिने घोषणा गरेका छन्।

उनले भनेका छन्, ‘‘कामको प्रचार स्वरूप एकदमै थोरै लाइभमा बस्ने बाहेक अनावश्यक लाइभमा म कहिले बस्दिनँ। मैले टिकटक लाइभमा बसेर गिफ्ट मागेको प्रमाण देखाउनुभयो भने लाइभबाट मैले कमाएको पैसामा अरू थपेर तपाईँलाई दिन्छु। अरू पैसा नथपी दिँदा त समोसा किन्न पुग्ने पनि ब्यालेन्स छैन।’’

कलाकार आचार्यकै भनाइमा अर्का कलाकार पाठकले पनि समर्थन जनाएका छन्। आफूले टिकटकमा भिख (गिफ्ट) नमागेको भन्दै उनले बिनाअध्ययन पत्रकारले समाचार लेखेर भिख मागेको टिप्पणी गरेका छन्। ‘‘बिनाअध्ययन फेक न्यूज लेख्ने साथी चाहिँ कति भिखारी होलान् त?’’ प्रश्न गर्दै पाठकले भनेका छन्। समाचार कपी गरेर अरू मिडियामा पोस्ट गर्नेलाई समेत उनले आलोचना गरेका छन्।

उनले व्यङ्ग्य गर्दै थप भनेका छन्, ‘‘एउटै न्युजको हेडलाइन चेन्ज गर्दै कपि गर्दै न्यूज च्यानल बिकाउने तमाम भिखारी न्यूज पोर्टलहरूलाई यसरी नै नेपाली मिडियाको साख जोगाइदिनुहोला ल ! धन्यवाद।’’

यस्तै, लोक गायिका चन्दा अर्यालले पनि आफू लाइभमा आइरहने भए पनि गिफ्ट नमागेको दाबी गरेकी छन्। आफू फुर्सदको समय सदुपयोग गर्न मात्रै टिकटक लाइभमा आउने बताउँदै अनावश्यक समय टिकटक लाइभमा नआएको उनले बताइन्।

चन्दा अर्याल, लोक गायिका

समाचार प्रकाशन भएलगत्तै खण्डन पठाउँदै गायिका अर्यालले भनेकी छन्, ‘हो, धेरै कलाकारहरू टिकटक लाइभबाट जबरजस्ती गिफ्ट मागिरहेका देखिन्छन्। यो गलत हो। तर, म आफ्नो तनाव हल्का पार्न साथीहरूसँग कुराकानीको लागि लाइभमा आउँछु। मैले कोही कसैसँग जबरजस्ती गिफ्ट मागेको छैन। बरु अरूलाई दिएको छु। लाइभ आउँदैमा सबै जना माग्ने हुँदैनन्। पछिल्लो समय काम गरेर खानेभन्दा टिकटकमा गिफ्ट माग्ने विकृति बढेको छ। यो विषयवस्तु समाचारको रुपमा उठान गरिदिनुभएकोमा धन्यवाद। तर, मैले चाहिँ मागेको छैन।’

केही समयअघिसम्म टिकटकमा फलोअर्स कमाउनेलाई ‘टिकटक सेलिब्रेटी’ वा ‘टिकटक स्टार’ भन्ने गरिन्थ्यो। तर पछिल्लो समय टिकटकमा गेम खेलाएर गिफ्ट माग्ने प्रचलन बढेको छ। यसरी गिफ्ट माग्नेलाई ‘मगन्ते’ वा ‘भिखारी’ भन्दै सामाजिक सञ्जालमा आलोचना हुँदै आएको छ। यद्यपी टिकटक लाइभ गर्ने सबैले ‘गिफ्ट’ माग्दैनन्। विशेष गरी टिकटमा गेम खेलाउनेहरूले जबरजस्ती ‘गिफ्ट’ माग्दै गरेको देखिन्छन्।

टिकटकबाट पैसा कमाउने ध्याउन्न : गिफ्ट माग्छन् नाम चलेका कलाकार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved