टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

स्वीकृति नलिई प्रहरीले प्रयोग गर्ने पोसाक तथा प्रहरीले प्रयोग गर्ने अरू सामग्री प्रयोग गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ। आफ्ना सङ्गठनभित्र रहेकालाई कारबाही तीव्र पारिएको बताउँदै पोसाक दुरुपयोग गर्ने सर्वसाधारणलाई यत्तिकै नछाडिने चेतावनी दिएको छ।

टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी
गैरप्रहरी तथा प्रहरी कर्मचारीका टिकटक भिडिओको स्कृनसर्ट, जुन सम्बन्धित व्यत्तिकै टिकटक भिडिओबाट लिइएको हो।

काठमाडौं। २२ असोज २०७७ मा प्रहरी प्रधान कार्यालयले एउटा प्रेस विज्ञप्ति निकाल्यो। विज्ञप्तिमा ‘चलचित्र, टेलिचलचित्र, टिकटक भिडियोमा प्रहरीको पोशाक चरम दुरुपयोग भएकोमा ध्यानाकर्षण भएको र स्वीकृति नलिईकन यस किसिमका कुनै पनि कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने’ चेतावनी थियो। प्रहरी प्रधान कार्यालयले यसरी विज्ञप्ती निकालेको १८ महिना बित्दा सामाजिक सञ्जाल टिकटकमा प्रहरीको पोसाकको दुरुपयोग रोकिएको छैन।

आफ्नै कर्मचारीहरूदेखि सर्वसाधारणहरूले पोशाक, हतियार, सञ्चारसेट तथा ड्युटीमा रहेको बेलामा प्रहरीले बोक्ने सामग्री दुरुपयोग गरिरहेको भन्दै कारवाहीको चेतावनी दिइएको थियो तर त्यो चेतावनीपछि प्रहरीको पोशाक, हतियार, सञ्चार सेटलगायतको दुरुपयोग रोकिएको छैन।

टिकटक एप्स खोलेर स्क्रोल गर्दैगर्दा ती सामग्री प्रयोग गरिएका भिडिओ पनि देखिने गर्छन्। कतिपय भिडियो भने ‘भाइरल’ नै हुँदै आएका छन्।

त्यस्ता भिडियोमा कतिपयले आचारसंहिताविपरीत रहेकाले त्यसो नगर्न सचेत गराउँदै कमेन्ट गरेका भेटिन्छन्। प्रशंसा गर्दै आएका केही कमेन्टबाट उत्साहित हुँदै कतिपयले थप त्यस्तै भिडियो बनाइरहेका पाइन्छ।

प्रहरीले विज्ञप्ति जारीपछि चलचित्र, टेलिचलचित्र, म्यूजिक भिडियोमा बनाउन अनुमति लिनेहरू बढेका छन् तर टिकट भिडियोका लागि भने अनुमति नलिई प्रयोग भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी कर्मचारीबाटै अनुशासन उल्लङ्घन बढ्दै

कतिपय प्रहरी कर्मचारीले पेस्तोल, सञ्चार सेटलगायत सामाग्री हातमा लिएरै बनाएका भिडिओहरू टिकटकमा देखिन्छन्। बर्दी लगाएर नाच्नु र अभिनय गर्नु त उनीहरूको लागि सामान्य बनिसकेको छ।

ड्युटीको समयमा बर्दी तथा हतियारसहित टिकटक भिडियो बनाएको भन्दै धेरै प्रहरी कर्मचारीहरू कारबाहीमा परिसके पनि यस्ता भिडिओ बन्ने क्रम रोकिएको छैन। अझ कतिपय प्रहरीहरू बर्दीसहित टिकटक लाइभमा समेत देखिने गर्छन्। यसरी केही प्रहरीले आफ्नो जिम्मेवारी र मर्यादाको धज्जी मात्र उडाएका छैनन्, सिङ्गो प्रहरी संगठगनको बेइज्जत गरिरहेका देखिन्छ।

गैरप्रहरी तथा प्रहरी कर्मचारीका टिकटक भिडिओको स्कृनसर्ट, जुन सम्बन्धित व्यत्तिकै टिकटक भिडिओबाट लिइएको हो।

स्वीकृति नलिई भिडियो बनाउनेलाई कारबाही हुन्छ : प्रहरी

स्वीकृति नलिई प्रहरीले प्रयोग गर्ने पोशाक तथा प्रहरीले प्रयोग गर्ने अरू सामग्री प्रयोग गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ। आफ्ना सङ्गठनभित्र रहेकालाई कारबाही तीव्र पारिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले पोशाक दुरुपयोग गर्ने सर्वसाधारणलाई यत्तिकै समेत नछाडिने बताए।

एसपी केसीले भने, ‘‘प्रहरी पोशाक र प्रहरीले प्रयोग गर्ने अरू सामग्री दुरुपयोग नगर्न पटक पटक सचेत गराउँदै आएका थियो। अटेर गर्दै टिकटक भिडियो बनाउनेहरूको खोजी भइरहेको छ। कारबाही नगरी छाड्दैनौँ।’’

पोशाक र सामग्रीको दुरुपयोग गर्दै टिकटक भिडियो बनाउने प्रहरी कर्मचारी धेरैलाई कारबाही भइसकेको उनले सुनाए।

गैरप्रहरी तथा प्रहरी कर्मचारीका टिकटक भिडिओको स्कृनसर्ट, जुन सम्बन्धित व्यत्तिकै टिकटक भिडिओबाट लिइएको हो।

कारबाही नै गर्छु भन्नु अलोकतान्त्रिक

प्रहरीले सर्वसाधारणलाई पोसाकको दुरुपयोग नगर्न अनुरोध गर्न पाउने भए पनि कारबाहीकै चेतावनी दिनु अलोकतान्त्रिक भएको कतिपयको टिप्पणी छ। खुला समाजमा अर्धनिरंकुशता लाद्ने प्रक्रियातर्फ राज्य अघि बढेको फिल्म निर्देशक मनोज पण्डितको तर्क छ।

उनी भन्छन्, ‘‘टिकटक भनेको सामाजिक सञ्जाल हो। यसमा मानिसहरूले आफ्ना क्रियशन देखाउने हो। क्षमता र चाहना प्रकट गर्ने हो। यसरी प्रहरीको पोसाक लगाउँदैमा कारबाही गर्छु भन्ने गलत हो। प्रहरीले आफ्ना संठनभित्रका कर्मचारीलाई कारबाही गर्नु फरक कुरा हो। आम नागरिकलाई आह्वान गर्न पाउँछ तर कारबाही नै गर्छु भन्नु अलोकतान्त्रिक हो।’’

टिकटक मोहले कारबाही

स्वीकृति नलिईकन पोशाकलगायत सामग्री प्रयोग नगर्न भन्दै प्रहरी कार्यालयले २२ असोज २०७७ मा प्रकाशन गरेको विज्ञप्ति

सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा ‘टिकटक’ बनाएको भन्दै धेरै जिल्लामा प्रहरीलाई टिकटक भिडिओ नै बनाउन रोक लगाइएको छ। ड्युटीमा रहेको बेलामा पोसाकसहित भिडियो बनाउने बनाउनेलाई भने कारबाही गरिँदै आइएको छ।

प्रहरी कर्मचारी ड्यूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुँदा काममा ध्यान नजाने भन्दै रोक लगाइएको सम्बन्धित जिल्लाका प्रहरी प्रमुख बताउँछन्।

प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोस्ट गर्ने भने बन्देज नलगाइएको उनीहरु बताउँछन्। हरेक महिनाजसो एक-दुई जना प्रहरीहरू कारबाहीमा पर्दै आएका छन्।

प्रहरी ऐन २०१२, जहाँ प्रहरीले आफ्नो जिममामा रहेको बर्दीलगायतका उपकरण दुरुपयोग गर्न नहुने उल्लेख छ।

१५ मङ्सिर २०७८ मा प्रदेश १ का एक जना मन्त्रीको सुरक्षामा खटिएका असई कमलेश यादव कारबाहीमा परे। उनले मन्त्रीसँगै हतियार लिएर टिकटक बनाएका थिए।

३० असार २०७७ मा मोरङमा बर्दीमै टिकटक बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका दुई प्रहरीमाथि कारबाही गरिएको थियो। इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी हवलदार रेनुका सोनाम र जवान अशोक राई अनुसन्धानको दायरामा तानिएका थिए।

५ जेठ २०७८ मा जिल्ला प्रहरी कार्यालय सुर्खेतको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक कनक शाहीले बालिकालाई वाकीटकी समाउन लगाएर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरे। मुद्दा फाँटका अनुसन्धान अधिकृतको हातमा हुने सञ्चार सेट जस्तो संवेदनशील सामग्री बालबालिकाको हातमा दिँदा मातहतका प्रहरी अधिकारीलाई संवादमा अवरोध हुने भन्दै उनी अनुसन्धानमा तानिए।

१२ फागुन २०७६ मा एक जना सई कारवाहीमा परे। भक्तपुर सुडालमा कार्यरत प्रहरीका नायब निरीक्षक (सइ) थापा र एक महिलाले प्रहरी पोसाकमै पेस्तोल बोकेर ‘टिकटक’ भिडियो बनाएका थिए। उनी कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिए।

४ वैशाख २०७७ मा एक जना सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी पनि कारवाहीमा परे। टिकटक भिडियोमा अत्याधुनिक हतियार एसएलआर देखाउँदै ‘मान्छे मार्छु’ भन्दै भिडियो पोस्ट गर्ने सशस्त्र प्रहरी बल (एपीएफ) का जवान कारवाहीमा परेका थिए। सशस्त्रका सिपाही बलबहादुर परियार कारवाहीमा परेका थिए। ‘आफू राजा भएको र मान्छे मार्न जान लागेको, उक्त कुरा प्रहरीलाई भनिदिए पनि केही नहुने र आफू राजा हुँ भन्दै अपशब्द प्रयोग गर्दै बोलेको भिडियो पोस्ट गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved