२२ वर्षे ‘नेपाली नटवरलाल’को अपराध यात्रा, ‘हीरा चोरी’देखि मानव तस्करीसम्म

युवाबाट १० करोड ठगेर सिंगापुरमा मस्ति गर्दै

अपराधको दुनियाँमा यस्ता खुंखार पात्र जो २२ वर्षका मात्र भए। जो धेरै आरोपमा हिरासतमा बसिसकेका छन्। पछिल्लो पटक उनी १० करोड ठगेर फरार छन् । उनको ठगी यात्रा भारतका कुख्यात नटवरलालको भन्दा कम छैन । पढौं ।

२२ वर्षे ‘नेपाली नटवरलाल’को अपराध यात्रा, ‘हीरा चोरी’देखि मानव तस्करीसम्म

काठमाडौं। भारतका एक महाठग थिए, नटवरलाल। बिहारमा जन्मेका उनले आफ्नो जीवनमा यति धेरै ठगी र जालसाजी गरे कि आज पनि उसको नाम ठगी तथा चोरीको प्रतीक बनेको छ। उनी ठगी र जालसाजीमा अद्भूत कला भएका व्यक्ति थिए।

नटवरलाल (मिथिलेस कुमार श्रीवास्तव)ले ठग्ने कुरा त सामान्य हुन्थ्यो। तत्कालीन भारतीय राष्ट्रपतिको किर्ते हस्ताक्षर गरेर भारतको चर्चित ऐतिहासिक ताज महल तथा प्राचीन स्मारक, संसद् भवन र राष्ट्रपति भवनसमेत बेचिदिएका थिए।

त्यो पनि एकपटक होइन बारम्बार कयौँ मानिसलाई बेचेर पैसा असुली गरेका थिए। सन्, १९७०, ८० र ९० को दशकमा नटवरलालको नाम पूरै भारतमा कुख्यात थियो।

नटवरलाल जन्मेको ठाउँबाट अलिवर नेपालको उदयपुरका एक युवा उसैगरी ‘फ्रडस्टार’को रूपमा आएका छन्। जसले नटवरलालकै शैलीमा चोरी, ठगी र जालसाजीलगायतका दर्जनौँ धोकाधडीका अपराध गरिसकेका छन्, त्यो पनि २२ वर्षे नौजवान उमेरमै।

उनी हुन्, सुजन आचार्य। सानै उमेरबाट श्रृंखलाबद्ध ठगी गर्दैआएका उनी पछिल्लो समय एकै वर्षमा १० करोड रुपैयाँ ठगेर फरार भएका छन्। सिंगापुरका होटलमा काम लगाइदिने भन्दै थुप्रै युवाबाट करोडौँ रकम असुलेर ।

सानोतिनो गिरोह नै बनाएर पैसा असुली गरेका उनले झन्डै ८० भन्दा बढी युवाबाट पैसा उठाएको अनुमान छ। एक जनाबाट तीन देखि १९ लाख रुपैयाँ सुजनले लिएको प्रमाण नेपालभ्युजले भेटेको छ। सुजन र उनको गिरोहबाट ठगिएका ३९ युवा नेपालभ्युजको सम्पर्कमा आएका छन्।

सुजन आचार्यलाई पक्राउ गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई गरेको पत्राचार

मोदीदेखि बाइडेनसम्म सँगै बसेका ‘फेक फोटो’

कहिले पुलिस त कहिले पत्रकारको भेषमा आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका उनले पछिल्लो समय आफूलाई ठूलो व्यापारीको रूपमा चिनाउने गरेका छन्। आफू ‘सिंगापुरस्थित ‘एस ग्रुप ग्लोबल कम्पनीको मालिक हुँ’ भन्दै आएका छन्। ठगेरै गाडी चढ्दै आएका उनले सर्वसाधारणलाई विश्वासमा लिन भाडामा बाउन्सर समेत साथमा लिएर हिँड्छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खिचेको जस्तै देखिने गरी एडिट गरेर बनाइएको फोटो

कतिपयलाई काठमाडौंका पाँचतारे होटेल र ठुला हाउजिङ समेत आफ्नो भएको भन्दै ‘फोटोशप’ प्रयोग गरी बनाइएको नक्कली कागजात देखाउँछन्। नेपालदेखि सिंगापुरको पाँचतारे भिलान्द्रो (Villandro) होटलमा पनि सेयर किनेको सुजनले दाबी गर्दैआएका छन्।

उनले यसरी नै सर्वसाधारणलाई प्रभावमा पारेर ठग्दै आएका छन्। सर्वसाधारणलाई विश्वासमा पार्न राजनीतिक दलका ठूला नेता र प्रहरीसँगको फोटो देखाउँछन्। उनी भन्छन्, ‘‘मेरो साँठगाँठ ठूला नेताहरूसँग छ।’’

नेता भेटेर सँगै खिचाइएको सुजनको फोटो र कथित कम्पनी उद्घाटन गर्न अतिथि बोलाइएका मन्त्रीलाई स्वागत गर्दै सुजन

विश्वासमा लिन उनले यतिसम्म गरेका छन् कि, विश्वका चर्चित नेतासँग जोडेर फोटो बनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग बसेका नक्कली फोटो फेसबुकमै पोस्ट गरेका छन्।

त्यही देखाएर उनले सर्वसाधारणलाई झुक्याउँदै विदेश पठाउने बहानामा पैसा असुलिरहेका छन्। आफूविरुद्ध उजुरी परेपछि सुजनले फेसबुक एकाउन्ट ‘डिएक्टिभेट’ गरेका छन्। उनको सुजन ‘आचार्य नाम’को फेसबुक पेज भने एक्टिभ नै छ।

पत्रकार भन्दै नेता भेटेर सँगै खिचाइएको सुजनको फोटो

४ लाख तलब तोकिएको फेक नियुक्ति पत्र दिँदै, १९ लाखसम्म असुल्दै

सुजन हाल सिंगापुरमा छन्। उनले आफ्नी प्रेमिका बताउँदै आएकी बिनु शाक्य र सानिमाको छोरा (भाइ) सृजन निरौलालगायतलाई परिचालन गरी रकम उठाइरहेको पीडितले बताएका छन्।

सिंगापुरमा आफ्नै कम्पनीमा आकर्षक तलब सुविधासहित रोजगारी दिने आश्वासन दिँदै पैसा उठाएको प्रमाण फेला परेको छ। कतिपयलाई सिंगापुरको होटेलको नक्कली नियुक्ति पत्र दिएका छन्। ४ लाख रुपैयाँसम्म तलब तोकिएको नियुक्ति पत्र दिएर १९ लाख रुपैयाँसम्म असुलेका छन्।

ठगीमा परेका पारस अधिकारी भन्छन्, ‘‘सुजनले हस्पिटालिटी बिजनेसमा ठूलै लगानी गर्न लागेको र सिंगापुरको पाँचतारे भिलान्द्रो (Villandro)  होटलमा पनि आफ्नो सेयर रहेको आचार्यले दाबी गरे। नियुक्ति पत्र पनि दियो। पछि थाहा भयो, नक्कली र फोटोसप गरिएका कागजपत्र रहेछ।’’

पैसा असुलेर कतिपयलाई फिर्ता दिइएको फेक चेक

पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्। उजुरीपछि उनका भाइ नाता पर्ने सृजन निरौला पक्राउ परेका छन्। सुजन र उनकी प्रेमिका बिनुलाई पक्राउ गर्न प्रहरीले अदालतबाट पुर्जी लिएको छ। उनीहरू दुवै फरार छन्।

घटनाबारे उजुरी परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विभागका निर्देशक तथा सूचना अधिकारी गुरूदत्त सुवेदी भन्छन्, ‘‘उनले सिंगापुर लैजान्छु भनेर धेरै जनासँग पैसा लिएको प्रमाणसहित उजुरी परेको छ। पक्राउ पुर्जी लिएर बसेका छौँ। खोजी रहेका छौँ।’’

सुजनले पीडितलाई दिएको नक्कली नियुक्ति पत्र

३९ जना पीडितको संयुक्त पत्रकार सम्मेलन

सुजनले सिंगापुरमा महिनाको ३ हजार सिंगापुर डलर (२ लाख ९३ हजार नेपाली रुपैयाँ) देखि ४८ सय सिंगापुर डलर (४ लाख ७० हजार रुपैयाँ) सम्म कमाइ हुने भनी २०७९ सालको विभिन्न समयमा प्रतिव्यक्ति पाँच लाख देखि २० लाख रुपैयाँसम्म असुलेको पीडितको भनाइ छ।

१२ भन्दा बढी जिल्लाका ठगिएका पीडितले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर न्यायको याचना गरेका छन्। उनीहरूले सुजनलाई पैसा बुझाएको बैंक स्टेटमेन्ट समेत सार्वजनिक गरेका छन्। काम लगाइदिएको भन्दै बनाइएको नक्कली नियुक्ति पत्रसमेत उनीहरुसँग छ ।

‘‘हामी त एकापसमा सम्पर्क भएकाले यति सङ्ख्यामा भयौँ, हामीसँग सम्पर्कमा नभएका अझै २५-३० जना पीडित हुनुहुन्छ। उहाँहरू जाहेरी दिएर बस्नुभएको छ। सबैसँग गरी सुजन आचार्यले कुल १० करोड रुपैयाँ ठगी गरेका छन्’’ पत्रकार सम्मेलनमा पीडित पारस अधिकारीले भने।

सिंगापुर लैजाने भन्दै सुजनले ठगेका पीडितहरू

ठगीमा सुजन आचार्यकी प्रेमिका भनिने भक्तपुर घर भएकी बेली डान्सर बिनु शाक्य र नाताले भाइ पर्ने बाह्रदशे गाउँपालिका– ६ को २० वर्षे सृजन निरौला पनि संलग्न रहेको पीडितको आरोप छ।

पीडित अनिल अधिकारी भन्छन्, ‘‘हामीमध्ये धेरैले बिनु शाक्यको नेपालस्थित इन्भेस्टमेन्ट बैंकको खातामा हालिदिएका छौँ। ठगीमा संलग्न उनी पनि लुकेर सिंगापुरमै बसेकी छन्। पैसा सृजनले पनि लिएका हुन्। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। बिनु र सुजनको नाममा पनि पक्राउ पुर्जी जारी भएको छ।’’

सिंगापुर लगेर जागिर दिने भन्दै सुजनले बनाएको फेक कम्पनीका पेजहरू, जहाँ उनले कर्मचारी आवश्यकता भन्दै सूचना पोस्ट गर्थे।

कलिलै उमेरमा अपराधको दुनियाँमा

२०५८ सालमा उदयपुरको त्रियुगामा जन्मिएका उनले १६ वर्षको उमेरदेखि नै ठगी सुरुआत गरे। उनी काठमाडौं आएर आफूलाई नेपालकै ‘कान्छो पत्रकार’ दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्थे ।

‘निरन्तर ९० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर गिनिज वर्ल्ड रेकर्ड्स कायम गर्ने’ भन्दै पत्रकार सम्मेलन नै गरे । त्यसको तयारी र कार्यक्रमको लागि भन्दै कयौँसँग रकम उठाए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०७० सालमा निरन्तर ६२ घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएका थिए।

उनले रविको रेकर्ड तोड्ने भन्दै केही पत्रिकामा समाचार लेखाए। युट्युबमा अन्तरवार्ता दिए। उनले त्यही समाचार र युट्युबमा आएका सामग्री देखाएर पैसा उठाउन थाले।

आरोपित सुजन आचार्य

‘ठगी यात्राको ट्रान्जिट’का लागि मिडियाको दुरुपयोग

सुजन किर्ते हस्ताक्षर गर्नमा माहिर छन्। कुनै पनि व्यक्तिको हस्ताक्षर हुबहु नक्कल गर्ने क्षमता उनमा छ। उनले धेरैलाई चौधरी ग्रुपले सञ्चालन गरेको केही उद्योगमा समेत आफ्नो सेयर रहेको भन्दै झुक्याउँथे। कतिपय नेताहरूको कालोधन आफ्नै नाममा रहेको भन्दै धाक लगाउँथे।

ठूलाबडासँग भेट्ने र फोटो खिचाउनकै लागि उनले केही मिडियामा काम गर्न खोजे। किनकि, उनलाई चर्चित व्यापारी, प्रहरी उच्च अधिकारी र ठूला नेतासँग खिचिएको फोटो देखाएर ठगी गर्नु थियो। तर, उनलाई कुनै पनि मिडियाले जागिर दिएनन्।

ठूलाबडासँग फोटो खिच्न जसरी पनि मिडियामै काम गर्नुपर्ने थियो। यसका लागि उनी पैसै नलिई पनि काम गर्न तयार भए।

‘आफूलाई पत्रकार भन्दै नेतासँग गएर फोटो खिचाउँदै’ सुजन

उनले टेलिभिजनमा बज्ने समाचार सामग्री (रिर्पाेट)को लागि ‘बाइट लिनुपर्ने’ भन्दै ठूला नेता र प्रहरी उच्च अधिकारीलाई फोन गर्दै भेट्न जान्थे। त्यही बेलामा उनीहरूसँग फोटो खिचाउँथे।

फेसबुकमा पोस्ट गर्थे। त्यही फेटो सर्वसाधारणलाई देखाउँदै आफ्नो ‘माथिल्लो ठाउँमा पहुँच रहेको’ बताउँदै प्रभावमा पर्ने प्रयास गर्थे।

पहुँच भएकै कारण उनीहरूका काम गरिदिने, विदेश पठाइदिने, व्यापार व्यवसायमा सहयोग गरिदिने भन्दै ठगी गर्दै आए। उनले ठगी गर्दै आएको थाहा पाएपछि टेलिभिजनले पनि उनलाई कामबाट निकाल्यो। तर, उनको ठगी यात्रा रोकिएन।

‘हीराचोर’देखि वन्यजन्तुका छाला तस्करीसम्म

२०७६ मंसिरमा आफूहरू पत्रकार भएको दाबी गर्ने दुईजना वन्यजन्तुको तस्करी गरेको अभियोगमा थुनामा पुगेका थिए। पक्राउ परेका नवराज पौडेल र केशव न्यौपानेले उनै सुजन आचार्यको गाडी प्रयोग गरेको बताएका थिए। सालकको खपटा र नीरबिरालोको छाला बरामद भएको थियो।

तर, प्रहरीले ती सामग्री कुन प्रतिवादीमध्ये कसको साथबाट कुन चिज बरामद भएको भनी यकिन नगरी बरामद मुचुल्का बनाएको थियो। त्यसपछि, उनी त्यो मुद्दाबाट बचेका थिए। नवराज र केशव मात्रै जेल पुगे। त्यो घटनामा बचेका सुजनले जालसाजी र ठगीको बाटो हिँड्न छाडेनन्।

हीरा लुटपाटमा संलग्न भएको भन्दै पक्राउ पर्दाको सुजन र साथीहरूको फोटो

लगतै अर्को घटनामा भने बच्न सकेनन्। २०७६ कै चैत ९ गते हीरा लुटेर भाग्दै गर्दा उनी पक्राउ परे। मकवानपुरको कैलाश गाउँपालिका–५, चौकीटार गोगनेकी धनलक्ष्मी गुरुङको घरमा हीरा खरिद गर्ने बहानामा एक जना प्रहरीसहित पुगेका थिए।

सुजनले अरू साथीहरू पनि लगेका थिए। लुटेर भागेका उनको टोलीलाई प्रहरीले समातेको थियो। पछि उनी रिहा भए। अहिले भने त्यो मुद्दामा आफूले सफाइ पाएको दाबी गर्दै आएका छन्।

एक वर्षअघि जेठको दोस्रो सातामा उनी फेरि पक्राउ परे। एक मोडलको अश्लील भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै ७ करोड रुपैयाँको बार्गेनिङ गरे।

ब्लाकमेलिङ गरेको, धम्काएको आरोपमा सुजनसहित ७ जना पक्राउ परेका थिए। त्यो मुद्दामा धरौटीमा छुटेका उनी केही समय तारेखमा गए। बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा तारेखमा जाँदा ‘बाउन्सर’ लिएर गए। बडीगार्ड लिएर आएको जस्तो देखाएर धमास देखाएका थिए।

खासमा उनले ‘सेभेन स्टार सेक्युरिटी कम्पनी’बाट ३० जना बाउन्सर भाडामा लिएर गएका थिए। उधारोमा बाउन्सर लगेर रवाफ देखाएका उनले अझै त्यो कम्पनीमा पैसा तिरेका छैनन्। पछि उनी तारेखमा जानै छाडेका छन्।

ठगीकै लागि उनले छपाएका फेक समाचार र  प्रभावमा पारेर सेलिब्रेटीसँग खिचाएका फोटो 

हिरासतमै बसेर ठगी

७ करोड बार्गेनिङ र ब्लाकमेलिङ काण्डमा हिरासतमै हुँदा सुजनलेसँगै रहेका साथीलाई समेत ठग्न भ्याए। न्यायाधीशसँग आफ्नो चिनजान रहेको र आफ्ना मान्छेलाई भनेर सबै जनालाई छुटाउने तयारी भएको बताउँथे।

त्यसबापत न्यायधीशलाई घुस खुवाउन भन्दै तीन तीन लाख रुपैयाँका दरले पैसा मागेको अरू साथीहरू बताउँछन्। उनीसँगै पक्राउ परेका एक जनाले नेपाल भ्युजसँग भने, ‘‘मैले चिनेका मान्छे न्यायाधीश छन्। हामी सातै जनालाई छाडिदिन्छन्। बदलामा हामीले तीन तीन लाख दिनुपर्छ भन्दै पैसा मागे। केहीले दिए। केहीले दिएनन्।’’

अहिले सातै जना धरौटीमा रिहा भएका छन्। सुजन फरार भएकै कारण मुद्दा टुङ्गिएको छैन।

सुजनले पत्रकार ऋषि धमलाको नाम बेचेर समेत एकताका खुबै पैसा उठाए। मान्छेलाई प्रभावमा पार्न सानैदेखि सिपालु उनी ऋषिपत्नी एलिजासँग तिहारमा टिका लगाउन गए ।

धमलालाई भिनाजु भन्दै पछि लागे। सुजनले धमलाको नाम बेचेर धेरैसँग पैसा मात्रै असुलेनन् दिदी भन्दै टिका लगाएका धमला पत्नी एजिलाकै पैसा खाएर टाप कसे।

मन्त्रीलाई झुक्याएर ‘बर्थ डे’ मा बोलाएपछि

सुजनले एक वर्षअघि पाँचतारे होटलमा जन्मदिन मनाएका थिए। उनको उदेश्य थियो, ठगी गर्नु। आफूलाई प्रभावशाली व्यक्ति देखाउन उनले तत्कालीन श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरलाई बोलाएका थिए, त्यो पनि झुक्काएर ।

आफ्नो विदेशमा पानी बेच्ने कम्पनी भएको र त्यहाँ काम लगाइदिने भन्दै उनले धेरैलाई ठगेका थिए। ठगिएकाहरूले उनीविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका थिए। तत्कालको लागि बच्न उनले ‘बर्थ डे’ पाटीको आइडिया निकाले। उनले आफ्नो ‘एभरेस्ट स्प्रिङ वाटर’ नामको कम्पनी रहेको र उद्घाटन गरिदिन भन्दै श्रममन्त्रीलाई बोलाए।

सुजनले विदेश पठाइदिने भन्दै धेरैलाई ठगी गरिसकेका थिए। उनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरीको चाङ थियो। त्यसैले, त्यो उजुरी प्रभावित पार्न सकिने अपेक्षासहित मन्त्रीसँग नजिकिन बहाना खोज्दै थिए।

श्रममन्त्रीलाई ‘बर्थ डे’ पार्टीमा बोलाएर केक कटाउँदै सुजन

आफूले ठूलो कम्पनी खोलेको भन्दै उद्घाटनको बहानामा मन्त्रीलाई बोलाए। ‘याक एन्ड यती’ होटलमा कार्यक्रम राखेका उनले केही ठगिएका पीडितलाई समेत बोलाएर आश्वस्त पार्न खोजे। कथित ‘एभरेस्ट स्प्रिङ वाटर’को उद्घाटन गर्न भन्दै मन्त्री कुँवर आए। उनलाई रिबन काट्न लगाइयो। सुजनले मन्त्रीलाई आफ्नो बखान गर्दै भाषण गर्नसमेत लगाए।

रिबन काटेलगतै आफ्नो ‘बर्थ डे’पनि भएको भन्दै मन्त्रीकै हातबाट केक कटाए। फेसबुकमा प्रचार गर्दै लेखे, ‘मेरो बर्थ डे’ मा मन्त्रीज्यू आइदिनुभएकोमा धन्यवाद।’

सोझा युवालाई उनले त्यो फोटो देखाएर ठगि गर्न थाले। आफ्नो ‘मन्त्रीसँग घनिष्ठ सम्बन्ध रहेको र विदेश पठाइदिने’ भन्दै ठगी धन्दालाई थप आक्रामक बनाउँदै लगे। अन्ततः सुजन गिरोह बनाएर ८० भन्दा बढी युवासँग १० करोड रुपैयाँभन्दा बढी रकम असुलेर फरार भएका छन्।

सुजनले कोबाट कति ठगे ?

सोमबार पत्रकार सम्मेलन गरेका ३९ जना पीडितले सुजनलाई करिब ४ करोड ३० लाख रुपैयाँ बुझाएको प्रमाण सार्वजनिक गरेका छन्। अरू थुप्रैसँग पनि सुजनले विदेश पठाउने भन्दै मोटो रकम ठगेको आशंका छ। सिंगापुरमा काम लगाइदिने भन्दै अनुमानित १० करोड रुपैयाँ ठगेको हुनसक्ने पीडितको अनुमान छ।

कैलालीका पारस अधिकारीले १२ लाख ५० हजार, अछाममा अनिल अधिकारीले पाँच जनाको लागि ४४ लाख बुझाएका छन्। अछामका मीन अधिकारीले १२ लाख बुझाएका छन्।

अछामकै प्रेम साउदले १२ लाख बुझाएका छन् भने, अछाम राजेन्द्र साउदबाट सुजनले १२ लाख ठगी गरेका छन्। अछाम बिन्दु खत्री ७ लाखमा रुपैयाँ ठगिएकी छिन्। कञ्चनपुरका सुरेन्द्र शाहको १२ लाख, बाजुराका झरेन्द्र सिंहको १२ लाख ५० हजार, जगदीश बस्नेतको ७ लाख रुपैयाँ सुजनले लिएका छन्।

बैतडीका भूपेन्द्र सिंहले १३ लाख ५० रुपैयाँ सुजनकी प्रेमिका बिनुलाई बुझाएको प्रमाण सार्वजनिक गरेका छन्, भने कञ्चनपुरका कृष्ण शाहीले साढे १२ लाख ठगिएको बताएका छन्।

सुजन र उनको गिरोहबाट ठगिएका पीडितहरू

यस्तै, झापाका अविषेक श्रेष्ठ, आनन्द श्रेष्ठ, महेन्द्र तामाङ, मनोज उप्रेती, अविषेक आचार्य, सौगात गोम्दे, सुधीर पराजुली पनि ठगिएका छन्। झापाकै नितेश मैनाली, उमेश मैनाली, कृष्ण चौधरी, महेश तामाङ र अमित तामाङ पनि सिंगापुर जाने प्रलोभनमा सुजनबाट ठगीमा परेका छन्।

कैलालीका प्रकाश विक, रमेश सिंह मायल, केशव विक र भीम विकले पनि आफू ठगिएको भन्दै प्रहरीमा र वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।

काभ्रेका जगदीश बस्नेत, रविन सापकोटा, जगमोहन बस्नेत, प्रभुशरण अधिकारी र बलराम पन्तले पनि प्रमाणसहित ठगीमा परेको बताएका छन्।

मोरङका ऋषिमान तामाङ, विकास श्रेष्ठ, मोरङ, काठमाडौंका सुमन दङ्गाल, दिनेश दाहाल, दाङका गोविन्द पुरी, सञ्जय गिरी, कञ्चनपुरका कृष्ण शाही, बैतडीका भूपेन्द्र सिंह, बाँकेका अनिल भण्डारी र थइन्द्र लिम्बूले पनि ठगीमा परेको पत्रकार सम्मेलनमा सुनाए।


Comment

One thought on “२२ वर्षे ‘नेपाली नटवरलाल’को अपराध यात्रा, ‘हीरा चोरी’देखि मानव तस्करीसम्म

  1. हैट फिल्मि शैलिमै ठगेछ त हो, यसले धेरैलाइ घर न घाट को बनाएको छ, यसला त्यसै छाड्न हुन्न, असुल उपर तुरुन्तै कारबाहि गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved