धीरेन्द्रकृष्ण उर्फ ‘बागेश्वर धाम सरकार’, धर्म गुरु की ‘मामुली जादुगर’ !

धीरेन्द्रकृष्णले सार्वजनिकरूपमै महिलाको अस्मितामाथि प्रहार गर्ने, मुस्लिम र अल्पसंख्यकविरूद्ध मानिसलाई भड्काउने, खुलमखुला छुवाछुतको अभ्यास गर्ने, भूत प्रेत हुने भन्दै उपचारको बहानामा ठगी गर्ने र आफ्नो आशीर्वादले निको हुनेसम्मको अफवाह फैलाउँदै आएका छन्।

नेपालभ्युज

धीरेन्द्रकृष्ण उर्फ ‘बागेश्वर धाम सरकार’, धर्म गुरु की ‘मामुली जादुगर’ !
बागेश्वरधाम सरकार बताउने धीरेन्द्रकृष्ण गर्ग

काठमाडौं। धर्मगुरु भनिएका धीरेन्द्रकृष्ण गर्ग केही दिनयता मिडिया र सामाजिक सञ्जालमा चर्चामा छन्। धार्मिक विद्वेष र सामाजिक सद्भाव भड्काउने भनेर आरोप लाग्दै आएका उनलाई अग्रणी व्यापारिक घराना चौधरी समूहले नेपाल ल्याउनुअघि नै चर्चामा थिए।

भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक उनै धीरेन्द्रकृष्णलाई चौधरी समूहले शुक्रबार नेपाल ल्याएको छ। पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा उनीबाट कथा वाचन गराउने तयारी छ।

धीरेन्द्रकृष्ण पशुपतिनाथको दर्शनपछि नवलपुर पुग्नेछन्।  धामका व्यवस्थापक अशोक घर्तीकाअनुसार धीरेन्द्रकृष्णले २ भदौ शनिबारदेखि ४ गतेसम्म कथा वाचन गर्नेछन्।

०००

धीरेन्द्रकृष्ण गर्ग वास्तविक नाम रहेका उनी धार्मिक कथा वाचकको रूपमा उदाएका व्यक्ति हुन्। राजनीतिक दलका नेता तथा सरकारका मन्त्रीहरू पनि उनको आश्रममा पुगेको तस्वीर सार्वजनिक भएपछि धीरेन्द्रकृष्णका अनुयायी बढ्दै गएका हुन्।

सन् १९९६ मा जन्मिएका उनी २७ वर्षका मात्र भए। धीरेन्द्रकृष्ण आफ्ना हजुरबुबा सैतुलाल गर्गको प्रेरणाबाट पूजा-पाठमा लागेको बताउने गरेका छन्।

उनका हजुरबुबा जुराहोस्थित प्राचीन शिव मन्दिरमा पुजारी थिए। धीरेन्द्रकृष्ण पनि अहिले मन्दिरका पुजारी छन्। उनी हिन्दू सनातनीमाझ जति लोकप्रिय छन्, उत्तिकै विवादित छन्।

“जनताको समर्थन पाए भारतलाई ‘हिन्दू’ राष्ट्र बनाउने दाबी गर्दै धीरेन्द्रकृष्णले मिडियाको ध्यान खिचेका छन्। उनको आकस्मिक लोकप्रियतामा भारतीय सत्तारुढ दल भाजपाको पनि हात छ। दिन्दू राष्ट्रको पक्षमा रहेको भाजपाले शास्त्रीलाई साथ दिएपछि उनको चर्चा चुलिएको हो। धीरेन्द्रकृष्णलाई उनका अनुयायीहरूले ‘बागेश्वर धाम सरकार’ भन्छन्।

उनी मध्य प्रदेशको छतरपुरमा रहेको एउटा मन्दिरका प्रमुख हुन्। उनले आफूसँग महाशक्ति भएको दाबी गर्दैआएपछि त्यसलाई प्रमाणित गर्न दिएको चुनौती सामाना गर्न सकेनन्।

त्यसपछि ठुलो जनमात उनलाई ‘मामुली जादुगर’ भन्ने गर्छन्। धीरेन्द्रकृष्ण भारतमा विवादित मात्र छैनन्, उनका विचार र क्रियाकलाप धेरै सन्दर्भमा खतरनाक छन्। उनले एक, दुई होइन धेरै प्रकारका भ्रम फैलाउँदै ठगी गर्दै आएका छन्।

धीरेन्द्रकृष्णले सार्वजनिकरूपमै महिलाको अस्मितामाथि प्रहार गर्ने, मुस्लिम र अल्पसंख्यहरूविरूद्ध मानिसहरूलाई भड्काउने, खुलमखुला छुवाछुतको अभ्यास गर्ने, भूत प्रेत हुने भन्दै उपचारको बहानामा ठगी गर्ने र आफ्नो आशीर्वादले निको हुनेसम्मको अफवाह फैलाउँदै आएका छन्।

धीरेन्द्रकृष्णले सामाजिक द्वेषलाई मलजल गर्दै आएका संकीर्ण भास्य फैलाइरहेका छन्। उनले विचारमा दलितहरू ‘अछुत’ छन् मात्रै भन्दैनन् ब्राह्मणहरूले अरूबाट जुनसुकै रूपको सम्पत्ति दान लिन योग्य हुन्छन् भन्छन्।

आफ्नो कथा वाचनमा ‘सिन्दुर र मङ्गलसूत्र नलगाउने महिला ‘खाली प्लट’ हुन् भन्दै नारी जातिकै अपमान गर्दै आएका छन्।

भक्तजनलाई आफ्नो सेवा गर्न लगाउँदै धीरेन्द्रकृष्ण गर्ग

मूलतः धीरेन्द्रकृष्णको लाइन ‘भारतलाई दिन्दू राष्ट्र बनाउनुपर्छ’ भन्ने हो। यही विषयमा उनले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। ‘सबै हिन्दूलाई एक हुन र धर्म रक्षाका लागि हतियार उठाउन’ उनले सार्वजनिक अपिल गर्ने गरेका छन्।

त्यति मात्र होइन भारतको हरेक धार्मिक सभामा उनले ‘दिन्दूस्थानमा रहना है तो सीताराम कहना है’ भन्ने अतिवादी अभिव्यक्ति दिने गरेका छन्।

त्यहीकारण शास्त्रीलाई अतिवादी हिन्दू सङ्गठनको साथ छ। तर, धार्मिक र सामाजिक सद्भावको पक्षधरले धीरेन्द्रकृष्णलाई अराजक भन्दै उनको गतिविधिमा नियन्त्रण गर्नुपर्ने आवाज उठाउँदैआएका छन्।

धीरेन्द्रकृष्ण आफूलाई कट्टर हिन्दूवादीका रूपमा प्रस्तुत गर्दै आएका छन्। धार्मिक सहिष्णुता कायम रहेको ठाउँमा उनले हिन्दूको घरमा ढुङ्गा हान्नेको घरमा बुल्डोजर चलाउनुपर्ने अभिव्यक्ति दिएर उनले खास समुदायविरुद्ध उक्साउने दुरुत्साहन समेत गर्दै आएका छन्।

त्यति मात्र होइन मुस्लिम समुदायलाई लक्षित गर्दै उनीहरूलाई अन्तै लखेट्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। धीरेन्द्रकृष्णले ‘हामीलाई तपाईंको समर्थन दिनुहोस्, हामी हिन्दू राष्ट्र दिनेछौँ’ भन्ने नारा सुरू गरेका छन्। उनले रामचरितमानसलाई भारतको राष्ट्रिय ग्रन्थ घोषित गर्न आग्रह गरेका छन्।

चर्चित टेलिभिजन कार्यक्रम रजत शर्माको ‘आपकी अदालत’ शोमा धीरेन्द्रकृष्णले ‘हिन्दू राष्ट्र र अखण्ड भारतको मागलाई निरन्तरता दिने’ बताएका छन्।

उनले धार्मिक सभामा जातीय छुवाछुतलाई समेत दुरुत्साहन गर्दै आएका छन्। सभामा आफूलाई ढोग्न आउने दलित समुदायका मानिसलाई ‘अछुत’ भन्दै आफूलाई नछुन आग्रह गर्दै टाढै बसाउँदै आएका छन्।

कथा वाचन गर्दै धीरेन्द्रकृष्ण गर्ग

अन्धविश्वसको खेती: भूत-प्रेत हुने भन्दै कथित उपचार

चमत्कारी शक्ति आफूमा भएको दाबी गर्ने धीरेन्द्रकृष्ण बालाजी-भगवान् हनुमान-को सहयोगमा भक्तहरूको समस्या समाधान गर्ने दाबी गर्छन्। भक्तजनको ‘भविष्यको बारेमा भविष्यवाणी’ गर्दै आएका छन्।

भूत-प्रेत भन्ने चिज हुने र त्यसको उपचार आफूले गर्दै आएको भनेर अन्धविश्वास फैलाउँदै आएका छन्। उनको धार्मिक सभामा आफूले भूत-प्रेतलाई मानिसको शरीरबाट निकालिएको भन्दै भक्तजनालाई नाटक गर्न लगाउँछन्। अरुलाई त्यो दृश्य देखाउँछन्।

उनी कथा वाचन गर्ने सभामा हजारौँका बीचबाट केही मानिसलाई पालैपालो छानेर मञ्चमा बोलाउँछन्।

छनोट गरेर बोलाएकालाई ‘समस्या कागजमा लेखेर बताइदिने’ तथा समाधानका लागि निश्चित पूजा पाठको तरिका सुझाउने गर्छन्।

समस्या तथा समाधान सार्वजनिकरूपमै बताइदिन्छन्। छानेर बोलाइएकाहरूले उनको कुरालाई स्वीकार गर्छन्। त्यही कारण पनि उनका अनुयायी बढेका छन्।

उनले यसै गरी भीडबाट छानेर बोलाइएका मानिसलाई उपचार गर्ने बताउँछन्। मानिसमा भूत-प्रेत हुने र निकाल्ने बताउँछन्। ती मानिस पनि उपचारपछि आफूलाई निको भएको बताउँछन्।

तर, धेरैलाई थाहा छैन कि ती मानिसहरूले धीरेन्द्रकृष्णले पहिल्यै तयार पारेका हुन्छन्। धीरेन्द्रकृष्ण फेक रहेको र उनले सभामा अरूको अगाडी नाटकीयरूपमा प्रस्तुत गरिएको पुष्टि गर्दै युट्युबमा धेरै भिडिओ देख्न सकिन्छ। तैपनि उनीमाथि विश्वास गर्नेहरूको सङ्ख्या घटेको छैन, बढ्दो छ।

शास्त्री चमत्कार नभइ जादुगरको शैलीमा हातको सफाइलाई (आँखा छली) गर्दै आएका छन्। त्यसलाई वास्तविक भन्दै धेरैले चमत्कारी शक्तिमा भन्दै विश्वास गरिरहेका छन्।

डिजिटल मिडिया प्लेटफर्मको प्रयोगबाट चर्चामा

आफूमाथिको आरोप चिर्न धीरेन्द्रकृष्णले मिडियासमेतको दुरुपयोग गर्दै आएका छन्। डिजिटल मिडिया प्लेटफर्म उपयोग गरेर उनले आफूलाई धेरै मानिससमक्ष पुर्‍याउन सफल भएका छन्।

विवादकाबीच धीरेन्द्रकृष्णको सामाजिक सञ्जालमा पनि उल्लेखनीय फलोअर्स छन्। फेसबुकमा ५.५ मिलियन फलोअर्स छन्। उनको विभिन्न गतिविधि राखिने युट्युब च्यानलमा ६.२२ मिलियन सब्सक्राइबर छन्।

यस्तै इन्स्टाग्राममा ३ लाख २ हजार फलोअर्स छन्। ट्विटर (एक्स)मा १सय७४ हजार फलोअर्स पाएका छन्। उनका धेरैजसो व्यापकरूपमा हेरिएका भिडियोहरूले तीनदेखि दस लाख भ्यूज प्राप्त गरेका छन्।

अन्धविश्वासका ‘भाइरस’ – धीरेन्द्रकृष्ण

धीरेन्द्रकृष्णमाथि धर्मका नाममा शास्त्रीले सर्वसाधारणलाई लुट्ने, ठगी गर्ने र शोषण गर्ने गरेको आरोप छ। अर्कोतर्फ अन्धविश्वास फैलाएको आरोप छ। उनी आफूमा चमत्कारिक शक्ति रहेको दाबी गर्दै आएका थिए।

गत २० जनवरीमा महाराष्ट्रस्थित एउटा संस्थाले उनको सत्संगमा उनको कथित शक्तिको विरुद्धमा चुनौती दिएका थिए। त्यो बेलामा सामाजिक सञ्जाल प्लेटफर्महरूमा ट्रेन्डिङ विषय बनेको थियो।

तर, धीरेन्द्रकृष्णले चुनौती सामना गर्न सकेनन्। चुनौती सामाना गर्न नसकेपछि उनी भागे। केही दिनपछि सो विषयलाई विषयान्तर गर्दै धीरेन्द्रकृष्णले रायपुरमा भने, “यस्ता मानिसहरू आउने क्रम जारी रहनेछ। उनीहरू (उनीहरूलाई चुनौती दिएका मानिसहरू) आफैँ आएर हेर्नुपर्छ। लाखौँ आएर बागेश्वर बालाजीको दरबारमा बस्छन्। मलाई जे प्रेरणा मिल्छ, म लेख्छु र जे लेख्छु, त्यो सत्य साबित हुनेछ। मेरो भगवानमा विश्वास छ।”

बाबा रामदेवसँग धीरेन्द्रकृष्ण शास्त्री

उन्मुक्तिको आडमा ‘अतिवाद’

तर आलोचकहरूले उनलाई टुनामुना गरेको र अन्धविश्वास फैलाएको तथा सर्वसाधारणलाई प्रभावमा पार्न तिकडम गरेको आरोप लगाउँछन्। धीरेन्द्रकृष्णविरुद्ध अन्धविश्वास फैलाएको भन्दै कारबाहीका लागि थुप्रै उजुरी परिरहन्छ। अखिल भारतीय अंधश्रद्धा उन्मूलन समितिले नागपुर प्रहरीमा अन्धविश्वास विरोधी ऐनअन्तर्गत उजुरी गरेको थियो।

उजुरीमा ‘दिव्य दरबार’ र ‘प्रेत दरबार’को नाममा बोक्सीविद्याको प्रवर्द्धन भइरहेको र धर्मका नाममा धीरेन्द्रकृष्णले सर्वसाधारणलाई लुट्ने, ठगी गर्ने र शोषण गर्ने गरेको बताएका थिए।

प्रहरीले यसको अनुसन्धान गर्‍याे। तर, छाडिदियो। छाड्नुको कारण थियो स्वामी रामदेव, रामभद्राचार्य, साध्वी प्राची, प्रज्ञा ठाकुर र राजनीतिज्ञ गिरिराज सिंह जस्ता धेरै प्रमुख हिन्दू धार्मिक नेताहरूको दबाब।

धीरेन्द्रकृष्णका कार्यक्रममा अन्धविश्वासका गतिविधिहरूलाई बढवा दिने भन्दै गत जनावरीमा उनको केही कार्यक्रममा प्रतिबन्धन नै लाग्यो।

केही हिन्दू सङ्गठनहरूले उनको समर्थनमा प्रदर्शन गरे। तीव्र दबाब भएपछि प्रशासनले उनको कार्यक्रम रोक्न सकेन।

धीरेन्द्रकृष्णको धाम छतरपुरमा मन्दिरको समेत विवाद छ। सरकारी स्वामित्वमा रहेको सामुदायिक हलमा उनको आश्रम छ।

वरपर जग्गा भएका १५ जना स्थानीय जग्गाधनीलाई धीरेन्द्रकृष्णले आफूलाई जग्गा बेच्न दबाब दिइरहेको आरोप छ। धीरेन्द्रकृष्णले भने यसलाई इन्कार गर्दै आइरहेका छन्।

जहाँ धीरेन्द्रकृष्ण, त्यहाँ विवाद

हिन्दूबाहेक अरूलाई मानिस नगन्ने उनको प्रवृत्ति विभाजक शक्ति भएको भन्दै आलोचना हुने गरेको छ। यसैले धीरेन्द्रकृष्ण जहाँ कथा वाचन गर्न जान्छन्, त्यहाँ अगाडि नै विवाद उठ्ने गर्छ।

यसअघि पनि महाराष्ट्रमा आयोजित कथाका क्रममा पण्डित शास्त्रीमाथि हिन्दू सङ्गठनका सदस्यले आरोप लगाएका थिए।

धीरेन्द्रकृष्णले हह्यवंशी समाजका आराध्य देवता सहस्त्रबाहु अर्जुनविरुद्ध गरेको टिप्पणीको विरोधमा सो समुदायले चर्को विरोध गरेका थिए। देशभर धीरेन्द्रकृष्णको पुत्ला जलाइएको थियो। हालै बिहारमा आयोजित कथाको समयमा पनि यस्तै दृश्य देखियो।

यसअघि बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव-राबडीदेवी यादवका छोरा बिहारका मन्त्री तेजप्रताप यादवले पनि धीरेन्द्रकृष्णको विरोध गरेका थिए। तर पनि कथाको समयमा भक्तजनको बाक्लो भीड देखिएको थियो।

मध्य प्रदेशको बालाघाटमा शास्त्रीको कथाको विरोधमा आदिवासी समाजले विरोध प्रदर्शन नै गरेका थिए। आदिवासी समाजको असन्तुष्टिको कारण भने, आदिवासीलाई शास्त्रीले ‘जङ्गली’ भन्दै अपमान गर्दै आएका थिए।

अहिले नेपालमा उनलाई ल्याइँदा पनि नेपालजस्तो शान्त र सहिष्णु समाजलाई असर पार्ने गरी यस्ता विवादित व्यक्तिलाई ल्याउनु आपत्तिजनक मात्र होइन, गैर संवैधानिक पनि भन्दै कतिपयले आलोचना गर्दै आएका छन्।

विभिन्न भारतीय मिडियाको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved