काठमाडौं । २०५० वैशाख ३ गते मदनजी (मदन भण्डारी), जीवराजजी (जीवराज आश्रित) सहित हामी पोखरामा सँगै थियौँ । मदनजी पार्टी महासचिव र जीवराजजी सङ्गठन विभाग प्रमुख हुनुहुन्थ्यो । म त्यसबेला गण्डकी अञ्चल समन्वय समितिमा थिएँ ।
हामी पोखराबाट सँगै हिँड्ने कुरा थियो । हिँड्नेबेला त्यहाँ एकजना गुरुङ क्याप्टेनले पार्टी प्रवेश गर्ने इच्छा देखाए । उनले मदन भण्डारीसँग भेट्ने इच्छा देखाएका थिए । मदनजी र जीवराजजी त्यता लाग्नुभयो तर, म गइनँ । ड्राइभर पनि त्यहीँ रोकियो । ड्राइभर (अमर लामा)ले निन्याउरो मुख पारिरहेका थिए । ‘सिरियस मूड’मा देखिन्थे । ‘के भयो’ भनेर सोध्दा पेट दुख्यो भन्थे । त्यसबेला मदनजी र जीवराजजी क्याप्टेनकहाँ जानुभएको थियो ।
त्यति नै बेला अलिक असामान्यचाहिँ के भयो भने मलाई एक अपरिचित मान्छेले दुई-चारपटक ‘मदनजीहरू जाने कतिबेला हो ?’ सोधे । किन भनेर मैले प्रतिप्रश्न गर्दा उनीहरु बोल्न चाहेनन् । त्यसपछि मलाई सायद सरकारी सीआईडी होला भन्ने लाग्यो । थप सोधिनँ ।
त्यसपछि मदनजी र जीवराजजी आउनुभयो, हामी बिदा मागेर हिँड्यौँ । हामी हिँडेपछि ड्राइभरले टेप बजायो र सिटबेल्ट बाँध्न भन्यो । मदनजी अगाडि हुनुहुन्थ्यो, जीवराजजी र म पछाडि सिटमा थियौँ । ‘बाटो ठीकै छ के बाँध्नु सिटबेल्ट’ मदनजीले भन्दा पनि ड्राइभर आफैँले सिटबेल्ट थुतेर बाँधिदियो । विजयपुर आइपुगेपछि ड्राइभरले गाडीमा झण्डा हाल्यो । ‘नहालेको भए हुन्थ्यो, हावाले धेरै चलाउँछ’ भन्दा उनले केही हुन्न भनेर भन्यो ।
एकछिन कोही बोलेनौँ । त्यसपछि ड्राइभरले बजाएको टेपको गीतलाई लिएर जीवराजजीले मलाई जिस्क्याए । जीवराजजीलाई पनि के थाहा थियो भने मलाई मदनजीनको जनताको बहुदलीय जनवाद (जबज) खासै मन परेको थिएन र जीवराजजी आफैँलाई पनि त्यति मन परेको थिएन । तर, उहाँहरू प्राय: सँगै बस्ने, खाने गर्नुहुन्थ्यो ।
‘देख्नुभयो ऋषिजी, टेपले क्रान्तिको ट्रेडिसनल गीत बजायो’ भनेर जीवराजजीले मलाई भने । जतिबेला हामी जनवादी क्रान्तिको पक्षधर थियौँ । जबजका पक्षधरहरूले हामीलाई ‘ट्रेडिसनल’ भन्थे भने उनीहरू आफूलाई चाहिँ रचनात्मक ठान्थे । त्यही बीचबाट सामान्य विवादजस्तो पनि भयो । त्यतिकैमा हामी दमौली आइपुगेछौँ । त्यसपछि विषयले अहिल्यै पार पाउँदैन भन्ने लाग्यो मलाई र मैले ‘ल मदनजी यो भनेको पुँजीवाद नै हो, तपाईं जेसुकै भन्नुस्’ भनेर भनेँ । मदनजीले पनि ‘ड्राइभर हामी नै हौँ, अहिले यही सिद्धान्तअनुसार जाऔँ पछि साह्रै भएन भने फर्कौँला नि’ भनेर भन्नुभयो ।
मदनजीले थप भन्नुभयो ‘कति जनतालाई अल्मल्याउनु, अहिलेलाई यो जबजमार्फत अगाडि बढौँ । बाँकी देखाजायगा !’ त्यो कुरालाई त्यहीँ थाँती राख्यौँ र गोरखा पार्टी सङ्गठनबारे कुरा गर्दै आयौँ, गोरखा सङ्गठनमा समस्याहरू पनि थिए ।
त्यसको केही समयपछि हामी खैरेनी आइपुग्यौँ । त्यहाँबाट हामी छुट्यौँ । मेरो बिहान गोरखातिरै काम थियो र म त्यहीँ ओर्लिएँ । हामी छुटिनासाथ बेस्सरी हावा-हुरी चलेको थियो । त्यो रात यतिकै सुतियो । बिहान उठ्दा पो एकजना किसानले ‘मदन भण्डारी चढेको गाडी त्रिशूलीमा खस्यो रे’ भन्ने खबर सुनाए । त्यसपछि गोरखा प्रहरीसँग बुझेँ, हो रहेछ ।
त्यसपछि म त्रिशूलीतिरै लागेँ । बाटोमा ट्रक रोकेँ र त्यहीमार्फत त्रिशूली पुगेँ । त्यहाँ पुग्दा क्रेनले गाडी झिक्दै रहेछ । गाडीमा मदनको शव देखिएन, जीवराजजीको शवचाहिँ हामी छुटिँदा जस्तो अवस्थामा छाडेको थिएँ, त्यही अवस्थामा देखेँ । चोटहरू केही देखिएन ।
पछि सुनेँ, हावा-हुरी चलेपछि गाउँलेहरूले बाटोमा नजान सल्लाह दिएका थिए रे ! तर, उहाँहरू हिँड्नुभएछ । मदन अगाडि बस्नु भएको थियो, त्यहाँ झ्यालचाहिँ ‘लक’ थियो तर, मदन हुनुहुन्थेन । गाडी पनि एकापट्टि अलिकति कुच्चिएको बाहेक केही भएको थिएन ।
यसपछि खोजी कार्य सुरु भयो । मदनजीको शव भेटाउन सकिएन । हामीले त्यस क्षेत्रमा २/३ दिन नै खोज्यौँ तर, भेटाउन सकिएन । ३ दिनपछि हामी रहेको ठाउँबाट झन्डै ३०-३२ किलोमिटरको दूरीमा खोलामा एउटा शव छ रे भन्ने खबर सुन्यौँ । त्यतिबेला हामी सीपी मैनालीको नेतृत्वमा थियौँ । त्यहाँ पुगेर हेर्दा शव मदनजीकै रहेछ । स्थानीयहरूले निकालेर डुङ्गामा राखेका रहेछन् ।
आँखामा निलो डामबाहेक मदनको शवमा केही चोट पनि थिएन । पेट अलिक फुलिएछ, पेटी कसिएछ । हातको घडी ठीकै थियो । अरु घाउहरू केही थिएनन् । त्यसपछि हामीले निष्कर्ष निकाल्यौँ कि यो दुर्घटना होइन भनेर । किनकि ३२ किलोमिटरसम्म खोलाले बगाएर ल्याएको शवमा कुनै चोटपटक नहुनु शङ्कायोग्य नै कुरा थियो ।
त्यसपछि शव व्यवस्थापनदेखि लिएर अब कसरी अगाडि बढ्ने भनेर पार्टीले निर्णय गर्यो । त्यहीअनुरूप अगाडि बढ्यो पार्टी । जे होस्, अहिले मदनजी भएको भए अलिक फरक दिशामा राजनीति र देश हुन्थ्यो कि भन्ने लाग्छ । उहाँ हक्की हुनुहुन्थ्यो, उहाँमा पदलोलुपता थिएन । केही गर्ने हुटहुटीचाहिँ थियो ।
यसरी पोखराबाट एउटै गाडी चढेको हामीमध्ये मचाहिँ संयोगले बाँचेँ । उहाँहरू बितेर जानुभयो । त्यो घटना कसरी भयो खै, अहिले पनि केही थाहा छैन । अझै रहस्यमय नै देखिन्छ । त्यही पार्टीले धेरैपटक सरकारको नेतृत्व गर्यो तर, दोषी पत्ता लागेन । त्यो नलाग्नु दुखद् हो । व्यक्तिगत रूपमा जे-जति असहमति रहेपनि हामी पार्टीगत रूपमा सँगै थियौँ, उहाँ निकै सहज हुनुहुन्थ्यो । उहाँप्रति श्रद्धाञ्जली छ ।
(नेपाल भ्युजका लागि धनबल राईले ऋषि कट्टेलसँग कुराकानी गरेर तयार पारेको सामग्री)
Facebook Comment
Comment