सम्झनामा २०१४ को विश्वकप- १

‘डेब्यू’ टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा…

‘डेब्यू’ टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा…

काठमाडौं।  (टी-२० विश्वकप प्रयोगितामा सहभागी हुनका लागि नेपाली टोली अहिले अमेरिकामा छ । अमेरिका र वेस्ट इन्डिजमा यही जुन २ देखि २९ सम्म हुने प्रयोगितामा नेपालले जुन ४ मा आफ्नो पहिलो खेल नेदरल्याण्डस्‌सँग खेल्दैछ ।

नेपालले टी- २० विश्वकप खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले सहभागिता जनाएको थियो । यस शृंखलामा हामीले दश वर्षअघिको सो विश्वकपमा नेपालको प्रदर्शनलाई सम्झिने प्रयत्न गरेका छौँ । )

सन् २०१४ मा राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकप क्रिकेटमा ‘डेब्यू’ गरेसँगै नेपालले विश्व क्रिकेटमा नै आफ्नो अस्तित्व देखाउन सफल भएको थियो। नेपाली खेलाडीले आफ्नो क्षमता र सीपको प्रदर्शन गर्दै प्रतियोगिताको सबैभन्दा उत्साहित टोलीको रुपमा आफूलाई चिनाउन सफल भएको थियो ।

नेपालले टी–२० मा पहिलो पटक अफगानिस्तानलाई ९ रनले पराजित गरेकोले पनि यो विश्वकप नेपालको लागि यादगार बन्यो। यसअघि नेपालले अफगानिस्तानलाई पराजित गर्न सकेको थिएन ।

२० मार्च २०१४ मा बंगलादेशस्थित जहुर अहमद चौधरी स्टेडियममा भएको विश्वकपको तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपालले खेलेको यो तेस्रो खेल थियो ।

१४२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको अफगानिस्तानले पूरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा १३२ रन मात्र बनाउन सके। अफगानिस्तानका लागि असगर अफगानले ४९ र शफिकुल्लाह ३६ रनमा आउट भए ।

नेपालका लागि जितेन्द्र मुखियाले ३, सोमपाल कामी र शक्ति गौचनले २–२ तथा बसन्त रेग्मीले १ विकेट लिए ।

५ औं ओभरमा ३ विकेट लिएर अफगानिस्तानको ब्याटिङलाई धर्मराउन सफल भएको थियो । ४ ओभरको तेस्रो र चौथो बलमा जितेन्द्र मुखियाले मोहम्मद शाहजद र नजिबुल्ला जादरानको विकेट लिए ।

३ ओभरको पहिलो बलमा नै सोमपाल कामीले करिम सदिकलाई ८ रनमा आउट गर्दै नेपालका लागि पहिलो विकेट लिएका थिए ।

स्पिनर बसन्त रेग्मीले भने सफिकुल्लाहलाई ३६ रनमा आउट गर्दै नेपाललाई छैठौं सफलता दिलाए । सागर पुनले गरेको त्यो उत्कृष्ट क्याचको निकै लामो समयसम्म चर्चामा रहेको थियो ।

नेपालका लागि शक्ति गौचनले एकै ओभरमा नेपालका लागि २ विकेट लिए । उनले ८ ओभरको दोस्रो बलमा नवरोज मंगल आउट गरे । मंगलको प्रहारलाई पारस खड्काले क्याच गरेका थिए । ८ औं ओभरको अन्तिम बलमा भने कप्तान मोहम्मद नाबीलाई एलबीडब्लु आउट गरे । प्रतियोगितामा उनले दोस्रो पटक एकै ओभरमा २ विकेट लिएका थिए ।

नेपालका कप्तान पारस खड्काले दिएको प्रेरणा त्यस खेलमा पनि महत्त्वपूर्ण रहन पुग्यो। अफगानिस्तानविरुद्धको खेलमा पारसको ब्याट पूर्ण रुपमा चल्न नसके पनि उनले २ उत्कृष्ट क्याच गरेर टोलीमा योगदान गरेका थिए । उनले अफगानिस्तानका समिउल्लाह शेन्वारी र नवरोज मंगलको प्रहारलाई क्याच गरेका थिए ।

पहिलो पारीमा सुवास खकुरेलको अर्धशतकले नेपालको जितलाई सुनिश्चित गर्‍यो । ५३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको योगदान गरे। विश्वकपमा अर्धशतक बनाउने सुवास पहिलो नेपाली खेलाडी पनि बने।

शपुर जादरानले गरेको बलिङलाई छक्कामा परिणत गर्न खोज्दा सुवास १८ ओभरको पहिलो बलमा पभिलियन फर्किए। यसपश्चात सुवास र शरद भेषवाकरबीचको ७६ रनको साझेदारी टुट्यो । सागर पुन ८ र पारस खड्का १ रनमा अविजित रहे।

नेपालको ब्याटिङमा ज्ञानेन्द्र मल्लले पनि १३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २२ रनको योगदान गरे । विनोद भण्डारी ४ र नरेश बुढायर २ रनमा अविजित रहे ।

अफगानिस्तानमाथि जित हासिल गर्दै नेपालले आफ्नो समूह चरणको यात्रा समाप्त गरेको थियो। समूह चरणमा नेपालले हङकङलाई पनि पराजित गरेको थियो । तर, बंगलादेशसँगको पराजय भने नेपाललाई महंगो बनेको थियो । नेट रन रेटका आधारमा नेपाल फाइनल चरणमा पुग्नबाट वञ्चित भएको थियो । यसपश्चात पहिलो चरणबाट बंगलादेश र नेदरल्याण्ड्स सुपर र १० मा पुगेको थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved