२ तले भवनमा नक्कली सरकारी कार्यालय, पक्राउ परे नक्कली उपसचिव र शाखा अधिकृत

नेपालभ्युज

२ तले भवनमा नक्कली सरकारी कार्यालय, पक्राउ परे नक्कली उपसचिव र शाखा अधिकृत

काठमाडौं। उखानै छ, ‘ठगका हजार दाउ !’ यस्तै देखिएको छ काठमाडौंमा। यहाँ बसेर ठगी धन्दा चलाउनेहरूले अनेक जुक्ति, बहाना र प्रविधि लगाएर आफ्ना गतिविधि दिन दुगुणा, रात चौगुणा बनाइरहेका प्रहरी तथ्यांकले औंल्याउँछ।

यस्तै, सोमबार प्रहरीले अझै एउटा रोचक घटना सार्वजनिक गरेको छ। जुन तपाईंलाई अनौठो ठगीको घटना लाग्न सक्छ।

नक्कली सरकारी कर्मचारी बनेर ठगिएको घटना त अनेकौँ छन्। तर, नक्कली सरकारी कार्यालय नै खडा गरेर नक्कली उपसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारी नियुक्त गरेर ठगी भइरहेको घटना सार्वजनिक भएको हो।

कृषि मन्त्रालय अन्तर्गतको ‘खाद्य सुरक्षा कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा काठमाडौं प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडाैं बस्दै आएका मेलम्चीका ४७ वर्षे घनश्याम कटुवाल र लीला भोलन छन्। घनश्याम नक्कली सरकारी कार्यालयका उपसचिव हुन्। जो जयराम केसी भनेर उनको नाम नेमप्लेटमा लेखिएको थियो।

मकवानपुर बाग्मती गाउँपालिका ९ का ४० वर्षीय भोलनसँग मिलेर घनश्यामले सरकारी कर्मचारीको आवरणमा कार्यालय नै खडा गरेर ठगी धन्दा चलाएको अनुसन्धानबाट थाहा भएको छ।

प्रहरी वृत्त महाराजगञ्जले लामो अनुसन्धानपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। कृषि मन्त्रालयको छाप र लोगो प्रयोग गरेर आरोपीहरूले १५ लाखभन्दा बढी ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार आरोपितहरूले कार्यालय खडा गरेर कार्यालय प्रमुख र शाखा अधिकृत भनेर नेमप्लेट राखेका थिए।

फर्निचर खरिदका लागि टेन्डर आह्वान गरेर उनीहरूले एकपटक उधारोमा सामान लिइसकेको अनुसन्धानबाट थाहा भएको छ। कार्यालयमा ‘कर्मचारी भर्ना’ को आवरणमा पनि उनीहरूले ठगेको भेटिएको छ।

महाराजगञ्ज वृत्तका प्रहरी नायव निरीक्षक राजन ढुङ्गाना नेतृत्वको टोलीले घनश्यामलाई भक्तपुरको कौशलटार पक्राउ गरेको हो।

लीला भोलन नारायण स्थानबाट पक्राउ परेका हुन्। आरोपितहरूले नारायणस्थानमा कार्यालय खोलेर ठग धन्दा चलाएको एसएसपी कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

कार्यालयमा घनश्यामले आफ्नो ओहदा उप–सचिव (कार्यालय प्रमुख जयराम केसी) भनेर नेमप्लेट राखेका थिए। पेम्बा तामाङको नाममा शाखा अधिकृत लेखेर टाँसेको नेमप्लेट प्रहरीले बरामद गरेको छ। अन्य २ जना फरार छन्।

काठमाडौं बुढानीलकण्ठ ५ मा विष्णु गुरुङको २ तले पक्की घर भाडामा लिई नक्कली कार्यालय सञ्चालन गरिएको भेटिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved