प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालभ्युज

प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

नुवाकोट । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार नुवाकोटस्थित इलाका प्रहरी कार्यालय, पञ्चकन्याको नवनिर्मित कार्यालय भवन तथा ब्यारेकको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका हुन् ।

उनले नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिकको साथी भएको उल्लेख गर्दै समस्या तथा विपद्मा परेका नागरिकको सेवामा सबैभन्दा अगाडी पुग्नुपर्ने बताए ।
उनले सीमित स्रोत तथा साधनको बिचमा पनि प्रहरीले नागरिकलाई दिइरहेको सेवाको प्रशंसा गरे ।

मन्त्री श्रेष्ठले स्रोत, साधनको अभावका कारण प्रहरीलाई परिरहेको समस्यालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रदेशभर प्रहरी भवन निर्माणका लागि सहयोग गरिरहेको पनि बताए ।

उनले आगामी दिनमा पनि प्रदेश सरकारले प्रहरीको लागि कार्यालय, आवास तथा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका लागि प्राथमिकता दिने बताए ।

उनले अहिले डढेलो लगायतका विपद्हरू आइरहेका भन्दै विपद् व्यवस्थापनमा सक्रियतापूर्वक लाग्न आग्रह पनि गरे ।

वर्षायाम् सुरु हुन लागेको भन्दै मन्त्री श्रेष्ठले वर्षायाममा हुने प्राकृतिक प्रकोपका घटनाबाट नागरिकलाई बचाउन पनि सचेततापूर्वक लाग्नुपर्नेमा उनले जोड दिए ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा इलाका प्रहरी कार्यालय, पञ्चकन्या नुवाकोटको कार्यालय तथा भान्छा घरको निर्माण भएको हो ।

प्रदेश सरकारको २ करोड २ लाख ६९ हजार ५८० रुपैयाँ ८५ पैसा आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved