पुस्तक समीक्षा

निरोज कट्टेलले ५२ वर्षपछि उत्खनन गरे झापा विद्रोहको अन्तर्कथा

उनले एक गम्भीर प्रश्न खडा गरेका छन्–‘ किसान विद्रोह भनेर मारिएका मानिस के साँचोे अर्थमा सबै जमिन्दार शोषक थिए ?’ पुस्तकका लेखक कट्टेलको उत्खननले त्यस्तो पुष्टि गर्दैन । उनले आफ्नै छिमेकी कर्णबहादुर गौतमदेखि बुटन चौधरी र धर्मराज ढकालसम्मका कथालाई उधिनेका छन्, जसले उनीहरू व्यक्तिहत्याको तहमा व्यवहार गर्नुपर्ने ठूलो जमिन्दार र शोषक नभएको पुष्टि गर्दछ ।

निरोज कट्टेलले ५२ वर्षपछि उत्खनन गरे झापा विद्रोहको अन्तर्कथा

काठमाडौं । मेची किनारको सानो बजार थियो कुनै बेला काकरभिट्टा । अहिले भव्य आधुनिक शहरको रूप लिँदै छ । मेचीमा नयाँ पूल बनेपछि काकरभिट्टाको पर्यटन र व्यापार झनै फस्टाउँदैछ । भारतीय तथा भारतको बाटो हुँदै नेपाल प्रवेश गर्ने पयर्टकलाई लक्षित गरी बनेका ठूला, भव्य र सुविधासम्पन्न होटल थपिँदैछन् ।

काकरभिट्टा देशकै एक मुख्य निर्यात नाका पनि हो । आलु, अदुवा, अम्लिसो, चिया, ताजा तरकारीलगायत पूर्वी नेपालका निर्यातयोग्य कृषि वस्तुहरू काकरभिट्टा नाका हुँदै भारत र बंगलादेश जाने हुन् । त्यसो त काकरभिट्टाको भू-क्षेत्रीय रणनीतिक महत्त्व आगामी दिनमा झनै बढ्ने देखिन्छ । यो बाटोबाट उत्तरपूर्वी भारत, भुटान र बंगलादेश मात्र हैन, सायद आउँदो वर्षभित्र स्थल मार्गबाटै म्यानमार र थाइल्यान्डसम्म पुग्न सकिने छ ।

तर, मेचीनगरको आधुनिकता सीमा व्यापार, पर्यटन र भू-क्षेत्रीय संवेदनशीलता मात्र सीमित छैन । बौद्धिक विमर्श र राष्ट्रिय चिन्तनको पनि यसले उत्तिकै योगदान गर्दछ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, लामो समय कान्तिपुरको सम्पादक रहेका पत्रकार तथा लेखक सुधिर शर्मा, युवा चिन्तक तथा स्तम्भकार उज्ज्वल प्रसाईं लगायत समकालीन चिन्तक यही नगरका हुन्।

काँकडभिट्टाको बौद्धिक विमर्शमा एक कोसेढुंगा हो– रिडर्स झापा । यसको काम नै पठन संस्कृतिको विकास गर्नु थियो कुनै बेला । कोभिड– १९ को महामारी अघिले यसले केही वर्षको अन्तरालमा ‘साहित्य महोत्सव’ को आयोजना गर्थ्यो । देशभरिका बौद्धिक र साहित्यिक मानिएका मान्छेहरू मेची किनारमा भेला भएर देशकै चिन्ता र चिन्तन गर्थे । प्रदीप गिरी, खगेन्द्र संग्रौला, सीके लालसमेत पुग्थे त्यहाँ ।

विस्तारै रिडर्स झापाका सदस्यहरूलाई लाग्यो कि पढ्ने मात्रै हैन, लेख्न पनि जरुरी छ । अझ आफ्नै परिवेश र स्थानीयतासँग जोडिएर लेख्न जरुरी छ । पढेर मात्र त कहीँ पुगिन्न लेख्नु पनि पर्‍यो । मेची किनारमा बसेर देश पढ्ने मात्र हैन, मेचीको परिवेश सिंगो देशलाई पढाउनु पनि पर्छ । अनि रिडर्स झापाले आफ्नै एक सक्रिय सदस्य निरोज कट्टेललाई झापाकै कथा उधिन्न प्रेरित गरे ।

निरोजले विषय छाने २०२८ सालको झापा विद्रोह । कम्युनिस्ट भाषामा यसलाई ‘झापा किसान विद्रोह’ भन्ने गरिन्छ । निरोजको किताब पढ्दा भने लाग्छ यो ‘किसान विद्रोह’ कम र धेरै हदसम्म असन्तुष्ट मध्यमवर्गीय युवाहरूको ‘कम्युनिस्ट विद्रोह’ हो ।

जे होस्, यही विद्रोहले कम्युनिस्ट नेताहरूको एक नयाँ पंक्ति स्थापित गर्यो देशमा । २०१९ सालको तेस्रो महाधिवेशनपछि विश्रृंखलित र विग्रहित हुँदै गएको कम्युनिस्ट आन्दोलनले एक नयाँ केन्द्र निर्माण गर्ने अवसर पायो ।

आरके मैनाली, सीपी मैनाली, मोहनचन्द्र अधिकारी, केपी ओलीजस्ता नेताहरू यही विद्रोहको जगबाट उठेर राष्ट्रिय राजनीतिमा उदाए । त्यो बेला विराटनगरमा बैंकको जागिर खाएर बस्ने माधवकुमार नेपाल पनि यो आन्दोलनसँग भित्रभित्रै जोडिएका थिए । त्यो, भिन्नै कुरा हो कि, यी नेताहरूले आजसम्म आइपुग्दा झापा विद्रोहलाई कति न्याय गर्न सके वा सकेनन् ।

५२ वर्षपछि निरोज कट्टेलले आफ्नो पुस्तक ‘२०२८ : झापा विद्रोहको अन्तर्कथा’ मार्फत् झापा विद्रोहलाई इतिहास लेखन परम्पराभन्दा बढी इतिहास र आख्यानको समिश्रणबाट उत्खनन गरेका छन्। शनिबार पुस्तकको विमोचन कार्यक्रम थियो, मण्डला थिएटर थापागाउँमा । कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले भने– ‘झापा आन्दोलनको घटना के थियो, कत्रो थियो, त्यो ठूलो कुरा हैन, ठूलो कुरा यसको सन्देश, यसको पैगाम के थियो र देशभरि यसको प्रभाव कस्तो पर्‍यो भन्ने हो ।’

उनले आफ्नो युवाकालमा झापा विद्रोहले सिर्जना गरेको रहस्य र रोमाञ्चकताको प्रभावबारे पनि बोले । खासमा अहिलेको एमाले होस् वा एकीकृत समाजवादी, झापा विद्रोहले निर्माण गरेको रहस्य र रोमाञ्चकताकै सेरोफेरोमा  विकसित भएका हुन् ।

संसारमा माओवादी आन्दोलनहरू विरलै यसरी सुरक्षित अवतरण हुन्छन्, जसरी नेपालमा भएको छ । झापा विद्रोहको आर्दश मानिएको भारतको नक्सलवादी आन्दोलनसमेत अहिलेसम्म भड्किएको र किरानीकृत नै छ । नक्सलवारी नजिकै छ काकरभिट्टबाट पारिपट्टी । त्यहाँ अहिले पनि कार्ल मार्क्सदेखि चारु मजुमदारसम्मका राता सालिक ठडिएका छन् ।

विमोचन कार्यक्रमका सञ्चालक उज्ज्वल प्रसाईंले गज्जबको स्मरण सुनाए नक्सलवारीसँग जोडेर । उनी त्यहाँ पुग्दा केही भरियाहरू हातमा नाम्लो समातेर ती राता सालिक मुनि सुतिरहेका थिए । उज्ज्वलले ती भरिया मजदुरलाई सोधेकी यी कसका सालिक हुन् ? तिनले भनेछन्– यी भारतीय स्वतन्त्रता संग्रामका सेनानी होलान् । सर्वहाराका गुरुहरूलाई आजका सर्वहारालाई कसरी चिन्दा थालेछन्, यो आफैँमा रोचक प्रसंग हो ।

झापा विद्रोहअघि एमाले धारभन्दा चौम धार धेरै ठूलो थियो कम्युनिस्ट आन्दोलनमा । पछि त्यो धार फेरि सशस्त्रमा गयो, माओवादी जनयुद्धका नाममा । माओवादी जनयुद्धहरूले यात सत्ता जितेका छन्– चीन, उत्तर कोरिया, क्युवा, भियतनाम, लाओसमा जस्तो र कम्युनिस्ट शासन स्थापित गरेका छन् । या त, हारेर समाप्त भएका छन्, मारिएका छन्– भारत, कम्बोडिया, फिलिपिन्स, मलाय र पेरुमा जस्तो ।

चाहे झापा विद्रोह होस वा माओवादी जनयुद्ध– नेपालमा भने फरक नियत र नियति अघि सरेर आउँछ । यिनले न जित्छन्, नहार्छन् बरु माओवादी पार्टी र नेता नै संसदीय बहुदलीय लोकतन्त्रको खेलाडी बन्न आइपुग्दछन् । झापालीहरू एमाले र जनयुद्धवालाहरू माओवादीका रूपमा अहिले संसदीय लोकतन्त्रका संवाहक छन्, जसविरुद्ध उनीहरूको वैचारिकी र आन्दोलन उत्पत्ति भएको थियो ।

यस्तै, आन्दोलनबाट आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले देशको प्रधानमन्त्री छन् भने झापा विद्रोहका उत्पादन केपी शर्मा ओली प्रमुख विपक्षी दलको नेता । यो स्थिति वा नियति झापा विद्रोह वा माओवादी जनयुद्ध मोडेलका आन्दोलनको पतन वा सफलता कसैले भन्न सक्दैन । निरोजले भने अझ एक कदम पछाडि फर्किएर ‘राजावादी’ बनेका झापा आन्दोलनका प्रमुख नेता राधाकृष्ण मैनालीको राजनीतिक नियतिबाट उत्खनन तथा उनकै शब्दमा ‘इतिहासको पैदलयात्रा’ सुरुवात गरेका छन् ।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हत्याए । २० गते उनको अध्यक्षतामा शाही मन्त्रिपरिषद् गठन भयो । मन्त्रीको लहरमा तिनै राधाकृष्ण मैनाली पनि थिए, जो साँचो अर्थमा त्यो बेला झापा विद्रोहका मूल व्यावहारिक नेता मानिन्थे । उनले शाही सरकारको शिक्षामन्त्रीको सपथ लिए । कहाँ गयो नयाँ जनवाद, कहाँ गयो सर्वहारा राज्य, कहाँ गयो कम्युनिस्ट क्रान्ति, कहाँ गयो झापा विद्रोहको विरासत ?

शनिबारको पुस्तक विमोचन कार्यक्रममा युवा नेता मानुषी भट्टराई यमीले यो कुरा जोड दिएर उठाइन्। उनले भनिन्–‘अस्तीका क्रान्तिकारीहरू हिजो राजावादी भए, हिजोका क्रान्तिकारीहरू आज के गर्दैछन् ? एकपटकको क्रान्तिकारी जीवनभरि क्रान्तिकारी हुन्छ भन्ने छ ? युवा उमेरमा त स्वभावैले मान्छे क्रान्तिकारी हुन्छ, त्यस्तो क्रान्तिकारी भए पो सलाम गर्न मन लाग्छ जो बुढेसकालसम्म पनि क्रान्तिकारी भएर बाँच्छ, क्रान्तिकारी भएर मर्छ ।’

यमीको ‘मातापिता पुस्ता’ स्वयं माओवादी आन्दोलनको ‘आर्किटेक्ट’ थियो, कतै उनलाई आफ्नो अघिल्लो पुस्ताप्रति विश्वास र वितृष्णा पलाएको त हैन ? शाही सरकारमा राधाकृष्ण मैनालीको शपथ ग्रहणको दृष्यले मान्छेको मनमा दौडिएको औडाहा कस्तो थियो होला ? निरोज कट्टेल निर्धक्क लेखिदिन्छन्–‘केशरजंग रायमाझीपछि दरबार पस्ने अर्का ठूला कम्युनिस्ट नेता थिए, मैनाली ।’

लेखक कट्टेलसँग १२ वर्षपछि मैनालीले त्यो गल्ती स्वीकार गरेका छन् । भनेका छन्–‘एमालेको तत्कालीन नेतृत्वले मलाई अन्यायपूर्ण ढंगले गलहत्याएको र एक्ल्याएको थियो । शून्य मनस्थितिमा भएको बेला राजाको वचनलाई सकारात्मक रूपमा लिएर दरबारलाई सहयोग गरेँ । मैले चालेको उक्त कदम गलत थियो ।’ क्रान्तिकारी जब क्रान्तिको निष्ठाबाट चुक्छ, आत्मालोचना गरेर पनि क्रान्तिको मूलधारमा फर्किन गाह्रो हुँदोरहेछ ।

कट्टेलले क्रान्तिकारी र क्रान्तिको निष्ठाबाट विचलन हुनेहरूको मात्र हैन, क्रान्तिद्धारा पीडित हुनेहरूको कथालाई पनि इमान्दार उत्खनन गरेका छन् । कट्टेलले यो पाटो छुटाउँथे भने सायद यो किताबको महत्त्व यति धेरै हुने थिएन ।

५२ वर्षपछि उनले एक गम्भीर प्रश्न खडा गरेका छन्–‘ किसान विद्रोह भनेर मारिएका मानिस के साँचोे अर्थमा सबै जमिन्दार शोषक थिए ?’ पुस्तकका लेखक कट्टेलको उत्खननले त्यस्तो पुष्टि गर्दैन । उनले आफ्नै छिमेकी कर्णबहादुर गौतमदेखि बुटन चौधरी र धर्मराज ढकालसम्मका कथालाई उधिनेका छन्, जसले उनीहरू व्यक्तिहत्याको तहमा व्यवहार गर्नुपर्ने ठूलो जमिन्दार र शोषक नभएको पुष्टि गर्दछ । मारिएका यी भन्दा ठूला जमिन्दार कतिपय झापा विद्रोहका नेताका आफ्नै परिवार थिए ।

अर्थात् कट्टेलको उत्खननमा झापा विद्रोहको आधारशीला चीनको साँस्कृतिक क्रान्ति, भारतको नक्सलवाद हुँदै मेची तरेर आएको विश्व साम्यवादी आन्दोलनको रोमान्टिज्म नै हो, जसले निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायती शासन प्रणालीको जगजगीबीच मध्यमवर्गीय युवाहरूलाई विश्व क्रान्तिको एक अंग बन्ने सपनाले प्रेरित गरेको थियो ।

तर, यसका स्थानीय कारण छँदै थिएनन् भन्ने हैन । झापा आफैँमा एक अनौठो सामाजिक समिश्रण भएको जिल्ला हो । कोचे– मेचे जातीय समुदायको सबैभन्दा सघन बसोवास र बलियो सामाजिक राजनीतिक प्रभाव भएको जिल्ला झापा बराबर अरु कुनै छैन देशमा । पारी पट्टी नक्लसवादी आन्दोलनको प्रथम सैन्य कमान्डर बनेका जंगल संथाल नेपालतिरबाटै बसाइँ सरेका थिए । वीरेन राजवंशी लामो समय नेपालको जेलमा बसेर छुटेपछि भारततिरै गए ।

स्थानीय समुदायको यो जातीय सम्बन्धलाई झापाली युवाहरूले राजनीतिक रुपमा राम्रैसँग उपयोग गरेछन्। डेकेन्द्र राजवंशी तिनैमध्ये एक थिए, जसले पछि एमाले मुख्यालय बल्खुमा आत्महत्या गरे ।

निरोजले थप दुई कारण खोजेका छन् झापा विद्रोहको पृष्ठभूमिमा भएका । महेन्द्र राजमार्ग निर्माणसँगै पहाडबाट तराईमा भएको व्यापक आप्रवासन र २०२१ को भूमिसुधारपछि अन्यायपूर्ण भू-स्वामित्व वितरण कायमै रहनु । त्यो बेला बसाइँ सर्नु र भूमिहीन हुनुको पीडा असाध्यै गहिरा हुन्थे, जसले गर्दा कम्युनिस्ट पार्टीका नाराले जनसमुदायको ठूलो हिस्साको मन छुन्थ्यो।

झापा आन्दोलनबारे यसअघि नै धेरै चिज नलेखिएका हैनन् । तर, ती छोटा आलेख वा कम्युनिस्ट आन्दोलनको इतिहासभित्रको एक उप-अध्यायजस्तो मात्र थिए । ५२ वर्षपछि झापा विद्रोहका कतिपय कुरा विस्मृत हुन थालेको थियो । तर, यसमा संलग्न प्रभावित जीवित पात्रहरू अझै छँदैछन् । निरोजले अन्य सन्दर्भग्रन्थ पनि उपयोग गरेका छन् नै तर, मुख्य त ती मान्छेका स्मृति र अभिव्यक्तिलाई मुख्य आधार बनाएका छन् ।

यस दृष्टिकोणबाट झापा आन्दोलनबारे यतिको गतिलो किताब अहिलेसम्म लेखिएको थिएन भन्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved