नयाँ दल ‘खहरे’ कि पुराना दल ‘जमेका पोखरी’ ?

आत्मघाती बन्न सक्छ ‘अन्डर करेन्ट’ नदेख्ने आत्मरति

नयाँ दलहरूको उदयले पुराना दललाई आत्मसमीक्षा गर्ने अवसर दिएको हुनुपर्ने हो । आफ्ना गल्ती र कमजोरी पत्ता लगाएर त्यसबाट मुक्त हुने प्रयत्न गर्नुपर्ने हो । तर, पुराना दल अझै उल्टो बाटोमा छन् । उनीहरू आफ्नो अनुहारको धूलो धुनतिर हैन, ऐना पुछ्न व्यस्त छन् ।

नयाँ दल ‘खहरे’ कि पुराना दल ‘जमेका पोखरी’ ?

काठमाडौं। प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सञ्चारमाध्यमस‌ँग कुरा गर्दै भने–‘नयाँ दल खहरे हुन्, आउँछन् जान्छन् ।’

यद्यपि, यो कुनै नयाँ टिप्पणी नभएर पुरानै शब्दावली हो । ठीक यस्तै वाक्य कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको मुखबाट अघिल्लो महिना निस्केको थियो । शर्माले भनेका थिए– ‘नयाँ दल खहरे हुन् । खहरेबाट बिजुली निस्किँदैन।’

नयाँ दलप्रति कटाक्ष गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस महामन्त्री शर्माको वाक्य सापटी लिएका मात्रै हुन्।

राजनीति हो, आरोप प्रत्यारोप त भइरहन्छ । लोकतन्त्र हो–तर्क विर्तक पनि भइरहन्छ। लोकतान्त्रिक राजनीतिमा कुनै एक दलले अर्को दललाई गाली वा आलोचना गर्नु, फरक राजनीतिक विचार र प्रवृत्तिलाई ‘होचो’ देखाउनु कुनै ठूलो कुरा हैन । यस अर्थमा महामन्त्री शर्मा र प्रधानमन्त्री प्रचण्डका टिप्पणी खासै धेरै महत्त्व दिन पर्ने प्रकारका चाहिँ हैनन्।

तर, देशमा विकसित हुँदै गएको नयाँ राजनीतिक प्रवृत्ति र दलहरूबारे माओवादी र कांग्रेसको बुझाई यही हो ? नयाँ दलहरूको उदयमा यही र यति मात्र कारण छ ? कि यसको कुनै वस्तुगत आधार र अन्तर्निहित प्रवाह छ ? निसन्देह यसका निश्चित आधार छन्, जो कांग्रेस, कम्युनिस्टले स्वीकार गर्न सकिरहेका छैनन् ।

तसर्थ, ठोकेरै भन्न सकिन्छ,– शर्मा र दाहालका अभिव्यक्ति एक प्रकारका आत्मरति हुन् । समयको अन्तरप्रवाहलाई बुझ्न नचाहने प्रवृत्तिका द्योतक हुन् । यस्तो आत्मरतिको नोक्सानी अन्ततः पुरानै दलहरूलाई हुने हो ।

‘अन्डर करेन्ट’ को जादुगरी

विज्ञान जगतमा एक रोचक कथा छ– थोमस अल्वा एडिसन र निकोला टेस्ला बीचको । एडिसन एक महान् आविष्कारकर्ता त थिए नै, साथै प्याटेन्ट र पैसाका लोभी पनि थिए । उनी ब्याट्री बेचेर कुस्त पैसा कमाउन चाहन्थे । तसर्थ, उनी ‘डिसी’ का समर्थक थिए ।

निकोला टेस्लामा कुनै लोभ थिएन । न प्याटेन्टको न पैसाको न जस, नाम र ख्यातिको । उनी एक नि:स्वार्थी र प्रतिबद्ध आविष्कारक थिए । आफ्ना सबै आविष्कार एडिसनले जस्तो पैसा र ख्याति कमाउनका लागि हैनन्, मानव जातिको कल्याणका लागि हुन भन्ने उनको सोच थियो । तसर्थ, उनी ‘एसी’ का समर्थक थिए । डीसी भन्दा एसी बढी प्रभावकारी हुने उनको धारणा र दाबी थियो ।

यो विवाद यति चर्को भयो कि टेस्लाले आविष्कार र पैरवी गरेको एसी कति खतरनाक छ भन्ने पुष्टि गर्न एडिसनले करेन्ट प्रवाह भएको तार छुवाएर सार्वजनिक स्थलमै हात्ती मारेर प्रदर्शन गरे । एउटा सानो तार छुवाउँदैमा त्यति ठूलो र बलियो जनावर कसरी मर्‍यो ? संसार छक्क पर्‍यो । तारभित्र ‘एसी’ छ भनेर कसैले बुझेन, कसैले देखेन । त्यो बेला ब्याट्रीबाट बत्ती बल्छ भन्ने कुरा मान्छे बुझ्थे तर डाइनामो वा टर्बाइनबाट निस्किएको करेन्ट टाढा-टाढा सम्म पठाउन सकिन्छ भन्ने बुझ्दैनथे ।

आज संसारमा जति पनि विद्युतीय क्रान्ति भएको छ, त्यो मूलतः एसीमा आधारित छ । तर, करेन्ट त अहिले पनि देखिँदैन ।

प्रचण्ड र शर्माले देख्न नचाहेको अन्तरप्रवाह 

नयाँ दल र राजनीतिक प्रवृत्तिको उदय यस्तै एउटा उन्नत अन्तरप्रवाह हो । बालेन शाह र हर्क सम्पाङहरूको उदय पुराना दलहरूले स्वीकार गरेर भएको हैन । यी यसरी आउँछन् भन्ने तिनले सपनामा पनि सोचेका थिएनन् । रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको उदय पुराना दलहरूले मनपराएर भएको हैन । तिनले त खेलाँची ठानेका थिए । नयाँ दलहरूको उदयमा पुराना दल र नेताहरूको टिप्पणीले खासै अर्थ राख्दैन।

माओवादी अध्यक्ष प्रचण्ड वा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा त यहाँ प्रतिनिधि पात्र मात्र हुन् । खासमा यो समस्या सबै पुराना दल र नेताहरूको हो । विशेषतः कांग्रेस र कम्युनिस्ट प्रवृत्तिको समस्या हो ।

जसरी थोमस एल्बा एडिसनलाई ब्याट्री बेचेर पैसा कमाउनु थियो, एसी लोकप्रिय हुँदै गएमा ब्याट्री नबिक्ला भन्ने चिन्ता थियो, आफ्ना ब्याट्री कारखाना र वर्कसप बन्द होलान्, त्यसमा लागेको लगानी खेर जाला भन्ने पीर थियो, कांग्रेस कम्युनिस्टहरूको पीर आज ठीक त्यस्तै हो ।

नयाँ दलहरू बढ्दै जाँदा, नयाँ राजनीतिक सोच, चिन्तन, आन्दोलन र प्रवृत्ति विस्तारित हुँदै जाँदा आफ्नो दोकान बन्द होलान् भन्ने कांग्रेस–कम्युनिस्टमा ठूलो पीर छ । यस्तो पीरले सताइएको मान्छेले यात समाजको अन्तरप्रवाहलाई बुझ्दैन वा बुझे पनि त्यसको दुरुपयोग गरेर ‘हात्ती मार्न’ तिर लाग्छ, आम जनताका अध्याँरा घर-घरमा बत्ती बाल्नतिर हैन ।

एउटा भनाइ छ– साना मान्छेहरूको निचताभन्दा ठूला मान्छेहरूको दुष्टता बढी हानिकारक हुन्छ । एडिसन नि:सन्देह ठूला आविष्कारक थिए । तर, टेस्लासँगको प्रतिशोध र अहंकार तुष्टिका लागि जसरी उनले एसीको दुरुपयोग गरी सार्वजनिक स्थलमा हात्ती मारेका थिए, त्यो दुष्टता थियो ।

‘नयाँ’ जति सबैलाई खहरे ठान्नु र निरन्तर सुक्न थालेको आफ्नो तुरतुरे मुहानलाई भने महानदी देख्नु त्यस्तै एक दुष्टता हो । साना दलहरूको क्षुद्रताभन्दा बढी हानिकारक दुष्टता ।

अजम्बरी हुँदैनन् राजनीतिक दल

गति प्रकृतिको एक स्वाभाविक नियम हो । राजनीतिक परिवर्तन सामाजिक गतिको परिचायक हो । समाजको गतिलाई कसैले नियन्त्रण गर्न सक्दैन । प्रकृति र समाज निरन्तर आफ्नै प्रवाहमा हुन्छ। राजनीतिक दल र नेतृत्वले त्यसको गतिसँग आफ्नो प्रवाहलाई मिलाउन सक्नुपर्दछ । अन्यथा समयले कसैलाई विशेष माया गर्दैन । जब समयले साथ छोड्छ, डाँको छोडेर रोए पनि केही हुँदैन ।

संसारमा ठूल्ठूला भनिएका दलहरू या त, समाप्त भएका वा यता उल्लेखनीय ढंगले कमजोर भएका कयौं उदाहरण छन् । दलहरू सानो ठूलो हुने प्रक्रिया त अझ सामान्य हो, ठूल्ठूला र शक्तिशाली भनिएको साम्राज्य र शसन प्रणाली तथा व्यवस्था ढलेका छन् ।

कुनै बेला सूर्य न अस्ताउने भनिएको अंग्रेज साम्राज्य आज छैन । कुनै बेला महाशक्ति भनिएको सोभियत संघ आज छैन ।

चीनमा एक विशालकाय राजनीतिक दल थियो– क्वोमिन्ताङ । डा. सन यात सेनजस्ता लोकप्रिय राजनेताले स्थापना गरेको । सन् १९११ को चिनियाँ गणतान्त्रिक क्रान्तिमा ठूलो योगदान गरेको, आखिरमा समाप्त भयो ।

भारतमा भाजपाभन्दा भारतीय राष्ट्रिय कांग्रेस र भारतीय कम्युनिस्ट पार्टी धेरै ठूलो दल थिए । भाकपाले पश्चिम बंगालमा ३४ र त्रिपुरामा २६ वर्ष निरन्तर शासन गरेको थियो । अहिले केरलाबाहेक अन्यत्र सबैतिर लगभग समाप्त भएको छ । करिब ५५ वर्ष देशको नेतृत्व गरेको कांग्रेस निकै कमजोर भएको छ ।

दलहरूले इतिहासको कुनै एक कालखण्डलाई देखाएर अहंकार पाल्नु निरर्थक हो । समयको गतिसँग एकाकार हुन नसक्ने दल र नेतृत्वलाई समाजले पर्खिदैन। किनकि, राजनीतिक दल साधन हो, साध्य हैन। नेताहरू साधक हुन्, लक्ष्य हैन । साधन नै साध्य बन्न खोज्यो, साधक नै बाधक बन्न खोज्यो भने तिनको पतनलाई कसैले रोक्न सक्दैन ।

कुनै पनि राजनीतिक दल अजम्बरी हुँदैन । राम्रो गर्न सके दीर्घायु हुन्छ, नराम्रो गरे अल्पायु हुन्छ । कुरा त्यति हो ।

कांक लोकतन्त्र अझै कतिञ्जेल ?

२०४६ साल यताको तीन दशकभन्दा बढी समयलाई ‘कांक लोकतन्त्र’ को शासनकाल अर्थात् कांग्रेस र कम्युनिस्टको आलोपालो वा संयुक्त शासनको अवधि मान्न सकिन्छ । भलै कि त्यसभित्र केही अपवाद छन् । ज्ञानेन्द्र शाहको कु र प्रत्यक्ष शासन छ । माओवादी जनयुद्धले सिर्जना गरेको असजिलो छ ।

समस्यारहित त दुनियाँमा के हुन्छ ? तर, ठीक यति नै समयमा संसारका कयौं देशहरू कहाँबाट कहाँ पुगेका छन् ।

सन् १९६० मा दक्षिण कोरिया ७० डलर प्रतिव्यक्ति आए भएको एक कमजोर मुलुक थियो । ३ दशकपछि सन् १९९० मा करिब ९ हजार डलर प्रतिव्यक्ति आएको भएको देश भइसकेको थियो ।

सन् १९६० मा सिंगापुर संसारकै सबैभन्दा कमजोर टापु मानिन्थ्यो । सन् १९६० मा तेस्रो विश्वबाट ‘पहिलो विश्व’ मा पुगिसकेको थियो । दक्षिण कोरिया र सिंगापुर त संसारकै अद्वितीय उदाहरण भए । लौ, अपवाद भन्दिऊँ।

पछिल्ला तीव्र आर्थिक विकास गरिरहेका देशहरू कम्बोडिया, थाइल्यान्ड, दक्षिण अफ्रिका, रुवान्डा, युगान्डा, इथियोपिया लगायतसँग तुलना गर्ने हो भने नेपालभन्दा ती कहाँ हो कहाँ अगाडि गइरहेका छन् ।

छिमेकमा चीन सन् १९७८ यताको ३ दशकमा संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको छ । अर्को छिमेकी भारत सन् १९९० यताको ३ दशकमा संसारको पाँचौँ ठूलो अर्थतन्त्र भएको छ ।

यो परिदृष्यमा नेपाल कहाँ छ ? कांग्रेस–कम्युनिस्टहरूले यसको उत्तर खोज्ने र आत्मसमीक्षा गर्ने कि नयाँ दलहरूको अनावश्यक निन्दा र चियोचर्चो गर्ने ? आफू पनि केही गर्न नसक्ने र जनताले विकल्पको खोजी वा निर्माण पनि नगरून् भन्ने हो भने त्यो त सरासर प्रगतिविरोधी कुरा भयो । एक प्रकारको प्रतिगामी कुरा भयो ।

आखिर कांग्रेस–कम्युनिस्टहरूलाई कतिपटक र कति समय मौका दिनुपर्ने हो ?

नयाँ दल खहरे कि वसन्तका पालुवा ?

नयाँ दल भर्खरै उम्रिदैछन् । पहिलो कुरा, यो भनिन्थ्यो कि नेपालमा नयाँ दलको उदय नै हुन सक्दैन। राम्रो भने पनि नराम्रा भने पनि कांग्रेस–कम्युनिस्ट नै हुन् । देश कांग्रेस–कम्युनिस्टको द्विदलीय बिर्ता हो । अरु कोही ‘माइकालाल’ छैन यहाँ ।

कांग्रेस–कम्युनिस्टका नेताहरू सिधै भन्थे– कोही छ ? छ भने आऊ ? सक्छौं भने गरेर देखाऊ हामीभन्दा राम्रो ? उनीहरूमा बढो गज्जबको आत्मविश्वास थियो कि यो देशमा नयाँ राजनीतिक दल र प्रवृत्तिको जन्म नै हुन सक्दैन ।

कांग्रेस–कम्युनिस्ट आफूलाई निस्कन्ट ठान्थे । विकल्परहित ठान्थे । आफ्नो इतिहास र संगठन सञ्जालमा बढो ठूलो विश्वास वा भरोसा गर्थे । आज उनीहरूले स्वीकार गर्नुपरेको छ– जनताले साथ छोडे भने पुराना दल केही हैनन्, कहीँका रहँदैनन् । जनताले चाहे भने नयाँ दलहरूको विकास हुन सक्दछ । भइरहेको छ ।

पुराना दलहरूको यस्तो हुंकार र अहंकारले देशको राजनीति हेमन्तझैं चिसो र शिशिरझैं उजाड भइसकेको थियो । नयाँ दलहरू तातो हावा चल्ने र सबै सम्भावनाका पातहरू खस्ने वैरागलाग्दो शिशिरपछि पलाएका वसन्तका नयाँ पालुवाहरू हुन् ।

वसन्तका सबै पालुवा हुर्किन्छन्, बढ्छन, फुल्छन् र फल दिन्छन् भन्ने ग्यारेन्टी हुँदैन । अहिलेका नयाँले गर्न नसके फेरि अरु नयाँ आउँलान्, तर केही न केही नयाँ त जरुरी थियो ।

पुराना दलहरूले नयाँ दलहरूलाई गाली गरिरहँदा यो ऐतिहासिक आवश्यकता र जनआकांक्षामाथि समेत तातो पानी खन्याइरहेका हुन्छन्, जो उनीहरूका लागि झनै प्रत्युत्पादक हुन सक्दछ ।

अनुहार पुछ्ने कि ऐना ?

आज कांग्रेस–कम्युनिस्ट सामु यो ठूलो प्रश्न छ– गालिवको चर्चित कविताजस्तै ऐना पुछ्ने कि अनुहार धुने ? धूलो कहाँ छ ? कुनै बेला उनले भनेका थिए– गालिब जीवनभरि यो गल्ती गर्दै रह्यो, धूलो अनुहारमा थियो, ऐना पुछ्दै रह्यो ।

नयाँ दलहरूको उदयले पुराना दललाई आत्मसमीक्षा गर्ने अवसर दिएको हुनुपर्ने हो । उनीहरूले जनता र मतदाताले विशेषतः शहरिया मध्यम वर्ग, विदेसिएका नेपाली र युवा पुस्ताले किन पुराना दललाई समर्थन गर्न र भोट हाल्न छोडे भनेर गम्भीर समीक्षा गर्नुपर्ने हो । आफ्ना गल्ती र कमजोरी पत्ता लगाएर त्यसबाट मुक्त हुने प्रयत्न गर्नुपर्ने हो ।

तर, पुराना दल अझै उल्टो बाटोमा छन् । उनीहरू आफ्नो अनुहारको धूलो धुनतिर हैन, अझै ऐना पुछ्न उद्यत छन् । ऐना पुछेर अनुहारको धूलो जाँदैन । यति सानो कुरा पुराना दल र तिनका नेतालाई कसले बुझाइदिने ? तिनीहरू आफैँले कहिले बुझ्ने ?

पुराना दलहरूको कमजोरीले नयाँ दलहरूको उदय भएको हो वा नयाँ दलहरू उदाएर पुराना दलहरू कमजोर भएका हुन् ? यो त्यस्तै प्रश्न हो, जस्तो कि अनुहारमा धूलो भएर ऐनाले देखाएको हो कि ऐनाले देखाएको कारणले अनुहारमा धूलो जमेको हो ?

यदि, अनुहारमा धूलो छैन भने ऐनाले देखाउन सक्दैन । यदि, पुराना दलहरू ठीकठाक चलेका हुन्थे भने नयाँ दलको उदय नै हुन्थेन ।

सिंगापुरमा अनौठो उदाहरण छ– एउटै दल निरन्तर ६० वर्षदेखि सत्तामा बसेको, त्यो पनि कुनै एकदलीय प्रणालीमा हैन, बहुदलीय प्रणालीमा बकाइदा आवधिक चुनाव सामना गरेर । दल जनआकांक्षा र देशको प्रगतिसँग जोडिए भने तिनलाई कसैले हल्लाउन सक्दैन ।

आफैँ ‘जमेका पोखरी’ जस्ता बनेका पुराना दलहरूले भर्खरै बग्न थालेका साना र नयाँ नदीहरूलाई ‘खहरे’ भन्नुको ठूलो अर्थ रहँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved