परिवारभित्रैबाट उत्तराधिकारी खोज्दैछन् प्रचण्ड ?

माओवादीभित्र नयाँ समीकरण बन्नसक्छ !

प्रचण्डले मूलत: छोरीहरू रेनु र गङ्गाको राजनीतिक व्यवस्थापनसँगै छवि निर्माण र सम्बन्ध विस्तारमा पनि विशेष ध्यान दिएको देखिन्छ । पूर्वसभासदसमेत रहेकी रेनु अहिले भरतपुर महानगरपालिकाकी प्रमुख र गङ्गा प्रचण्डको स्वकीय सचिव छन् ।

परिवारभित्रैबाट उत्तराधिकारी खोज्दैछन् प्रचण्ड ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०६७ मा पालुङटारमा बसेको विस्तारित बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ र वर्षमान पुन ‘अनन्त’ लाई उत्तराधिकारी घोषणा गरे । तर, अरु नेताहरूले असन्तुष्टि जनाउँदै विरोध गरेपछि अर्को दिन उनले ‘पार्टीका सबै युवा मेरा उत्तराधिकारी हुन्’ भनेर बोले ।

त्यसयता प्रचण्डले आफ्नो उत्तराधिकारी यो या त्यो भनेर बोलेका छैनन् । बरु उनले माओले लिम्पियालाई उत्तराधिकारी घोषणा गरेर गरेको गल्ती आफूले नदोहोर्‍याउने बताउने गरेका छन् ।

४ दशकसम्म आफैँ नेतृत्वमा रहेको सन्दर्भले आमरूपमा आलोचित हुँदै आएका प्रचण्डले हिजोआज भन्ने गरेका छन्— स्पष्ट नीति र विचार बोक्नेहरू कोही देख्दिनँ, कसैले गरिखालान् जस्तो लागेको छैन ।

यहीबीच जारी केन्द्रीय कमिटी बैठकमा प्रचण्डका उत्तराधिकारीबारे सवाल उठेका छन् । उपमहासचिवद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ ले अध्यक्ष प्रचण्डको उत्तराधिकारी घोषणा गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । यी दुई नेता पार्टीभित्र बलशाली प्रभाव राखेका नेता हुन् । उनीहरूले पार्टीभित्र आ-आफ्नै गुट सञ्चालन गरेका छन्, जो पछिल्लो समय एउटै कित्तामा उभिन आइपुगेका छन् ।

२०६९ सालमै आफ्नो साथ छाडेर बाहिरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा भित्र्याएर महासचिव बनाउने तयारी प्रचण्डले थालेपछि तरङ्गित बनेका वर्षमान-जनार्दनको संयुक्त स्वर छ—प्रचण्डको उत्तराधिकारी कार्यकर्ताकै बीचबाट खोजिनुपर्छ ।

वर्षमान र जनार्दन दुवै पार्टीको ८औं राष्ट्रिय महाधिवेशनमा महासचिव पदका आकांक्षी थिए । तर, अन्तिममा प्रचण्डले एकपटक आफ्नो साथ छाडेर पुन: फर्किएका देवप्रसाद गुरुङलाई महासचिव बनाइदिए । यसबारे पनि उनीहरूले बैठकमा प्रचण्डलाई प्रश्न गरेका छन्—हामी हुँदाहुँदै बाहिरबाट समाधान खोज्नुपर्ने केचाहिँ आपत् आइलाग्यो, हामीले जसलाई बनाएपनि स्वीकार्ने भनेकै थियौँ ।

जनार्दनले त यसबारे त्यसबेलै सार्वजनिकरूपमै प्रचण्डसँग मुकाबिला गरेका थिए । २०७९ भदौ २२ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भनेका थिए—म पार्टीका उपमहासचिवका रूपमा नभइ सङ्गठन विभाग प्रमुखका रूपमा बोल्दैछु ।

अर्थात् उनले महासचिव नपाएपछि उपमहासचिव पद अस्वीकार गरेका थिए ।

माओवादी केन्द्र : पार्टी कि फ्यान क्लब ? ‘माओवाद’ को नियति कि ‘प्रचण्डपथ’ को दुर्गति ?

शान्त तर, रणनीतिक स्वभावका वर्षमानले भने सार्वजनिकरूपमै असन्तुष्टचाहिँ पोखेका छैनन् । यद्यपि उनी निर्विरोधरूपमा महासचिव बन्न चाहन्थे । महाधिवेशनताका चीनमा उपचाररत रहेका उनले त्यहीँबाटै महासचिवका लागि ‘लबिइङ्ग’ गरेका थिए ।

त्यसपछि एकअर्कोका कारण आफू महासचिव बन्न नपाएको बुझाइमा रहेका वर्षमान-जनार्दन विप्लव महासचिव बन्ने कुराले भने एकैठाउँ उभ्याइदिएको छ । यसअघि पार्टीभित्र प्रतिस्पर्धी भनेर चिनिएका उनीहरूबीच अहिले भने एक आपसमा मिलेर जाने ‘भद्र सहमति’ नै भएको बताइएको छ ।

परिवारभित्रैबाट आफ्नो उत्तराधिकारी खोज्दैछन् प्रचण्ड ?

राष्ट्रिय राजनीतिमा ‘ओभरग्राउन्डेट’ भएयता नै प्रचण्ड परिवारवाद र स्वार्थ समूहबाट टाढा रहन सकेका छैनन् । जसको पार्टीभित्र र बाहिर मज्जैले आलोचना हुने गरेको छ, जारी केन्द्रीय कमिटी बैठकमा पनि यसले निरन्तरता पाएको छ । अधिकांश केन्द्रीय कमिटी सदस्यले यही विषय उठाएका छन् ।

हुन पनि शान्ति प्रक्रियामा आएपछि उनले परिवारका सदस्यहरूको राजनीतिक व्यवस्थापनमा उच्च ध्यान दिएको देखिन्छ । छोरा-बुहारी, छोरी-ज्वाइँदेखि भाइहरूको व्यवस्थापन प्रचण्डले गरेकै छन् ।

त्यसो त प्रचण्डले आफ्नो उत्तराधिकारी पनि परिवारबाटै खोजिरहेका त छैनन् ? माओवादीका दोस्रो र तेस्रो नेताका बीचमा कहिलेकाहीँ चर्चाको विषय हुने गरेको छ । उसो त पछिल्लो समय प्रचण्ड परिवारमा उत्तराधिकारीबारे छलफल हुने गरेको छ । प्रचण्डकी कान्छी छोरी गङ्गा दाहालले निकटस्थलाई यसबारे बताउने गरेकी छन् ।

ती पारिवारिक छलफलहरूमा प्रचण्डका उत्तराधिकारीबारे छलफल हुने गरेको ती नेताहरू बताउँछन् । छलफलका बीच उत्तराधिकारी सिधै तेस्रो पुस्तातिर सोझ्याउन सकिनेसम्मका निष्कर्ष निस्कने निकटस्थहरू बताउँछन् ।

यसबारे लेखक तथा पत्रकार नेत्र पन्थीले आफ्नो किताब ‘लेफ्ट-राइट’मा यसरी उल्लेख गरेका छन्—प्रचण्डको परिवारमा जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतजस्ता दोस्रो तहका नेतालाई उत्तराधिकारी बनाउन हुँदैन भन्ने सहमतिजस्तै छ । उनीहरूलाई आपसमा लडेको देखाएर पुराना नेतालाई साथमा लिने र उपयुक्त समय र सन्दर्भ मिलाएर नेतृत्व तेस्रो पुस्तामा अर्थात् परिवारभित्रै लैजाने रणनीति बनेको बताइन्छ ।

यसअघि उत्तराधिकारीबारे प्रचण्डका माइली छोरी, जो अहिले भरतपुर महानगरपालिकाकी प्रमुख छिन्, रेनु दाहालले पनि बोलेकी थिइन् । रेनुकाअनुसार त्यस्तो छलफल निकै पहिलेबाट परिवारमा हुन्थ्यो । २०७४ सालमै एक अन्तर्वार्तामा उनले भनेकी थिइन्— उत्तराधिकारी भन्ने कुरा आफूले कल्पना गरेर हुने पनि होइन । पार्टीमा काम गर्दै जाँदा स्वत:स्फूर्तरूपमा नेता, कार्यकर्ता, जनताको मन जित्न सक्नुपर्‍यो । अहिलेदेखि नै मैले उत्तराधिकारी बन्ने लक्ष्य राखेँ भने नहुन पनि सक्छु। जनताको सेवा गर्दै जाँदा भोलि त्यो जिम्मेवारी आउन पनि सक्छ । बुवा (प्रचण्ड) ले सधैँ जनताको पक्षमा काम गर्नू भन्नुभएको छ ।

उसो त प्रचण्डले मूलत: छोरीहरू रेनु र गङ्गाको राजनीतिक व्यवस्थापनसँगै छवि निर्माण र सम्बन्ध विस्तारमा पनि विशेष ध्यान दिएको देखिन्छ । पूर्वसभासदसमेत रहेकी रेनु अहिले भरतपुर महानगरपालिकाकी प्रमुख र गङ्गा प्रचण्डको स्वकीय सचिव छन् । यहीकारण त प्रचण्ड सधैँ आलोचनाको सिकार बन्ने गर्दछन् ।

प्रचण्ड पहिलेको आफ्नो निर्वाचन क्षेत्र चितवन गइरहन्छन् । त्यहाँ पुग्दा उनले छोरी रेनुलाई हरेक मञ्चमा आफैँसँग राखेकै हुन्छन् । भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने अधिकांश योजनाहरू प्रचण्डकै सल्लाहमा सञ्चालन गर्छिन् रेनु । यसकारण रेनुको पनि व्यापक आलोचना हुने गरेको छ— बुवाको सल्लाहबिना रेनु कुनै काम गर्नै सक्दिनन् ।

गङ्गाको सम्बन्ध विस्तारमा पनि विशेष ध्यान दिन्छन् प्रचण्ड । प्रधानमन्त्री भएपछि आफूलाई भेट्न आउने कतिपयलाई ‘गङ्गामार्फत आउनू’ भनेर भनेको विषय बाहिर आएको थियो । यसअघि प्रचण्ड भारत भ्रमणमा जाँदा उच्चस्तरीय भेटमा गङ्गा सामेल भइन् भने साथमै भारत पुगेका सरकारका मन्त्रीहरू सहभागी भएनन् । जसको पनि व्यापक आलोचना भएको थियो । यस अर्थमा प्रचण्ड छोरीहरू पार्टीभित्र निर्णायकरूपमा अगाडि बढून् भन्ने चाहन्छन् ।

माओवादीभित्र नयाँ समीकरण बन्नसक्छ ?

आफूहरूलाई प्रचण्डले आफ्नो उत्तराधिकारी नबनाउने पारिवारिक निष्कर्षबारे सम्भवत: वर्षमान, जनार्दन, शक्तिलगायतका दोस्रो तहका नेताहरू जानकार छन् । जसकारण उनीहरू अहिले एकैठाउँ छन् । उपमहासचिवद्वय वर्षमान र जनार्दनको आवाजमा आफ्नो आवाज मिसाउने गरेका छन् पछिल्लो समय अर्का उपमहासचिव शक्तिले पनि ।

यसकारण वर्षमान-जनार्दनबीच आपसलाई साथ दिने ‘भद्र सहमति’ नै बनेको चर्चा माओवादी वृत्तमा छ । त्यसो त यी दुई नेता मिले भने पार्टीभित्र हलचल नआउने भने होइन । किनकि यी दुई नेतासँग पार्टीभित्र शक्तिशाली समूह छ । उनीहरूले चाहे पार्टीभित्रै वा बाहिर कुनै पनि खाले कदम चाल्नसक्ने आकलनसमेत सुरू भएको छ ।

माओवादीका एक नेता यसलाई नकार्न नसकिने बताउँछन् । नेपालभ्यूजसँग उनले भने, “लामो समययता पार्टी विधानसम्मत चलेको छैन । जीर्ण अवस्थामा पुगेको छ पार्टी । नेताहरू जनताकहाँ जान भुलेका छन् । पार्टी गुट-उपगुटले खाएको छ । अब यसरी कतिन्जेल बस्ने भन्ने पनि सवालहरू उठ्छन् कहिलेकाहीँ । तपाईंले भन्नुभएको तथ्य नकार्न सकिन्न । तर, त्यसलाई रोक्ने हाम्रो प्रयत्न सधैँ रहन्छ ।” ती नेता विचार मिल्ने कम्युनिष्ट पार्टीहरूसँग एकता गर्नुअघि आफ्नो पार्टी सुदृढ हुनुपर्ने बताउँछन् ।

अनन्त-प्रभाकरबीच स्वार्थको मिलन !

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य माओवादी अहिल्यै नफुट्ने तर, थप कमजोर हुने बताउँछन् । माओवादी पार्टी नै नबनिसकेको उल्लेख गर्दै आचार्य माओवादीलाई राष्ट्रिय पार्टी बन्न गाह्रो पर्ने विश्लेषण गर्छन् । प्रचण्डले आफ्नो उत्तराधिकारी तेस्रो पुस्तातिर लान सक्ने र त्यसले पार्टी जीवन सकिने उनी बताउँछन् ।

प्रचण्डलाई भारतीय नेता मुलायम सिंह यादवसँग तुलना गर्दै विश्लेषक आचार्यले भने— कहिले छोरा, कहिले छोरी त कहिले ज्वाइँ बनाउने कुराले पार्टी बन्दैन । पार्टी, त्यसमा पनि कम्युनिष्ट पार्टीभित्र त सबैका लागि सम्मान अवसर र चुनौती हुनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved