अनन्त-प्रभाकरबीच स्वार्थको मिलन !

विप्लवलाई पार्टीमा ल्याएर महासचिव बनाउने प्रयासमा प्रचण्ड थिए । तर, त्यसविरुद्ध वर्षमान-जनार्दन मिलेपछि उनी केही हच्किएका छन् ।

अनन्त-प्रभाकरबीच स्वार्थको मिलन !

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेकपा (माओवादी केन्द्र) भित्रिएर महासचिव बन्ने कुरा अब नयाँ रहेन । यसको चर्चा लगभग सेलाइसकेको पनि छ ।

यद्यपि यस सन्दर्भमा नेतृत्व तहमा एउटा सहमति बनेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू बताउँछन् । सचिवालय सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भन्छन्, “विगतको आत्मसमीक्षा गर्दै पुन: एकैठाउँ हुनुको विकल्प छैन भन्ने कुरामा नेतृत्व तहमा सहमति नै भएको छ । सहकार्य-सहमति गर्दै गएर पछि सँगै हुने भन्ने बुझाइ र सहमति नेतृत्व तहमा सिर्जना भएको छ ।”

त्यसभन्दा अगाडि बढेर प्रकाण्ड भन्छन्- विप्लव महासचिव मात्रै किन, सहकार्य र सहमति हुँदै गयो भने अध्यक्ष नै पनि बन्न सक्नुहुन्छ, त्यो क्षमता राख्नुहुन्छ ।

तर, माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ भने विप्लवलाई महासचिव बन्न रोक्ने रणनीतिमा छन् । यो कुरामा उनीहरू एकमत छन् ।

‘सहमति हुँदै गयो भने विप्लव माओवादीको महासचिव मात्रै होइन, अध्यक्ष नै बन्नुहुन्छ’

त्यसो त पार्टीभित्र उनीहरू आ-आफ्नै गुट सञ्चालन गरेर बस्ने नेतामध्ये पर्छन् । त्यहीकारण उनीहरूबीच पार्टीभित्र खास हार्दिकताको सम्बन्ध छैन । त्यसको पटाक्षेप पार्टीको ८‍औं राष्ट्रिय महाधिवेशनमा पनि देखिएको थियो । त्यसताका दुवैले आफूलाई महासचिवको रूपमा प्रस्तुत गरेका थिए । पछि अवस्था यस्तो बन्यो कि— आपसले महासचिवका रूपमा स्वीकारेर बस्ने स्थिति नै रहेन ।

त्यो बुझेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपटक आफ्नो साथ छाडेर पुन: फर्किएका देवप्रसाद गुरुङलाई महासचिव बनाए । अहिले त्यही महासचिव पदमा ‘ट्वीस्ट्’ आएको छ ।

यहीबीचमा विप्लवलाई पार्टीमा ल्याएर महासचिव बनाउने प्रयासमा प्रचण्ड थिए । तर, त्यसविरुद्ध वर्षमान-जनार्दन मिलेपछि उनी केही हच्किएका छन् ।

कायमै छ विप्लवमा ‘वामपन्थी बालरोग’, प्रचण्ड आफ्नो खुट्टामा बञ्चरो हान्न तयार होलान् ?

जनयुद्धदेखि नै समधुर सम्बन्ध नरहेका वर्षमान-जनार्दन विप्लवलाई महासचिव बनाउने कुराले भने एक बनाएको छ । यस मानेमा उनीहरूको गुट फरक भएपनि ‘नियति’ उही छ । भनिन्छ— यस मानेमा उनीहरूले एक हुने र सँगै सामना गर्ने मौखिक सहमति नै बनाएका छन् ।

उसो त माओवादी केन्द्रमा वर्षमान र जनार्दन मिले प्रचण्डलाई समेत अप्ठ्यारो पर्ने स्थिति बन्नसक्छ, जुन प्रचण्डले राम्रोसँग बुझेका छन् । यहीकारण पनि उनी हच्किएका हुन् । उनले आफ्नो विश्वासपात्र पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालाई विप्लवसँग संवादको जिम्मा दिएका छन् । केही समयअघिसम्म महराले विप्लवसँग लगातार संवाद गर्थे । तर, पछिल्लो केही दिनयता उनीहरूबीच पनि भेट भएको छैन । सम्भवत: वर्षमान-जनार्दन चाल बुझेर हुनुपर्छ ।

गत असार २१ त्रिभुवन विश्वविद्यालयमा अखिल क्रान्तिकारीको स्ववियू काउन्सिलको तेस्रो राष्ट्रिय भेलामा वर्षमान र जनार्दनले महासचिवका रूपमा विप्लवलाई नस्वीकार्ने सङ्केत गरिसकेका छन् । उनीहरू दुवैले बाहिरबाट कोहीलाई मित्र्याएर पार्टी नबन्नेमा जोड दिएका थिए ।

विप्लव बन्लान् त माओवादीको महासचिव ? जनार्दन र वर्षमान मिले के होला ?

यद्यपि उनीहरू सार्वजनिकरूपमा भने यसबारे कुनै चासो नै नभएको जस्तो व्यक्त हुन्छन् । वर्षमान भन्छन्, “अहिले महासचिवको कुरै छैन । न कुनै महाधिवेशन नै हुँदैछ, न केही । अहिले बहस नै छैन । यसमा धेरै बोल्नुपर्ने कुरै छैन ।”

जनार्दन पनि वर्षमानकै शैलीमा अनभिज्ञता प्रकट गर्छन् । “अहिले महासचिवको चर्चा नै छैन । अब महाधिवेशन पनि हुँदै छैन । हाम्रो महासचिव हुँदै हुनुहुन्छ देवप्रसाद गुरुङजी । केही साथीहरूले सञ्चारमाध्यममा फुक्ने काम गर्नुभएको हो, अरु केही होइन,” उनले भने ।

महासचिव देवप्रसाद गुरुङ पनि अहिले महासचिवको चर्चा स्वाभाविक नभएको बताउँछन् । यद्यपि उनी सन्तुष्ट भने छैनन् । “अहिले बहस त्यो स्तरसम्म पुगेको छैन । अब नीतिगतरूपमै त्यहाँसम्म पुगियो र एकता हुने भयो भने त्यसबेला छलफल गर्नुपर्ने विषय होला यो । तर, अहिल्यै धेरै भन्नु छैन,” उनले भने ।

वर्षमान र जनार्दनको ‘अभियान’मा अर्का उपमहासचिव शक्तिबहादुर बस्नेतको समेत साथ छ । माओवादी केन्द्रका एक नेता भन्छन्, “त्यहाँ उहाँहरू (वर्षमान-जनार्दन) मात्रै हुनुहुन्न, अरु कमरेडहरूले पनि त्यही भन्नुभएको छ ।” नाम बताउन भने ती नेता हिच्किचाए ।

त्यसअघि ती नेताले भने, “विप्लवजीलाई भित्र्याएर महासचिव बनाउने कुरा जसरी बाहिर आएको छ, त्यही तहमा छलफल भएकोचाहिँ होइन । तर, केही साथीहरूले पार्टीभित्र कुरा गर्नुभएको हो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved