टिप्पणी

विप्लव बन्लान् त माओवादीको महासचिव ? जनार्दन र वर्षमान मिले के होला ?

कम्युनिस्ट पार्टीमा अध्यक्षपछि महासचिव प्रमुख र कार्यकारी पद हो । पार्टी नेतृत्वको उत्तराधिकारीका रुपमा लिइने महासचिवमा विप्लव बस्नु पक्कै पनि जनार्दन र वर्षमानका लागि सहज हुनेछैन ।

नेपालभ्युज

विप्लव बन्लान् त माओवादीको महासचिव ? जनार्दन र वर्षमान मिले के होला ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको समाजवादी मोर्चामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि सामेल हुनुलाई निकै अर्थपूर्ण मानिएको छ ।

समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पूर्वमाओवादीहरू पुनः एक हुनुपर्ने बताए । त्यसअघि, पनि विभिन्न सन्दर्भमा उनले विप्लवसहितलाई एकताका लागि आह्वान गरिसकेका थिए ।

त्यस्तै, ‘प्रचण्ड भुत्ते भएको’ भन्दै बेग्लै पार्टी खोलेर क्रान्तिकारिता देखाएका विप्लव पनि अहिले निकै लचक भएका छन् । उनले समाजवादी मोर्चा बन्नुलाई ‘पार्टी एकताको प्रक्रियाका’का रूपमा अर्थ्याउने गरेका छन् ।

पछिल्लो समय प्रचण्ड र विप्लवका अभिव्यक्तिले दुवैलाई पार्टी एकताप्रति लालायित गरिरहेको संकेत गर्छ । यतिसम्म कि, पार्टी एकता हुँदा विप्लवलाई महासचिव दिनसमेत प्रचण्ड तयार रहेको बताइएको छ । तर, माओवादीको आन्तरिक किचलोभित्र विप्लवलाई पार्टी महासचिव सुम्पिनु सहज छैन ।

पार्टीका दुई प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’को कडा टक्करबीच प्रचण्डले देव गुरुङलाई महासचिव रोजेका थिए। तत्कालीन अवस्थामा दुई नेताबीचको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न प्रचण्डको उक्त ‘ट्याक्टिस’ सफल भए पनि अहिले विप्लवलाई महासचिव बनाउँदा माओवादीभित्र ठूलो विवाद हुन सक्ने सम्भावना छ ।

बरु महासचिवमा गुरुङलाई स्वीकार्ने तर एक–अर्कालाई नस्वीकार्ने जनार्दन र वर्षमानले विप्लवलाई स्वीकार्लान् ? प्रश्न पेचिलो छ । त्यस्तो अवस्थामा बरु यी दुवै एक ठाउँमा आउने सम्भावना छ । यसमा फेरि बहालवाला महासचिव देव गुरुङको व्यवस्थापन पनि अर्को जटिल विषय छ । शान्त स्वभावका गुरुङले यस विषयमा अहिलेसम्म मुख भने खोलेका छैनन् ।

विप्लवलाई महासचिव बनाउने मामलामा प्रचण्ड नै निर्णायक भए पनि जनार्दन र वर्षमानले साथ नदिएसम्म कठिन हुने निश्चित छ । विगतदेखि नै कट्टर प्रतिस्पर्धीको छवि बनाएका उनीहरूले यसलाई प्रतिष्ठाको विषय बनाउन सक्छन्।

कम्युनिस्ट पार्टीमा अध्यक्षपछि महासचिव प्रमुख र कार्यकारी पद हो । पार्टी नेतृत्वको उत्तराधिकारीका रूपमा लिइने महासचिवमा विप्लव बस्नु पक्कै पनि जनार्दन र वर्षमानका लागि सहज हुनेछैन । बीचबीचमा भौंतारिएका विप्लवलाई पार्टीको नेतृत्व नै सुम्पने तयारी गर्नु गलत भएको धेरै माओवादीको बुझाइ छ । यसले माओवादीमा फुटको बिज रोपिन सक्ने पनि कतिपय आशंका गर्छन् ।

अहिले विप्लवलाई माओवादीमा फर्काउन लागि परेका नेता हुन्, कृष्णबहादुर महरा । पार्टी महासचिव दिएरै भए पनि विप्लवलाई ल्याउनुपर्नेमा महराको जोड छ । र उनले यही विषयमा पटक–पटक कुराकानी गरिसकेका छन् । महराको प्रस्तावमा विप्लव लचक भएको बताइएको छ । पछिल्लो समय विप्लव प्रचण्डको प्रतिरक्षामा उत्रिनुले पनि पार्टी एकताका विषयमा भित्रभित्रै धेरै कुरा मिलिसकेको छनक दिन्छ ।

तर, यसमा विप्लवलाई विगतमा गरेको विद्रोहको औचित्य पुष्टि गर्नुपर्ने चुनौती पनि छ । विप्लव माओवादीमा फर्कने विषयमा राजनीतिक विश्लेषक सोमत घिमिरे भन्छन्, ‘अहिले माओवादीमै फर्कन त विप्लवले त्यतिविधि नाटक किन गर्नुपर्थ्यो र ?’

घिमिरेको बुझाइमा जनार्दन, वर्षमानहरूले विप्लवलाई सहजैरूपमा पार्टी महासचिव पनि स्वीकार्दैनन् । महासचिव भइहाले पनि विप्लवलाई पार्टीको तल्लो तहदेखि मिलाउन निकै कठिन हुनेछ।

आफूभन्दा तल्लो तहमा एक-अर्कालाई लडाएर सधैं निर्णायक बनिरहने प्रचण्डको पहिलेदेखि कै चरित्र हो । विगतमा उनले धेरै पटक यस्तो गरिसकेका छन् । अहिले फेरि एकपटक विप्लवलाई भित्र्याएर वर्षमान र जनार्दनलाई साइजमा राख्ने उनको योजना देखिन्छ ।

तर, यसपटक प्रचण्डलाई सहज छैन । पार्टीको संगठनमा वर्षमान र जनार्दनको राम्रो पकड छ । यी दुई मिलेमा विप्लवलाई सहजै महासचिवमा रोक्न सक्छन् । त्यति मात्रै हैन प्रचण्डकै  विरुद्धसमेत पार्टीमा ठूलो जनमत बनाउन सक्ने ल्याकत यी दुई नेतामा देखिन्छ ।

पछिल्लोपटक स्वास्थ्यका कारण वर्षमान कम सक्रिय छन्। जनार्दन पनि प्रचण्डसँग खासै सन्तुष्ट देखिँदैनन् । विप्लवलाई पार्टीमा भित्र्याएर महासचिव नै बनाउने तहको छलफल अघि बढ्न थालेपछि भने दुई नेताबीच संवाद बाक्लिन थालेको स्रोतको दाबी छ ।

यस्तो अवस्थामा प्रचण्डले विप्लवको पार्टीसँग एकता गरे पनि महासचिव नै बनाउन भने नसक्ने माओवादीका धेरै नेताको बुझाइ देखिन्छ । माओवादीभित्रको अन्तरसंघर्ष कसरी अघि बढ्छ भन्ने छनक सम्भवत: आगामी केन्द्रीय समिति बैठकले दिनेछ ।

यही २३ गते पार्टी केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यही बैठकमा विप्लव समूहसँगको एकताबारे छलफल हुने नेताहरू बताउँछन् । त्यसअघि, वर्षमान र जनार्दन मिले भने सम्भवत: प्रचण्डले बैठक टार्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved