‘सहमति हुँदै गयो भने विप्लव माओवादीको महासचिव मात्रै होइन, अध्यक्ष नै बन्नुहुन्छ’

नेपालभ्युज

‘सहमति हुँदै गयो भने विप्लव माओवादीको महासचिव मात्रै होइन, अध्यक्ष नै बन्नुहुन्छ’

काठमाडौं । विगतमा सँगै रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव सी’ नजिकिँदैछन् । समाजवादी मोर्चामार्फत एउटै कित्तामा उभिन आइपुगेका उनीहरू अब एउटै पार्टीमा रहने व्यापक चर्चा छ ।

सुनिन्छ— प्रचण्डले विप्लवलाई माओवादी भित्र्याएर महासचिव बनाउँदैछन् । १० वर्षे सशस्त्र जनआन्दोलन सँगै लडेका उनीहरू २०६९ सालमा छुट्टिएका थिए । त्यसबेला मोहन वैद्य ‘किरण’ का साथ प्रचण्डसँग छुट्टिएका विप्लव प्रकारान्तरले प्रचण्डसँग एउटै कित्तामा उभिन आइपुगेका छन् ।

विप्लव प्रचण्डसँग छुट्टिएको २ वर्षपछि २०७१ सालमा किरणसँग पनि छुटेका थिए । प्रचण्डले संसद्‌वाद मानेको र किरणले जनवादी क्रान्ति गर्न नसकेको आरोप लगाउँदै दुवैबाट अलग्गिएका उनले पछि ‘महापतन’ पुस्तक लेखे । त्यहाँ उनले निकालेको सटिक निष्कर्ष हो— संसद्‌वादी दलसँग एउटै कित्तामा उभिनु महापतनको बाटोमा जानू हो ।

‘महापतन’को बाटोमा विप्लव !

विप्लवको सवालमा अहिले यही भएको छ अर्थात् उनी संसद्‌वाद मान्ने प्रचण्डसँगै उभिन आइपुगेका छन् । उनको महापतनतिरको यात्राबारे धेरैठाउँ धेरैले लेखिसकेका छन्, दस्ताबेजीकरण गरिसकेका छन् । यहाँचाहिँ उनी माओवादी छिरेर नेतृत्व गर्नेबारे छलफल गर्न खोजिएको हो ।

विप्लव महासचिव बन्ने कुराले माओवादी वृत्तमा एकखाले ‘तरङ्ग’ नै पैदा गरेको छ । २०७८ पुसमा सम्पन्न पार्टीको ८‍औं राष्ट्रिय महाधिवेशनमा महासचिवका दाबेदारद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभावकर’ बीच यसविरुद्ध एकठाउँमा उभिने प्रारम्भिक सहमति नै बनिसकेको छ । फरक गुटका अनन्त र प्रभाकरले त्यसबेला एकआपसलाई महासचिवको रूपमा स्वीकारेर पार्टीमा रहन नसक्ने परिस्थिति देखेपछि प्रचण्डले देवप्रसाद गुरुङलाई महासचिव बनाए ।

तर, अब चाँडै आफू महासचिव बन्ने सपना देखिरहेका अनन्त-प्रभाकरलाई विप्लव महासचिव बन्ने कुराले भाउन्न छुटिरहेको छ । यस अर्थमा उनीहरूका गुट फरक भएपनि ‘नियति’ भने एउटै देखिएको छ ।

विप्लव बन्लान् त माओवादीको महासचिव ? जनार्दन र वर्षमान मिले के होला ?

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता नै हुने माओवादी नेताहरू बताउँछन् । यसका लागि प्रचण्डले उपाध्यक्षसमेत रहेका प्रवक्ता कृष्णबहादुर महरालाई जिम्मेवारी दिएका छन् । महरालाई सुन्ने हो भने संवाद तथा वार्ताहरू प्रगतिउन्मुख भइरहेका छन् । माओवादीका एक पदाधिकारी भन्छन्, “विप्लवजीसँग मात्रै होइन, नेपालका सबै कम्युनिष्ट एकठाउँ उभिनु जरुरी छ । उहाँहरूसँग त चाँडै नै पार्टी एकता हुने कुरा छ ।” ती पदाधिकारी पार्टीभित्रको विप्लवको ‘पोजिसन’बारे भने बोल्न मानेनन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यसमेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि माओवादी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता हुने बताउँछन् । “हामीले समाजवादी मोर्चामार्फत सहकार्य सुरू गरेका छौँ । यसले समाजवादी मोर्चामा सहभागी नभएका पार्टीहरूलाई पनि एकखाले प्रेसर दिइसकेको छ । र, यो आम जनताको चाहना पनि हो । नेता/कार्यकर्ताहरूको माग पनि हो । यो हामीले राम्रोसँग बुझेका छौँ,” प्रकाण्डले भने ।

माओवादीमा विप्लव महासचिव बन्नेबारे राखिएको जिज्ञासामा भने उनले सहकार्य र सहमति नै ठूलो कुरा रहेको बताए । भने, “सहकार्य र सहमति हुँदै गयो भने त विप्लव महासचिव मात्रै होइन किन ? अध्यक्ष नै पनि बन्न सक्नुहुन्छ नि ! त्यो क्षमता उहाँ राख्नुहुन्न र ?” उनले प्रतिप्रश्न गरे ।

तर, पहिले सबै सन्दर्भहरू मिल्दै जानुपर्ने, सहमति-सहकार्य हुँदै जानुपर्ने र त्यसका लागि अनुकूल वातावरण सिर्जना बन्दै जानुपर्ने भनाइ प्रकाण्डको छ । उनी भन्छन्, “अहिलेचाहिँ माओवादी नेतृत्व र हाम्रो नेतृत्वबीच विगतबाट सिक्दै, आत्मसमीक्षा गर्दै फेरि हिजोको क्रान्तिकारिता पुनर्जागृत गर्दै र छलफल गर्दै अगाडि जानेबारे सहमति भएको छ । जुन हामीले गरिरहेका छौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved