सत्ता पक्षलाई गगनको चेतावनी- हेप्न खोज्ने ? पेल्न खोज्ने ?

‘हामीलाई गलत साबित गरिदिनुस् । हामी सही छौँ भने हाम्रो कुरा जान्छ । त्यति गरेर बाँकी रहेको कामहरू अगाडि बढाउनुस् भन्दा हेप्न खोज्ने? पेल्न खोज्ने?’, उनको चेतावनी थियो ।

नेपालभ्युज

सत्ता पक्षलाई गगनको चेतावनी- हेप्न खोज्ने ? पेल्न खोज्ने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले आफूहरूले सहकारीको ठगीको सन्दर्भमा संसद्ले छानबिन समिति बनाओस् भनेर एउटा मात्रै माग राखेको बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्यस्तो समितिमा एमाले, माओवादी, रास्वपा र कांग्रेस लगायतका दलका प्रतिनिधिहरू बस्ने भएकाले ‘ढिकीजाँतो’ सत्ता पक्षकै हातमा हुने भएकाले नडराउन आग्रह पनि गरे ।

‘किन डराएको ? किन भागेको ?’, थापाको प्रश्न थियो, ‘कहिले प्रहरीलाई बोल्न लगाएको छ । कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ। हुँदाहुँदा कानुनले भन्छ- महान्यायाधीवक्ताले कुनै प्रभावमा पर्नु हुँदैन । यहाँ झुकाव राख्नु हुँदैन भन्छ । झुकाव होइन, महान्यायाधीवक्ता त झुक्दाझुक्दा लम्पसारै परिसक्नुभयो । किन डराएको ? किन आत्तिएको ? के ल्याउने हो र? यदि गल्ती गरेको छैन भने ।’

उनले गृहमन्त्रीमाथि कुनै अभियोजन भएको छैन, कुनै पनि अनुसन्धान भएको छैन भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोस्ट्रममा उभिएर झुट बोलेको उनको आरोप थियो ।

उनले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको सन्दर्भमा आफूले अनेक पत्र र प्रमाण दिनसक्ने बताए ।

‘मैले पेस गर्ने प्रमाणहरू गलत हुन् भनेर साबित गर्ने कुरा संसदीय छानबिन समितिबाट गलत साबित गर्न कति मजा आउँथ्यो होला । मलाई गलत साबित गरिदिनुस् न । नेपाली कांग्रेसलाई गलत साबित गरिदिनुस् न । यही भनिरहेको होइन ?’, उनले भने ।

थापाले संसद्‌भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरताका साथ सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताको विषय उठाइसके पछाडि आफूहरूलाई गलत साबित गर्न चेतावनी दिए ।

‘संसदीय छानबिन समिति गठनको माग गरिसकेपछि, अरु केही चाहिँदैन, सरकार तपाईंहरू नै मज्जाले चलाउनुस्, चार वर्ष ढुक्कले चलाउनुस्, छानबिन समिति बनाऔँ, तपाईंहरूले नै नेतृत्व गर्नुहुन्छ । हामी सँगै बसेर हेर्छौँ । हामीलाई गलत साबित गरिदिनुस् । हामी सही छौँ भने हाम्रो कुरा जान्छ । त्यति गरेर बाँकी रहेको कामहरू अगाडि बढाउनुस् भन्दा हेप्न खोज्ने? पेल्न खोज्ने?’, उनको चेतावनी थियो ।

थापाले सभामुखलाई संख्याको आधारमा हेपेर, पेलेर सरकारको कामहरू अगाडि बढाउँछु भन्ने नठान्न सचेत गराए ।

थापाले संसदीय छानबिन समित नबने सदनको कुनै पनि कामकारबाही अगाडि नसक्ने प्रष्ट पारे । ‘यसको जिम्मेवार हामी होइनौँ । सदन अगाडि नबढ्ने कुराको जिम्मेवार नेपाली कांग्रेस होइन । प्रधानमन्त्रीजी, सरकारले गर्ने कामकारबाहीप्रति हाम्रो विश्वास रहेन । ढाकछोप गरियो । राज्यका तमाम अंगहरूलाई वासिङ मेसिन जस्तो प्रयोग गरियो । तपाईंहरूले धोएर धुइन्न । पखालेर पखालिन्न । दूधको दूध, पानीको पानी संसदीय छानबिन समितिले छुट्याउँछ’, उनले भने ।

थापाले सरकार आफैं निहुँ खोज्न र आफैं वातावरण बिगार्न आएको हो भन्दै सरकारकै कारणले अप्ठ्यारो सिर्जना भएको बताए । भने, ‘अब संसद्को कुनै पनि कामकारबाही अगाडि बढ्ने कुरामा नेपाली कांग्रेसको साथ रहँदैन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved