‘महापतन’को बाटोमा विप्लव !

विप्लवले भूमिगत हुँदा ‘महापतन’ पुस्तक लेखेका छन् । जहाँ उनको सटिक निष्कर्ष छ—संसद्‌वादी दलसँग एउटै कित्तामा उभिनु महापतनको बाटोमा जानू हो । यसर्थ यसो भन्न सकिन्छ कि—अन्तत: उनी पनि ‘महापतन’कै बाटो लागेका छन् ।

‘महापतन’को बाटोमा विप्लव !

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको समाजवादी मोर्चा आइतबार घोषणा भयो । मोर्चामा अहिले संसद्‌मै रहेका दल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पनि सहभागी छन् ।

नेकपाबाहेकका ३ दल संसदमा छन् । अर्थात उनीहरू अहिलेसम्म संसद्‌वादमै भूलेका दल हुन् । तर, नेकपा भने संसद्‌वादबाट कहिल्यै पार नलाग्ने जिकिर गर्ने दल हो । त्यसको नेतृत्व विप्लव सधैँ यसको दह्रो प्रतिवाद गर्थे । तर, अन्तत: उनी त्यही संसद्‌वादी दलसँग एउटै मोर्चामा उभिन आइपुगेका छन् ।

२०६९ सालमा तत्कालीन एकीकृत माओवादीबाट अलग भएपछि विप्लवले पहिलोपटक संसदीय व्यवस्था मान्ने पार्टीसँग मोर्चाबन्दी गरेका हुन् ।  माओवादीबाट अलग भएपछि मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा माओवादीमा विप्लव सचिवको जिम्मेवारीमा थिए । २०७१ सालमा वैद्यबाट पनि अलग भएका विप्लव प्रकारान्तरले पुष्पकमल दाहाल ‘प्रचण्डसँग एउटै कित्तामा उभिन आइपुगेका छन् ।

हुन त विप्लवले स्थानीय तथा आमनिर्वाचनमा भाग लिने निर्णय पार्टीमा गराएका थिए । त्यसकै कारण उनको दल पनि सग्लो रहेको थिएन । निर्वाचनमा भाग लिन नहुने अडान लिँदै तत्कालीन सचिवालय सदस्यद्वय धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश वली ‘सुदर्शन’ ले नयाँ पार्टी नै बना—नेकपा बहुमत । अहिले उनीहरू बहुमतकै रूपमा सक्रिय छन् । यसरी हेर्दा विप्लव अकस्मात् संसद्‌वादी बनेका होइनन् ।

प्रचण्डलाई संसद्‌वादलाई मानेको, जनवादी क्रान्ति छाडेकोलगायतका आरोप लगाउँदै बाहिरिएका विप्लव पुन: त्यही संसद्‌वादमा आइपुगेका छन् । किन यसो भयो ? भन्ने नेपालभ्यूजको जिज्ञासामा नेकपा सचिवालय सदस्यसमेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भन्छन्, “संसद्‌वादी दलसँगै उभिएको होइन, तत्कालका लागि मोर्चा बनाउने र सारमा सबै सुधार्ने भन्ने हो ।”

उनी आफूहरूले संसद्‌वाद मानेको वा संसद्‌वादी दलसँग एकैठाउँ उभिएको भन्ने कुरा मान्न तयार छैनन् । “संसद्‌वादबाट कहीँ विकास भएको छैन । जनअपेक्षा पूरा भएको छैन । संसारैभर हेर्नुस्, संसद्‌वादबाट कहीँ पनि जनताले सुख पाएका छैनन् । यहीँबाट पार लाग्छ भन्ने हुँदैन, यसको विकल्प खोज्नुपर्छ र अब यसको काम समाजवादी मोर्चाले गर्नेछ,” उनी भन्छन् ।

यस्तै अर्का सचिवालय सदस्य सन्तोष बूढामगर पनि आफूहरू संसद्‌वाद नमानेको जिकिर गर्छन् । “अहिलेलाई समाजवादी मोर्चा बनेको छ,” उनले भने, “त्यहाँ संसद्‌वाद मान्ने र नमान्ने दुवैखाले शक्ति छन् । फेरि यो मोर्चा नै संसद्‌वाद मान्ने र नमान्ने दुवैको हो । बल्ल एकठाउँ भइयो, अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुन्छ,” उनले भने ।

रमाइलो प्रसङ्ग के छ भने विप्लवले भूमिगत हुँदा ‘महापतन’ पुस्तक लेखेका छन् । जहाँ उनको सटिक निष्कर्ष छ—संसद्‌वादी दलसँग एउटै कित्तामा उभिनु महापतनको बाटोमा जानू हो । यसर्थ यसो भन्न सकिन्छ कि—अन्तत: उनी पनि ‘महापतन’कै बाटो लागेका छन् ।

विप्लवको पहिलेको निष्कर्ष र अहिलेको कदम हेर्दा यसो भन्न सकिने बताउँछन् राजनीतिक विश्लेषक श्याम श्रेष्ठ । “नेपालमा इर्ष्याको राजनीति झाङ्गिँदो छ । यो पनि त्यही हो । एकले अर्कालाई देखाइदिने भन्ने भनोभावनाबाट प्रेरित हुँदा यस्तो हुन्छ । एक हिसाबले भन्दाखेरि यसलाई महापतनकै बाटो भन्दा फरक पर्दैन,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved