काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) सदनमा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्न दिनुपर्ने माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको बैठकमा शुक्रबार राप्रपाले यस्तो माग राखेको हो । कांग्रेस सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले शुक्रबार विपक्षी दलको बैठक बोलाएका थिए ।
बैठकमा राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा गृहमन्त्रीलाई बोल्न दिने माग गरेको बताए । उनले भने, ‘मैले गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिनुपर्छ । अनि मात्रै संसदमा थप छलफल हुन्छ भनेर कांग्रेस सभापति शेर बहादुर देउवासँग आग्रह गरेको छु ।’
संसदमा गृहमन्त्री लामिछानेले आफूले बोल्न पाउनुपर्ने माग राखिरहेका छन् । प्रतिपक्षी कांग्रेसले भने उनीविरुद्ध छानबिन समिति गठन नभई सदन चल्न दिन नहुने बताइरहेका छन् ।
विपक्षी दलहरुबीचको शुक्रबारको छलफल निष्कर्षमा पुग्न सकेको छैन । कांग्रेस भने शुक्रबारको संसद बैठक पनि अवरोध गर्ने पक्षमा छ । शुक्रबार बिहान ११ बजेको लागि तय भएको बैठक दलहरुबीच कुरा नमिल्दा दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ ।
गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणको संसदीय छानबिन समिति बनाएर अध्ययन र छानबिन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार सदन अवरुद्ध गर्दै आएको छ । बिहीबारको संसद बैठकमा सत्तापक्ष दलका सांसदबिच धकेलाधकेलसमेत भएको थियो । हिजो सदन चल्न नसकेपछि आज शुक्रबार बस्नेगरि बैठक स्थगित भएको थियो ।
Facebook Comment
Comment