विज्ञान–लेख

के हो समय ? कति सम्भव छ ‘टाइम–ट्राभल’ ?

‘ब्लक ब्रह्माण्ड’ को अवधारणाले ‘टाइम–ट्राभल’ गर्न चाहनेलाई उत्साही बनाउँछ । किनकि, यसले विगतका घटनाहरू ब्रह्माण्डको कुनै भागमा अवस्थित छन् ? यदि, हामीसँग उचित प्रविधि हुने हो भने तिनलाई पुन: हेर्न सकिन्छ भन्ने विश्वास गर्दछ ।

के हो समय ? कति सम्भव छ ‘टाइम–ट्राभल’ ?

सन्त अगस्टाइन भन्थे–कसैले सोधेन भने मलाई थाहा छ । तर, कसैले सोध्यो भने मलाई केही पनि थाहा छैन किनकि, म उसलाई समय के हो भन्ने बुझाउँन सक्दिन ।

समय एक मायावी अवधारणा हो । हामी सबैले यसको अनुभव गर्छौ । तर, यसलाई परिभाषित गर्ने परिक्षा दार्शनिक र वैज्ञानिका लागि सहस्राब्दीदेखि चुनौतीपूर्ण रहँदै आएको छ।

यहाँसम्म कि, समय–स्थान (टाइम एन्ड स्पेस) को एक अधिक परिष्कृत गणितीय सम्बन्ध बुझ्ने समझ आइन्स्टाइनसम्म पनि विकास भएको थिएन । ताकि त्यसले भौतिकशास्त्रीलाई यी दुई बीचको गहिरो सम्बन्ध अनुसन्धान गर्न अनुमति देओस् ।

साथै, यो पनि प्रष्ट भयो कि समयको उत्पत्तिको इतिहास खोज गर्दा ब्रह्माण्डको उत्पत्तिको इतिहास खोज्न अनिवार्य हुन्छ । समय भनेको साँच्चै के हो र यो कसरी अस्तित्वमा आयो ? के समयका आयाम बिग ब्याङकै क्षणदेखि अस्तित्वमा आएका हुन् ? कि ब्रह्माण्डको विकासक्रममा समयको उत्पत्ति भएको हो ? गुरुत्वाकर्षणको क्वान्टम प्रकृतिको सिद्धान्तले सहस्राब्दी लामा यी प्रश्नको अद्धितीय र शानदार उत्तर दिन्छ।

हाम्रो समय–संचेतना

समयबारेको हाम्रो संचेतना आफ्नै आन्तरिक अनुभवबाट आउँछ । संसारलाई अनुभूत गर्ने हाम्रो मष्तिष्कमा समयको वर्तमान भन्ने एक भाव छ, यसले मात्र एक सेकेन्डलाई समेट्दछ । हामी यसलाई वर्तमान भन्दछौं तर, दार्शनिक, भौतिकशास्त्री, मनोवैज्ञानिक तथा मानव मष्तिष्कका अनुसन्धानकर्ता भने यसलाई ‘अहिले’ (नाउ) भन्दछन्।

सम्झनामा संग्रहित हुनेबित्तिकै यो ‘विगत’ (पास्ट) भइहाल्छ । र भविष्य भनेको चाहिँ अर्को केही सेकेन्ड, मिनेट वा घन्टाभित्र के हुनसक्दछ वा हुन्छ भन्ने पूर्वानुमान हो । वास्तवमा समयको यो प्रवाह स्मरणमा आधारित एक भ्रम हो । यो हाम्रो ‘अहिले’ को अनुभवमा आधारित हुन्छ । कुनै सेकेन्डलाई हामी ‘अहिले’ को रूपमा अनुभव गर्दछौं र त्यसको अघि र पछिको कल्पना वा तुलना गर्दछौं ।

विगत कुनै असम्बद्ध वा अनियमित भ्रम हैन । त्यो भएकै ‘अहिले’ को स्मरण–अभिलेख हो। त्यो अनुभवबाट हामी यो बुझ्न खोज्छौं कि यो भौतिक संसारले कसरी काम गरिरहेको छ । विगतका थुप्रै अस्तित्व–वस्तुहरू हुन्छन् । जस्तै, डायरी, भिडियो, फोटो, अभिलेख, कागजात, पुरातात्विक अवशेष, जीवाष्मा आदि । यीनको मिति–संगत अभिलेख सम्भव छ । यसले आत्म–संगत ऐतिहासिकताको कथालाई सुदृढ पार्दछ ।

तर, विगतलाई हामी किन सम्झिन सक्दछौ तर भविष्यलाई सक्दैनौं ? यो विषमताको कारण ब्रह्माण्डीय असंगतिको ‘इन्ट्रोपी’ हो । ‘इन्ट्रोपी’ को अर्थ भौतिक असंगतिको मापन प्रणाली हो । हामी समयलाई विगत, वर्तमान, भविष्यको प्रवाहमा बुझ्छौं तर यो क्रममा अव्यवस्था पनि हुन्छ । सामान्यतः हामी विगतको संगतिदेखि भविष्यको अव्यवस्थातिर यात्रा गर्दछौं ।

तर, सूक्ष्मभौतिकी वा क्वान्टम मेकानिक्समा समयको यस्तो कुनै क्रमबद्धता हुँदैन । यदि, यो समीकरण सही हो भने समयको उल्टो प्रवाह पनि हुनुपर्ने हुन्छ । केही वैज्ञानिक यो ठान्दछन् कि समय–अस्तित्वको प्रवाह ब्रह्माण्डको अक्षुण तथा अविभाज्य अव्यवस्थासँग जोडिएको हुन्छ । ब्रह्माण्डको उत्पतिसँगै समयको यस्तो प्रवाह उत्पन्न भएको हुनुपर्दछ। यो मान्यतालाई विगत प्रकल्पन (पास्ट हाइपोथेसिस) भनिन्छ ।

उत्पतिपछि ब्रह्माण्ड विस्तार हुँदै गएको हो । यसलाई हामी ब्रह्माण्डको विकासक्रम भन्छौं । ब्रह्माण्डको विकासक्रममा समयको असंगति बढ्यो । ब्रह्माण्डको विस्तार हुँदा समयको तीर पनि लम्बिँदै गयो । यसलाई हामीले समय प्रवाहका रूपमा अनुभूत गर्‍यौं । कुनै पनि भौतिक तथा ब्रह्माण्डीय सत्यलाई हामी त्यतिखेर मात्र स्वीकार गर्दंछौं, जब अनुभव गर्दछौं । तर, सम्पूर्ण ब्रह्माण्ड र यसको विस्तार हाम्रो व्यक्तिपरक अनुभवभित्र हुँदैन।

ऊर्जाको आफ्नै स्मरण–मार्ग छ । स्मरण–मार्गको सिर्जना गर्न ऊर्जा चाहिन्छ । जब यो सूचनाको अभिलेख दिमागमा हुन्छ, त्यसले दिमागको गर्मीलाई बढाउँछ किनकि, सँगसँगै असंगति पनि आउँछ ।

समय र स्थान–समय

वैज्ञानिकहरूले समय अनुभूत गर्ने तरिकालाई गणितीय समझमा ल्याउन प्रयोग र परिक्षण गरेका छन् । सापेक्षता सिद्धान्तमा भौतिक स्थानका तीन आयामलाई समयको एक आयामसमेत चार आयामिक स्थान–समय सम्बन्धमा व्यक्त गरिन्छ । स्थान–समयका आधार तत्त्व घटना र विश्वरेखा हुन् ।

घटना भनेको चार आयामभित्र हुने भौतिक तथा मनोबनोटीय विन्दुहरू हुन् भने विश्वरेखाहरू भनेको घटनाहरूको अनुक्रम हो । अर्थात् गणितीय भाषामा स्थान–समय भनेको चार आयामिक निरन्तरता (फोर डाइमेन्सनल क्यान्टिनम) हो । कुनै पनि चार आयामिक विन्दुबीच अनन्त विन्दुहरू हुन्छन् । यो एक सुविधाजनक अनुमान हो तर सत्य हैन । किनकि, कुनै पनि समयभित्र असीमित घटना हुँदैनन् ।

आइन्स्टाइनका शब्दमा ‘समय–स्थान भनेको हामीले सोच्ने मोडहरू हुन्, हामीले बाँच्ने अवस्थाहरू हैनन्।’ अर्थात् ब्रह्माण्डको इतिहास भनेको निश्चित विश्वरेखामा हुने घटनाहरूको श्रृंखला हो । ती कसरी हुन्छन् भनेर हैन, त्यसलाई हामी कसरी अनुभूत गर्दछौं भनेर समय–स्थान सम्बन्ध व्यक्त हुन्छ ।

यसको अर्थ हो कि विगत, वर्तमान र भविष्य भनेको समय प्रवाह हैन । यो सँगसँगै हुने अस्तित्व हो । र संसारमा हुने सबै घटना उत्तिकै सत्य हुन् । भविष्य पनि विगतजस्तै एक वास्तविक घटना हो, जो कथित ‘ब्लक ब्रह्माण्ड’ मा घटित हुनुभन्दा अगाडि देखि नै हुन्छ । भविष्यलाई अनुभूत गर्न नसक्नु हाम्रो भ्रम हो । वस्तुगत संसार घटित हुने हैन, अस्तित्वमा हुन्छ ।

‘ब्लक ब्रह्माण्ड’ को अवधारणाले ‘टाइम–ट्राभल’ गर्न चाहनेलाई उत्साही बनाउँछ । किनकि यसले विगतका घटनाहरू ब्रह्माण्डको कुनै भागमा अवस्थित छन् र यदि हामीसँग उचित प्रविधि हुने हो भने तिनलाई पुन: हेर्न सकिन्छ भन्ने विश्वास गर्दछ ।

अर्कोतर्फबाट हेर्दा यसको अर्थ मानव शरिरका प्रत्येक परमाणुको विश्वरेखा, यसको अक्षका प्रत्येक इलेक्ट्रोन, न्युरोट्रान्समिटरका प्रत्येक स्नायु–सन्धीहरू पूर्वपरिभाषित छन्, त्यसको कुनै स्वतन्त्र इच्छा हुँदैन भन्ने हुन्छ ।

‘ब्लक ब्रह्माण्ड’ को विपरित विचार भनेको ‘वर्तमानवाद’ हो । यस मान्यतामा भूत र भविष्यको कुनै भौतिक अस्तित्व छैन केवल वर्तमानको भौतिक अस्तित्व हुन्छ । विगत समाप्त भइसक्यो, वर्तमान तत्काल छ, भविष्यको बाटो खुल्ला छ, विशिष्ट भविष्यको छनोट गर्न हाम्रा स्वतन्त्र इच्छाहरू प्रयत्नशील छन् । वर्तमानवादको अवधारणाले ‘टाइम–ट्राभल’ को सम्भावनालाई समाप्त गर्दिन्छ। ‘टाइम–ट्राभल’ भनेको पुराना फोटोको एल्बम पल्टाएजस्तो मात्रै हो।

क्वान्टम गुरुत्व

कतिपय वैज्ञानिक यो ठान्दछन् कि समय भनेको अर्थोक केही हैन, यो निश्चत गुरुत्वाकर्षण क्षेत्रभित्र हामीले हाम्रो वरिपरिको परिवेशलाई ग्रहण गर्ने तरिका मात्र हो । पदार्थमा हुुने विद्युतीय–चुम्बकत्व गुणले पदार्थ गुणहरूको संकलन गर्दछ । क्वान्टम क्षेत्र भनेको कणमा हुने फर्मियान र बोसनहरूको मध्यस्तता हो, जसले परमाणुजस्ता जटिल संरचना उत्पन्न गर्दछ । यसलाई मानक प्रारूप (स्टान्डर्ड मोडल) पनि भनिन्छ।

तर, मानक प्रारूप यसकारण अपूर्ण छ कि, हामीले अवलोकन गर्ने धेरै घटनाका लागि यसमा ठाउँ नै हुँदैन। आकाशगंगालाई एक ठाउँमा टाँस्ने केही अदृष्य र अँध्यारा पदार्थहरू, ब्रह्माण्डको विस्तारलाई तीव्रता दिने अँध्यारो उर्जा र ब्रह्माण्डीय स्खलनलाई  व्याख्या गर्ने संयन्त्रजस्ता कुराको अवलोकन सहज हुँदैन ।

अन्ततः हामीलाई स्थान–समयको सामान्य सापेक्षेताको व्याख्या गर्न क्वान्टम गुरुत्वको सिद्धान्त नै चाहिन्छ । यसमा ‘ग्राभिटोन’ एक यस्तो काल्पनिक कण हो, जसले गुुरुत्वशक्तिलाई रुपान्तरण गर्न सक्दछ । यो सिद्धान्तमा ‘स्पेश’ भौतिकशास्त्रमा गणना गर्न सकिने सबैभन्दा सानो रूप १०–९९ सीएथ्रीमा समावेश छ । त्यस्ता स्पेसहरूको ‘नोज’ एक-अर्कामा जोडिएका हुन्छन् र त्यो एकप्रकारको सञ्जालजस्तो हुन्छ । यसलाई ‘स्पाइन नेटवर्क’ भनिन्छ । नोज र लिंकहरूको संख्याअनुरूप नेटवर्कलाई थप्न वा घटाउन सकिन्छ । यस मान्यतामा समय भनेको त्यस्तो सोच हो, जसले यस्तो सञ्जालमा परिवर्तन ल्याउँछ ।

यसलाई अर्कोतरिकाले भन्दा यो कार्यकारण सम्बन्ध जस्तो हो । अर्थात् स्थान–समय सम्बन्ध कार्यकारणजस्तो छ । यस सिद्धान्तमा घटना र विश्वरेखाबीच तार्किक सम्बन्ध हुन्छ । घटनाहरू विश्वरेखाको निश्चित तार्किक पद्धतिमा जोडिएर बसेका हुन्छन् । त्यो नै स्थान–समय सम्बन्धको आधार हो ।
जस्तो कि हजुरबा–हजुरआमा र हाम्रो सम्बन्धलाई देखाउन पर्‍यो भने बीचमा आमा–बुबा आउँछन् । अब यो रेखा पूर्ण हुन्छ । ठीक यसैगरी विश्वरेखा घटनाहरूको क्रमबद्धताले मात्र हैन, निश्चित तर्कसंगत कारणले बनेको हुन्छ ।

हजुरबा–हजुरआमा हुँदैनथे भने बुबाआमा हुँदैनथे । बुबाआमा हुँदैनथे भने हामी हुने थिएनौं । अर्थात् हजुरबा–हजुरआमा हुँदैनथे भने हामी हुने थिएनौं । यो सम्बन्ध तार्किक सम्बन्ध हो । यसको अर्थ हो कि समय–स्थान सम्बन्धलाई एक क्रमबद्ध व्या ख्या गर्न सकिन्छ ।

समयको उदय

क्वान्टम मेकानिक्समा दुई कणलाई एक-अर्कामा अन्तर्किया गराउँदा तिनको अवस्थालाई स्वतन्त्ररूपमा फरक-फरक व्याख्या गर्न सकिँदैन। कुनै एकको मापन गर्दा अर्काको प्रभाव पनि जोडिएर आउँछ । अर्थात् एकल क्वान्टम अस्तित्वको अन्त्य हुन्छ । तुरुन्तै साझेदार कणको अवस्थाबारे पनि कुनै निष्कर्ष निकाल्न पुगिन्छ । साझेदार कणको तरंग प्रकार्य पनि तुरुन्तै पतन हुन्छ ।

पछिल्ला वैज्ञानिक भन्छन् कि, समय अवधारणाको उत्पति यस्तै एक अमिश्रित प्रणाली (इन्टागल्ड सिस्टम) हो । कतिपय यो भन्छन् कि समयको उदय दुई अमिश्रित फोटोनको कारणले भएको हो । यसको अर्थ समयको अर्को कण ब्रह्माण्ड मात्र हुन सक्दछ । ब्रह्माण्डभन्दा बाहिर समय हुँदैन । ब्रह्माण्डभन्दा बाहिर घडीले कुनै समय देखाउँदैन । अर्थात् समयको उदय ब्रह्माण्डसँगै भएको हो । ब्रह्माण्ड बिग ब्याङले उत्पति भएको हो भने ब्रह्माण्डको उत्पति गराउने बिग ब्याङ्ग कहिले भयो भन्ने प्रश्नसँग समय जोडिएर आयो ।

अन्त्यमा

हाम्रो वस्तुपरक अनुभवमा समय ‘अहिले’ प्रतिको एक सीमित सचेतना हो । तर, खगोलीय आकारमा समय कुनै दुई वस्तुहरू बीचको मिश्रित (इन्टान्गल्ड) सम्बन्ध हो । र यसको विशेषता वा प्रकृति त्यस्तो वस्तुभन्दा बाहिर हुँदैन । समयको प्रवाहरेखा विस्तारित ब्रह्माण्डको बढ्दो ‘इन्ट्रोपी’ हो । यो क्रम बिग ब्याङदेखि नै जारी छ ।

अस्ट्रोनमीबाट अनुदित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved