के नेपाल नाजुक र असफल राज्य भइसक्यो ?

कुनै राज्य असफल भएको हो कि हैन भनेर मापन गर्ने कुनै आधिकारिक संस्था वा मानक छैन । यो एक आम प्रवृत्ति हो कि, राज्यले आफ्ना धर्म, कर्तव्य र दायित्व निर्वाह गर्ने क्षमता र हैसियत गुमाउन थाल्यो भने त्यसलाई ‘असफल राज्य’ भन्ने गरिन्छ।

के नेपाल नाजुक र असफल राज्य भइसक्यो ?

गत मंगलबार ‘द इकोनोमिस्ट’ मा प्रकाशित एक आलेख नेपालमा धेरैले सामाजिक सञ्जालमा सेयर गरे । आलेखको शीर्षक थियो– चीन किन आफ्नो छिमेकीहरूप्रति मित्रवत् हुनुपर्दछ ?

खासमा यो नेपालको बारेमा नभएर चीनसँग सीमा जोडिएका छिमेकी मित्र राष्ट्रको अवस्था र तिनीहरूको चीनसँगको सम्बन्ध देखाउने आलेख थियो ।

चीन संसारमै सबैभन्दा बढी छिमेकीसँग सीमा जोडिएको देश हो । जल क्षेत्रलाई छोडेर १४ देशसँग त यसको जमिनबाटै सीमा जोडिन्छ । ती हुन– नेपाल, भुटान, भारत, म्यानमार, पाकिस्तान, अफगानिस्तान, मंगोलिया, लाओस, भियतनाम, उत्तर कोरिया, कजाकिस्तान, किर्गिस्तान, ताजकिस्तान र रुस ।

जलक्षेत्रबाट थप ७ मुलकसँग चीनको सीमा जोडिन्छ । ती हुन्–ब्रुनाई, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, फिलिपिन्स र ताइवान । ताइवानलाई त चीनले भिन्नै देश नै स्वीकार गर्दैन । चीनकै अभिन्न अंग मान्दछ ।

‘द इकोनोमिस्ट’को उक्त आलेखले ती देशको स्थितिको वर्गीकरण गर्दै नेपाललाई नाजुक र असफल राज्य (फ्राजाइल एन्ड फेलिङ स्टेट) समूहमा राख्यो । नेपालसँगै यो वर्गमा अफगानिस्तान, पाकिस्तान, म्यानमार, लाओस र उत्तर कोरियालाई राखिएको थियो ।

डा. सूर्यराज आचार्यले त्यसलाई सेयर गर्दै लेखे–‘नेपाललाई नाजुक र असफलका रूपमा चित्रण गरिएको छ । अवस्था ठ्याक्कै त्यस्तो हैन । हुन सक्दछ, एसियामा चर्को भूराजनीतिक प्रतिस्पर्धाको वर्तमान अवस्थामा केही विश्वशक्तिहरू नेपाललाई असफल राज्य बनाउन वा देख्न चाहन्छन् ।’

तर, यो वर्गीकरणमा जे-जस्ता अरु देश छन्, तिनले गर्दा नेपाल सोच्न बाध्य हुनुपर्दछ कि विश्व सञ्चार जगतले हामीलाई कसरी बुझिरहेको छ । किनकी, नेपालको समकक्षमा राखिएका अरु देशको स्थिति साँच्चै नराम्रो देखिन्छ ।

अफगानिस्तानमा तालिबानजस्तो इस्लामिक कट्टरपन्थी जिहादी समूहको पुनरोदय भएको छ । लोकतन्त्र र मानव अधिकारको प्रश्न त्यहाँ अर्थहीन भएको छ । अफगानिस्तानलाई एसियाकै सबैभन्दा गरिब मुलुक मानिन्छ ।

पाकिस्तान पनि निरन्तर बिग्रदो स्थितिको देश मानिन्छ । राजनीतिक तनाव, भ्रष्टाचार, आर्थिक दुरावस्था र पृथकतावादी तथा उग्रवादी आन्दोलनका कारण पाकिस्तानको अवस्था बेहाल देखिन्छ ।

म्यानमारमा सैनिक तानाशाही छ भने उत्तर कोरिया र लाओस एकदलीय कम्युनिस्ट व्यवस्था भएका देश हुन् । कम्युनिस्ट मुलुक हुँदाहुँदै पनि लाओसको अर्थतन्त्र खुला छ, तर चरम गरिबी छ। उत्तर कोरिया भने बन्द मुलुक हो–त्यसको वास्तविक स्थितिबारे विश्व स्पष्ट छैन ।

समकक्ष वर्गीकरणमा पर यी देशको स्थिति हेर्दा नेपालप्रति मात्र पूर्वाग्रह राखियो भन्न गाह्रो पर्दछ । त्यसो भए के विश्व समुदायले नेपाललाई एक असफल राज्य ठान्न थालेको हो त ?

नेपाल एक लोकतान्त्रिक र खुला मुलुक हो । यहाँ म्यानमारमा जस्तो सैनिक शासन छैन । उत्तर कोरिया र लाओसमा जस्तो एकदलीय कम्युनिस्ट शासन पनि छैन । अफगानिस्तानमा जस्तो जिहादी समूहको कट्टरपन्थी धार्मिक शासन पनि छैन । पाकिस्तानमा जस्तो चरम राजनीतिक तनाव र राजनीतिमा सैन्य हस्तक्षेप पनि छैन । फेरि नेपाललाई किन नाजुक र असफल राज्य भनियो होला ? ‘द इकोनोमिस्ट’ को आलेखले यी प्रश्नको उत्तर दिँदैन ।

असफल राज्यका मानकलाई सामान्यतः तीन भागमा बाँड्ने गरिन्छ । सामाजिक, राजनीतिक र आर्थिक सुचक । सामाजिक सूचकभित्र जनसांख्यिक दबाब, जातीय हिंसा तथा तनाव, शरणार्थी तथा अन्तर्राष्ट्रिय आप्रवासनको दबाब र आन्तरिक आप्रवासनको असन्तुलन पर्दछन्। यी तथ्यांकका आधारमा नेपाललाई असफल राज्य मान्नुपर्ने देखिन्न ।

नेपालको जनसंख्या बृद्धिदर निरन्तर घट्दो छ । करिब ४० जिल्लामा ऋणात्मक छ । परम्परागत जातीय विभेद र छुवाछुतका बाबजुद जातीय तथा साम्प्रदायिक सदभाव कायमै छ । भुटानी शरणार्थीको ९० प्रतिशत भन्दा बढी हिस्सा तेस्रो मुलुकमा पुनर्स्थापना भइसकेको छ । तिब्बती, बंगलादेशी वा रोहिङ्या शरणार्थीको यदाकदा चर्चा हुने गरे पनि त्यसको चर्को दबाब छैन । नेपालको आन्तरिक बसाइसराइ जातीय द्वन्द्व र द्वेषबाट नभएर आर्थिक अवसर र भौतिक सुविधाको खोजीमा भएको विकास केन्द्रित आप्रवासन हो ।

नि:सन्देह नेपालका राजनीतिक दल, तिनको नेतृत्वपंक्ति र कार्मचारीतन्त्र खासै प्रभावकारी वा गुणस्तरीय छैन । तर, यो तत्काल थपिएको समस्या पनि हैन । आधारभूत लोकतन्त्र, मानव अधिकार, संवैधानिक प्रक्रिया, राज्यको आम नियन्त्रण र खुला अर्थतन्त्र कायमै भएको हुँदा राजनीति तबरले पनि असफल राज्य मान्न सकिँदैन । कम्तीमा म्यानमार, लाओस, उत्तर कोरिया र अफगानिस्तानको हालतसँग नेपालाई तुलना गर्न नमिल्नुपर्ने हो।

हो, आर्थिक दृष्टिकोणले भने नेपाल निकै नराम्रो अवस्थामा छ । उच्च विप्रेषण आप्रवाहको कारणले हुने सन्तोषजनक वैदेशिक मुद्राको संचिती र अनुकूल शोधान्तर स्थितिबाहेक अरु कुनै पनि सूचक सन्तोषजनक छैनन् । त्यसो भए नेपाललाई ‘नाजुक र असफल राज्य’ को वर्गीकरणमा राख्नुपर्ने कारण के हो ? जबकि, विश्वका अरु देशसँग तुलना गर्दा मानवीय विकास सूचकांक पनि निरन्तर सुधार हुँदै गएका छन् । यसका पनि तीनवटा कारण हुन सक्दछन्।

एक– अस्थीर र अवसरवादी राजनीति र कमजोर गुणस्तरको शासन प्रशासन ।

दुई– कुनै पनि मित्र राष्ट्र ढुक्क वा निर्धक्क हुन नसक्ने, कमजोर विदेश नीति र कुटनीतिक सम्बन्ध ।

तीन– बढ्दोे आर्थिक संकटले भौतिक तथा मनोवैज्ञानिक तबरले निम्त्याउन सक्ने निराशा, विश्रृंखलता र अराजकता ।

यी कारणहरूलाई भने अस्वीकार गर्न सकिन्न। कुनै राज्य असफल भएको हो कि हैन भनेर मापन गर्ने कुनै आधिकारिक संस्था वा मानक छैन । यो एक आम प्रवृत्ति हो कि, राज्यले आफ्ना धर्म, कर्तव्य र दायित्व निर्वाह गर्ने क्षमता र हैसियत गुमाउन थाल्यो भने त्यसलाई ‘असफल राज्य’ भन्ने गरिन्छ। नेपाल ‘सफल राज्य’ त हैन नै, असफल नै भइसकेको हो कि बीचमा कतै लड्किरहेको छ ? यो प्रश्न भने अझै सान्दर्भिक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved