उपनिर्वाचनपछिको एमाले : हिप्पोपोटामस कि डाइनोसर ?

सिटमा नभए पनि भोटमा पहिलो दल भएको एमालेको दाबीलाई उपनिर्वाचनले कमजोर बनाएको छ । उपनिर्वाचनमा तनहुँ–१ को दरमा घट्ने हो भने एमालेको मत १५ लाखतिर झर्ने अनुमान गर्न सकिन्छ ।

उपनिर्वाचनपछिको एमाले : हिप्पोपोटामस कि डाइनोसर ?

काठमाडौं। गत मंसिरका सम्पन्न पछिल्लो आम निर्वाचनमा नेकपा (एमाले) २८ लाख ४५ हजार ६४१ अर्थात् २६.९५ प्रतिशत भोट प्राप्त गरेको थियो । मतका आधारमा यो सबैभन्दा धेरै थियो । ७८ सिटसहित ८९ स्थान प्राप्त गरेको नेपाली कांग्रेसपछि दोस्रो स्थानमा थियो ।

नेपाली कांग्रेसले प्राप्त गरेको सिट र पहिलो स्थान तत्कालीन पाँच दलीय गठबन्धनको कारणबाट निस्किएको परिणाम हो भन्दै एमालेले आफूलाई नै पहिलो पार्टी दाबी गर्दै आएको थियो । तर, हालै सम्पन्न भएको तनहुँ–१, चितवन–२ र बारा–२ को उपचुनावले एमालेको यस्तो दाबीलाई कमजोर बनाइदिएको छ ।

उपनिर्वाचन भएका तीनवटै निर्वाचन क्षेत्रमा एमाले तेस्रो स्थानमा धकेलिएको मात्र छैनन, पहिलेभन्दा निकै कमजोर पनि देखिएको छ । मंसिरको चुनावमा तनहुँ–१ मा एमाले उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९८१ मत ल्याएका थिए । उनी २५ हजार ३६१ मत प्राप्त गरी विजयी भएका नेपाली कांग्रेसका रामचन्द्र पौडेलका प्रमुख प्रतिस्पर्धी थिए । रास्वपाका विकास लम्साल ६०४४ मत प्राप्त गरी चौथो स्थानमा थिए ।

उपनिर्वाचनमा एमालेका सर्वेन्द्र खनालले ८,४८८ मत मात्र प्राप्त गरे । मंसिरमा भन्दा ११,४९३ मत घट्यो । रास्वपाका विजयी उम्मेदवार स्वर्णिम वाग्लेले ३४,९१९ र नेपाली कांग्रेसका गोविन्दराज भट्टराईले २०१२२ मत पाए । नेपाली कांगेसको मत ५,२३९ ले घट्यो । कांग्रसको मत २१ प्रतिशतले घट्दा एमालेको मत आधाभन्दा बढी ५७.५२ प्रतिशतले घट्यो।

चितवन–२ मा भने एमाले र कांग्रेस दुवैको मत ह्रासको अनुपात बराबरजस्तो देखिन्छ । मंसिरमा रास्वपा अध्यक्ष रवि लामिछानेले ४९३०० मत पाएका थिए । यसपटक ५४१५७ मत पाए । रास्वपाले ४, ८५७ मत थप्यो । अर्थात् रास्वपाको भोट करिब १० प्रतिशतले बढ्यो ।

मंसिरमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ १४९८८ मत प्राप्त गरी दोस्रो स्थानमा थिए । यसपटक कांग्रेस उम्मेद्वार जीतनारायण श्रेष्ठले ११२१४ मत पाए । कांग्रेसको मत ३७४४ अर्थात् करिब २५ प्रतिशतले घट्यो ।

मंसिरमा तेस्रो स्थानमा भएका एमालेका कृष्णभक्त पोख्रेलले १४६५२ मत पाएका थिए । यसपटक एमाले उम्मेदवारर रामप्रसाद न्यौपानेको भोट १०९३६ मा झर्‍यो। एमालेको मत ३,७१६ अर्थात् करिब २५ प्रतिशत नै घटयो।

चितवन–२ रास्वपाको बढेको भोट ४८५७ भन्दा एमाले–कांग्रेसको घटेको जम्मा भोट धेरै ७४६० छ । यसको अर्थ एमाले, कांग्रेसको भोट रास्वपामा थपिएको मात्र हैन, अन्यत्र पनि छरिएको हुनुपर्दछ वा एमाले, कांग्रेसका मतदाता मतदानमै सरिक नभएको हुनुपर्दछ।

बारा–२ मा मंसिरको निर्वाचनमा एमाले र नेपाली कांग्रेस दुवै दलका उम्मेदवार थिएनन् । जसपा र एमालेको तालमेल थियो । वर्तमान उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई एमालेको समर्थन थियो । उनले १३८३२ मत पाएका थिए भने उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहले १३४३८ मत ल्याएका थिए । कांग्रेसले माओवादीका कुशवाहलाई समर्थन गरेको थियो ।

उपनिर्वाचनमा ठीक उल्टो भयो । जसपाका उपेन्द्र यादवलाई माओवादी र कांग्रेसले समर्थन गरे । माओवादीका कुशवाह पार्टी परित्याग गरी जनमत पार्टीबाट उम्मेवार भए । जनमत पार्टीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई राम्रै टक्कर दियो । विजयी यादवले २८,४१५ प्राप्त गर्दा कुशवाहले २३,३३४ मत पाएका छन्।

एमालेका पुरुषोत्तम पौडेल भने तेस्रो स्थानमा सीमित भए । उनले १०२१६ मत मात्र पाए ।

निष्कर्षमा यो भन्न सकिन्छ कि सिटमा नभए पनि भोटमा पहिलो दल भएको एमालेको दाबीलाई उपनिर्वाचनले कमजोर बनाएको छ । उपनिर्वाचनमा तनहुँ-१ को दरमा घट्ने हो भने एमालेको मत १५ लाखतिर झर्ने अनुमान गर्न सकिन्छ ।

हिप्पोपोटासम कि डाइनोसर ?

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको बिग्रँदो स्थितिको चर्को अनुभूति भएको हुनुपर्दछ । सायद, त्यसैले, उनले गृहजिल्ला झापा पुगेर आफ्नो पार्टीलाई ‘हिप्पोपोटामस’ को संज्ञा दिए ।

उनले बुधबार झापाको बुद्धशान्ति पालिका कमिटीको एक कार्यक्रममा भने–‘हाम्रो पार्टी हिप्पोपोटामस जस्तो भयो, हेर्दा ज्यानचाहिँ खत्रा, ठूलो, बलियो तर काम भने केही नगर्ने, ज्यान ठूलो भएर के गर्ने ? न मासु खान हुन्छ न दूध, के काम लाग्यो ? अहिले पार्टीको स्थिति त्यस्तै भएको छ ।’

सामाजिक सञ्जालमा भने एमाले अध्यक्ष ओलीको यो भनाइमाथि गज्जबका व्यङ्ग्य आएका छन्। कतिपयले एमाले अब हिप्पोपोटामस हैन, डाइनोसार हुने तर्क गरेका छन् ।

एक फेसबुक प्रयोगकर्ता केदार सिटौलाले लेखेका छन्–‘एमाले हिप्पोपोटामस हैन, बरु डाइनोसरजस्तो भएको छ । डाइनोसर पृथ्वीबाट लोप हुनुको मुख्य कारण उसको पुच्छर टाउकोभन्दा भारी भएर हो रे । एमालेलाई देख्दा ठ्याक्कै त्यसको सम्झना आउँछ ।’

दुभेजर्स ल’ को नियति

विश्लेषक डम्बर खतिवडाले भने एमाले उपनिर्वाचनपछि ‘दुभेजर्स ल’ को नियतिले रेटिन सक्ने सम्भावना भएको बताएका छन् । उनले फेसबुक स्टाटसमा लेखेका छन्–‘फ्रान्सेली राजनीतिशास्त्री मौरिस दुभेर्जरको एक अध्ययनको निष्कर्ष, जसलाई ‘दुभेजर्स ल’ भनिन्छ, ले भन्छ, प्रथम हुनेले जित्ने निर्वाचन प्रणालीमा जब कुनै पार्टी तेस्रो स्थानमा धकेलिन्छ भने अतिरिक्त प्रयास बिना सामान्य प्रक्रियाले पहिलो स्थानमा फर्किन सक्दैन । हालै सम्पन्न उपनिर्वाचनमा ३ वटै क्षेत्रमा कमजोर तेस्रो स्थानमा धकेलिएको एमाले अब ‘दुभेजर्स ल’ को नियतिबाट रेटिन सक्ने सम्भावना बढेको छ ।’

बारा–२ मा नेपाली कांग्रेसले समर्थन गरेका जसपा अध्यक्ष उपेन्द्र यादवले जित्नु, चितवन–२ र तनहुँ–१ मा दोस्रो स्थानमा हुनुले रास्वपा बढ्दै गए दुभेजर्स लको नियति भोग्न पर्ने स्थितिमा एमाले नपुग्ला भन्न सकिन्न ।

ठीक यही नियति अहिलेसम्म माओवादीले भोग्नुपरेको थियो । २०५२ सालमा जनयुद्ध सुरुवात गर्नु अघि माओवादीका चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपाल तेस्रो हुने गर्दथ्यो। जनयुद्धको अतिरिक्त प्रयासले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पहिलो भएर आयो ।

तर, त्यसपछिका २०७०, २०७४ र २०७९ को चुनावमा माओवादी निरन्तर घटेको घट्यै छ । अब त माओवादीले पहिलो स्थानमा फर्किन आशा समेत गुमाएको छ । त्यसो त २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि एमाले तेस्रो स्थानमा धकेलिएकै हो । तर, त्यसपछि फेरि माथि आयो । अहिलेको उपनिर्वाचन परिणाम अन्तिम प्रवृत्तिको द्योतक हैन । तर, यसले एमालेको भविष्यलाई राम्रो संकेत गर्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved