बारा २ : यादव-राउत टक्कर, जहाँ गयो त्यहीँ ठक्कर !

प्रतिनिधि सभाको उपनिर्वाचन हुँदै गरेका तीन जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

बारा २ : यादव-राउत टक्कर, जहाँ गयो त्यहीँ ठक्कर !

काठमाडौं । प्रतिनिधि सभाको उपनिर्वाचन हुँदै गरेका तीन जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

वैशाख १० गतेको उपनिर्वाचनमा सबै क्षेत्रमा रोचक भिडन्त हुँदैछ । त्यसमा पनि बारा २ मा भने उम्मेदवारबीचमा भिडन्त मात्रै होइन मधेसका दुई नेताबीच ‘महाभिडन्त’को संकेत देखिएको छ ।

मधेस आन्दोलनको अगुवा र मधेसी जनताको ठेक्का लिएजस्ता देखिने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र मधेसी जनता मात्रै होइन, छुट्टै मधेसको ‘विखण्डनकारी’ मुद्दा लिएर उदाएका चन्द्रकान्त (सीके) राउतबीच बारा-२ मा अस्तित्वको लडाइँले ‘टक्कर’ पर्ने देखिएको छ ।

उपनिर्वाचन बारा-२ : प्रतिस्पर्धामा हरुवा मात्रै !

चुनावमा उपेन्द्र आफैँ उम्मेदवार छन् । तर, राउतले माओवादी केन्द्रबाट ल्याएर शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छन् । चुनावी प्रतिस्पर्धा यादव र कुशवाहाको बीचमा देखिए पनि चुनावलक्षित भाषणमा भने यादवले राउतको र राउतले यादवको उछित्तो काढ्दै छन् ।

गत मंसिर ४ को निर्वाचनमा यादवलाई सप्तरीमा राउतले दोब्बर मतले हराएका थिए । आफैँसँग पराजित यादवलाई जित्न नदिन राउतले कुशवाहालाई उम्मेदवार बनाए पनि ‘उपेन्द्र हराउ’ अभियानको नेतृत्वचाहिँ आफैँले गरेका छन् । यसकारण पनि उपेन्द्रलाई ‘अभागी खप्पर, जहाँ गयो त्यहीँ ठक्कर’ जस्तै भएको छ ।

राउतले बारामा आएर पहिलो भाषण गर्दा नै ‘सप्तरीका नफलेको खेती बारामा पनि फल्दैन’ भन्दै होच्याएका थिए । सप्तरीका जनताले नपत्याएकालाई बारामा किन पत्याउने ? भन्दै राउतले उपेन्द्रलाई ‘टुरिष्ट’ उम्मेदवारको ‘ट्याग’ समेत भिराइदिएका छन् । सत्ता गठबन्धनको बलियो साथ पाएको भनिए पनि यादवलाई कुनै पनि अवस्थामा निर्वाचन जित्न नदिन सीके राउत फिल्डमै सक्रिय छन् ।

उपेन्द्रलाई ‘टुरिष्ट’ उम्मेदवार भन्दै स्थानिय उम्मेदवार खडा गरेका राउतलाई लक्षीत गर्दै उपेन्द्रले पनि चुनावी मैदानबाटै कडा प्रहार गरेका छन् । ‘सीके राउत को हुन ? कहाँबाट परिचालित छन् ? के का लागि परिचालित छन् ? भन्ने कुरा रहस्यमयी छ’ उपेन्द्रले भनेका छन्— ‘यसबारे धेरै कुरा खोज्नुपर्छ र विस्तारै खुल्दै जानेछ ।’

बारामा दलका उम्मेदवारभन्दा ‘डमी’ धेरै

उनले राउतलाई देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने राष्ट्रघाती र देशद्रोही बनेर राजनीतिक यात्रा सुरू गरेकोसमेत भनेका छन् । “अहिलेपनि राउतको बोली र व्यवहार दुवै राष्ट्रघाती, देशद्रोही र आपराधिक चरित्रको नै छ,” उनले भनेका छन् ।

राउत राजनीतिक एजेन्डाविहीन, सिद्धान्तहीन, विचारहीन,आदर्शहीन र चरित्रहीन तथा आपराधिक मनोवृति भएको र मधेसमा जातीवादको विष घोलेर समाजलाई कमजोर बनाउँदै मधेसीलाई गुलाम बनाउने षड्यन्त्रमा लागेको आरोपसमेत उपेन्द्रको छ ।

एक लाख ५ हजार २९८ मतदाता रहेको सो क्षेत्रमा दुवै दलका लागि उपचिर्वाचन प्रतिष्ठाको लडाइँ बनेको छ । सत्ता गठबन्धनको बलियो साथ पाएका र विगतमा आफ्नै उम्मेदवारले चुनाव जितेको क्षेत्र भएर पनि अध्यक्ष यादव चुनाव जित्नेमा ढुक्क देखिँदैनन् ।

उपेन्द्रको चुनौति नै राउत र उनले खडा गरेको उम्मेदवार हो । राउत मात्रै होइन, उपेन्द्रसँग प्रतिस्पर्धामा रहेका कुशवाहा पनि चुनावी नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्क छन् । ‘मलाई त माओवादीको समेत भोट आउँछ,’ उनले भनेका छन्, ‘माओवादी अध्यक्ष प्रचण्ड नै आएर भोट नदेउ भनेपनि जनताले भोट मलाई नै दिन्छन् ।’

मोरङ, सुनसरी, सप्तरी हुँदै बारा आइपुग्दा उपेन्द्रलाई कति सहज ?

उपेन्द्रका लागि बाराबाट चुनाव जित्न चौतर्फी चुनौती देखिन्छ । त्यसमध्येको मुख्य चुनौती भूगोल हो । राउतले भनेजस्तै ‘सप्तरीमा नफलेको धान बारामा फल्दैन’ भन्ने कुरालाई स्थानीय भूगोलमा व्यापक प्रचार गरिएको छ । यहाँका अधिकांश मतदाता भूगोलको उम्मेदवार छान्ने पक्षमा देखिन्छन् । उनको प्रतिस्पर्धी कुशवाहा बारा २ कै महागढीमाई नगरपालिका बरियारपुरका स्थानीय हुन् ।

त्यस्तै उम्मेदवार पनि अर्को चुनौती हो। बारा–२ मा जनमतका उम्मेदवार कुशवाहासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्वडीआइजी रमेश खरेल, एमाले उम्मेदवार पूर्वमन्त्री पुरुषोत्तम पौडेल र आजपा उम्मेदवार अरुण ज्ञवाली उपेन्द्रका लागि भारी पर्न सक्छन् ।

खरेल नारायणी अञ्चल प्रहरी प्रमुख हुँदा ‘सिंघम’ स्टाईलमा काम गरेका, पौडेल पञ्चायतकालदेखि बारामै राजनीति गरेका र ज्ञवाली पनि स्थानीय भएकाले यादवको पक्षमा जाने मत उनीहरूले रोक्न सक्छन् । यहाँ मुख्य दल कांग्रेस, माओवादी, लोसपा र समाजवादीको आफ्नै उम्मेदवार नरहेका कारण ती दलका केही मत उपेन्द्रभन्दा फरक उम्मेदवारमा बाँडिने सम्भावनासमेत देखिन्छ ।

बारा–२ मा दल र स्वतन्त्र गरी ३४ जना उम्मेदवार छन् । बारा–२ अन्तर्गत कोल्हवी नगरपालिकाको वडा नम्बर–८ का अतिरिक्त महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, सुवर्ण नगरपालिका, पर्चौता गाउँपालिका, करैयामाई नगरपालिका पर्दछन् । ती पालिका अन्तर्गत ४४ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved