बारामा दलका उम्मेदवारभन्दा ‘डमी’ धेरै

नेपालभ्युज

बारामा दलका उम्मेदवारभन्दा ‘डमी’ धेरै

काठमाडौं। वैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लाका तीन क्षेत्रमध्ये बारा–२ बाट ३४ जना उम्मेदवार मैदानमा छन्।

निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका ३४ उम्मेदवारमध्ये १० जना राजनीतिक पार्टीका र बाँकी २४ जना स्वतन्त्र उम्मेदवार छन्। तीमध्ये केही उम्मेदवार मात्रै घरदैलो र भोट माग्न व्यस्त देखिन्छन्। यसको मतलब उठेकामध्ये धेरै उम्मेदवार ‘डमी’ मात्रै हुन्।

बारा-२ को निर्वाचन क्षेत्रभित्र चुनावी घरदैलो र सभा गर्नेमा मुस्किलले आधा दर्जन उम्मेदवार मात्रै भटिन्छन्। बाँकी उम्मेदवार घरदैलोमा हिँड्दैनन्। कारण उनीहरूले चुनावको दिन गाडी चलाउने पास लिन र बुथ प्रतिनिधि (एजेन्ट) राख्न मात्रै उम्मेदवारी दिएका हुन्। उनीहरूको उम्मेदवारी दर्तादेखि बुथको खर्चसमेत अहिले प्रतिस्पर्धामा रहेका उम्मेदवारले नै व्यहोर्ने ‘गोप्य सहमति’देखिन्छ।

गत चैत २० मा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ३६ जनाले उम्मेदवार मनोनयनपत्र दर्ता गरेको भएपनि २ जनाले फिर्ता लिएका थिए। बाँकी ३४ उम्मेदवार मध्य धेरैजसो निस्क्रिय छन्। उपनिर्वाचनका लागि राजनीतिक दलबाट १० जना मात्रै छन्।

जसमध्ये मुख्य प्रतिस्पर्धामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, आम जनता पार्टीबाट अरुणकुमार ज्ञवाली देखिएका छन्।

यीबाहेक अरु स्वतन्त्र उम्मेदवार भनिएपनि कसै न कसैको ‘डमी उम्मेदवार’ हुन् भन्ने सजिलै बुझ्न सकिन्छ। दलबाट उम्मेदवार भएका नेताले नै प्रचार-प्रसार गर्दा उसको समर्थन मैले पाइसके भन्न र निर्वाचन आचारसंहिताले नदिने कुरालाई ‘सुविधाको रूपमा’ प्रयोग गर्न यस्ता ‘डमी’ उम्मेदवार खडा गरेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत यो विषय जानकार छ। तर, बोल्न सक्ने अवस्था छैन। ‘यो नैतिकताको विषय हो। आफ्नो चुनाव चिह्न लिएर अरूका लागि काम गर्न मिल्दैन’ मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्याय भन्छन्–‘उम्मेदवार भएपछी घरदैलोमा देखिनुपर्ने हो तर, उम्मेदवार नै अरुका लागि काम गरिरहेको हो जस्तो देखिन्छ। यसबारे कसैले उजुरी नगरेसम्म हामीले केहि भन्न मिल्दैन।’

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ मा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा २ वटा दुईपाङ्ग्रे, ३ पाङ्ग्रे र ४ पाङ्ग्रे, सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था छ । तर, विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन भन्ने उल्लेख छ।

तर, बारामा यो कुनै पनि उम्मेदवारले लागू गरेको देखिन्न। चुनाव प्रचारमा भारतीय सवारी साधनको प्रयोग र एउटै उम्मेदवारले दर्जनौं गाडी प्रयोग गरेको देखिन्छ। यहि अवस्था चुनावको दिनको पनि हुने देखिन्छ।

उम्मेदवारको कार्ड लगाएर ३४ जनाले सवारी साधन उपयोग गर्ने र त्यसमा डमी उम्मेदवार र तीनका प्रथिनिधीको वर्चश्व हुने देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved