उपनिर्वाचन बारा-२ : प्रतिस्पर्धामा हरुवा मात्रै !

उपनिर्वाचन बारा-२ : प्रतिस्पर्धामा हरुवा मात्रै !

काठमाडौं। वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन,तनहुँ र बारामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनावी घरदैलो र सभामार्फत भोट मागिरहेका छन्।

चितवन-२, तनहुँ-१ र बारा-२ मा उपनिर्वाचन हुँदैछ । यी क्षेत्रमा पूर्व उपप्रधानमन्त्री,मन्त्रीदेखि नेपाल प्रहरीका पूर्व आईजिपी र पूर्व डीआईजी अनि अर्थशास्त्रीसम्म भिडन्तमा छन्। यी ३ वटै क्षेत्रको चुनावी नतिजा कसको पक्षमा आउँछ भनेर अहिले नै अनुमान गर्ने अवस्था छैन।

तर, यो उपनिर्वाचनमा रोचक कुराचाहिँ बारा-२ मा देखिएको छ। यहाँका उम्मेदवार प्रायः सबै हरुवा छन्। यहाँ उम्मेदवारी दिएका  नेकपा एमाले  नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल भने मंसिर ४ मा टिकट नपाउने नेता हुन्। बाँकी सबैजसो उम्मेदवार गत मंसिर-४ को प्रतिनिधिसभा निर्वाचनमा जनताले नपत्याएका र पराजित भइसकेका उम्मेदवार हुन्।

बारा-२ मा सत्ता गठबन्धनका मुख्य दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादीको समेत समर्थन लिएर उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मंसिरमा सप्तरी २ का जनताले नपत्याएका उम्मेदवार हुन्।

मंसिरमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग पराजित यादव ०४८ मा सुनसरी, ०७० मा मोरङबाट समेत पराजित भएका थिए। आफू संसद छिर्नकै लागि यादवले बारा-२ का निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बाटो ‘क्लियर’ गरेका हुन्।

सप्तरी-२ मा राउतसँग यादव दोब्बरभन्दा बढी मतले हारेका थिए। राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९७९ मत मात्रै ल्याएका थिए।

त्यसैगरी, नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बारा २ मा उम्मेदवार छन्। उनलाई पनि मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ का जनताले पत्याएका थिएनन्।

उनी मंसिरको चुनावमा मतको आधारमा चौथो नम्बरका हरुवा उम्मेदवार हुन्। उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भए। ७ हजार १४३ मत ल्याएर कांग्रेसका प्रकाशमान सिंह विजयी हुँदा ३ हजार १२४ मत ल्याउँदै खरेल चौथोमा सीमित भएका थिए।

बारा-२ बाट उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहा पनि मंसीर ४ को निर्वाचनमा पराजित उम्मेदवार हुन्। उनको क्षेत्रबाट निर्वाचित भएका हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १३ हजार ८२२ मत ल्याएर निर्वाचित हुँदा कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए ।

मंसिरमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका कुशवाहले अहिले पार्टी परिवर्तन गरी जनमत पार्टीबाट उम्मेदवारी दिएका छन्। बारा २ का जनताका लागि उनी पनि हरुवा उम्मेदवार हुन्। उपेन्द्र यादव र रमेश खरेलले पराजित भएपछि निर्वाचन क्षेत्र परिवर्तन गरेर बारा २ आए भने उनले क्षेत्र भन्दा पार्टी नै परिवर्तन गरी उम्मेदवारी दिएका हुन्।

त्यसैगरी, यही क्षेत्रबाट उम्मेदवार रहेका अरुण ज्ञवालीसमेत मंसिर ४ को निर्वाचनका हरुवा हुन्। नेपाली कांग्रेसको राजनीतिमा सक्रिय ज्ञवालीलाई मंसीर ४ मा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उठेका हुन्। उनी यसपटक प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट बारा २ को उपनिर्वाचनमा उम्मेदवार छन्।

यता नेकपा एमालेबाट उम्मेदवार रहेका पूर्वमन्त्री पुरुषोत्तम पौडेल भने मंसिर ४ मा टिकट नपाउने नेता हुन्। मंसिर ४ मा हारेकासँग प्रतिस्पर्धा गर्न एमालेले पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पौडेललाई मैदानमा उतारेको छ।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा  महागढीमाई र  पचरौता नगरपालिका, देवताल, सुवर्ण र करैयामाई गाउँपालिकामा गरेर  ५ वटा स्थानीय तह रहेका छन्।

गत स्थानीय तहको  निर्वाचनमा महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकामा काँग्रेसका प्रमुख विजयी भएका छन् । करैयामाई र देवताल गाउँपालिकामा जनता समाजवादीका प्रमुखमा विजयी भए भने पचरौता नगरपालिकामा एमालेका प्रमुख विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved