आफ्नैसँग देउवाको गुनासो- ‘मेरो बाध्यता कसैले बुझ्दैनन् यार’

९ मन्त्रालय पाउँदा २७ आकांक्षी

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो समय  आफ्नै विश्वासपात्रहरूको चेपुवामा परेका छन् ।

आफ्नैसँग देउवाको गुनासो- ‘मेरो बाध्यता कसैले बुझ्दैनन् यार’

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो समय  आफ्नै विश्वासपात्रहरूको चेपुवामा परेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेलगत्तै सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसमा मन्त्री बन्ने ‘दौड’ सुरू भएको छ । यही दौडमा देउवाका विश्वासपात्र धेरै छन् ।

स्रोतकाअनुसार वर्तमान सरकारमा कांग्रेसले बढीमा ९ मन्त्रालय पाउने छ । जम्मा ९ मन्त्रालय पाउँदा  कम्तिमा २७ आकांक्षी छन् । संस्थापनभित्रैका मध्य‍ेबाट पनि देउवाले मन्त्री बनाउनैपर्ने डेढ दर्जन आकांक्षी छन् । जसले देउवालाई घरमै धर्ना दिइरहेका छन् ।

आफ्नै पक्षका नेताहरूले ‘धर्ना’ र ‘दबाब’ बढाएपछि देउवा तनावमा छन् । बिहानदेखि बेलुकीसम्म घरमा आउने र टेलिफोन गर्ने ‘भित्रिया’ हरूलाई देउवाले एउटै जवाफ दिने गरेका छन्— ‘मेरो बाध्यता कसैले बुझ्दैनन् यार !’

कांग्रेसबाट मन्त्री बन्ने नेताहरूको नाम देउवाको खल्तीमा

गत आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णयसहित मन्त्री छान्न मापदण्ड नै बनाएको थियो । कांग्रेसले योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर गरेर मन्त्री पठाउने गरी मापदण्ड बनाएको छ ।

मन्त्री हुन खोज्ने केही आकांक्षीलाई पाखा लगाउन सजिलो हुने विश्वाससहित मापदण्ड बनाइएको भएपनि त्यसले देउवाको टाउको दुखाइ कम नभएको उनीनिकट एक सांसद बताउँछन् । ‘पार्टीमा गरेको योगदानसहित पछिल्लो राजनीतिक समीकरण निर्माणमा भूमिका खेल्ने साथीहरूलाई प्राथमिकता दिने सभापतिज्यूको मनसाय बुझिन्छ,’ उनले भने, ‘कांग्रेसमा सबै साथीहरू मन्त्री हुन योग्य र क्षमतावान् नै हुनुहुन्छ । त्यसमा पनि कसलाई सरकारमा पठाउँदा अझै राम्रो गर्न सकिन्छ भन्ने कुरा पनि हेरिन्छ ।’

सरकारमा सहभागी हुन तयार ११ दलमध्ये कसले कुन मन्त्रालय पाउने भन्ने भागबन्डा बाँकी नै छ । तर,कांग्रेसबाट सरकारमा सहभागी हुने नेताले अर्थ मन्त्रालयसहित पार्टीको नेतृत्व गर्ने भन्नेचाहिँ लगभग टुङ्गो लागेको छ । यद्यपि‚ कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने विषयले पनि सभापति देउवालाई अफ्ठ्यारोमा पारेको छ ।

कांग्रेसबाट सरकारको नेतृत्व गर्नेमा उपसभापति पूर्णबहादुर खड्का,नेता शेखर कोइराला र प्रकाशमान सिंहको नाम चर्चामा छ । यीमध्ये प्रकाशमानको सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन् ।

तर,अर्थमन्त्री बन्नेले सरकारको नेतृत्व गर्ने कुराले सभापति देउवालाई अर्को दबाब पनि छ । नेतृत्व गर्न नमिल्ने तर अर्थमन्त्रीचाहिँ हुनुपर्ने अडानमा पार्टी प्रवक्ता डा.प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ललितपुरका सांसद उदयशमशेर राणा छन् । उनीहरूले सभापति देउवासमक्ष अर्थमन्त्रीका लागि ‘बार्गेनिङ’ गर्दै आएका छन् । यी तिनै नेता देउवाका ‘विश्वासपात्र’ हुन् ।

पछिल्लो समय पुस १० अगाडिको गठबन्धन ब्युँताउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उपसभापति पूर्णबहादुर खड्काले पनि नेतृत्वसहित सरकारमा जान चाहेका छन् । ‘पूर्ण दाइ पार्टी उपसभापतिसमेत भएको र एमालेसँगको गठबन्धन फुटाएर पुरानो गठबन्धन ब्युँताउन मुख्य भूमिका निर्वाह गरेका कारण पनि उहाँको सम्भावना छ,’ स्रोत भन्छन् ।

उनले थपेका छन्, ‘तर, सभापतिज्यूले यसबारेमा कसैलाई पनि बचन दिनुभएको छैन ।’

उता, नेता शेखर कोइरालाले पनि पार्टीबाट नेतृत्व गर्दै सरकारमा जान इच्छा देखाएका छन् । तर, संस्थापन पक्ष त्यसमा लचिलो छैन । स्रोतकाअनुसार महामन्त्री गगन थापाले शेखर कोइरालाको पक्षमा ‘लबिइङ’ नै गरेका छैनन् ।

कोशी प्रदेशबाट मन्त्री हुने पक्कापक्की जस्तै भएकी सांसद हुन् तेह्रथुमबाट निर्वाचित सीता गुरुङ । देउवानिकट भएका कारण मात्रै होइन, उनी कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक मात्र महिला हुन् ।

मधेश प्रदेशबाट तेजुलाल चौधरी, रमेश रिजाल र विमलेन्द्र निधि मन्त्रीका आकांक्षी हुन् । तर,निधिलाई यसपटक ‘सरी’ भन्नुपर्ने अवस्थामा देउवा रहेका छन् । बागमती प्रदेशबाट भने मन्त्री बन्ने आकांक्षी धेरै छन् । त्यसमध्ये काठमाडौं १ का प्रकाशमान सिंह र ५ का सांसद प्रदीप पौडेलसहित ललितपुरका उदयशमशेर राणा,भक्तपुरका दुर्लव थापा र सिन्धुपाल्चोकका मोहन बस्नेत बलिया दाबेदार हुन् ।

उता गण्डकीबाट पार्टी उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार मन्त्रीका बलियो दाबेदार हुन् ।  गुरुङप्रति सभापति देउवा आफैँ सकारात्मक छन् । परियारको पक्षमा महामन्त्री गगन थापा खुलेरै लागेको कांग्रेस स्रोत बताउँछ । गुरुङ र परियार दुवै शेखर-गगन समूहका भएकाले शक्ति सन्तुलन मिलाउँदा पनि उनीहरू बन्त्री बन्ने पक्का जस्तै छ ।

यसैगरी, लुम्बिनी प्रदेशबाट देउवानिकटका सहमहामन्त्री किशोरसिंह राठोर, शेखर-गगन समूहका सञ्जय गौतम, डा. शशांक कोइरालानिकटका दीपक गिरि मन्त्रीको ‘लबिङ्ग’मा छन् । डा. शशांक आफू नहुँदा गिरिलाई बनाउने पक्षमा छन् ।

डा. शशांक भने देउवा प्रधानमन्त्री हुँदा महत्त्वपूर्ण मन्त्रालय सम्हाल्नेगरी सहभागि हुने ‘सर्त’ मा अहिले पछि हटेका छन् ।
कर्णाली प्रदेशबाट उपसभापति पूर्णबहादुर खड्का एक्ला दाबेदार हुन् । उनी नभए कोही हुँदैनन् । त्यसैगरी सुदूरपश्चिमबाट शेखर समूहका नेता एवम् सहमहामन्त्री बद्री पाण्डे तथा संस्थापनका एनपी साउद र वीरबहादुर बलायरमध्येबाट मन्त्री हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved