कांग्रेसबाट मन्त्री बन्ने नेताहरूको नाम देउवाको खल्तीमा

गगनको रोजाइमा प्रदीपभन्दा जीवन सही

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेलगत्तै सत्तारूढ गठबन्धनमा रहेका दलहरूभित्र मन्त्री बन्ने ‘दौड’ सुरू भएको छ ।

कांग्रेसबाट मन्त्री बन्ने नेताहरूको नाम देउवाको खल्तीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेलगत्तै सत्तारूढ गठबन्धनमा रहेका दलहरूभित्र मन्त्री बन्ने ‘दौड’ सुरू भएको छ ।

स्रोतकाअनुसार १० दलीय गठबन्धनले ३ चरणमा ‘प्रधानमन्त्री भागबन्डा’ गरेसँगै कुन समयमा को मन्त्री बन्ने ? भन्ने पनि मोटामोटी सहमति जुटाउनेगरी छलफल भइरहेको छ ।

वर्तमान प्रधानमन्त्री प्रचण्डपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने गठबन्धन दलभित्र ‘भद्र’ सहमति भएको छ ।

यसो हुँदा एकीकृत समाजवादीका १० सांसदमध्ये अध्यक्ष नेपाल प्रधानमन्त्री हुँदा ३ चरणमा पालैपालो बाँकी ९ जना मन्त्री हुने आशामा छन् ।

त्यस्तै माओवादी केन्द्रबाट पनि ३ चरणमा गरी १५ देखि १७ जना मन्त्री बन्ने सम्भावना छँदैछ । सांसदहरूले पनि उसैगरी ‘लबिङ्ग’ थालेका छन् ।

मन्त्रिपरिषद् विस्तार : यस्तो छ प्रधानमन्त्रीको प्रारम्भिक खाका

गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले पनि ३ चरणमा कम्तीमा ३० जनालाई मन्त्री बनाउन सक्नेछ । यद्यपि कांग्रेसमा मन्त्री बन्ने दौडमा सभापति देउवाबाहेक सबै छन् । तर, पछिल्लो समय महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले भने मन्त्री नबन्ने घोषणा नै गरिसकेका छन् । त्यसपछि पनि कांग्रेसमा ‘म जसरी पनि हुनुपर्छ’ भन्ने सांसदहरूको सङ्ख्या ५८ रहेको कांग्रेस स्रोत बताउँछ ।

तर, कांग्रेसबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेको टुङ्गो लागिसकेको छ । स्रोतकाअनुसार ती नामहरू पहिलो चरणमा देउवापत्नी आरजूकहाँ पुगेको र त्यसपछि देउवाकोमा पुगेको छ ।

आरजूसँग सम्बन्ध सुमधुर नभएका कारण केही मन्त्री हुने अन्तिम तयारीमा रहेकाको नाम काटिएको छ । कांग्रेसबाट पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत र विमलेन्द्र निधिमध्ये एकको नेतृत्वमा सरकारमा जाने तयारी भएपनि अन्तिममा प्रकाशमान सिंहले बाजी मारेका छन् ।

देउवाको खल्तीमा पुगेको नाममध्ये पहिलो नम्बरमा सिंहकै नाम छ । उनले नै कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुनेहरूको नेतृत्व गर्नेछन् ।

कांग्रेसका एक पदाधिकारीकाअनुसार सरकारमा कांग्रेसले अर्थसहित ९ मन्त्रालय पाउने र त्यसमा देउवा पक्षका ५, शेखर-गगन पक्षका ३ र प्रकाशमान स्वयम् उनको पक्षबाट हुनेछन् ।

स्रोतकाअनुसार शेखर-गगन पक्षबाट जीवन परियार, तेजुलाल चौधरी र दीपक खड्का वा प्रदीप पौडेलमध्येबाट सरकारमा सहभागी हुनेछन् ।

महामन्त्रीसमेत रहेका गगनले प्रदीप र जीवनमध्येबाट एकजनालाई रोज्दा परियारलाई राजेको चर्चा छ । प्रदीपले गगनलाई जति गुण लगाएपनि आखिर गगनले प्रदीपलाई अगाडि बढाउन नचाहेको विश्लेषणहरू हुन्छन् । यसअघि संसदीय दलको नेतामा प्रतिस्पर्धामा गगन हुँदा प्रदीपले सघाएका थिए । उनीहरू कुनै समय कृष्ण सिटौला पक्षमा खुलेका युवा नेता हुन् ।

यसैगरी संस्थापन पक्षबाट डा.प्रकाशशरण महत, किशोरसिंह राठौर, सीता गुरुङ, मोहन बस्नेत, एनपी सावतको नाम देउवाको खल्तीमा छ । प्रकाशमानसिंहले नेतृत्व गर्दा डा.शेखर कोइराला, डा.शशांक कोइरालालगायतका नेता भने मन्त्री बन्न गरिएको आग्रहबाट पछि हटेका छन् ।

कांग्रेस नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइरालासहित देउवा पक्षका ओखलढुङ्गाका सांसद रामहरि  खतिवडा, संस्थापनका धादिङका सांसद रामनाथ अधिकारीलाई भने देउवा प्रधानमन्त्री हुँदा मन्त्री बनाउनेगरी ‘कन्भिन्स’ गरिएको स्रोत बताउँछ ।

यसैगरी काठमाडौंका राजन केसी, सन्तोष चालिसे, मोरङका डा.सुनील शर्मा, गोरखाका राजेन्द्र बजगाईं र भक्तपुरका दुर्लभ थापा पनि मन्त्री नभए राज्यमन्त्री मात्रै भएपनि हुनुपर्ने अडान राख्दै देउवाको निवासमा पुगिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved