आलेख

केजरीवालसँगको मित्रताको मूल्य चुकाउँदै छन् मनीष सिसोदिया

यसमा कुनै दुई मत छैन कि यो घटनाले आपलाई निकै ठूलो झड्का दिएको छ। मोदी सरकारले आपलाई यो झड्काको दलदलबाट सजिलै उम्किन देला जस्तो लाग्दैन ।

केजरीवालसँगको मित्रताको मूल्य चुकाउँदै छन् मनीष सिसोदिया

मनीष सिसोदियाको गिरफ्तारी आम आदमी पार्टी (आप) का लागि इतिहासको एक चक्र पूरा हुनुजस्तै हो । मनीष दिल्ली सरकारमा दोस्रो नम्बरको मन्त्री मात्र थिएनन्, उनी आपमा दोस्रो हैसियत राख्ने नेता पनि थिए।

तर, सरकार र पार्टीभन्दा बढी उनको महत्त्वको कारण सन् २०१२ को भ्रष्टाचार विरोधी आन्दोलनमा उनी अन्ना हजारे र अरविन्द केजरिवालपछिको सबैभन्दा ठूलो नेता थिए । मनमोहन सिंहको सरकारले जब अन्ना र केजरीवाललाई तिहाड जेल पठाएको थियो, सिसोदिया सँगै जेल गएका थिए।

केजरीवाल र उनको मित्रता मिथकीय छ । उनीहरू करिब २० वर्षदेखि एक-अर्काको अन्तरंग मित्र हुन् । दुवैले मिलेर अन्ना आन्दोलनको रूपरेखा र रणनीति बनाएका थिए । आन्दोलनको अनुहारका रूपमा अन्ना हजारेको छनोट उनीहरूकै निर्णय थियो । यो भन्न सकिन्छ कि केजरीवाल अन्ना आन्दोलनका नायक थिए तर, सिसोदियको भूमिका पनि कुनै नायकको भन्दा कम थिएन।

भ्रष्टाचार विरोधी आन्दोलनका यस्ता नायक आफैं भ्रष्टाचारको आरोपमा जेल जानु त्रासद, दु:खद् र विरोधाभाषी पनि हो। अन्ना आन्दोलनपछि आम आदमी पार्टी बनाउँदा पनि सिसोदिया प्रमुख रणनीतिकार थिए ।

त्यो भिन्नै कुरा हो कि, पार्टी निर्माणपछि केजरीवालको व्यक्तित्व निकै अघि गयो, मनीषको भूमिका सीमित हुँदै गयो । पूरै पार्टी केजरीवालको वरिपरि घुम्न लाग्यो । सबैथोक केजरीवालको तारिकाले हुन थाले, मनीष अरु साथीजस्तै ‘पार्टी हाकिम’ को मातहत हुँदै गए।

यस्तो भूमिका मनीषको यसर्थ बन्यो कि उनी केजरीवालका सामु कहिल्यै आक्रामक बन्न सकेनन् । उनले कुनै सवालमा कहिल्यै भिन्नै मत राख्ने साहस गरेनन् । यो अफसोसको कुरा पनि हो कि यदि उनले त्यस्तो भूमिका गर्थे भने पार्टीले सायद त्यति धेरै गल्तीहरू गर्ने थिएन।

केजरीवालका कतिपय निर्णयले पार्टीलाई नोक्सान भएको छ भन्ने उनलाई थाहा थियो । पार्टी बनाएर चुनाव जित्न पर्ने चक्करमा फसेपछि केजरीवालले पनि केही त्यस्ता गल्तीहरू गरे, जो अन्ना आन्दोलनको मर्मविपरीत थियो । थाहा पाएर मनीष चुप बसे । सायद, उनीमाथि केजरीवालसँगको मित्रताको निष्ठाले भारी भएको थियो । आज उनी त्यही मित्रताको मूल्य चुकाउँदैछन्।

आप सरकारको मदिरा नीति सुरुवातदेखि नै विवादको घेरामा थियो । मदिराको ठेक्का निजी क्षेत्रको हातमा दिने निर्णयको सुरुकै दिनदेखि विरोध भएको थियो । मदिरा नीतिमा भ्रष्टाचार भएको छ कि छैन, यसै भन्न सकिन्न । त्यो जाँचबाटै पत्ता लाग्ला ।

तर, जब नयाँ उपराज्यपाल विके सक्सेना आएपछि सीबीआई जाँचको आदेश दिए, तुरुन्तै मनीष सिसोदियाले पत्रकार सम्मेलन गरी कर नीतिका लागि पुराना उपराज्यपाल अनिल जैनलाई जिम्मेवार बताए, मदिरा नीति नै बदलियो, यसले आशंकालाई बलियो बनाउँछ कि केही न केही गडबड अवश्य छ।

यो शंको पर्खाल त्यतिखेर अझै अग्लो भयो जब गोवा र पञ्जाबको चुनावमा आपले पनि पानीजस्तै पैसा बगाउन थाल्यो । मान्छेले आपमाथि सवाल गर्न थालेका थिए । यसले सरकारी एजेन्सीलाई हात हाल्ने अवसर दियो । यी आरोप कतिको दर्बिला छन्, त्यसमा मनीषको भूमिका के कति हो, त्यो अब अदालतले नै सावित गरोस् । तर, यो एक कदमले मनीषको निधारमा कलंकको दाग भने लागेको छ।

त्यो भन्दा ठूलो कुरा आपको विचार पहिलोपटक बढो गम्भीर संकटमा फसेको छ । मान्छेलाई यो स्वीकार गर्न निकै गाह्रो भइरहेको छ कि केन्द्र सरकारले सिसोदिया जत्तिको नेतालाई त्यतिकै हात हालेको छ।

आप सन् २०१० को दशकमा एक यस्तो विचारको रूपमा उदय भएको थियो कि जसलाई सत्ता राजनीतिको अश्लिलता र घृणित गठजोड विरुद्धको विद्रोह भनिन्थ्यो । जसले भ्रष्टचारविरुद्ध देशमा एक यस्तो आँधी चलाएको थियो कि त्यसले मनमोहन सिंहको सरकार नै उडाइदियो । कांग्रेस अस्तित्व संकटले घेरियो र मोदी नामको अर्को विचार देशमा छाउन पुग्यो।

यो कुनै चानचुने कुरा थिएन कि जब मोदीको अश्वमेघ घोडा बेजोडले दौडिरहेको थियो, त्यतिखेर पनि प्रधानमन्त्रीको शहर दिल्लीमा भने आपले ७० मध्ये ६७ सिट जितेको थियो ।

२०२० पनि उसले ६२ सिट आफ्नो गोजीमा पार्‍यो । पञ्जाबको ११७ मध्ये ९२ सिट कब्जा गर्‍यो । पञ्जाब राजनीतिका पर्याय मानिएका प्रकाश सिंह बादल, क्याप्टेन अमरेन्द्र सिंह हार्नु कुनै मामुली घटना थिएन।

तर, यी सबै कुरा भए । यसर्थ, भए कि मान्छेले आपमा आफ्नो भविष्य देखेका थिए । उनीहरू परम्परागत राजनीतिबाट निकै निराश थिए । जनता मूल्यहीन राजनीतिलाई पाठ सिकाउन चाहन्थे । जनताको नाममा जनतालाई धोका दिनेहरूसँग बदला लिन चाहन्थे।

यदि, तिनै मान्छेलाई लाग्यो कि आप पनि त्यही पुरानै बाटोमा हिड्न थाल्यो भने मोहभंग हुन स्वभाविक हो । मनीषको गिरफ्तारीले यस्तो प्रक्रियालाई अघि बढाउँछ । यसबाट आपलाई नोक्सान हुने छ ।

आप भाजपाजस्तो कुनै संगठित शक्ति हैन । यो भारतीय राजनीतिमा एक लहर जस्तो हो । आपले यो लहरलाई संगठित तथा अनुशासित गर्न सक्नु पर्दथ्यो । संघले जस्तै गरी स्थानीय कार्यकर्ता बनाउन सक्नुपर्दथ्यो । त्यस्तो गरिएको छैन । आप छिछिटो बनाइएको चुनाव लड्ने संयन्त्रजस्तो मात्रै छ । र दु:खद् कुरा, आपले पनि चुनाव जित्ने निहुँमा अरु पार्टीजस्तै हत्कन्डा अपनाउन थालेको थियो ।

उसलाई लाग्यो कि हिन्दूत्वले चुनाव जिताउँछ, त्यसले धर्मको सहारा लिन थाल्यो । उसलाई लाग्यो कि चुनाव जित्न पैसा चाहिन्छ, निर्वाचन कोष बनाउनतिर लाग्यो, राम्रो नराम्रो बिर्सियो । जे कुराको विरोध गरेर आप सत्तामा आएको थियो, त्यही गर्न थाल्यो । अर्थात् आपले आफ्नो पहिचान गुमाउन थालेको थियो।

नैतिक पुँजी आपको सबैभन्दा ठूलो ताकत थियो, त्यो क्षय हुन थाल्यो । यस्तो बेला मनीष सिसोदियको गिरफ्तारीले आपको नैतिक पुँजी थप क्षय हुनेछ । एकपटक नैतिक पुँजी गुम्यो भने आपको पतनलाई कसैले रोक्न सक्दैन । राजनीतिमा गिर्दो आधारलाई फिर्ता गर्न जुन विचारधारा र विरासत चाहिन्छ, त्यो कांग्रेस र भाजपासँग छ, आपसँग कमै छ ।

आप एकपटक चिप्लियो भने फेरि टेक्ने ठाउँ पाउन गाह्रो हुन्छ। धेरै मान्छे जो यो आशामा थिए कि आप कांग्रेसको विकल्प बन्न सक्दछ, यस्तो स्थितिले उनीहरूलाई निराश बनाउँछ।

जहाँसम्म २०२४ को चुनावमा मोदीलाई चुनौती दिने कुरा छ, त्यो विचार अहिले त्याग्नु नै राम्रो हुन्छ । मोदी र केजरीवालको तुलना त्यसै पनि ठीक हैन । मोदीलाई चुनौती दिनुअघि केजरीवालले लोकसभाका दिल्ली सिटहरू जित्न सिक्नुपर्दछ । आपले धेरै ठुल्ठूला कुरा त गर्छ र आफ्नै गढ भएको दिल्लीमा अहिलेसम्म लोकसभाको एक सिट पनि जित्न सकेको छैन ।

सन् २०१४ र २०१९ दुवै चुनावमा आपले दिल्लीका ७ वटै सिट हारेको थियो । अझ २०१९ मा तेस्रो स्थानमा पुगेको थियो । कांग्रेस दोस्रो भएको थियो । ७ सिटमध्ये ३ सिटमा त आपको जमानत नै जफत भएको थियो ।

पञ्जाबको विधानसभामा त्यति ठूलो विजयको बाबजुद मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमै लोकसभा सिट हारेको थियो । आजका मितिमा आपको लोकसभामा एक सिट पनि छैन । हो, विधानसभा निर्वाचनमा आपले कांग्रेसलाई धेरै ठाउँमा हानी गर्न सक्दछ, तर लोकसभा निर्वाचनमा भाजपाको मुकाविला गर्न सक्ने अवस्थामा आप छैन ।

सिसोदियको गिरफ्तारीलाई लिएर आपले माहौल बनाउने प्रयास त गर्ला तर भन्न सकिन्न, कति सफल हुन्छ । यदि, अदालतले सिसोदियालाई जमानतमा छोडेन भने आप निकै ठूलो अप्ठ्यारोमा पर्छ । सरकार चलाउन र पार्टीको छवि बनाउन दुवै काममा गाह्रो हुन्छ । केजरीवाल मनीषमा आँखा चिम्लेर विश्वास गर्थे । केजरीवालका लागि उनको विकल्प खोज्न सजिलो छैन ।

यसमा कुनै दुई मत छैन कि यो घटनाले आपलाई निकै ठूलो झड्का दिएको छ। मोदी सरकारले आपलाई यो झड्काको दलदलबाट सजिलै उम्किन देला जस्तो लाग्दैन । केजरीवालको कौशल र धैर्यताको पनि परीक्षा हुँदै छ ।

(सत्यहिन्दी डट कमबाट )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved