चुनावी नतिजाले एमालेको आन्तरिक समीकरणमा पार्ने प्रभाव : अप्ठ्यारोमा पर्न सक्छन् ओली

अध्यक्षको कोर समूहको पराजय र इतर समूहका अधिकांशले जितेपछि बदलियो शक्ति सन्तुलन

चुनावमा उल्लेखनीय परिणाम नआएपछि ओलीको नेतृत्वमा पार्टी र आन्दोलन कमजोर हुँदै गएको बुझाइ र असन्तुष्टि अब एमालेमा बढ्न सक्ने सम्भावना छ । त्यसको प्रभाव संसदीय दलको नेता छनोट र पार्टीका अन्य जिम्मेवारी बाँडफाँडमा पर्न सक्नेछ ।

चुनावी नतिजाले एमालेको आन्तरिक समीकरणमा पार्ने प्रभाव : अप्ठ्यारोमा पर्न सक्छन् ओली

काठमाडौं। निर्वाचन परिणामले नेकपा एमालेको आन्तरिक शक्ति समीकरण फेरिने संकेत देखिएको छ । जनाकारका अनुसार निर्वाचन परिणामपछि अध्यक्ष केपी शर्मा ओली थप अप्ठ्यारोमा पर्ने सम्भावना छ। यसो हुनुका दुइटा कारण छन् ।

एक– चुनावमा उल्लेखनीय परिणाम नआएपछि ओलीको नेतृत्वमा पार्टी र आन्दोलन कमजोर हुँदै गएको बुझाइ र असन्तुष्टि अब एमालेमा बढ्न सक्ने सम्भावना छ । त्यसको प्रभाव संसदीय दलको नेता छनोट र पार्टीका अन्य जिम्मेवारी बाँडफाँडमा पर्न सक्नेछ । ओलीको नेतृत्वकालमा पार्टी अनावश्यक समस्यामा फसेको, विभाजित भएको, फेरि पाँच वर्ष सत्ता बाहिर बस्नुपर्ने स्थिति उत्पन्न हुन सक्ने भन्दै नैतिकताको आधारमा राजीनामाको मागसमेत उठ्न सक्नेछ ।

ओलीले निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ १०० सिट र समानुपातिकतर्फ ५० सिट जितेर एकल बहुमतको सरकार बनाउने दाबी गर्दै आएका थिए । अध्यक्ष ओलीका विश्लेषण र आश्वासनमा भर पर्दै आएकाहरू अहिले भित्रभित्रै निरास र स्तब्ध देखिन्छन्। दोस्रो पंक्तिको नेतृत्वको चुनावी हारले एमालेका नेता-कार्यकर्तामा स्तब्धता बढाएको छ ।

दुई–ओलीको निकटमा रहेका, ‘किचेन क्याबिनेट’ का सदस्य र अन्य विस्वास पात्र भनेर दाबी गर्नेहरू अधिकांश नेता चुनावमा पराजित भएका छन् । ओलीसँग राजनीतिक तथा व्यक्तिगत ‘दुरी राख्ने’ हरू धेरैले चुनाव जितेका छन् । यसले एमालेको संसदीय दल र पार्टीको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल ल्याउन सक्ने सम्भावना छ ।

दशौं महाधिवेशन यता पार्टीभित्र अध्यक्ष ओलीका प्रत्येक क्रियाकलाप र अभिव्यक्तिलाई ‘आँखा चिम्लेर समर्थन गर्ने’ र ‘थोरै आलोचनात्मक चेत’ भएका दुई समूह एमालेमा थिए । पहिलो समूहको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र महासचिव शंकर पोख्रेलले गरिरहेका थिए ।

दोस्रो समूहको नेतृत्व उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेलले गर्दै आएका छन् । दोस्रो समूहसँग पार्टी विभाजनको समयमा एकीकृत समाजवादीतिर नलागेका ‘१० बुँदे समूह’ को समेत निकटता देखिन्छ । यो समेत थपिँदा एमालेमा ओली समर्थकको खेमा कमजोर हुने सम्भावना बढेको छ।

ओली निकटका को-को हारे ?

निर्वाचनमा पराजित हुने ओलीका विश्वास पात्रको सूची निकै लामो बनेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीसहित ओलीका निकै निकटमा रहेर काम गर्ने थुप्रै नेताहरू चुनावमा हारेका छन् ।

नेताहरू राजन भट्टराई, महेश बस्नेत, कर्ण थापा, विशाल भट्टराई, शेरधन राई, अग्नी खरेल, भानुभक्त ढकाल, पद्मा अर्याल, कोमल ओली, शान्ता चौधरीदेखि पूर्व प्रहरी अधिकृत नवराज सिलवाल र सर्वेन्द्रनाथ खनाल पनि पराजित भएका छन् ।

गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ र सूर्य थापालाई छाड्ने हो भने ओली ग्याङ्ग चुनावमा लगभग साफ भएको छ । ओलीका हरेक जायज-नाजायज काममा काँध हाल्ने दोस्रो र तेस्रो पुस्तालाई मतदाताले पूर्णरूपमा अश्विकार गरिदिएका छन् ।

ओलीसँग ‘दूरी राख्ने’ क-कसले जिते ?

एकातिर ओलीका निकटवर्ती विशाल पङ्ति हारिरहँदा अर्कोतिर ओलीसँग दुरी राख्ने नेताहरू भने अधिकांश चुनाव जित्न सफल भएका छन् । नेकपा हुँदा नै महासचिव भए पनि एमालेको महाधिवेशनमा पेलानमा परेका विष्णु पौडेलले चुनाव जिते । ओलीकै आशिर्वादका कारण पौडेललाई पछि पारेर शंकर पोखरेलले महासचिव हत्याएका थिए ।

उता फेरि पनि प्रदेशमा उठ्न चाहेका तर ओलीले प्रतिनिधिसभामा पठाएका पृथ्वी सुब्बा गुरुङ पनि लमजुङबाट चुनाव जित्न सफल भए । बाहिर धेरै नबोले पनि पार्टीमा ओलीका कदमबाट असन्तुष्ट रहेका सुवास नेम्वाङदेखि  १० बुँदे समूहमा रहेका सचिव गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराईले पनि चुनाव जितेका छन् ।

यो पटक एमालेलाई प्रदेश १, मधेस र लुम्बिनीले साख बचाइदिएको छ । लुम्बिनीमा पनि चुनाव जित्ने अधिकांश विष्णु पौडेल निकटका छन् । पाल्पामा ठाकुर गैरे, रुपन्देहीमा वासुदेव घिमिरेदेखि कपिलवस्तुमा बलराम अधिकारीसम्मले चुनाव जितेका छन् ।

रुपन्देही पाँचमा टिकट पाएका घिमिरेलाई अन्तिममा ब्याक गराउन प्रपञ्च गरिएको थियो, तर एमाले नेतृत्व सफल भएन । उपाध्यक्ष पौडेलको जोडबलमा टिकट पाएका घिमिरेलाई हटाएर त्यहाँ महासचिव पोखरेलको जोडबलमा खिमलाल भट्टराईलाई अन्तिम समयमा टिकट दिइयो ।

तर, दुवैले मनोनयन गरेपछि घिमिरेको सदर भयो । उनले फराकिलो मतान्तरले चुनाव पनि जिते । भट्टराईको राष्ट्रियसभा सदस्य पदसमेत गुम्यो । यो उदाहरणबाट पनि थाहा हुन्छ कि चुनावले लुम्बिनीमा पौडेललाई झन् शक्तिशाली बनाएको छ ।

महाधिवेशनमा पोखरेल हाबी, चुनावमा पौडेल

गत वर्ष सम्पन्न एमालेको दशौं महाधिवेनमा ओली किचेन क्याबिनेटका सदस्य हाबी भएका थिए । त्यसको आन्तरिक कमाण्ड महासचिव शंकर पोखरेलसँग थियो । उपाध्यक्ष पौडेल र महासचिव पोखरेल एउटै प्रदेशको भएकाले उनीहरूबीच कतिपय सवालमा चर्को आन्तरिक प्रतिस्पर्धा देखिन्थ्यो ।

उपाध्यक्ष पौडेल बुटबल क्षेत्रका हुन् । उनी प्रदेश राजधानी बुटबलमै राख्न चाहन्थे । महासचिव पोखरेल दाङ क्षेत्रका हुन् । उनले प्रदेश राजधानी दाङतिरै सारिदिए । यसले पनि सम्बन्ध थप तिक्ततापूर्ण बन्यो ।

चुनावको टिकट वितरणमा पनि अध्यक्ष ओलीमाथि पोखरेल हाबी भएका थिए । रुपन्देही–१ मा उपाध्यक्ष पौडेल घनश्याम भुसाललाई नै टिकट दिन चाहन्थे । तर,ओलीले भुसाललाई टिकट नदिनुमा पोखरेलसँग विद्यार्थी कालदेखिको प्रतिस्पर्धी मानसिकताले काम गरेको थियो ।

महाधिवेशन र टिकट वितरणमा अध्यक्ष ओलीमाथि हाबी भए पनि चुनावी परिणाममा भने महासचिव पोखरेलको समूह निकै कमजोर भएको छ । यसले पोखरेल समूहमा निराशा, सन्नाटा र स्तब्धता सिर्जना गरेको छ । तर, पौडेल समूह भने चुनावले स्वस्फूर्त बद्लिदिएको आन्तरिक शक्ति समीकरण आफूअनुकूल हुँदा उत्साहित भएको छ ।

ओलीको नयाँ दाउ !

अपेक्षित चुनावी परिणाम नआएपछि नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा ओलीले नयाँ दाउ खेल्न सक्ने संकेत गरेका छन्। त्यो हो–फेरि कम्युनिस्ट एकताको प्रयत्न।

संघमा पाँच दलीय गठबन्धनको सरकार बनेमा प्रदेशहरूमा पनि त्यही समीकरण बन्ने निश्चित छ । फलतः केन्द्रमा मात्रै हैन, अधिकांश प्रदेशमा समेत एमाले सरकारबाहिरै रहनुपर्ने हुन सक्छ ।

५ वर्षसम्म निरन्तर सबै प्रदेश र केन्द्र सरकारभन्दा बाहिर रहँदा ओलीलाई सकस हुनु स्वाभाविक हो । तसर्थ, ओलीले फेरि कम्युनिस्ट एकता र वामगठबन्धनको नाममा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेसबाट टाढा पार्ने प्रयत्न सुरु गरेका छन् ।

तर, उपाध्यक्ष पौडेलले भने अहिलेको जनादेशले एमालेलाई प्रतिपक्षमा बस्न भनेको र त्यहीअनुसार अघि बढ्नुपर्ने बताइरहेका छन् ।

संसदीय दलमा ओलीलाई कसले चुनौती देला ? 

एमालेले चुनावी समीक्षाका लागि अझै कुनै बैठक बोलाएको छैन । निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेपछि पक्कै पनि एमालेले आन्तरिक समीक्षा सुरु गर्नेछ । समीक्षा बैठकमा अध्यक्ष ओलीको भनाइ कस्तो आउला ? उनलाई खास मन नपराउने समूहले कस्तो प्रतिक्रिया जनाउँला भन्ने चासो छ ।

त्यसपछि एमालेले संसदीय दलको नेता छनोटको प्रक्रिया अघि बढाउनेछ । असन्तुष्टिका बाबजुद  ओलीलाई काउन्टर दिने हिसाबले अन्य कोही नेता अघि बढ्लान् भन्न सकिने अवस्था छैन । तर, पौडेल र नेम्वाङमध्ये एक नेता ओलीसँग संसदीय दलको चुनाव लड्न सक्ने सम्भावना भने छ ।

प्रत्यक्षमा जितेका धेरै सांसद अहिले अध्यक्ष ओलीसँग सन्तुष्ट देखिँदैनन् । तर, समानुपातिकबाट आउने सांसदले भने औलीलाई सहयोग पुर्‍याउन सक्छ । त्यसैले, ओली इतरको समूह अहिले त्यही अंकगणित पर्खिएर बसेको छ । इतर समूहका एक नेता भन्छन्, ‘समानुपातिकसहित सबै नतिजा प्राप्त भएपछि मात्रै यसबारे आन्तरिक परामर्श अघि बढ्न सक्छ ।’

बाहिर स्पष्ट रूपमा नआए पनि अहिले एमालेभित्र शीर्ष नेतृत्वप्रतिको असन्तुष्टि बढ्दै गएको छ । कार्यकर्ता तहबाट सामाजिक सञ्जालमा त खुलेरै नेतृत्वको आलोचना भइरहेको छ । अध्यक्ष ओली र उनीनिकट नेताले अहिले यही आलोचना मत्थर पार्ने प्रयास गरिरहेका छन् ।

तर, नयाँ सरकार गठनको स्पष्ट खाका बाहिर आएपछि एमालेमा अन्तरसंघर्ष चर्किँदै जान सक्नेछ । ओलीकै कारण अबको पाँच वर्ष पनि प्रतिपक्षमा बस्नुपरेको भन्दै आलोचना झन् तीव्र हुन सक्नेछ । त्यसले एमालेमा एकछत्र जस्तै देखिएको ओलीको पकड खुस्किँदै गयो भने आश्चर्य हुनेछैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved