लोसपा प्रतिस्पर्धामा रहेका ८ क्षेत्रमा कस्तो छ अवस्था ?

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेर प्रतिनिधिसभामा सात ठाउँमा प्रतिस्पर्धा गर्दै छ । तालमेल नभएका कतिपय सीटमा पनि उसले उम्मेदवारी दिएको छ । जसपाबाट अलग्गिएर बनेको लोसपाले आगामी चुनावमा कति सीट जित्ला ? हेरौं यो विष्लेषण ।

नेपालभ्युज

लोसपा प्रतिस्पर्धामा रहेका ८ क्षेत्रमा कस्तो छ अवस्था ?

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेर प्रतिनिधिसभामा सात ठाउँमा प्रतिस्पर्धा गर्दै छ । तालमेल नभएका कतिपय सीटमा पनि उसले उम्मेदवारी दिएको छ ।

जसपाबाट अलग्गिएर बनेको लोसपाले आगामी चुनावमा कति सीट जित्ला ? लोसपाका नेता अनिलकुमार झाका अनुसार गठबन्धनप्रति नागरिकको भरोसा बढेको छ । चुनाव जित्ने आधार जनताको साथ र गठबन्धनको सहयोग रहेको उनले बताएका छन् ।

झाले लोसपाले मात्रै मधेसको समस्या समाधान गर्ने दाबी गरे । उनले भने ‘नेपालमा कुनै मधेसवादी दल छ भने त्यो लोसपा मात्रै हो । मधेसीको समस्या समाधान गर्ने दल पनि लोसपा नै हो ।’

लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेर उम्मेदवारी दिएका सात र तालमेल नभएको तर प्रतिस्पर्धामा रहेको एक गरी आठ सीटमा कस्तो छ  अवस्था ? हामीले विष्लेषण गरेका छौं ।

धनुषा–३ : अनिललाई जुलीको टक्कर

धनुषा क्षेत्र नम्बर ३ मा लोसपाका नेता अनिल झा उम्मेदवार छन् । यहाँ उनको एमाले नेता जुलीकुमारी महतोसँग चुनावी प्रतिस्पर्धा हुँदैछ ।

२०७४ मा यो क्षेत्रबाट तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाका राजेन्द्र महतोले कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । निधि यसपटक समानुपातिकमा बसेका छन् । महतो सर्लाही २ मा उठेका छन् ।

स्थानीय तह निर्वाचनको परिणाम हेर्दा सत्तागठबन्धनको अवस्था बलियो देखिएको छ। सत्ता गठबन्धनले करिब २८ हजार मत ल्याएको थियो । एमाले र जसपाको मत जोड्दा २४ हजार हाराहारीमा छ ।

यही अवस्थामा मत खस्ने हो झाले जित्ने देखिन्छ । तर, कांग्रेस निकट इन्जिनियर सत्यनारायण शाहको उम्मेदवारीले गठबन्धनलाई समस्या पर्न सक्छ  । विमलेन्द्र निधिका नजिक मानिएका शाह काठमाडौं महानगरका प्रमुख बालेन शाहका सहोदर काकासमेत हुन् ।

उनले युवाको उल्लेख्य मत लैजाने अनुमान गरिएको छ । त्यसैले जुली र झाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

बारा–३ : लालबाबुलाई ज्वालाको चुनौती

बारा क्षेत्र नम्बर ३ मा लोसपाका लालबाबु सिंह उम्मेदवार छन् । कांग्रेसको दुई पटक जिल्ला सभापति भइसकेका उनी यसपालि टिकट नपाएपछि  लोसपामा प्रवेश गरेका हुन् । उनी कांग्रेसबाट पहिलो संविधानसभामा समानुपातिक सभासद भएका थिए ।

एमाले पोलिटब्युरो सदस्य ज्वालाकुमारी साहले सिंहलाई चुनौती दिएकी छन् । संविधानसभाको पहिलो निर्वाचनमा उनी माओवादीबाट सभासद  थिइन् ।

नेकपा विभाजनपछि उनी एमालेमै रहिन । यो क्षेत्रमा एमालेसँग तालमेल नमिलेपछि जसपाले पनि उम्मेदवार उठाएको छ । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित रामबाबु कुमार यादव जसपाबाट उम्मेदवार बनेका छन् ।

यहाँ टिकट वितरणपछि सत्तारुढ गठबन्धन र एमाले दुवैतिर विवाद बढेको छ। नवप्रवेशीलाई टिकट दिएको भन्दै कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन्।

त्यसैगरी आफ्नो पार्टीका पुराना नेतालाई पन्छाएर माओवादी पृष्ठभूमिकी साहलाई टिकट दिएको भन्दै एमालेमा पनि असन्तुष्टी देखिन्छ । यो क्षेत्रमा सबैभन्दा ठुलो दल एमाले हो । तर सत्ता गठबन्धनको मत जोड्दा भने एमालेको भन्दा बढी हुन्छ ।

दुवै तर्फको असन्तुष्टी मत पेटिकामा कसरी प्रकट हुन्छ त्यसले नै परिणाम निर्धारण हुने धेरैको अनुमान छ । कांग्रेसभित्रका असन्तुष्टलाई मनाउन सके सिंहले जित्न सक्छन् ।

पर्सा–१ कर्णलाई कांग्रेसका बागी मुख्य समस्या  

पर्सा १ लोसपाबाट पनि पूर्वमन्त्री लक्ष्मणलाल कर्ण चुनावी प्रतिस्पर्धामा छन् । उनलाई जसपाका प्रदीप यादवले टक्कर दिइरहेका छन् ।

सत्ता गठबन्धनको निर्णयबाट असन्तुष्ट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति अजय द्विवेदीको बागी उम्मेदवारीले कर्णलाई अप्ठेरो परेको छ ।

यो क्षेत्रबाट ०७४ मा यादव निर्वाचित भएका थिए । त्यो बेला उनलाई फोरम नेपालको साथ थियो । अहिले उनलाई एमालेको समर्थन छ ।

कर्णले यसअघि पर्सा ४ बाट जितेका थिए । उनले आफ्नो उम्मेदवारी अन्तिम भएको बताउँदै सहानुभूति बटुल्न खोजेका छन् ।

गत स्थानीय चुनावको मतका आधारमा यहाँ जसपा बलियो छ । जसपाले १५ हजार ७०६, एमालेले १३ हजार ३३५, कांग्रेसले १२ हजार ९०२, माओवादीले ३ हजार ७४६, लोसपाले २ हजार ८६ र एकीकृत समाजवादीले १ हजार ६०३ मत ल्याएका थिए ।

यस आधारमा यहाँ एमाले-जसपा गठबन्धन अघि देखिन्छ । तर यहाँ द्विवेदी पनि कमजोर उम्मेदवार होइनन् । उनले दुवै तर्फका मत ल्याउँदा समीकरण फेरिन सक्छ । अर्थात त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना छ ।

कर्णलाई भने यो सबै अवस्थामा चुनाव जित्न निकै सकस देखिन्छ ।

महोत्तरी -२ : शरतसिंह सहज अवस्थामा

महत्तरी २ मा लोसपाका शरतसिंह भण्डारी मैदानमा छन् । एमाले,जसपा गठबन्धनबाट डा.रामपरीक्षण यादव र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का वरिष्ठ नेता डा.विजय सिंहले भण्डारीलाई चुनौती दिइरहेका छन् ।

भण्डारी ०४३ सालमा पञ्चायतकालदेखि गणतन्त्रकालसम्म १५ पटक मन्त्री भइसकेका छन् । यसबीचमा उनले आठपटक चुनावी प्रतिस्पर्धा गरेका छन् । त्यसमध्ये ६ पटक निर्वाचित भएका छन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट भण्डारीले २०७४ को निर्वाचनमा यस क्षेत्रमा भारी मतले जित हासिल गरेका थिए ।

गत वैशाख ३० गते भएको स्थानीय तह चुनावमा वडाअध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा लोसपा पहिलो शक्ति हो । उसले १७ हजार ५७७ मत पाएको छ भने दोस्रोमा कांग्रेसले १६ हजार ९३८ । तेस्रोमा जसपाले ८ हजार ५३२, चौथोमा एमालेले ७ हजार ५७ मत पाएको थियो ।

यस्तै माओवादी केन्द्रले ६ हजार ५०६, जनमत पार्टीले ३ हजार ४२५, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले २ हजार ६४ र एकीकृत समाजवादीले १ हजार १९६ मत पाएका छन् । सत्ता गठबन्धनमा रहेकाले भण्डारीले यहाँबाट सहज जित निकाल्ने अनुमान छ ।

महोत्तरी -३ : अध्यक्ष ठाकुरलाई कति सहज ?

महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर प्रतिस्पर्धामा छन् । प्रतिपक्षी गठबन्धनबाट जसपाका हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामआधार कापर यहाँका प्रतिस्पर्धी हुन् ।

स्थानीय तहको चुनावमा वडाअध्यक्षका उम्मेदवारले पाएको मतलाई हेर्ने हो भने जसपा मजबुत देखिन्छ । जसपाले १४ हजार ३५७, लोसपाले १२ हजार ७३५, नेकपा एमालेले १० हजार ८२०, नेपाली कांग्रेसले ९ हजार ४३, नेकपा माओवादी केन्द्रले ५ हजार १९५ र नेकपा एकीकृत समाजवादीले २ हजार ५७० मत पाएको थियो ।

यो अंकगणितलाई हेर्ने हो भने ठाकुर मजबुत देखिन्छन् । सत्ता गठबन्धनको मत २९ हजार ५४३ हुन्छ भने जसपा र एमालेको मत २५ हजार १७७ मात्रै पुग्छ ।

यस आधारमा ठाकुरले नै फेरि पनि चुनाव जित्ने सम्भावना छ ।

सप्तरी –२ : उपेन्द्र र सिके राउतसँग ठाकुरको भिडन्त

सप्तरी २ मा लोसपाका जयप्रकाश ठाकुर प्रतिस्पर्धामा छन् । यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका चन्द्रकान्त राउतसँग उनको  प्रतिस्पर्धा छ । २०७४ को निर्वाचनमा तत्कालिन संघीय फोरमबाट उम्मेदवार बनेका यादव विजयी भएका थिए ।

स्थानीय चुनावका आधारमा जसपा–एमाले गठबन्धन सत्ता गठबन्धनभन्दा १३ हजार मतले पछि छ । सत्ता गठबन्धनसँग ३३ हजार १ सय ८४ मत छ भने एमाले-जसपा गठबन्धनसँग २० हजार ३ सय ५४ मात्रै मत छ।

यहाँ राउतको उम्मेदवारीले चुनाव रोचक बनेको छ । यसपटक यादवलाई चुनाव जित्न सहज नभएको विष्लेषण भइरहेको छ ।

यो क्षेत्रबाट ठाकुर र राउतमध्ये एकजनाले चुनाव जित्ने सम्भावना धेरै रहेको स्थानीय विष्लेषकको दाबी छ ।

सर्लाही -१ : चौधरी अगाडी

सलार्ही –१ मा सत्ता गठबन्धनबाट लोसपाका रामप्रकाश चौधरी उम्मेदवार छन्। उनको प्रतिस्पर्धा जसपाका प्रमोद साहसँग हुँदैछ । साहले तत्कालीन राजपाबाट गत चुनावमा जित हासिल गरेका थिए ।

यहाँ जसपाको संगठन खासै मजवुत छैन । त्यसैले उनलाई एमालेको भरमा जित निकाल्ने चुनौति छ ।

स्थानीय चुनावको परिणामका आधारमा सत्ता गठबन्धन बलियो छ । गठबन्धनमा पनि लोसपाको संगठन राम्रो भएकाले यहाँबाट चौधरीले जित्ने सम्भावना प्रवल छ ।

सर्लाही–२ : महतोको चुनावी दाउ

सर्लाही–२ मा सत्ता गठबन्धनबाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव उम्मेदवार छन् । यादव माओवादीको चुनाव चिह्नबाट लडिरहेका छन् ।

लोसपा नेता राजेन्द्र महतो यही क्षेत्रमा उम्मेदवार छन् । तर उनको सत्ता गठबन्धनसँग तालमेल छैन । यहाँ एमालेका राजनारायण साह पनि मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा भने यादव र महतोबीच हुने अनुमान गरिएको छ ।

स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेस सबैभन्दा बलियो छ।

वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत हेर्दा कांग्रेसको २४ हजार ६२० छ भने जसपाको १९ हजार ६४२, लोसपाको १२ हजार ३६६, माओवादी केन्द्रको ७ हजार ७३७ र एकीकृत समाजवादीको २ हजार २२१ मत छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत जोड्दा ३४ हजार ५७८ मत हुन्छ।

एमाले नेतृत्वको गठबन्धनका पक्षमा २७ हजार ३५७ मत छ। लोसपाका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मत १२ हजार ३६६ छ। यी दुई गठबन्धनका बीचबाट जित निकाल्न महतो लागिरहेका छन् । उनी अहिलेसम्म प्रतिस्पर्धामा पुगेका छन् ।

समग्रमा लोसपाका उम्मेदवार मुख्य प्रतिस्पर्धामा रहेका ८ मध्ये आधा उम्मेदवार जित नजिक देखिन्छन् । बाँकी आधालाई भने कडा चुनौती छ ।

यो पनि पढ्नुहोस् :

काठमाडौं उपत्यकाका १५ क्षेत्रको सम्भावित परिणाम : एमालेलाई लाग्दैछ ठूलो धक्का ?

बाग्मती प्रदेशका उपत्यका बाहिरका १८ निर्वाचन क्षेत्र : यस्तो आउनसक्छ चुनावी परिणाम

सुदूरपश्चिमको समग्र विश्लेषण : १६ क्षेत्रमा को उम्मेदवार बलियो ?

गण्डकी प्रदेशका १८ क्षेत्रको सम्भावित परिणाम : कहाँबाट कसले बाजी मार्ला ?

मधेसका ३२ क्षेत्रको चुनावी विश्लेषण : कहाँ, कसले मार्न सक्छ बाजी ?

यस्तो छ, लुम्बिनीका २६ क्षेत्रको सम्भावित परिणाम : एमाले बढी आशावादी

एकीकृत समाजवादीका १९ उम्मेदवार : को-को छन् जित्ने अवस्थामा ? कसलाई छ समस्या ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved