एकीकृत समाजवादीका १९ उम्मेदवार : को-को छन् जित्ने अवस्थामा ? कसलाई छ समस्या ?

गठबन्धनको भर, उम्मेदवारलाई डर

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले चुनावमा प्रतिनिधिसभाका लागि १९ सिटमा उम्मेदवार उठाएको छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका उम्मेदवारको अवस्था कस्तो छ ? १९ उम्मेदवारमध्ये कति जित्ने अवस्थामा छन् ? हामीले एक-एक विष्लेषण गरेका छौं ।

नेपालभ्युज

एकीकृत समाजवादीका १९ उम्मेदवार : को-को छन् जित्ने अवस्थामा ? कसलाई छ समस्या ?

काठमाडौं। नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले चुनावमा प्रतिनिधिसभाका लागि १९ सिटमा उम्मेदवार उठाएको छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका उम्मेदवारको अवस्था कस्तो छ ? १९ उम्मेदवारमध्ये कति जित्ने अवस्थामा छन् ? हामीले विश्लेषण गरेका छौं ।

एकीकृत समाजवादीका धेरै उम्मेदवारलाई गठबन्धनकै भर छ । केही सहज अवस्थामा देखिन्छन् भने कतिपयलाई गठबन्धनको मत नआउने डर छ ।

गठबन्धनको मत ट्रान्सफर भयो भने यो पार्टीका धेरै उम्मेदवार विजयी हुन सक्छन् । भएन भने समस्या हुनेछ । पार्टीका उपाध्यक्ष प्रमेश हमाल गठबन्धनमा भएकै कारण आफूहरूको जित निश्चित रहेको दाबी गर्छन् । उनी भन्छन् ‘पहिलो कुरा त हाम्रो पक्षमा देशभरिकै जनमत राम्रो देखिएको छ । अर्को गठबन्धनमा रहेकाले हाम्रो जित निश्चित छ ।’

उनले समानुपातिकमा पनि १५ प्रतिशत भन्दा बढी मत आफूहरूले पाउने दाबी गरे । एकीकृत समाजवादीका उम्मेदवारको अवस्था कस्तो छ हेरौं ।

माधव नेपाल ढुक्क

रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका अध्यक्ष माधवकुमार नेपाल अन्य भन्दा सहज अवस्थामा छन् । नेकपा एमालेका अजय गुप्ता उनका मुख्य प्रतिस्पर्धी हुन् । गुप्तालाई नेपालले २०७० सालको चुनावमा पनि हराएका थिए । त्यतिबेला गुप्ता मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उम्मेदवार थिए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले रौतहटमा चारवटा पालिका जितेको छ । तीमध्ये दुई पालिका क्षेत्र नम्बर १ मा छन् । वडाध्यक्षको मतका आधारमा पनि यो क्षेत्रमा एकीकृत समाजवादी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको कांग्रेस, तेस्रो स्थानमा रहेको लोसपासहित माओवादीको समेत समर्थन पाउँदा नेपाललाई चुनाव जित्न कुनै कठिनाइ देखिँदैन ।

उनका लागि कति मतान्तर हुन्छ भन्ने मात्रै अर्थ राख्ने एकीकृत समाजवादीका नेता बताउँछन् ।

अछाम-१ मा एमाले विवादको फाइदा 

अछाम एकमा एकीकृत समाजवादीका शेरबहादुर कुँवर चुनावी मैदानमा छन् । यो क्षेत्रमा अघिल्लो पटक भीम रावलले चुनाव जितेका थिए । अहिले रावलको स्थानमा एमालेले झपटबहादुर बोहरालाई उठाएको छ ।

एकल सिफारिस गरे पनि रावललाई टिकटबाट वञ्चित गरेपछि एमाले कार्यकर्ता रुष्ट बनेका छन् । जसको फाइदा कुँवरलाई हुने देखिएको छ । यद्यपि, यहाँबाट जित निकाल्न उनलाई कांग्रेसको साथ चाहिन्छ ।

कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले समेत चुनावी समीकरणलाई असर पार्न सक्छन् । तर, यहाँ भीम रावलको साथ पाए एकीकृत समाजवादीका शेरबहादुरले चुनाव जित्नेछन्।

बझाङमा जोशीलाई सहज 

बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी मैदानमा छन् । नेकपा एमालेले ऐन महरलाई उम्मेवार बनाएको छ । एमालेमा राजनीति गरेको अनुभव र उमेरका हिसाबले जोशी महरका गुरु हुन् ।

२०७४ मा यहाँ एमालेका भैरबबहादुर सिंह विजयी भएका थिए । गत स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा सत्ता गठबन्धनले पाएको मत एमालेको भन्दा झण्डै दोब्बर छ । त्यसैले यो सिटबाट पनि एकीकृत समाजवादीले जित्ने सम्भावना बढी छ ।

बारा-४ मा किसान के गर्लान् ? 

बारा क्षेत्र नम्बर ४ मा पाच दलिय गठवन्धनका तर्फबाट एकीकृत समाजबादीका किसान श्रेष्ठ चुनावी मैदानमा छन् । यता नेकपा एमालेले भने पूर्व युवा तथा खेलकुद मन्त्री एकवाल मियाँलाई उम्मेदवार बनाएको छ ।

एकवाल मियाँ यस क्षेत्रका निवर्तमान सांसद हुन्। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी, नेपालबाट चुनाव लडेका उनले नेकपा एमालेका देवनारायण थारूलाई पराजित गर्दै प्रतिनिधि सभामा आफ्नो सिट सुनिश्चित गरेका थिए। देवनारायण थारूले २०,६०७ मत प्राप्त गर्दा उनले २२,२७५ मत प्राप्त गरेका थिए।

अघिल्लो निर्वाचनमा तनहुँ– १ मा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउँदै चर्चामा आएका किसान श्रेष्ठ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुन्। गठबन्धनबाट तनहुँ–१ मा रामचन्द्र पौडेल उमेदवार हुने भए पछि उनले बारा-४ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा यहाँ गठबन्धनको धेरै मत छ । वडाको मतका आधारमा एमालेले सबैभन्दा बढी २१ हजार १६७ मत ल्याएको छ भने नेपाली कांग्रेसले १६ हजार ५८९ । यस्तै, लोसपाले १५ हजार ८०, माओवादी केन्द्रले ९ हजार १३, जसपाले ५ हजार ३००, एकीकृत समाजवादीले ५ हजार १९  र राप्रपाले १ हजार १५४ मत पाएको छ ।

यस आधारमा सत्ता गठबन्धनसँग ४५ हजार ७०१ र एमाले–जसपा गठबन्धनसँग २६ हजार ८५८ मत देखिन्छ । यसअघि, लोसपामा रहेका मियाँ यो क्षेत्र एकीकृत समाजवादीले पाएपछि एमालेमा गएर उम्मेदवार बनेका हुन् ।

स्थानीय तहको निर्वाचन पछि एकीकृत समाजवादीका कतिपय नेता एमालेमै फर्किएका छन् । तर, मियाँलाई रातारात टिकट दिइएकोमा एमालेको एउटा समूह असन्तुष्ट पनि देखिन्छ । यि सबै फ्याक्टर केलाउँदा यो क्षेत्रमा कडा टक्कर हुने अनुमान गरिएको छ ।

दैलेख–१ मा गठबन्धनकै भर 

दैलेख-१ मा पनि एमाले र पूर्व एमालेबीच नै प्रतिस्पर्धा हुँदै छ । एमालेले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई चुनावी मैदानमा उतारेको छ भने गठबन्धनबाट एकीकृत समाजवादीका अम्मर थापा उम्मेदवार छन् ।

लामो समय एमाले दैलख पार्टी सचिव रहेका थापा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष हुन् ।

०७४ को निर्वाचनमा शर्मा २३ हजार सात सय ७३ मतसहित विजयी हुँदा राप्रपाका दीपककुमार शाहीले १७ हजार दुई सय ५२ मत पाएका थिए । त्यतिखेर यहाँ राप्रपा–कांग्रेसले सहकार्य गरेका थिए । गत स्थानीय तह निर्वाचनको नतिजा हेर्ने हो भने दैलेख १ मा कांग्रेस पहिलो शक्ति हो । उसको २१ हजार दुई सय ५७ मत छ । एकीकृत समाजवादीको मत पाँच हजार पाँच सय मात्रै छ भने  माओवादी केन्द्रको मत करिब ६ हजार देखिन्छ ।

एमालेको मत भने १९ हजार आठ सय छ । गठबन्धनको मत पाए भने थापा सहजरूपमा विजयी हुनेछन् । उनलाई मुख्यत: कांग्रेसबाट मत ट्रान्सफरको चिन्ता देखिन्छ ।

 

दाङ-१ मा मेटमणि जित्लान् ? 

एकीकृत समाजवादी नेता एवं शहरी विकासमन्त्री मेटमणि चौधरीलाई यहाँ एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीले टक्कर दिएकी छन् ।  २०७४ मा यहाँ एमालेबाट मेटमणिले फराकिलो अन्तरले  जितेका थिए ।

एमालेकी गंगा चौधरीले यो क्षेत्रबाट बागी उम्मेदवारी दिएकी छन् । स्थानीय चुनावलाई आधार मान्दा दाङ–१ मा कांग्रेस पहिलो पार्टी हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवारको मत २९ हजार ७५७ छ ।

एमालेका वडाध्यक्षले २७ हजार २५ मत पाएका थिए। माओवादीको १९ हजार २७६, राप्रपा २ हजार ३५० र एकीकृत समाजवादीको जम्मा २ हजार ३४१ मत छ । यसरी हेर्दा गठबन्धनका उम्मेदवार मेटमणी बलियो देखिन्छन् । तर, २३ सय मत भएको पार्टीलाई कांग्रेस र माओवादीका धेरै मत तान्नुपर्ने चुनौती छ । यद्यपी गठबन्धन फराकिलो अन्तरले अघि रहेकाले यो क्षेत्रमा मेटमणिले नै जित्ने अनुमान गरिएको छ ।

धादिङ-१ मा पाण्डेलाई त्रिपाठीको चुनौती 

धादिङ एकमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र एमालेका भूमिप्रसाद त्रिपाठीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपाठीले २०७४ को चुनावमा वाम गठबन्धनको सहयोगमा फराकिलो अन्तरको जित निकालेका थिए ।

पाण्डे भने प्रदेशमा जितेर मुख्यमन्त्री बने । यो क्षेत्रबाट पाण्डे ०४८, ०५१, ०५६ र ०७० को संसदीय निर्वाचनमा पनि विजयी भएका थिए ।

स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारको मतका आधारमा यहाँ एमाले पहिलो शक्ति हो । उसले ३७ हजार ७ सय ७८, माओवादीले २४ हजार ९ सय २५, कांग्रेसले १९ हजार ४ सय २३, एकीकृत समाजवादीले ८ हजार ८ सय ३६ र राप्रपाले १ हजार २ सय २२ मत पाएका थिए ।

यस आधारमा सत्ता गठबन्धनको मत एमालेको भन्दा निकै बढी छ । जसका कारण यो क्षेत्रबाट पाण्डेले सहज जित निकाल्न सक्ने देखिएको छ ।

 

डोल्पामा बुढा के गर्लान् ? 

डोल्पामा एकीकृत समाजवादीले धनबहादुर बुढालाई उम्मेदवार बनाएको छ । उनको एमालेका गणेशबहादुर शाहीसँग प्रतिस्पर्धा हुँदैछ । एमाले विभाजन हुँदा दुवै एकीकृत समाजवादीमा लागेका थिए । तर, चुनाव अघि फर्किएर उनी एमालेको उम्मेदवार बनेका हुन् ।

बुढाले ०७० को संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए । राजनीतिका खेलाडी मानिने उनी सत्ता गठबन्धनको सहयोगमा सहज जित निकाल्ने योजनामा देखिन्छ ।

गत स्थानीय तह निर्वाचनलाई आधार मान्दा पनि यहाँ सत्ता गठबन्धन धेरै अगाडि छ । स्थानीय चुनावमा यहाँ माओवादीले ४ हजार ८ सय ५५, एमालेले ४ हजार ५ सय ४५, कांग्रेसले ३ हजार ६९ र एकीकृत समाजवादीले १ हजार ३ सय ३४ मत पाएका थिए ।

यसलाई हेर्दा बुढाले हयाट्रिक जित निकाल्ने सम्भावना बढी छ ।

डोटीमा आलेलाई वलीको चुनौती  

डोटीमा विवादास्पद नेता प्रेमबहादुर आले एकीकृत समाजवादीका उम्मेदवार छन् । एमालेले पार्टी पोलिटब्युरो सदस्य गौरी वलीलाई उम्मेदवार बनाएको छ ।

दुईजना एउटै पार्टीबाट संविधान सभा सदस्य रहिसकेका छन् । कांग्रेस छाडेर स्वतन्त्र उठेका नरेन्द्रबहादुर खड्काका कारण आलेलाई केही समस्या हुन सक्छ ।

खड्काले कांग्रेसको मत जति पाउँछन् आलेको त्यति कम हुनेछ । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यहाँ कांग्रेस निकै बलियो छ । कांग्रेसले ३३ हजार ९४४ मत पाउँदा एमालेले २५ हजार ३६ मत पाएको छ ।

माओवादी केन्द्रको ७ हजार ६१२ र एकीकृत समाजवादीको ३ हजार २०५ मत छ । यस आधारमा गठबन्धनको मत अत्यधिक छ । आलेले कांग्रेसका आधा मात्रै मत तान्न सके पनि जित निकाल्नेछन् ।

 

गुल्मी-२ मा झाँक्रीलाई छैन सहज 

एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री अहिले गुल्मी–२ बाट प्रतिस्पर्धामा छन्  । उनी एमाले सचिव गोकर्ण विष्टसँग प्रतिस्पर्धामा छन् ।

विष्ट स्वयम् ०५६ सालदेखि यो क्षेत्रमा चुनाव लड्दै आएका छन्। उनलाई २०६४ सालमा माओवादीका चन्द्रबहादुर थापा (सागर)ले हराएका थिए। अरु सबै चुनाव उनले जितेका छन्। २०७४ सालमा वाम गठबन्धनको बेलामा उनले १४ हजारभन्दा बढी मतान्तरले जितेका थिए।
सत्ता गठबन्धनमा आवद्ध दलमध्ये यहाँ कांग्रेस बलियो छ ।

स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीको जम्मा ६५८ मत मात्र आएको थियो । यो गणितले झाँक्रीलाई कमजोर देखाउँछ । स्थानीय चुनावका आधारमा समग्रमा थोरै मतले यहाँ सत्ता गठबन्धन अघि छ । तर, कांग्रेसको सबै मत तान्न नसके झाँक्रीलाई जित निकाल्न कठिन हुनेछ ।

झलनाथ खनाललाई सातौंपटक कति सहज ? 

सूर्य चिन्ह लिएर पटक-पटक जितेका झलनाथ खनाल सातौंपटक संसदीय प्रतिस्पर्धामा छन् । ४८ यताका सबै संसदीय निर्वाचन लडेका खनाल ०५६ सालमा मात्र पराजित भएका थिए ।

एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई  एमालेका जिल्ला अध्यक्ष एवं इलाम नगरपालिका पूर्वप्रमुख महेश बस्नेतले चुनौती दिइरहेका छन् ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यहाँ सत्ता गठबन्धनको मत धेरै छ । तर, खनाललाई कांग्रेसका मत आफूतिर तान्नुपर्ने चुनौती भने देखिन्छ ।

वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमाले यहाँ पहिलो पार्टी हो । उसले २६ हजार २३३, कांग्रेसले २५ हजार ७ सय ७२, एकीकृत समाजवादीले ९ हजार ४८१, जसपाले  १ हजार ८२९, माओवादीले १ हजार २३५ र राप्रपाले १ हजार १६९ मत ल्याएका छन् ।

राष्ट्रियस्तरमै प्रभाव पार्ने नेता भएकाले गठबन्धनको सहयोगमा खनाल यो क्षेत्रबाट विजयी हुने अनुमान गरिएको छ ।

कास्कीमा बराललाई गाह्रो 

एकीकृत समाजवादीका श्रीनाथ बराल कास्की क्षेत्र नम्बर २ मा एमालेका विद्या भटटराईसँग प्रतिस्पर्धामा छन् । यहाँ एमालेको राम्रो संगठन छ । २०७४ मा यहाँबाट एमालेका रवीन्द्रप्रसाद अधिकारी सांसद बनेका थिए ।

अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन भयो ।  उपनिर्वाचनमा अधिकारीपत्नी विद्या भटटराईले जित हासिल गरिन । यसपटक पनि एमालेले भट्टराईलाई नै उठाएको छ ।

स्थानीय निर्वाचनमा यस क्षेत्रमा एमालेले २१ हजार १ सय ६४, कांग्रेसले १९ हजार ८, राप्रपाले २ हजार ७९, एकीकृत समाजवादीले २ हजार ५३, माओवादीले १ हजार १ सय ९८ र जसपाले १ सय ५३ मत प्राप्त गरेका थिए ।

गठबन्धनको मत केही बढी देखिए पनि यहाँ बराललाई जित निकाल्न सहज छैन ।

 

जीवनरामलाई पनि छैन सहज

एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट उम्मेदवार बनेका छन् । उनलाई  एमालेका शिवसुन्दर राजवैद्यले टक्कर दिएका छन् ।

श्रेष्ठ एमालेबाट २०७४ सालमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । यो क्षेत्रमा हाम्रो नेपाल पार्टीका सुमन सायमी पनि प्रतिस्पर्धामा छन् । पर्यटनमन्त्री समेत रहेका श्रेष्ठलाई यसपटक एमालेभन्दा पनि लौरो अभियान चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।

स्थानीय निर्वाचनको मत परिणाम हेर्दा यो क्षेत्रमा गठबन्धन नै बलियो देखिन्छ । तर, सायमीको प्रवेशले समीकरण फेरिएको छ ।

स्थानीय निर्वाचनमा यहाँ  कांग्रेसले १० हजार ८ सय ७२, एमालेले ९ हजार २ सय ५३, एकीकृत समाजवादीले ५ हजार १ सय ४२, राप्रपाले ३ हजार १ सय ६० र माओवादीले १ सय ८९ मत प्राप्त गरेका थिए ।

यसपटक सायमी र श्रेष्ठको मुख्य प्रतिस्पर्धा देखिन्छ । श्रेष्ठलाई सहज नहुने अनुमान गरिएको छ ।

ललितपुर-२ मा महर्जनलाई पनि कडा चुनौती 

ललितपुर–२ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र एमालेका प्रेमलाल महर्जनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जले खेल बिगारिदिएका छन् । बुद्धरत्न पनि यहाँबाट प्रतिस्पर्धामा पुगेका छन् ।

कृष्णलालले २०७४ मा एमालेबाट उठेर फराकिलो अन्तरको जित निकालेका थिए ।

एमालेका प्रेमलाल पहिलोपटक संसदीय चुनावमा उत्रिएका छन् ।

स्थानीय निर्वाचनमा यहाँ नेपाली कांग्रेसले २१ हजार आठ सय १९, एमालेले १६ हजार दुई सय ३७, माओवादीले पाँच हजार आठ सय ८६ र एकीकृत समाजवादीले दुई हजार पाँच सय ६० मत प्राप्त गरेका थिए ।

यसको आधारमा सत्ता गठबन्धन ठूलो अन्तरले अगाडि देखिन्छ ।

तर, कांग्रेसको धेरै मत घण्टीमा जाने सम्भावना देखिएपछि कृष्णलाल समस्यामा परेका छन् । यद्यपि, त्रिपक्षीय प्रतिस्पर्धामा जसले पनि बाजी मार्न सक्ने सम्भावना छ ।

 

मकवानपुर २ : पाँचौं जितको खोजीमा विरोध खतिवडा   

एकीकृत समाजवादीका नेता एवं पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई एमालेका महेश बर्तौलाले मकवानपुर–२ मा टक्कर दिएका छन् ।

२०४८ यता चारपटक निर्वाचन लडेर सबैमा जित हासिल गरेका पाँचौं जित निकाल्ने प्रयासमा छन् ।

गत निर्वाचनमा उनले वाम गठबन्धनको सहयोगमा फराकिलो अन्तरले जित निकालेका थिए ।

स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा यो क्षेत्रमा सत्ता गठबन्धन नै अगाडि छ । एमालेले ३६ हजार ८ सय ६६, कांग्रेसले ३४ हजार २ सय ४०, माओवादीले २२ हजार ६ सय ७, एकीकृत समाजवादीले २ हजार ७ सय १९ र राप्रपाले १ हजार ५ सय ३६ मत ल्याएका थिए ।

यो आधारमा खतिवडा सहज रुपमा विजयी हुने अनुमान गरिएको छ । यद्यपी उनलाई गठबन्धनकारी दलका मत तान्नुपर्ने चुनौती भने देखिन्छ ।

 

पाल्पा-२ मा पाण्डेलाई गैरेको चुनौती

पाल्पा–२ मा कुनैबेला एमालेभित्र प्रभावशाली रहेका सोमप्रसाद पाण्डे एकीकृत समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भएका छन् । उनको हरेक निर्वाचनमा सहयोगी बन्दै आएका ठाकुर गैरेले एमालेबाट चुनौती दिएका छन्।

पाण्डेका कारण टिकट पाउनबाट बञ्चित हुँदै आएका गैरे यसपटक उनैलाई टक्कर दिइरहेका छन् । युवा नेता गैरे पहिलोपटक उम्मेदवार भएका हुन् ।

२०७४ मा यहाँ पाण्डेले १० हजार भन्दा बढी अन्तरको जित निकालेका थिए । पाण्डे पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सम्धी हुन्  ।

स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार पाल्पा–२ मा एमालेको ३० हजार ५६६, कांग्रेसको २९ हजार ३९, माओवादीको ४ हजार ३१३, एकीकृत समाजवादीको ४३३ र राप्रपाको ३ सय ३६ मत छ ।

त्यसैले, यहाँ पाण्डेलाई जितका लागि पूरै गठबन्धनको भर देखिन्छ । पछिल्लोपटक एमालेका केही नेतालाई तानेर उनले अवस्था मजवुत बनाउँदै लगेका छन् । तर, उनलाई जित निकाल्न भने सहज देखिदैन ।

 

सल्यानमा प्रकाश ज्वाला सहज अवस्थामा 

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालालाई सल्यानमा एमालेका राजेन्द्रवीर राय प्रतिस्पर्धी हुन् । राप्रपाका उपाध्यक्षसमेत भइसकेका राय गत भदौ २५ मा एमाले प्रवेश गरेर टिकट हात पार्न सफल भएका हुन् ।

ज्वाला २०७४ को निर्वाचनमा सल्यान प्रदेशसभा–२ बाट निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा यो क्षेत्रमा माओवादीका टेकबहादुर बस्नेत वाम गठबन्धनको बलमा फराकिलो अन्तरले विजयी भएका थिए ।

योपटक कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको सहयोगमा ज्वाला निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतपरिणाम अनुसार सल्यानमा कांग्रेसको ३३ हजार ६१६ मत देखिन्छ । माओवादीको २६ हजार ७१३, एमालेको २६ हजार ६२८, एकीकृत समाजवादीको ९ हजार ४६७ मत छ ।

जिल्लामा गठबन्धनको अत्यधिक मत भएकाले ज्वाला फराकिलो अन्तरले विजयी हुने अनुमान गरिएको छ ।

 

सिराह-४ मा धर्मनाथलाई जसपाको डर 

सिरहा क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका मधेस प्रदेश इन्चार्ज एवं पूर्व सामान्य प्रशासन मन्त्री धर्मनाथ साह उम्मेदवार छन् । एमालेसँगको गठबन्धनमा जसपाका डा.वीरेन्द्रप्रसाद महतोले उनलाई टक्कर दिइरहेका छन् ।

यहाँ २०७४ को निर्वाचनमा राजपाका राजकिशोर यादव विजयी भएका थिए । यसपटक उनले क्षेत्र फेरेका छन् ।

स्थानीय तहको परिणामलाई आधार मान्दा सत्तारुढ गठबन्धनको २८ हजार २ सय ८९ मत र एमाले–जसपा गठबन्धनको २८ हजार २ सय ८५ मत छ ।

त्यसैले, योपटक दुईबीच कडा टक्कर हुने अनुमान गरिएको छ । यहाँ जनमत पार्टीको पनि राम्रै प्रभाव छ । धर्मनाथलाई सहज नहुने अनुमान गरिएको छ ।

उदयपुरमा खतिवडालाई आफ्नैको डर

उदयपुर-२ मा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उठेका छन् । उनलाई एमालेबाट अम्मरबहादुर रायमाझीले टक्कर दिइरहेका छन् ।

२०७४ को निर्वाचनमा यो क्षेत्रमा माओवादीका सुरेश कुमार राई विजयी भएका थिए एमालेको सहयोगमा । गठबन्धनले सबैभन्दा कमजोर पार्टीलाई टिकट दिएको भन्दै यो क्षेत्रमा कांग्रेस नेता रामकुमार राईले बागी उम्मेदवारी दिएका छन् ।

राई आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् । नजिते पनि उनले जगन्नाथ खतिवडालाई भने समस्यामा पार्न सक्छन् । यसको फाइदा एमालेका रायामाझीलाई पुग्न सक्छ ।

गत स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमाले पहिलो दल हो । उसले १८ हजार ५ सय ७३ मत पाएको छ । दोस्रो नम्बरमा रहेको कांग्रेसको मत ११ हजार ३ सय ४४ छ । ८ हजार २ सय २ मतका साथ माओवादी केन्द्र तेस्रो, ३ हजार ४ सय २७ मतका साथ एकीकृत समाजवादी चौथो दल हो ।

यसरी हेर्दा सत्ता गठबन्धनसँग २२ हजार ९ सय ७३ मत देखिन्छ, जुन एमालेको भन्दा ४ हजार ४ सय बढी हो । तर,  गठबन्धनभित्रै समस्या रहेकाले खतिवडालाई चुनाव जित्नै सहज छैन ।

 

यो पनि पढ्नुहोस् :

काठमाडौं उपत्यकाका १५ क्षेत्रको सम्भावित परिणाम : एमालेलाई लाग्दैछ ठूलो धक्का ?

बाग्मती प्रदेशका उपत्यका बाहिरका १८ निर्वाचन क्षेत्र : यस्तो आउनसक्छ चुनावी परिणाम

सुदूरपश्चिमको समग्र विश्लेषण : १६ क्षेत्रमा को उम्मेदवार बलियो ?

गण्डकी प्रदेशका १८ क्षेत्रको सम्भावित परिणाम : कहाँबाट कसले बाजी मार्ला ?

मधेसका ३२ क्षेत्रको चुनावी विश्लेषण : कहाँ, कसले मार्न सक्छ बाजी ?

यस्तो छ, लुम्बिनीका २६ क्षेत्रको सम्भावित परिणाम : एमाले बढी आशावादी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved